
१९ चैत, गोरखा । १७ चैत २०५७ मा गोरखा काराबारबाट सुरुङ खनेर ६ जना महिला बन्दी भागेका थिए । उक्त टोलीमा थिए उमा भुजेल, कमला नहर्की, रीता थापा, एन्जिला बिक, सञ्जु अर्याल र मीना मरहट्टा ।
२०५६ कात्तिक १३ मा पक्राउ परेकी उमा र उनी भन्दा पछि पक्राउ परेका अरु महिलाहरु कारागारमा आफैंले खनेको सुरुङबाट राति बाहिर निस्केका थिए । जुन घटनालाई माओवादी खेमाले ‘गोरखा जेल ब्रेक’ घटनालाई गौरवको रुपमा मनाउँछ ।
१३ कात्तिकमा पक्राउ परेपछि गोरखा हुँदै तनहुँको प्रहरी हिरासत लगिएकी उमालाई अदालतले तारेखमा छाड्न आदेश दिएको थियो । त्यसपछि रिहा भएकी उनलाई प्रहरीले लगत्तै पक्राउ गरेर गोरखा ल्यायो र प्रशासनले हातहतियार तथा खरखजाना मुद्धामा जेल चलान गर्यो ।
त्यतिबेला कारागारभित्र राजनीतिक आस्था भएकी उनी एक मात्र महिला बन्दी थिइन् । पछि उनकै पार्टीका कमला नहर्की, रीता थापा, एन्जिला बिक, सञ्जु अर्याल र मीना मरहट्टा थपिए । त्यसपछि उनीहरुले संयुक्त रुपमा योजना बनाएर जेलबाहिर निस्कने योजना बनाएका उमा सम्झिन्छिन् ।
‘जेल ब्रेकको निर्णय गर्नुअघि भाग्नका लागि अनेक उपाय गर्यौं, अस्पताल जाने क्रममा पनि फुत्कन खोज्यौं, कारागारमा भएको पर्खाल नाघ्ने कोशिस पनि गर्यौं तर सफल भइएन,’ भुजेलले भनिन्, ‘अन्तिममा ५-६ घण्टाको छलफलपछि सुरुङ खनेर भाग्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौ ।’
तर सुरुङ कसरी खन्ने भन्ने कुराको उनीहरुलाई ज्ञान थिएन । रातको १२ बजेसम्म बसेर उनीहरु योजना बनाउथे । अन्ततः उनीहरुले १०० औं माओ दिवस (११ पुस) मनाएर सोही दिनदेखि सुरुङ खन्ने निर्णय गरे । बिहान माओ दिवस मनाए र दिउँसो तीन बजेदेखि सुरुङ खन्ने कामको सुरुवात गरे । ‘त्यतिबेलासम्म बाहिर के छ भनेर हामीलाई थाहा पनि थिएन, कसरी खन्ने भन्ने ज्ञान थिएन, सानो एउटा रड भेटाएका थियांै त्यसले नै खन्न सुरु गर्यौं,’ उनले भनिन् ।
सुरुङ खनेको प्रहरीले थाहा पाउँछ भनेर झारहरुले खाडल छोपे । तरकारी लगाएको बहाना बनाउँदै त्यस ठाउँमा प्रहरी वा अरुलाई जान दिएनन् । जब खाडल ठूलो बन्दै गयो अनि समस्या हुन थाल्यो । उनीहरुले ढाकाको तान बुन्ने भनेर बाँस मगाए र शौचालय जस्तो बारेर खाडल छोप्न थाले । पछि खाडलमाथि क्यारेमबोर्ड राखेर माटोले पुर्न थालेपछि लुकाउन केही सहज भयो ।
एक जना खाडलभित्र पसेर खन्न थालेपछि अर्काेले त्यहाँबाट निस्कने माटोको व्यवस्थापन गर्न अर्को ठाउँमा खाडल खन्न सुरु गथ्र्याे । सुरुङ खनेको कुरा अरुले थाहा नपाउन् भनेर उनीहरुले एक आपसमा कोड भाषा समेत प्रयोग गर्थे ।
उनीहरुको छुट्टाछुट्टै जिम्मेवारी थियो । उनीहरु बाहेक कारागारमा रहेका अन्य दुई जना महिला बन्दीहरुलाई भुलाउने जिम्मा रिता थापाको थियो । सुरुङ खन्ने समयमा रिताले ती दुई महिला बन्दीहरुलाई गीत गाउने, नाच्ने, सिलाई सिकाउने र पढाउने गरेर भुलाउथिन् ।
