२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै क्रिप्टोकरेनसीलाई कुनै निश्चित समूहले मात्र मुद्राको रुपमा स्वीकार गरेको अदृष्य वस्तु भनेको छ ।
विभिन्न मुलुकले आवश्यकताअनुसार क्रिप्टोकरेन्सी सम्बन्धी फरक व्यवस्था गरेको भएपनि नेपालमा अन्य मुलुकसँग हुने पूँजीगत कारोबारमा नियन्त्रित व्यवस्था रहेकोले क्रिप्टोकरेन्सी कारोबार गर्न नमिल्ने केन्द्रीय बैकको अध्ययनको निष्कर्ष छ ।
‘नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्ध रहेको हुँदा क्रिप्टोकरेन्सी कारोबारबाट उक्त व्यवस्थाहरुको बर्खिलाप हुन जाने हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रदान गरी नेपाल राष्ट्र बैंकले विभिन्न मितिहरुमा सार्वजनिक सूचना प्रकाशन गर्दै क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै आएको छ’ राष्ट्र बैंकको क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदनामा भनिएको छ ।
‘मुद्राको विकासक्रममा निजी क्षेत्रबाट जारी भएको मान्यता नभएका मुद्रालाई प्रतिस्थापन गर्दै हालको मौद्रिक व्यवस्थासम्म आइपुग्दा अधिकारप्राप्त निकायले जारी गर्ने आधिकारिक मुद्राको स्वरुपमा आएकोमा क्रिप्टोकरेन्सीले मुद्राको विकासक्रममा पश्चगमन हुने’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले क्रिप्टोकरेन्सी वित्तीय सम्पत्ती, सुनचाँदी जस्ता बहुमूल्य सम्पत्ती वा विद्युतिय सम्पत्ती हुन नसक्ने बताएको छ । क्रिप्टोकरेन्सी प्रयोग गर्ने समूहले यसलाई वित्तीय सम्पत्ति भनपनि वित्तीय सम्पत्तिको रुपमा स्वीकार हुनसक्ने नदेखिएको राष्ट्र बैंकको निष्कर्ष छ । वित्तीय सम्पत्ति हुन त्यस्तो वस्तुमा नगद प्रवाह हुन सक्ने गुण वा विशेषताका साथै र अन्य कुनै व्यक्तिको दायित्व हुनु पर्नेमा क्रिप्टोमा त्यस्तो नहुने प्रतिवेदनमा उल्लेख छ ।
‘क्रिप्टोकरेन्सी वित्तीय सम्पत्ति मात्रै नभई जस्तो बहुमूल्य धातु भन्ने गरीए पनि धातुको रुपमा समेत स्वीकार हुन नसक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सुनचाँदीको आपूर्ति सीमित भए जस्तै गरी क्रिप्टोकरेन्सीको निष्कासन संख्या तोकिएतापनि एक भन्दा धेरै प्रकारकाहरु प्रलचनमा भएको र नयाँ–नयाँ जारी हुने गरेको हुँदा स्वतः बहुमूल्य धातुको जस्तो परिमाणको सीमा पालना हुँदैन ।’
अध्ययन प्रतिवेदनले सुनचाँदी जस्ता बहुमूल्य धातुलाई समेत मुद्राको रुपमा प्रचलनमा ल्याउन सार्वभौम मुलुकले टकमारी गर्नुपर्ने भन्दै क्रिप्टोकरेन्सी वित्तीय सम्पत्ती र बहुमूल्य धातु हुन नसक्ने भनेको छ । ‘क्रिप्टोकरेन्सी विद्युतीय कोडमा आधारित भएतापनि सोको कुनै व्यावहारिक प्रयोग नभई विशुद्ध सट्टेबाजी प्रकृतिको रहेको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।
भारतीय रिजर्भ बैंकको एक प्रतिवेदनअनुसार विश्वमा अहिले करिव २३ हजार वटा क्रिप्टोकरेन्सी प्रचलनमा छन् । ती मध्येको पहिलो बिटक्वाइन नामक क्रिप्टोकरेन्सी सन् २००९ बाट प्रचलनमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । त्यसअनुसार क्रिप्टोकरेन्सीको कुल बजार पूँजीकरणमा बिटक्वाइनको हिस्सा ४२ छ । विश्वमा अहिले ४५० वटा क्रिप्टोकरेनसी एक्स्चेञ्ज रहेको उल्लेख छ ।
क्रिप्टोकरेन्सी कारोबारका १३ जोखिम
राष्ट्र बैंकको अध्ययनअनुसार, क्रिप्टोकारोबारमादेशलाई मात्र नभई व्यक्तिलाई पनि विभिन्न जोखिम हुन्छ । प्रतिवेदनले औल्याएको १३ वटा जोखिम:
समग्र आर्थिक सन्तुलन कायम नहुने
