
२३ माघ, पोखरा । आधुनिक पोखराको ‘लाइफलाइन’का रुपमा मानिएको पोखराको न्युरोड बनाउन ०३२ सालमा नेपालमै पहिलोपल्ट जग्गा अधिग्रहण सुरु भयो । जग्गाधनीसँग जग्गा लिएर न्युरोड बन्यो र सँगसँगै सडकवरिपरि बजार विस्तार भयो ।
पोखराको नयाँ सहरका रुपमा न्युरोडलाई विकास गर्न त थालियो । तर, त्यहाँ आवश्यकताबमोजिम पूर्वाधारका कमी थिए । अन्य पूर्वाधारजस्तै न्युरोडमा फिल्म हलको पनि कमी थियो ।
त्यतिबेला पोखराको एकमात्र तेर्सा पटिट्मा कल्पना सिनेमा हल थियो । तर, व्यवस्थित नहुँदा खुल्ने बन्द हुने क्रमउपक्रम चलिरहेकै थियो । पोखराका लागि तत्कालीन समयको नयाँ र आधुनिक फिल्म हलको आवश्यकता पनि महसुस भइरहेको थियो ।
त्यहीबेला अघि सरे, व्यवसायी भगवानदाश श्रेष्ठ र योगेन्द्र प्रधान । उनीहरुले न्युरोड विस्तारका लागि अधिग्रहण गरिएको जग्गा खरिद गरेर फिल्म हल बनाउने सपना देखे । तर, त्योभन्दा अगाडि उनीहरुले कल्पना फिल्म हल नै भाडामा लिएर चलाए । सोचेजस्तो फिल्म हल चलेन ।
उनीहरुले आफ्नै हल बनाउने योजना बनाए र पूर्णिमा हलको जग बसाए । ‘कल्पना हल राम्रोसँग चलिरहेको थिएन । दर्शकलाई नयाँ प्रविधि र गुणस्तरीयताको खाँचो परेको हामीले आवश्यकता महसुस गर्यौं,’ प्रधान विगत सुनाउँछन्, ‘त्यसपछिमात्रै नगर विकासको जग्गामा फिल्म हल बनाउने योजना बनाएका हौं । त्यो सहर विकासकै आवश्यकताभित्र पनि पर्थ्यो ।’
०३३ साल चैतदेखि बन्न सुरु गरेको फिल्म हल ०३६ सालमा पूरा भयो । ०३६ भदौ १३ गते फिल्म हल विधिवत् रुपमा व्यावसायिक सञ्चालनमा आयो । ‘त्यतिबेला हामीले सबै सामान इन्डियादेखि ल्याएर फिल्म हल बनायौं । तत्कालीन समयको सबैभन्दा बढी राम्रो र गुणस्तरीय फिल्महल बनाउन सक्यौं,’ प्रधान गौरवान्वित सुनिन्छन्, ‘लागत नै ४० लाख नाघेको थियो । जबकि छड् साढे ३ रुपैयाँमा र सिमेन्ट ४५ रुपैयाँ प्रति बोरा पाइन्थ्यो ।’
पोखराको दोस्रो फिल्महलको रुपमा खुलेको उक्त हल यति चल्यो कि जहिल्यै भिडभाड हुन थाल्यो । दर्शकहरु पालो पर्खिएरै फिल्म हेर्न थाले । पोखराकै चर्चित बनेको उक्त हल कहिल्यै खाली बस्नु परेन । ‘कहिलेकाहीं त टिकटै पाइन्थेन । एक पटक त ब्ल्याकमै टिकट किनेर पनि फिल्म हेरेको छु,’ ०६८ सालतिर पूर्णिमा हलमा फिल्म हेरेका लोकेन्द्र मानन्धर सम्झन्छन् ।
फिल्म निर्मातासमेत रहेका पूर्णिमा हलका मुख्य लगानीकर्ता भगवानदाश श्रेष्ठले ‘कान्छी’, ‘सन्तान’, ‘भाइटीका’, ‘नाता रगतको’ लगायत फिल्मसमेत बनाएका थिए । उनको ०६२ साल वैशाख २६ गते माओवादीले हत्या गरेको थियो ।
‘बुवा भगवान दासको हत्यापछि भने छोराहरुले हलबाट लगानी फिर्ता लिएका थिए,’ इतिहास अध्येता सुनिल उलक भन्छन्, ‘उहाँ हाल दानकी देवीका रुपमा परिचित मैयादेवी श्रेष्ठको भदा पनि हुनुहुन्थ्यो ।’

समय सधैं एकनाश रहेन । पोखराकोमात्रै नभएर पोखरा आउने पाहुनाहरुको पनि मुख्य मनोरञ्जनको विकल्प बनेको पूर्णिमा हललाई विस्तारै आधुनिकीकरणले पछि पार्दै लग्यो । हातहातमा मोबाइल आउन थाले, घरघरमा इन्टरनेटको पहुँच पुग्न थाल्यो, नयाँनयाँ आधुनिक सिनेमा घर खुल्न थाले ।
तर, जसोतसो पूर्णिमाले आफूलाई भने चलाउँदै लग्यो । ‘हामी सुरुदेखि नै निरन्तरतालाई मुख्य केन्द्रमा राखेर हल स्थापना गरेका थियौं । हाम्रो चिनारी नै त्यही बनेको थियो,’ सञ्चालक प्रधान भन्छन्, ‘तर, पछिपछि भने विस्तारै मनोरञ्जनका अन्य विकल्प आउन थालेपछि भने गाह्रो हुन थाल्यो ।’
