
चिनियाँ प्रविधि उद्योगका सम्झौताकर्ता मानिने बाओ फान गत महिना एकाएक हराएसँगै चीनमा अर्बपतिहरू बेपत्ता हुने सिलसिलाका बारेमा पुनः एकफटक चासो बढेको छ ।
चाइना रेनेसा होल्डिंग्स कम्पनीका संस्थापक रहेका फानलाई चिनियाँ प्रविधि उद्योगका टाइकुन मानिन्छ र उनका कम्पनीको ग्राहकको रुपमा इन्टरनेट जाएन्ट टेनसेन्टदेखि अलिबाबा र बाइदुलगायतका छन् ।
बाओको बेपत्ताको घटनाको सन्दर्भ पनि यसअघिका घटनाहरुजस्तै थियो । सम्बन्धित चिनियाँ अधिकारीहरुले गरिरहेको अनुसन्धानमा सघाइरहेको भन्दै उनको कम्पनीले घोषणा गरेको केही दिनअघि देखि उनी हराइरहेका थिए ।
र, यसअघि जस्तै यो पटक पनि उनको कम्पनीमाथि कुन सरकारी निकायले अनुसन्धान गरिरहेको हो खुलाइएको छैन । साथै बाओ कहाँ छन् भन्ने बारेमा समेत हालसम्म केही जानकारी सार्वजनिक भएको छैन ।
अलिबाबाका प्रमुख ज्याकमालगायत पछिल्ला वर्षहरुमा एकपछि अर्को गर्दै चिनियाँ अर्बपतिहरु एकाएक हराउने शृङ्खलाको पछिल्लो कडीका रुपमा बाओ फानको बेपत्ता प्रकरणलाई पनि रहस्यमय मानिएको छ ।
यद्यपि नाम चलेका अर्बपतिहरू हराउँदा धेरै चर्चा हुने गरे पनि चीनमा सरकार विरोधी प्रदर्शन र मानव अधिकारवादी अभियान सहभागी भएका साधारण चिनियाँ नागरिकहरु पनि बेपत्ता हुने गरेका छन् जसको कम चर्चा हुने गर्दछ ।
बाओलगायतका अर्बपतिको बेपत्ता प्रकरणलाई चिनिया राष्ट्रपति सि जिनपिङले चिनिया अर्थतन्त्रमाथि नियन्त्रण कायम गर्न चालेको कदमको रुपमा पनि हेरिएको छ ।
चिनियाँ पिपुल्स कंग्रसको वार्षिक सत्रको पूर्वसन्ध्यामा यो घटना भएको छ । जनकंग्रेसले चिनियाँ वित्तीय नियमन प्रणाली वर्षौंयताको सबैभन्दा ठूलो परिवर्तन योजनाको घोषणा गरेको थियो । जसअनुसार मुलुकको समग्र वित्तीय क्षेत्र हेर्नका लागि एक नियामक वाचडग निकायको स्थापना गरिनेछ ।
चीनको ट्रिलियन डलरको वित्तीय सेवा उद्योगमाथि हाल विभिन्न निकायबाट हुने अनुमगनका क्रममा रहनसक्ने छिद्र बन्द गर्नका लागि उक्त नियामक निकायले काम गर्ने बताइएको छ ।
चीनमा सन् २०१५ मा मात्रै उद्योग क्षेत्रका कम्तिमा पाँच जना कार्यकारीहरू हराएका थिए । त्यसमध्ये चिनियाँ कम्पनी फुसान इन्टरनेसनलका अध्यक्ष गुओ गुआंगचांग पनि एक थिए । उनी इंगलिस प्रिमियर लिग क्लब उल्भरह्याम्प्टनका मालिक समेत हुन् ।
गुओ सन् २०१५ को डिसेम्बरमा बेपत्ता भए । तर केही समयपछि जब उनी सार्वजनिक रुपमा देखिए तब उनको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भन्यो- गुओले अनुसन्धानमा सघाइरहेका थिए ।
