+
+

‘तिमीलाई कोठा चाहिए हामीलाई कोटा चाहियो’ भन्ने साथीहरु, यो पढ्नोस्

जीवन क्षेत्री जीवन क्षेत्री
२०८० वैशाख ११ गते १४:५०

बाग्लुङ जिल्लाको साविक राङखानी गाविस वडा नं. एकको बीचतिर पर्ने हाम्रो गाउँको बीचबाट एउटा ठाडो बाटो माथितिर सोझिन्छ ।

आधा घण्टा जति त्यही बाटो उक्लेर ५ मिनेट जति सम्म चौर हिंडेपछि हामीले ५ कक्षासम्म पढेको स्कुल आउँथ्यो । त्यस दिन पनि भतिज सुनिल र नुन–तेल पदमार्ग पछ्याउँदै बुटवलसम्म एक्लै जान तम्सिएको म हामीलाई अक्षर चिनाउने त्यो स्कुल पुग्यौं ।

पाँच वर्षको उमेरमा त्यहाँ शिशु कक्षामा भर्ना भएको थिएँ म । तर वार्षिक परीक्षा नै नआइ केही महिनापछि सरहरुले मलाई एक कक्षामा बढुवा गरिदिनुभएको थियो ।

त्यो स्कुलका शुरुआती दिनका कक्षाको पढाइभन्दा पनि एक बजे चौरमा खेलिने खेलहरु मेरो स्मृतिमा बढी प्रस्ट छन् । अक्सर हामी केटाकेटी ‘हावा–टाक्के’ भनिने जातीय विभेदको भाषाले लैश खेल खेल्थ्यौं भने कहिलेकाहीं कपर्दी पनि खेल्थ्यौं ।

अक्षर चिनेपछि पाठहरु कण्ठ पार्न खुब चाख लाग्थ्यो । ‘मायाको पाठाको नाम चुल्बुले थियो….’ यसरी शुरु भएको पाठ अन्तसम्मै रट्ने हाम्रो गृहकार्य हुन्थ्यो । पछि, ठूलो कक्षासम्म पुग्ने बेलासम्म पनि मलाई त्यो पाठका धेरै अनुच्छेद कण्ठ थिए । मायाको चुल्बुले पाठो र पांग्रे कुकुरका नाम अद्यापि याद छन् ।

प्राथमिक स्कुलका मेरा अनुभवहरु प्रीतिकर भए पनि सबैको अनुभव त्यस्तो थिएन । खास गरी दलित गाउँका धेरै केटाकेटीका लागि स्कुल कहाली लाग्दो ठाउँ हुन्थ्यो ।

उनीहरुका बाबुआमा दिनरात काममा घोटिने मात्र हैन, अक्सर निरक्षर हुन्थे । त्यसैले हामीलाई झैं घरमा कलिला हात समातेर अक्षर सिकाउने उनीहरुको कोही हुँदैनथ्यो । धेरैका बाबुआमाले कापी र पेन्सिल किनिदिने उपाय नभएकाले ९, १० वर्षका हुन्जेल केटाकेटीलाई स्कुल पठाउँदैनथे ।

तबसम्म हामीले झैं बिहान–बेलुका काममा सघाउने मात्र हैन कहिलेकाहीं मेलामा गएर दिनभर काम गर्न थालिसकेका हुन्थे उनीहरुले ।

त्यसैले अक्सर हाम्रा कक्षाका दलित साथीहरु हामीभन्दा जेठा र हुर्किसकेका हुन्थे ।

यी सबै कारणले उनीहरु पढाइमा हामी गैर–दलित समुदायका केटाकेटीभन्दा सामान्यतः कमजोर हुन्थे र बारम्बार फेल हुन्थे । केही सोध्दा नजानेको झोकमा सरहरुले तीन वा चार कक्षाका विद्यार्थीलाई दुई कक्षामा लगेर राखिदिन्थे । उनीहरु अपमानित र निराश हुन्थे अनि कतिले दुई कक्षाकै वार्षिक परीक्षा दिएर पढाइलाई निरन्तरता दिन्थे भने अरु कतिले सधैंका लागि स्कुल छाडिदिन्थे ।

सबै सरहरु त्यस्ता थिएनन् तर केहीले घरमा र मेलापातमा वयस्क दलितहरुलाई हेपेझैं स्कुलमा दलित बालबालिकालाई हेप्थे । कक्षामै जातिभेदी अपशब्द प्रयोग गरेर उनीहरुलाई गाली गर्थे अनि हामी गैर–दलितलाई भन्दा कडा र निर्मम सजायँहरु दिन्थे । खास गरी प्राथमिक तहमै अड्किबसेका १४, १५ वर्षका किशोरहरुले निर्मम कुटाइ खान्थे ।