प्रधान ७० को दशकपछि भने थुप्रै पटक घाटामै हल चलाउँदै आएको सुनाउँछन् । ‘टेक्नोलोजीले कोल्टे फेरेपछि हाम्रो के लाग्छ र ? घाटा मेन्टेन गर्न स्टाफ कटौती गर्दै लग्यौं । रिल होइन वेबबाटै फिल्म हेर्ने प्रचलन आयो । परिमार्जित हुन पनि खोजेका हौं । तर, सकिएन,’ उनी बाध्यता सुनाउँछन् ।

जेनतेन धानिँदै चल्दै आएको कल कोभिड महामारीपछि भने तंग्रिनै सकेन । २ वर्ष अगाडि लागेको फिल्महल प्रवेशद्वारको चाबी कहिल्यै खुलेन । बरु आधुनिक पोखरा विकासको साक्षी बनेको पूर्णिमा हल गएको असारमा भत्काइयो । अहिले त्यहाँ फिल्म हल थियो र ? भन्ने गरी कुनै अवशेष पनि बाँकी छैन ।
‘हातहातमा टेक्नोलोजी भएपछि हलहरुको भविष्य विस्तारै त्यही त हो । हलमा आएर ३ घन्टा बसेर अगाडि, पछाडि एक, एक घन्टा कुरेर कसले समय बर्बाद गरोस्,’ प्रधान भन्छन्, ‘हल सदाका लागि बन्द गर्न कोभिड एउटा बहाना बनेर आयो ।’
कुनैबेलाको सबैभन्दा चल्तीको पूर्णिमा हल भत्काएर अहिले सम्याइएको छ । तर, फिल्म हल प्रेमबाट प्रधान टाढा भागेका छैनन् । उक्त ठाउँमा नयाँ मल बनाएर आधुनिक थियटर बनाउने योजना रहेको उनी सुनाउँछन् ।
पूर्णिमा हल भत्काएर खाली बनेको जग्गामा सशुल्क पार्किङ
न्युरोडलगायत मुख्य बजार क्षेत्रको सडक पार्किङ निषेध गर्ने योजनाका साथ अगाडि बढेको पोखरा महानगरले सोमबारदेखि पूर्णिमा हल भत्काएर खाली बनेको जग्गामा सशुल्क पार्किङ सुरु गरेको छ ।
कुनैबेलाको चल्तीको फिल्म हल रहेको त्यहाँ सोमबारदेखि सवारी धनीको पार्किङ क्षेत्र बन्न पुगेको छ । ‘मेयर साबले तपाईंकै जग्गादेखि सुरु गरौं भनेर प्रस्ताव राख्नुभयो । मलाई पनि खाली रहेको जग्गा काम लाग्छ भनेर ठीकै लाग्यो,’ प्रधानले भने ।
महानगरले सोमबारदेखि नै सदाबहार व्यस्त रहने पोखराको मुख्य बजार क्षेत्र न्युरोड, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोकलगायतको सडकमा पार्किङ निषेध गर्ने गरी एकहप्ताअघि सूचना निकालेको थियो ।
तर, बिनाविकल्प एकैचोटि सडक पार्किङ गर्दा व्यवसाय तथा सवारीचालकलाई क्षति पुग्ने भन्दै चर्को विरोध भएपछि अहिले महानगर पछाडि हटेको छ । तर, विस्तारै विकल्पहरु अगाडि बढाउँदै लगेको महानगर मेयर धनराज आचार्य बताउँछन् ।
‘अब सडकमा विस्तारै सवारी साधन राख्ने दिन सकिए भनेर बुझ्दा हुन्छ’, मेयर आचार्यले सशुल्क पार्किङ क्षेत्रको उद्घाटन गर्दै भने, ‘संसारभरि पार्किङको व्यवसाय हुन्छ । सरकारले बनाएको अवस्थामा शुल्क तिर्नुपर्ने हुन्छ । तर, हामीले सडकको सबै पार्किङ शुल्क हटाएका छौं ।’
महानगरले २७ स्थानमा खाली जग्गा सशुल्क पार्किङका लागि व्यवस्थापन गरेको जनाएको छ । ती ठाउँमा एकैचोटि ५ सय हलुका सवारी र ८ सय मोटरसाइकल स्कुटर पार्किङ गर्न सकिने महानगरको दाबी छ ।
पार्किङ गरेवापत दुईपांग्रे सवारी धनीले प्रति घण्टा १० रुपैयाँ तिर्नुपर्ने महानगरले शुल्क निर्धारण गरिदिएको छ । हलुका सवारीको ५० रुपैयाँ र मझौला सवारीको ७० रुपैयाँ शुल्क तोकिएको छ ।
महानगरको तथ्यांक अनुसार अहिले सडकमा २५० गाडी र ३५० मोटरसाइकल र स्कुटर पार्किङ हुँदै आइरहेको छ । महानगरलले यसअगाडि भने सडकमै पार्किङ गरेवापत् शुल्क उठाउन ठेक्का नै लगाएको थियो । सडकमा पार्किङ शुल्क उठाउँदै आएको फेवा सावित्री जेभीले बक्यौता रकम नतिरेपछि पुस ८ गते महानगरले रद्द गरेको छ ।
प्रतिक्रिया 4