प्रचलित आर्थिक, मौद्रिक तथा वित्तीय व्यवस्थामा सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, बचतकर्ता, ऋणी, सर्वसाधारणलगायत विभिन्न सरोकारवाला पक्षहरु हुने र उक्त पक्षहरुबीचको हित सुनिश्चित हुने उद्देश्यका साथ देशले नीतिगत व्यवस्था गरेको हुन्छ । क्रिप्टोकरेन्सीको कारोबार भने वित्तीय मध्यस्थकर्ता लगायत पक्षहरुसमावेश नभई प्रयोगकर्ता र लगानीकर्ता बीचमा मात्र केन्द्रित भई प्रयोगकर्ता/लगानीकर्ताको लगानी स्वामित्व समेत सट्टेबाजी प्रकृतिको भई अत्यधिक जोखिम हुने हुँदा क्रिप्टो कारोबारबाट समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम रहेको राष्ट्र बैंकको जोखिम विश्लेषण प्रतिवेदनमा उल्लेख छ ।
वित्तीय स्थायित्व सम्बन्धी जोखिम
क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगले समस्त वित्तीय स्थायित्वमा प्रतिकूल असर गर्नसक्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को २०२१ अक्टोबरको ‘ग्लोबल फाइनान्सियल स्टेविलिटी रिपोर्टले क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीनवटा प्रमुख चुनौतीमध्ये एक भनेको छ ।
मौद्रिक नीति कार्यान्वयन नहुने जोखिम
क्रिप्टोकरेन्सी प्रचलनमा आउँदा अर्थतन्त्र ‘डलराइजेसन’ हुने सम्भावना रहेको केन्द्रिय बैंकको जोखिम विश्लेषण प्रतिवेदनले औल्याएको छ । यसले गर्दा मुद्रा प्रदाय तथा ब्याजदरमाथि केन्द्रीय बैंकको नियन्त्रण गुम्नसक्ने जोखिम रहेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालन हुने र केन्द्रीय बैंकको नियन्त्रण बाहिर भएकोले यसको प्रयोग भएमा मुद्रा प्रदायमा गणना नभई मौद्रिक नीतिको प्रशारण संयन्त्र लगायत सोको प्रभावकारितामा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ ।’
विदेशी विनिमय सञ्चिति सम्बन्धी जोखिम
नेपालमा विदेशी विनिमय सञ्चितिमाक्रिप्टोकरेन्सीस्वीकृत छैन । यसले गर्दा क्रिप्टोकरेन्सीप्रचलनबाट विदेशी विनियम सञ्चितिमा समेत नकारात्मक प्रभव पर्ने केन्द्रिय बैक्ंले जनाएको छ ।
‘नेपालमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रेषण भएको हुँदा नेपाल बाहिर बस्ने नेपाली नागरिकलाई विभिन्न प्रलोभन/प्रभावमापारी क्रिप्टोकरेन्सीमा लगानी हुन सक्ने र त्यस्तो सट्टेबाजी लगानीले लगानीकर्ताको हित लगायत देशको अर्थतन्त्रमा नै समस्या निम्तिन सक्ने जोखिम रहन्छ’ प्रतिवेदनमा भनिएको छ ।
क्रिप्टोकरेन्सीको कारोबारबाट पूँजी पलायन हुनसक्ने र विदेशस्थित नेपालीबाट नेपाल आउने विप्रेषण विदेशमै लगानी हुनसक्ने जोखिम समेत रहेको प्रतिवेदनले आँैल्याएको छ ।
सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा वित्तीय लगानी सम्बन्धी जोखिम
क्रिप्टोकरेन्सी कारोबारमा सहभागी पक्षहरुको पहिचान गोप्य रहने हुँदा ग्राहक पहिचान, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पालनामा चुनौती थपिने जोखिम रहेको अध्ययनले देखाएको छ । सन् २०२१ मा अमेरिकी डलर १४ अर्ब बराबरको अपराध क्रिप्टोकरेन्सीमार्फत् भएको तथ्याक ६ जनवरी २०२२ को वाल स्ट्रिट जर्नल’ मा प्रकाशित भएको प्रतिवेदमा उल्लेख छ ।
क्रिप्टोकरेन्सीको कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा लगानी सम्बन्धी जोखिमबारे विश्वभरको सम्पत्ति शुद्धीकरणमा निगरानी राख्ने ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ)ले २०१४ जुनमा प्रकाशन गरेको प्रतिवेदनमा जोखिम औंल्याएको छ ।
वित्तीय ग्राहक संरक्षण सम्बन्धी जोखिम
क्रिप्टोकरेन्सीको कारोबारबाट ग्राहक संरक्षणमा पनि असर गर्ने राष्ट्र बैंकको अध्ययनले औंल्याएको छ । ‘क्रिप्टोकरेन्सीबाट नेपाल जस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरु असुरक्षित हुने सम्भावना रहन्छ’ प्रतिवेदनमा भनिएको छ ।
लगानीको असुरक्षा हुने सम्बन्धी जोखिम
पछिल्लो समय ‘एफटीएक्स’ जस्तो क्रिप्टोकरेन्सीको दोस्रो ठूलो एक्सचेञ्जटाटपल्टीएकोले पनि क्रिप्टोकरेन्सीमा हुने लगानी अत्यधिक जोखिमपूर्ण रहेको देखिने प्रतिवेदनमा उल्लेख छ । साथै, पछिल्लो समयमा भएको ‘टेरा युएसडी’ र ‘लुना’ को पतनले समेत क्रिप्टोकरेन्सीको लगानी जोखिमपूर्ण हुने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