यो सबैको परिणामः दलित बालबालिकाहरु निकै गयल पर्थे र उनीहरुको कक्षा छुट्थ्यो । वर्षको अन्तमा जब नतिजा आउँथ्यो, बाहुन–क्षेत्रीका केटाकेटी आक्कलझुक्कल फेल हुन्थे भने दलितहरुका केटाकेटी आक्कलझुक्कल मात्रै पास हुन्थे ।

अनि कक्षा बढ्दै गर्दा दलित विद्यार्थीहरुको संख्या घट्दै जान्थ्यो ।

१५, १६ वर्ष पुगेपछि धेरै दलित किशोरीहरुका बाउआमाले बिहे गरिदिन्थे भने किशोरहरु बाबु वा छिमेकीको साथ लागेर दिल्ली, मद्रास वा हैदरावाद भासिन्थे । उता जान नसक्नेहरुले आरन वा हलको काममा बाबुहरुलाई सघाउँथे ।

त्यसैले एकतिर ‘जनप्रिय प्रावि’ नामक हाम्रो स्कुल सबै जनका लागि उत्तिकै प्रिय थिएन । अर्कोतिर दलितहरुका दुख स्कुलमा सीमित थिएनन् ।

बाहुन समुदायको वर्चस्व भएको हाम्रो गाउँ र प्राथमिक स्कुलमा दलितहरुको अवस्था यस्तो थियो भने मगर समुदायको वर्चस्व भएका लेकतिर उनीहरुको अवस्था झनै खराब थियो । त्यसलाई झल्काउने अर्को एउटा उदाहरण हेरौं ।

तीनचोके डाँडाको तलपट्टि पर्ने बिजुवामा कसैको बिहे थियो । त्यही गाउँमा केही घर मात्रै रहेका विपन्न गन्धर्व वा ‘गाइने’ समुदायका मानिसहरु पनि बाजाको रमाइलो हेर्न आएका रहेछन् ।

त्यही रमझममा सबैका आँखै अगाडि केही गैर–दलित केटाहरुले गन्धर्व समुदायका किशोरीहरुलाई हात समातेर जबर्जस्ती लतार्दै लगेछन्, बाउआमाका आँखै अगाडि । अनि केही तल बारीका पाटामा लगेर सामुहिक बलात्कार गरेर ती किशोरीहरुलाई छाडेछन् ।

बाजाको कोलाहलबीच न त्यस विषयमा कुनै हल्ला भयो, न ठूलो हारगुहार । गाउँको शक्ति सम्बन्धमा सधैं अरुको पैतालामुनि दबिएर बसेका अल्पसंख्यक गन्धर्व वयस्कहरुले प्रतिकार गर्नु त कता कता, त्यत्रो अपराधप्रति एक शब्दको मौखिक प्रतिवाद समेत नगरी सहन विवश थिए ।

दुरदराजको गाउँबाट प्रहरीसम्म पुगेर उजुरी गर्ने र उनीहरुले न्याय पाउने कुरा कसैको कल्पनामै आउँदैनथ्यो ।

असाध्य सानो संख्यामा रहेकाले गन्धर्व समुदाय अरु दलितहरुभन्दा पनि दमित र अपहेलित थियो गाउँमा । आमाले हामी सानो छँदा सुनाएको एउटा किस्साअनुसार कुश्मी सेराभन्दा पारीपट्टि एक गन्धर्वको एक्लो परिवार बस्थ्यो । घरमा अन्न सकिएपछि श्रीमान्चाहिं अन्नको खोजीमा निस्केछन् । नजिक अन्न नपाएर उनी कालीपार भनिने फलेवासतिर पुगेछन् । फर्कन निकै समय लागेछ ।

उनले घर फर्कंदा देखेको भनेर आमाले व्याख्या गर्ने वीभत्स दृश्य सम्झँदा मेरो अहिले पनि आङ सिरिंग हुन्छ ।

श्रीमान् निस्केपछिको एकाध मुठी अन्न श्रीमतीले सानो बच्चालाई ख्वाएर उसको सास धानिछन् तर आफैं भोकले बेहोश भइछन् । बेहोशीमा लडेकै बेला उनी भुइँमा बितिछन् । उनी भोकैले बितिन् वा अरु रोग पनि थियो? त्यो थाहा पाउने अब कुनै उपाय छैन ।

श्रीमान् फर्कंदा श्रीमतीको शरीर चिसो भइसकेको थियो तर भोकतिर्खाले व्याकुल र कमजोर भइसकेको बच्चाले आमाका निर्जीव स्तन चुसिरहेको थियो ।

नेपालमा छुवाछुत र जातव्यवस्थाको बहस छेडिंदा, मध्यमवर्गका बाहुन–क्षेत्रीहरुले ‘तिमीलाई कोठा चाहियो भने हामीलाई कोटा चाहियो’ भनेर सस्तो बहस छेडिरहँदा जहिले पनि मलाई त्यो विवश बच्चाको विम्ब याद आउँछ ।