कमला नहर्कीले सुरुङ खन्ने काम गर्थिन् । खनेको माटो लुकाउने जिम्मेवारी सञ्जु अर्यालको थियो । सेन्ट्री पोस्टको प्रहरी भुलाउने काम मीना मरहट्टा र रिताले गरिन् । यी सबै कामको संयोजन भुजेलले गर्थिन् ।
बिहान, दिउँसो र साँझ नै उनीहरुले खाडल खन्ने काम गर्थे । ‘बिहान पुलिस ढोका खोलेर गएपछि खन्ने काम सुरु गथ्र्याै, किनकी ढोका खोलेर गएलगत्तै पुलिस आउदैनथ्यो, बिहानको खाना खाएपछि अरु आराम गर्थे हामी काम गथ्र्याै, अनि साँझ पुलिसले ढोका लगाएर गएपछि फेरि काम थाल्थ्यौं’, भुजेलले भनिन् । दैनिक उनीहरु रातमा कामको समीक्षा गर्दै भोलिपल्टको योजना बनाउथे ।
फागुन १ गते जेल ब्रेक गरेर भाग्ने योजनाका साथ उनीहरुले काम अघि बढाएका थिए । तर बीचमै कारागारको पछाडी भागमा काँडेतार लगाउने योजनासहित प्रशासनले काम सुरु गरेपछि उनीहरुको योजना सफल हुन सकेन ।
करिब डेढ महिना उनीहरुले काम गर्न पाएनन् । तारबारको काम निरीक्षणका लागि दिनहूँ प्रहरी र प्रशासनका मान्छे आउथे । अब फस्ने भइयो भनेर उनीहरु चिन्तित र त्रसित थिए । तर खाडल छोपेको ठाउँमा तरकारी लगाएको छ नटेक्नु भन्दै उनीहरुले बिभिन्न वहाना बनाए र आफ्नो योजना लुकाउन सफल भए । तीन महिनामा उनीहरुले सुरुङ तयार गरे ।
कोठाभन्दा बाहिरी भागमा रहेको खुल्ला ठाउँबाट सुरुङ खनिएको थियो । सुरुङ तयार भएपनि कोठा बाहिर कसरी निस्कने भन्ने समस्या थपियो । झ्यालमा राखिएको रड फोडेर निस्कने योजना बनाए । राति १२ः३० बजे कम्प्युटर सिकाउन राखिएको टेबल चढेर झ्यालको रड फुटाउन थाले । अनि त्यहीँबाट पालैपालो बाहिर निस्किए ।
त्यतिबेला कारागारको पछाडि भागमा प्रहरीको सेन्ट्री पोष्ट थिएन । अनि सुरुङको बाटो भएर कारागारबाट भाग्न सफल भए । सबैभन्दा अगाडि भुजेल बाहिर निस्किइन्, लगत्तै अरु साथीहरु । बाहिर निस्किएपछि मकैबारीमा घिसि्रदै लुक्दै उनीहरु अघि बढे ।
कोही हाम फालेको जस्तो आवाज सुनेपछि प्रहरीले हवाइ फायर समेत गरेको थियो । तर भित्रबाट कैदीबन्दी भागेको भन्ने प्रहरीले पत्तो पाएन । बाहिरबाट कोही आउन खोजेको अनुमान गर्यो सायद । उनीहरु राति करिव एक बजे कारागारबाट भागेका थिए । रातारात भागेर उनीहरु बक्राङ पुगे । नहर्की र भुजेलको नेतृत्वमा दुई टोली बिभाजन भएर उनीहरु छुट्टिएका थिए ।
तीनै गोरखा जेल ब्रेक गरेर भागेका भुजेल र थापा शुक्रबार सम्मानित भए । २२ औ जेल ब्रेक दिवसको सन्दर्भ पारेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उनीहरुलाई सम्मान गरेको हो । उनीहरुसँगै जेल बेक्र गरेर भागेका अन्य दुई जनालाई पनि सम्मान गर्ने कार्यक्रम थियो तर, उनीहरु उपस्थित भएनन् । एन्जिला र मीना सशस्त्र द्वन्द्वकै क्रममा मारिए । सम्मान ग्रहण गर्दै भुजेलले जनताको व्यवस्था ल्याउनका लागि आफूहरु जेल ब्रेक गरेर आएपनि अझैसम्म उद्देश्य पूरा नभएको बताइन् ।
जनताको व्यवस्था ल्याउनका लागि जनक्रान्ति गरिरहेको उनले जानकारी गराइन् । सम्मान कार्यक्रमका लागि गोरखा आएकी भुजेलले कार्यक्रमअघि आफूले ब्रेक गरेको गोरखा कारागार परिसर अवलोकनसमेत गरेकी थिइन् ।
प्रतिक्रिया 4