त्यसको २ वर्षपछि चिनिया-क्यानेडाली व्यवसायी जियाओ जियानहुवालाई हंगकंगस्थित एक लक्जरी होटलबाट गिरफ्तार गरियो । उनी चीनका सर्वाधिक धनी व्यक्तिमध्ये एक थिए र उनलाई भ्रष्टाचारको आरोपमा गतवर्ष जेल हालियो ।
सन् २०२० को मार्चमा अर्बपति रियलस्टेट टाइकुन रेन जिकियाङ बेपत्ता भए । कोरोना महामारी व्यवस्थापनको सन्दर्भमा चिनिया राष्ट्रपतिलाई जोकरको संज्ञा दिएपछि उनी बेपत्ता बनाइएका थिए । पछि उनलाई एक दिनको अदालती सुनुवाइपछि भ्रष्टाचारको आरोपमा १८ वर्षे जेल सजाय सुनाइयो ।
अलिबाबाका संस्थापक ज्याक मा बेपत्ता भएको घटना चाहिँ चीनमा अर्बपतिहरू बेपत्ता हुने सबैभन्दा हाइ प्रोफाइल घटना हो । चीनका तत्कालीन सर्वाधिक धनाढ्य व्यक्ति रहेका ज्याक माले मुलुकका वित्तिय नियामकहरुको आलोचना गरेसँगै सन् २०२० को अन्त्यतिरबाट बेपत्ता भए ।
त्यसपछि मा को वित्तीय प्रविधि कम्पनी एन्ट ग्रुपले ल्याउने भनेको सबैभन्दा ठूलो सेयर सूचिकरण पनि रोकियो । Common Prosperity Fund लाई करिब १० अर्ब डलर दान गरेतापनि दुई वर्षभन्दा धेरै समयदेखि चीनमा देखिएका छैनन् । यद्यपि उनीमाथि कुनै पनि मुद्दा लगाइएको भने छैन ।
ज्याक मा कहाँ छन् भन्ने प्रष्ट भएको छैन तथापि उनी हालैका महिनाहरुमा जापान, अष्ट्रेलिया तथा थाइल्याण्डमा देखिएको भन्ने समाचार पनि नआएका हैनन् ।
उता चीन सरकारले भने देशका केतिपय सर्वाधिक धनी व्यक्तिहरुविरुद्ध चालिएको कदम विशुद्ध कानुनी प्रकृतिको रहेको भन्दै देशमा भ्रष्टाचारलाई समूल अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । तर हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनले चालिरहेका यी कदमहरु उसले दशकौंदेखि अँगाल्दै आएको उदारीकरणको विपरित देखिन्छन् ।
उदारीकरणको नीतिले नै चीनमा धेरै अर्बपतिहरु जन्मायो जसले आफ्नो विशाल सम्पत्तिका कारण उल्लेख्य शक्ति आर्जन गर्ने हैसियत राख्दछन् ।
विश्लेषकहरुका अनुसार सी नेतृत्वको कम्युनिष्ट पार्टीले त्यस्तो शक्ति आफैले खिच्न चाहन्छ र त्यसका लागि अर्बपतिहरु बेपत्ता गराउने जस्ता रहस्यमय काम भैरहेका छन् ।
सी का पूर्ववर्ती जियांग जेमिन र हु जिन्ताओको शासनकालमा ठूला व्यवसाय, खासगरी प्रविधि उद्योगले शक्ति आर्जन गर्यो ।
त्यसअघि बेइजिङको ध्यान सेना, ठूला उद्योग तथा स्थानीय सरकार जस्ता शक्तिका परम्परागत केन्द्रहरुमा केन्द्रित थियो ।