ठगी तथा कर छली सम्बन्धी जोखिम
क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । फाइनान्सियल स्टेविलीटी इन्टिच्युटको अप्रिल २०२१ को प्रतिवेदनमा एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा विटक्वाइनको ठेगानबाट मात्रै अपराधिक गतिविधिमा मात्र ३.५ अर्ब अमेरिकी डलर पठाएको उललेख छ ।
अन्तर्राष्ट्रिय संघ–संस्थासँगको सहकार्यमा जोखिम
क्रिप्टोकरेन्सीबाट निम्तिने जोखिमलाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय मुद्रा कोषले एल साल्भाडोरलाई क्रिप्टोकरेन्सीको कानुनी ग्राह्यता खारेज गर्न २५ जनवरी २०२२ मा सुझाव दिएको थियो । यस्तै, युनाइटेड नेशन्स कन्फरेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट (यूएनसीटीएडी)ले विकासशील राष्ट्रहरुलाई क्रिप्टोकरेन्सी हानिकारक हुने २०२२ जुलाईमाउल्लेख गरेको छ । विकासउन्मुख मुलुकहरुमा क्रिप्टोकरेन्सीको विस्तार रोक्नु पर्ने यूएनसीटीएडीको धारणा रहेको राष्ट्र बैंकको विश्लेषण प्रतिवेदनमा उल्लेख छ ।
वित्तीय मध्यस्थता नहुने सम्बन्धी जोखिम
क्रिप्टोकरेन्सीले विद्यमान वित्तीय मध्यस्थताविना भुक्तानी सम्बन्धी कार्य गर्ने हुँदा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप परिचालन तथा साख सिर्जनालगायतका कार्यमा समेत नकारात्मक असर पर्न गई बैंक तथा वित्तीय संस्थाको औचित्य माथि प्रश्न खडा हुने चुनौति रहेको प्रतिवेदनले औंल्याएको छ ।
मुद्रा निष्कासन गर्ने एकाधिकार सम्बन्धी कानुन पालना नहुने जोखिम
क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट जारी भएको हुँदा सार्वभौम राज्यबाट निष्कासन हुने विद्यमान मुद्रा सम्बन्धी व्यवस्थामा चुनौती खडा गर्ने प्रतिवेदनमा उल्लेख छ । साथै क्रिप्टोकरेन्सीको प्रचलनले अर्थतन्त्रमा स्वतः एकभन्दा बढी मुद्रा प्रणाली प्रचलनको जोखिम हुने प्रतिवेदनमा उल्लेख छ ।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५२(१) ले नेपालभित्र मुद्रा निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई एकाधिकार दिएको परिप्रेक्ष्यमा नेपालमा क्रिप्टोकरेन्सी जारी हुँदा तथा प्रचलनमा आउँदा ऐनको उक्त व्यवस्थाको पालना नहुने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुन पालना नहुने सम्बन्धी जोखिम
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० क र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ ले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । पूँजीगत कारोबारमा पनि नेपालले नियन्त्रित व्यवस्था गरेको छ । क्रिप्टोकरेन्सीको प्रयोगबाट त्यस्तो पूँजीगत कारोबारमाथिको नियन्त्रण गुम्न जाने र उक्त कानुनी व्यवस्थाहरुको पालना नहुने जोखिम प्रतिवेदनले औंल्याएको हो ।
नेपालमा बस्ने नेपाली नागरिकहरुले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले तोकेको अवस्था बाहेक अन्य कुनै पनि किसिमले विदेशमा लगानी गर्न प्रतिबन्धित रहेको हालको विद्यमान कानुनी व्यवस्थामा क्रिप्टोकरेन्सीमा प्रतिबन्ध नलगाउँदा त्यस्तो नियन्त्रण गुम्न जोखिम समेत रहेको प्रतिवेदनमा उल्लेख छ ।
विदेशी विनिमय माथिको नियमन गुम्ने जोखिम
हाल नेपालमा विदेशी सार्वभौम मुलुकले जारी गरेका तथा अन्य मुलुकमा सर्वस्वीकार्य रहेका विदेशी मुद्रा माथिको पहुँच नियन्त्रित छ । विदेशी सरकारले जारी गरेको नगद विदेशी मुद्रा समेत नेपाली नागरिकले तोकिएको सीमासम्म मात्र राख्न सक्ने व्यवस्था छ । १०० दरभन्दा ठूला दरका भारतीय रुपैयाँका नोट नेपालमा प्रतिबन्धित छ ।
यसरी नेपालले विदेशी विनिमयउपर नियन्त्रित व्यवस्था अवलम्बन गरेको अवस्थामा क्रिप्टोकरेन्सी कारोबारबाट त्यस्तो नियन्त्रण (नियमन) गुम्न सक्ने जोखिम प्रतिवेदनले औंल्याएको छ ।
प्रतिक्रिया 4