कुपोषण र रोगले ज्यान नलिइहालेको भए त्यो बच्चा पनि हुर्केर अहिले वृद्धावस्थामा पुगेको हुनुपर्छ, हाम्रा बाआमाझैं । एकपल्ट कल्पना गर्नोस् त एउटा समाजले अछुत मान्ने, अति विपन्न र आफैंमा कुपोषणग्रस्त बाउले उनलाई कस्तो जीवन दिन सके होलान्? के उनले कखरासम्म जान्ने अवसर पाए होलान्? गरिबीकै कारण त्यति सानोमा आमा गुमाएका उनको जीवनमा आमाको ममता कति खड्के होला? त्यसले उनको मानसिक विकासमा कस्तो प्रभाव पारे होला?

उनी जब वयस्क भए र बच्चा जन्माए, तिनलाई उनले कस्तो भविष्य दिन सके होलान्? के दुई छाक जोड्न सक्नुलाई नै जीवनको अधिकतम उपलब्धि मान्नुपर्ने विडम्बनाबाट हामीसरहको उनका छोराछोरीको पुस्तासमेत बाहिर निस्कन सके होला? डाक्टरी वा इञ्जिनियरिङ्गजस्ता विषयमा जब हाम्रो लोकतान्त्रिक सरकारले ‘मेरिटोक्रेसी’ का नाममा साझा प्रवेश परीक्षा लिन्छ, त्यसमा के मेरो छोरासरह उनका छोरा वा छोरी प्रतिस्पर्धा गर्न सक्लान्?

लोकतान्त्रिक समाजको रुपमा हाम्रो अबको एजेन्डा त स्कुलसम्म पुग्नै नपाउने वा स्कुल तह पुरा गर्न नसक्ने पिछडिएका समुदायका केटाकेटीहरुलाई कसरी त्यो अशिक्षाको दलदलबाट निकाल्ने भन्ने पो हुनुपर्ने हो।  त्यसको बदला अहिले धेरै साथीहरुले हजारौं वर्षको उत्पीडनपछि राज्यले केही दशक अघि शुरु गरेको साँघुरो सकारात्मक विभेदको पो विरोध गर्दै छन्।  उनीहरुको तर्क छ: सबैलाई समान धरातलमा राखेर प्रतिस्पर्धा गराउनुपर्यो।

कुरा मनासिबै हो।  तर त्यसका लागि मलाई शिशु कक्षाबाट एकाध महिनामा एकमा फड्काउँदै गर्दा दलित साथीहरुलाई चार कक्षाबाट दुई कक्षामा घटुवा गरिदिने स्कुलको कदम पनि त सच्चिनुपर्ला।  म कक्षामा प्रथम भएर अबीर लगाएर फर्कंदै गर्दा दोस्रो पल्ट उही कक्षामा फेल भएपछि रुँदैरुँदै मद्रास गएर चार वर्ष भाँडा माझेर फर्केको दलित साथीको पीडाको पनि त हिसाबकिताब हुनुपर्ला।

यीलगायत राज्यले हजारौं वर्ष जति विभेद गर्यो, त्यसलाई मेटाउन सकिन्थ्यो, उतिबेलादेखि पीडा र अन्यायमा पर्नेहरुलाई क्षतिपूर्ति र न्याय दिन सकिन्थ्यो भने म पनि भन्थें: चाहिंदैन आरक्षण।  तर त्यो त सम्भव छैन, जसरी भोकले समयमै बितेकी ती गन्धर्व महिलाको पुनर्जीवन अब सम्भव छैन।

त्यो त ऊबेलाको विपन्न समाजमा सबै समुदायको किस्सा हो, सबै विपन्नहरु उसै गरी पीडित थिए भन्ने कुरा उठ्न सक्छ यहाँनेर । तर यथार्थ त्यति सरल पनि छैन ।गरिबी र लैंगिक विभेदको चेपुवामा परेर चालीसौं वर्ष निरक्षर रहेकी हाम्री आमाले प्रौढ शिक्षा लिएर साक्षर बनाउनुभयो । हामी सन्तानहरुले उच्च शिक्षा लिएर शहर झरेपछि हाम्रा बुवाआमा पनि शहर झर्नुभयो । पुस्तान्तर भएसँगै हाम्रो परिवारले प्रगति गर्यो । बुढेसकालमा बाआमाकै जीवन पनि सुविस्तापूर्ण छ ।

