
२२ माघ, काठमाडौं । २१ माघ २००८ मा तत्कालीन अर्थमन्त्री सुवर्णशमशेरले ल्याएको बजेट नेपालको पहिलो बजेट हो । अर्थमन्त्रीका रुपमा सुवर्णशमशेरले बजेट प्रस्तुत गरेपनि यसको तयारकर्ता भने हिमालय शमसशेर जबरा थिए, जो तत्कालीन अर्थ सचिव थिए । उनी नेपालकै पहिलो अर्थ सचिव समेत थिए ।
नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर समेत रहेका जबराको आइतबार निधन भएको छ । नेपालमा आधुनिक बैकिङ र आर्थिक प्रणाली विकासमा उनको योगदान अतुलनीय मानिन्छ ।
जबराले तयार गरेको पहिलो बजेटको आकार ५ करोड २५ लाख रुपैयाँको थियो ।
प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नेतृत्व सरकारले ल्याएको उक्त बजेट केवल ३ हजार ४ सय ८९ शब्दको थियो । बजेटमा पेश भएको अनुमानित आँकडा अनुसार देशको कुल आम्दानी २ करोड ९० लाख ८१ हजार रुपैयाँ थियो भने खर्च २ करो ४६ लाख २७ हजार भएको थियो । यस हिसाबले ४३ लाख ९४ हजार रुपैयाँ बचत देखिन्थ्यो ।
२००८ सालको ८ महिनामा तीन करोड पाँच लाख १६ हजार रुपैयाँ आर्जन गरिएको बजेटमा उल्लेख छ । बजेटमा अपेक्षित भन्सार संकलन हुन नसकेको भन्दै त्यसका लागि विभिन्न ५ कारणहरु औल्याएको थियो । बजेटमा उल्लेख भए अनुसार त्यतिबेला कृषकलाई सहयोग गर्ने मनसायले एक रुपैयाँमा दुई आना मालपोत मिनाहा दिने घोषणा गरिएको थियो ।
त्यतिबेला राजदरबारका लागि ५ लाख ८४ हजार रुपैयाँ बजेट छुट्याइएको थियो । त्यस्तै, मन्त्री र नेपाल सरकार सचिवालयका लागि ३२ लाख ४० हजार बजेट विनियोजन गरिएको थियो ।
निजामती कर्मचारीको तलबका लागि २० लाख र सेनाका लागि २७ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको थियो । निर्वाचनका लागि ३ लाख २३ हजार रुपैयाँ राखिएको थियो । बजेटमा सामान्य खर्च ज्यादै बढेको बजेट भाषणमा भनिएको थियो । बजेटमा करको दर परिवर्तनको घोषणा नगरिकन ‘यसबारे सोचिरहेको’ उल्लेख गरिएको थियो ।
‘…रेल ट्रली र रोपवेको वर्तमान भाडाबारे अध्ययन हुँदैछ र मनासिव देखिएमा तिनको दर बढाइनेछ । घरैपिच्छे पानी कर लगाउने समेत विचार गरिँदैछ । सवारी कर पनि बढाउने सोचिंदैछ….’ बजेट भाषणमा भनिएको थियो ।
२४ पुस १९८४ मा जन्मिएर दरवार हाइस्कुलबाट आधारभूत शिक्षा तथा बम्बइ युनिभर्सिटी, भारतबाट स्नातकोत्तर हासिल गरेका उनलाई नेपाल राष्ट्र बैंकले नेपालका एक अग्रणी अर्थविद्, आर्थिक चिन्तक तथा नेपालको वित्तीय क्षेत्रका प्रवर्द्धकका रुपमा स्मरण गरेको छ ।
‘नेपाली अर्थतन्त्रको दिगो विकासका निम्ति केन्द्रीय बैंकको गभर्नरको रूपमा उहाँले नेपाली नोट चलनचल्तीमा ल्याउने, नेपाली रूपैयाँको भारतीय मुद्रासँग विनिमयदर कायम गर्ने, नेपालमा बैंकिङ प्रथाको विकास गर्ने जस्ता गहन तथा आधारभूत मौद्रिक एवम् बैंकिङ पूर्वाधार निर्माण गर्नुभएको थियो’ राष्ट्र बैंकले शोक वक्तव्यमा भनेको छ ।
केन्द्रीय बैंकले राणा शासनको अन्त्य भएर नेपाल नयाँ प्रजातान्त्रिक युगमा प्रवेश गरेको अवस्थामा २००७ सालदेखि उनले अर्थ सचिवको जिम्मेवारी बहन गरेको र बजेट सार्वजनिकीकरणको आधार निर्माण गर्ने, राजस्व अभिवृद्धिका लागि भन्सार व्यवस्थापनको आधुनिकीकरण गर्ने, आन्तरिक राजस्व प्रशासनको सवलीकरण गर्ने, आर्थिक एवम् वित्तीय अनुशासन र पारदर्शिताका लागि महालेखापरीक्षक कार्यालयको गठनलगायतका संरचना निर्माण गरी मुलुकको आर्थिक व्यवस्थापनका आधारहरू खडा गर्न अग्रणी भूमिका निर्वाह गरेको वक्तव्यमा उल्लेख गरेको छ ।
‘नेपालको वित्तीय क्षेत्रको दायरा विस्तार एवम् व्यापक बनाउने र औद्योगिक विस्तार कार्यमा समेत उहाँको नेपाली अर्थतन्त्रको विकासका निम्ति नीतिगत, संरचनागत एवम् व्यवस्थापकीय प्रवर्द्धक जबराको निधनबाट नेपाल राष्ट्र बैंकले एक अभिभावक, देशले एक कुशल महत्वपूर्ण योगदान रहेको छ,’ राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पूर्वाधारका कुशल निर्माता एवम् अर्थविद् तथा नेपालको वित्तीय क्षेत्रले एक अग्रणी मार्गदर्शक गुमाएको हामीले अनुभव गरेका छौं ।’
हेर्नुहोस् पहिलो बजेटको पूर्णपाठः
प्रतिक्रिया 4