१५ चैत, काठमाडौं । नेपालमा उद्योग विभागम दर्ता भएका उद्योगको संख्या झण्डै ९ हजार रहेको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ सम्म ८ हजार ७६४ वटा उद्योग विभागमा दर्ता भएका छन् । यसरी दर्ता भएका उद्योगले विभागलाई गराएको जानकारी अनुसार ६ लाख ५७ हजार ५०७ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्छन् । विभागका अनुसार नेपालमा सबैभन्दा धेरै संख्यामा उद्योग उत्पादनमूलक क्षेत्रमा दर्ता भएका छन् ।
यस्ता उद्योगको संख्या ३ हजार २८० वटा रहेको छ । यी उद्योगले ३ लाख ४८ हजार ६२३ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । दोस्रो स्थानमा सेवामूलक उद्योग सञ्चालनमा रहेका छन् । यी उद्योगले १ लाख ३४ हजार ८१६ जनालाई प्रत्यक्ष रोजगारी दिन्छन् । तेस्रो स्थानमा पर्यटनमूलक उद्योग सञ्चालनमा छन् । पर्यटनमूलक उद्योगको संख्या १ हजार ९२२ वटा रहेको छ ।
यस्तो उद्योगले ७८ हजार १७६ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । चौथो स्थानमा कृषि र वन प्रदावारमा आधारित उद्योगको संख्या रहेको छ । ५२१ वटा उद्योग दर्ता भएकोमा ३९ हजार ४३२ जना रोजगारी देखिएको छ । पाँचौं स्थानमा ऊर्जामूलक उद्योग छन् । यी उद्योगले ३८ हजार ९७८ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । त्यसपछि खनिजको हिस्सा रहेको छ । देशभर ७२ वटा खानी उद्योग सञ्चालनमा रहेको र यसले ७ हजार ३८७ जनालाई रोजगारी सिर्जना गरेको पाइएको छ ।
सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित रहेर सञ्चालनमा रहेका उद्योगको संख्या ९३ वटा रहेको छ । जसले ५ हजार ८५० जनालाई प्रत्यक्ष रोजगारी दिएको पाइएको छ । यो कानुन अनुसार उद्योग विभागका दर्ता हुनुपर्ने उद्योगको विवरण हो । पूर्वाधार उद्योगको संख्या ६५ रहेको छ । जसले ४ हजार २४५ जनालाई रोजगारी दिएको छ ।
धेरै उद्योग र रोजगारी बागमतीमा
तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै उद्योग बागमती प्रदेशमा खुलेका छन् । सोहीकारण रोजगारी समेत यसै प्रदेशमा बढी छ ।
तथ्यांक अनुसार बागमती प्रदेशमा ५ हजार ६६० वटा उद्योग दर्ता छन् । यी उद्योगले ३ लाख ८३ हजनार ८४९ जनालाई रोजगारी सिर्जना गरेका छन् ।
कोशी प्रदेशमा ८२३ वटा उद्योग दर्ता छन् । यी उद्योगले ८४ हजार ३२५ जनालाई रोजगारी दिएका छन् । मधेश प्रदेशमा ५९० वटा उद्योग दर्ता भई ६२ हजार ६४८ जनालाई रोजगारी दिएको पाइएको छ । लुम्बिनीमा ६६८ वटा उद्योग दर्ता छन् । यी उद्योगले ६६ हजार ५२२ जनालाई रोजगारी दिएका छन् । गण्डकी प्रदेशमा दर्ता भएका ८०८ वटा उद्योगले ३८ हजार ८३० जनालाई रोजगारी दिएको विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा दर्ता भएका १३४ वटा उद्योगले १२ हजार २२६ जनालाई रोजगारी दिएको समेत विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा कम ८१ वटा मात्र उद्योग कर्णाली प्रदेशमा दर्ता भएका छन् । यी उद्योगले ९ हजार १०७ जनालाई रोजगारी सिर्जना गरेको तथ्यांक छ ।
साना उद्योगले सिर्जना गरिरहेका छन् धेरै रोजगारी
आव २०७८/७९ सम्मको तथ्यांक अनुसार नेपालमा धेरै रोजगारी साना उद्योगबाट सिर्जना भएको पाइएको छ । त्यसो त संख्यात्मक रुपमा पनि यस्ता उद्योगको संख्या ठूलो छ । यस आवसम्म ५ हजार ४४२ वटा साना उद्योग दर्ता भएकोमा २ लाख ९७ हजार ७८८ जनालाई रोजगारी सिर्जना भएको छ ।
मझौला उद्योग २ हजार १७ वटा उद्योग दर्ता भएकोमा १ लाख ८० हजार ८६२ जनालाई रोजगारी सिर्जना भएको छ । १ हजार ३०५ वटा ठूला उद्योग दर्ता भएकोमा १ लाख ७८ हजार ८५७ जनाले रोजगारी पाएका छन् ।
जिल्लागत रुपमा काठमाडौं पहिलो
जिल्लागत रुपमा हेर्दा धेरै रोजगारी सिर्जना गर्नेमा काठमाडौं पहिलो स्थानमा छ । यो जिल्लामा ३ हजार ७६७ वटा उद्योग दर्ता भएका छन् । जसले २ लाख ५३ हजार ९८९ जनालाई रोजगारी सिर्जना गरेका छन् । ललितपुरमा ९४४ वटा उद्योग दर्ता भई ५२ हजार १६१ जनालाई रोजगारी सिर्जना भएको छ ।
बारामा २७१ वटा उद्योगले २७ हजार २०९ जनालाई रोजगारी दिएका छन् । रुपन्देहीमा २६७ उद्योगले २४ हजार ६२१ रोजगारी सिर्जना गरेका छन् । कास्कीमा २५९ वटा उद्योग दर्ता भएका छन् । जसले २० हजार ५४८ जनालाई रोजगारी दिएका छन् । पर्सामा २१२ वटा उद्योगले १९ हजार ७५४ जनालाई रोजगारी दिएको देखिएको छ ।
सबैभन्दा कम डोल्पा र परासीमा एक/एक उद्योग दर्ता भई क्रमशः २१ र ४० रोजगारी सिर्जना भएको देखिएको छ । राजधानीबाहेक अधिकांश हिमाली र पहाडी जिल्लामा उद्योगको संख्या कम छ ।
उद्योग थपिने क्रम कस्तो छ ?
नेपालमा कोभिड-१९ महामारीको समयमा केही सुस्ताएको नयाँ उद्योग आउने क्रम कोभिड महामारीपछि भने केही विस्तार हुन थालेको देखिएको छ ।
विभागका अनुसार आव २०७४/७५ मा ४९८ वटा नयाँ उद्योग दर्ता भएका थिए । आव २०७५/७६ मा ४३९ वटा नयाँ उद्योग आए । २०७६/७७ मा यस्तो संख्या २७७ मा सिमित भयो । आव २०७७/७८ मा पनि मात्र २०३ वटा नयाँ उद्योग दर्ता भएका थिए । आव २०७८/७९ मा भने ३०९ वटा नयाँ उद्योग दर्ता भएका छन् । यस आवमा सबैभन्दा धेरै उत्पादनमूलक ११६ वटा उद्योग दर्ता भएका छन् ।
प्रतिक्रिया 4