
पठनपाठनको कुरा गर्दा म पढाउने शिक्षक त हैन तर पढ्ने विद्यार्थी हुँ । पढ्नुपर्ने कुरा खूब चाख लगाएर पढ्छु । पढ््ने मात्रै हैन, कसैले केही कुरा सुनाउँदा औधी मन लगाएर सुन्छु । मलाई सुन्न मनपर्छ र लेख्न पनि कोशिश गरिरहन्छु । म पढाउने मान्छे नभए पनि मेरा पढाउने साथीहरू टन्नै छन् ।
एक दिन एक जना पढाउने साथीसँग भेट भयो । उनी शिक्षिका छिन् । भेट्नासाथ चिया पिउँ भनिन् । हामी चिया पसलतिर लाग्यौं । हामी प्रायः भेट हुँदा चिया पिउने ठाउँ हो । त्यहाँ हामी घण्टौं गफिन्छौं । लगभग हरेक विषयक्षेत्रका र दुनियाँदारीका कुरा गर्छौं ।
कुर गर्दै जाँदा उनले भनिन्, ‘मलाई पढाउन मन पर्छ नि !’
अरे ! अहो, पढाउन मलाई पनि मन पर्छ । ‘मेरो र तिम्रो कुरा मिल्यो है’ भन्दै हामी दुवै गलल्ल हाँस्यौं ।
‘तिमीलाई पढाउन मन पर्छ रे ?’ अचम्म माने झैं उनले प्रश्न सोधिन् ।
अचम्म मान्नु स्वाभाविक थियो । म पढाउँदिन तर पढाउन मनपर्छ । कुरा गरेपछि, म कक्षा ८ मा पढ्दा आफूभन्दा मुनिका घर नजिकका विद्यार्थीलाई पढाउँथें । मेरा विद्यार्थी प्रायः टप फाइभमा पर्थे नि !
‘विद्यार्थीलाई पढाउँदा, राम्रो व्यवहार गर्दा उधुमै खुसी लाग्छ र पढाउन पनि मज्जा आउँछ’, मैले जवाफ दिएँ ।
‘ए, तिमी त पहिलेदेखि थरीथरीका काम गर्ने रहेछौ है’, उनले भनिन् ।
अनि थप्दै गइन्— ‘हो, नि पढाउन मन पर्छ जब विद्यार्थीलाई मिहिनेत गरेर पढाएपछि राम्रो अंकले पास भएर सबल विद्यार्थी भयो भने औधी खुशी लाग्छ । तर, पहिले जस्तो अवस्था छैन । प्रायः विद्यार्थी पढ्नमा ध्यान दिंदैनन्, फोकस कम गर्छन्, नियमित पढ्न आउँदैनन्, भनेको टेर्दैनन् अनि नरमाइलो लाग्छ । कुनै काम तन–मन लगाएर समय दिएर गर्दा त्यसको प्रतिफल सोचेको जस्तो नहुँदा मन खिन्न हुन्छ ।’
‘सोचेको जस्तो रिजल्ट नआउनुको कारण के होला ?’ मैले सोधिहालें ।
प्रायः विद्यार्थी पढ्नमा सारै कमजोर हुन्छन् जसको धेरै कारण हुन सक्छ । परिवारको आर्थिक अवस्था, संस्कृति, राजनीतिक कुराहरू कमजोर हुँदा यसले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर पर्छ ।
जस्तो कि यी कुराहरूमा परिवारमा कमजोर भयो भने विद्यार्थी पढ्यो कि पढेनन् परिवारलाई खासै वास्ता हुँदैन । स्कूलबाट फर्किनासाथ होमवर्क गर्नुपर्छ कि नाइँ पनि वास्ता हुँदैन । अन्य धेरै कुराहरूको केयर हुँदैन ।
र, समुदायको सांस्कृतिक र राजनीतिक अवस्थाले पनि प्रभाव पार्छ । यदि कसैको छोराछोरी पढ्नमा राम्रो छ तर समाजमा पढ्ने वातावरण कमजोर छ भने यसले पनि प्रभाव पार्दछ ।
केही विद्यार्थी बाहेक पढ्नमा खासै वास्ता हुँदैन । यहाँ पढाए पनि घरमा पढ्दैन, पढाइ भन्दा सामाजिक सञ्जाल लगायत अन्य कुरामा बढी फोकस हुन्छन् । परिवार लगायत समाज, स्थान र अन्य कारण हुनसक्छ ।
अझै भन्दा, अभिभावकलाई विद्यार्थीप्रति चासो कम हुनु, सरोकारवाला निकायले यसप्रति ध्यान कम दिनु, कतिपय अवस्थामा विद्यालयको पनि कमजोरी हुन्छन् ।
महत्वपूर्ण कुरा विद्यालयमा शिक्षकलाई नियुक्ति दिंदा योग्यता चाहिन्छ, आवश्यक प्रक्रिया पूरा गरिन्छ । तर उनीहरू लगायत विद्यालयको प्रायः कामको निगरानी गर्ने व्यवस्थापन समिति बनाउँदा न प्रक्रिया पूरा गरिन्छ, न योग्यता हेरिन्छ । अनि उनीहरूको व्यवस्थापन कस्तो होला ?