ती क्षेत्रहरुमाथिको कडा पकडलाई कायम राख्दै सी ले मुलुकको अझै धेरै अर्थतन्त्र हाम्रो नियन्त्रणमा राख्नमा ध्यान केन्द्रित गरेका छन् । उनको साझा सम्वृद्धिको नीतिले अर्थतन्त्रका धेरै हिस्साहरुमा धावा बोलेको छ र त्यसबाट प्रविधि उद्योगले सबैभन्दा धेरै सरकारी नियन्त्रण व्यहोर्नु परेको छ ।
ग्लोबल एडभाइजरी र्फम अल्ब्राइड स्टोनब्रिज ग्रुुपको चीन तथा प्रविधि नीति विषयका प्रमुख पाउल टिरोलो भन्छन्- बेइजिङको चाहना विपरित जानेगरी तथा लगाम लगाउन गाह्रो हुनेगरी कुनैप्नि ठूला प्रविधि कम्पनीहरुले आफ्नो ब्राण्ड तथा प्रभाव विकास नगरुन् भन्ने कुरामा बेइजिङ चनाखो देखिन्छ ।
राष्ट्रपति सी जिनपिङको Common Prosperity नीतिको चुरो भनेकै कानूनको शासन हो र त्यो कानून धनी र गरीबलाई समान रुपमा लागू हुनुपर्दछ ।
बेइजिङको तर्क के छ भने उसको नीति मुलुकमा नारिकहरुको सम्पत्तिको बढ्दो अन्तरलाई कम गर्नु हो । यदि यसलाई सम्बोधन गर्न सकिएन भने त्यसले कम्युनिष्ट पार्टीको नीतिमै दखल पूराउने कुरामा सरकार सचेत छ ।
देशमा असमानता बढ्दै गएको छ र यस विषयमा सी ले पार्टीका चरम वामपन्थीहरुको दबाब खेप्नु परिरहेको छ ।
अर्बपतिहरुको बेपत्ताका बारेमा रहेको रहस्य तथा उद्योग व्यवसायमाथि चीन सरकारको रबैयाका विषयमा देखिएको व्यापक चासोले ठूलो प्रभाव पार्न सक्दछ ।
कतिपयले चाहिं चीनले नयाँ व्यवसायिक प्रतिभाहरुलाई तर्साएर जोखिम मोलेको बताउँछन् । विश्लेषकहरुका अनुसार अहिले चिनियाँ प्रविधि उद्योगका व्यवसायीहरुमा अर्को ज्याक मा पो बनिने हो कि भन्ने त्रास छ ।
तथापि राष्ट्रपति सी उद्योग व्यवसाय क्षेत्रको भावनामाथि चोट पुर्याउँदाको जोखिमबारे सचेत छन् । हालै राष्ट्रिय जनकंग्रेसलाई सम्बोधन गर्ने क्रममा उनले चीनका लागि निजी क्षेत्र निकै महत्वपूर्ण रहेकोमा जोड दिए । तर उनले निजी कम्पनी तथा व्यवसायीहरुलाई आह्वान गर्दै भनेका छन्- धनी हुनुस् र जिम्मेवार हुनुस्, धनी हुनुस् र सही हुनुस् अनि धनी हुनुस् र प्रिय हुनुस् ।
गतहप्ता वित्तिय नियामक निकाय स्थापनाको घोषणासँगै बैंकहरुलाई पश्चिमा सुखवादी समकक्षीहरुको सिको नगर्न चेतावनी दिइएको थियो ।
यसले अब चीन सरकारको ध्यान प्रविधि क्षेत्रपछि त्यहाँको वित्तिय क्षेत्रतर्फ रहेको संकेत गरेको छ ।
यद्यपि अर्बपतिहरुमाथिको हस्तक्षेपले सी जिनपिङलाई आफ्नो शक्तिमाथिको पकडलाई अझै कसिलो बनाउन सहयोग गर्छ कि गर्दैन त्यो हेर्न बाँकी नै छ । तर यसले चिनिया वित्तीय बजार, व्यवसाय तथा समग्रमा मुलुकको अर्थतन्त्रको आत्मविश्वासमा भने खतरा पैदा गरेको छ ।
बीबीसीबाट
प्रतिक्रिया 4