मेरो गफ सुनेपछि उनले प्रतिप्रश्न गरिन्, ‘तिमी नै सोच न ।’
जवाफमा असन्तुष्टि र मुखाकृतिमा ‘अपसेट’ झल्किइरहेको थियो ।
‘कुरा ठिकै हो । यहाँ प्रणाली बिग्रिएको छ । विद्यालय जस्तो ठाउँमा राजनीति हुन्छ, सामुदायिक विद्यालयमा आर्थिक अवस्था कमजोर भएका प्रायः परिवारका छोरीहरू पढ्ने थलो बन्यो । छोराहरूलाई निजी विद्यालयमा पढाउँछन्’, उनले थपिन् ।
‘स्थानीय सरकार लगायत अन्य सरोकारवालाहरूको प्रभावकारी पहलकदमी नभएर अवस्था एकदम खराब छ’, मैले जवाफ दिएँ ।
‘अनि, के भनुँ ? पढाउन त मन पर्छ तर जब वातावरण सोचेको जस्तो हुँदैन तब कसरी राम्रो होला ?’
उनको प्रश्नलाई दिने मसँग केही जवाफ थिएन ।
उनीसँग अर्की शिक्षिका थिइन् । उमेर २१÷२२ वर्ष होला । उनी नजिकै प्राविधिक विद्यालयमा कृषि विषय पढाउँछिन् । संयोगवश उनलाई पनि म चिन्थें । उनको पनि त्यस्तै अनुभव छ ।
‘कम उमेरमा जागिर पाउनु पनि सहज थिएन । नाम निकाले पनि नियुक्ति पाउन तीन महिना जति लागेको थियो । उमेरले पनि कम हेर्दा धेरै पाको नदेखिने भएकोले विद्यार्थी कतिपय अवस्थामा क्लासमा बाधा पुर्याउने, कतिले होहल्ला गर्ने, अरूलाई डिस्टर्ब गर्ने, पढाउन असहज हुन्थ्यो ।
तर, समय बित्दै गयो, विद्यार्थीले मलाई र म विद्यार्थीलाई बुझ्दै गएपछि अवस्था फरक भयो । हामीले एकअर्कालाई स्वीकार्यौं । कृषि विषयमा थ्यौरी भन्दा प्राक्टिकल बढी भएकाले झन् हामीबीच राम्रो सम्बन्ध भयो । मलाई लाग्छ, विद्यार्थी र शिक्षकबीच सम्बन्ध राम्रो हुनुपर्छ । एकअर्कालाई बुझ्यो भने दुवैलाई सहज हुन्छ ।’ उनले एक सासमै सबै कुरा भनिन् ।
म र अर्की शिक्षिकाले सुनिरह्यौं ।
उनले फरि थपिन्, ‘हाम्रो समाजमा शिक्षण पेशालाई कम महत्व दिइन्छ, पढाउने मान्छेको अन्तिम प्राथमिकतामा पर्छ पढ्ने विषय । शिक्षक बन्न रुचि हुने मानिसले त पढ्नुपर्ने हो नि ! निजी विद्यालयमा जति लगानी सामुदायिक विद्यालयमा गर्यो भने अवस्था के होला ?’
केहीबेर हामी तीनैजना चूप भयौं ।
तीन तहका सरकारले यसप्रति चासो देखाउनुपर्छ, विशेषतः स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएकोले गम्भीर हुनुपर्छ ।
यो कुरामा हामी सहमत भयौं ।
अनि मैले भनें, ‘पढाउन मन पर्छ तर त्यो हुनुमा धेरै कुराको संयोग मिल्नुपर्छ । पढाउने शिक्षक मात्रै हैन, पढ्न विद्यार्थीदेखि अन्य सबै सरोकारवालाको साथ हुनुपर्छ ।’
हामी गफ सकेर छुट्टियौं, फेरि भेट्ने वाचा गरेर आ–आफ्नो गन्तव्यतर्फ । अनि हाम्रो गन्तव्य कहाँ रे !
प्रतिक्रिया 4