देशमा पञ्चायती राज भएको त्यो समयमा गाउँका सबै जातका मानिसहरु गरिबी र भोकमरीले पीडित थिए भन्नेसम्म कुरा सही हो । तर हामीले सानैदेखि देखेको के भने, गैर–दलितमा कोही न कोही अलि सम्पन्न हुन्थ्यो जसले पैंचो दिएर पनि छिमेकीको एकाध दिन ज्यान धानिदिन सक्थ्यो । सापट वा ऋणमा अन्न किनेर पनि मानिसहरुले अनिकाल टार्थे । आफ्नो जमिन हुनेले तीन महिना दुई छाक पुग्ने अन्नलाई छ महिनासम्म एक छाक खाएर पु¥याएर ज्यान धान्न सक्थे ।

तर आफ्नो जमिन र सञ्चित अन्न नहुने दलितहरु वर्षैभर भोकमरीको ढिकमा हुन्थे ।

गन्धर्वबाहेकका दलितहरु अलि ठूला बस्तीमा बस्ने हुँदा  उनीहरुको अवस्था अलि कम खराब हुन्थ्यो किनकि त्यहाँ पनि पैंचो र सरसापटी चल्थ्यो । तर दलित किशोरी र युवतीहरुमाथि यौन हिंसा भने यति व्याप्त थियो कि त्यस विषयमा विरलै कसैले कुरा गर्थे । उनीहरुका कमजोर घरका एक लात्ती बजार्दा भत्किने ढोकाहरुले बलिष्ठ गैर–दलित युवाहरुलाई कसै गरे पनि रोक्न सक्दैनथे ।

०००

यस्ता सम्झनाहरु जोडिएको  स्कुल अहिले पनि जहाँको त्यहीं थियो तर स्कुल वरिपरिको चौर चिन्नै नसकिने गरी मासिइसकेको थियो । चौरको एक छेउ मिचेर एक जनाले उहिल्यै सिंगो घर र आँगन सार्वजनिक जमिनमा बनाइसकेका थिए । कतै मन्दिर र कतै बाटोले अब चौर सखापै भएछ । चौरमा रहेका थरी थरीका पोखरीहरु पनि गायब भएछन् । स्कुल र त्यस वरपरको डाँडा चिन्ने नसकिने गरी बदलिएछ ।

त्यस दिन श्रीपञ्चमीको बिदा भएकाले स्कुल बन्द थियो । तैपनि अफिसमा शिक्षकहरुसँग भेट भयो । एक जनाबाहेक सबै नयाँ शिक्षकहरु हुनुहुन्थ्यो ।

त्यो दिन लामो भलाकुसारी भएन तर पछि मैले बुझेअनुसार अब स्कुललाई दलित बस्तीहरुले मात्रै धानेका रहेछन् । बाहुन–क्षेत्री र मगरहरुका जति परिवार गाउँमा बाँकी छन्, तिनका पनि पढ्ने केटाकेटी निजी स्कुल खोज्दै शहर झरिसकेका रहेछन् ।

कुनै बेला दलित बालबालिकाको सातो लिने गरेको यो स्कुलमा अहिले दलित समुदायका विद्यार्थीहरु नआउने हो भने स्कुल नै बन्द हुने र त्यहाँका शिक्षकहरुको रोजगार जोखिममा पर्ने अवस्था रहेछ ।

 

जीवन क्षेत्रीको किताब ‘नुन-तेल: विगततिर पदयात्रा’ को  सम्पादितअंश।  सांग्रिला प्रकाशनद्वारा प्रकाशित यो किताब आगामी वैशाख १६ गते ३ बजे काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन हुँदैछ। किताब मूलतः क्षेत्रीको परिवार र गाउँको इतिहास हो। यसमा विभिन्न पुस्ताको गाउँ–सहर यात्रा, पहाड-तराइ बसाइसराइ, बर्मासम्म नेपालीहरूको आप्रवासन, गोर्खा भर्ती, दुई विश्वयुद्धदेखि भारतको हरित क्रान्तिसम्मले गाउँमा पारेका प्रभाव लगायत विषयवस्तु समेटिएका छन्।

क्षेत्रीले गाउँ हुँदै २०७३ सालमा गरेको पर्वत–बाग्लुङ–गुल्मी–पाल्पा–रूपन्देही ‘नुन–तेल मार्ग’ को एकल पदयात्रालाई आधार बनाएर लेखेको किताबमा २०४६ सालपछि उनी हुर्किँदै गर्दाका पहाडी गाउँहरूको मिहीन चित्रण छ। २०७७ र २०७८ सालमा क्षेत्रीले फेरि गरेका दुई गाउँ यात्राहरूमा आधारित नेपालका गाउँहरूको वर्तमान र भविष्य समेट्ने दुई लामा निबन्धहरू जलवायु संकटले नेपालमा ल्याउन सक्ने विपत्तिहरूमा केन्द्रित छन्।

लेखकको बारेमा
जीवन क्षेत्री

लेखक तथा विश्लेषक जीवन क्षेत्री भरतपुरमा रहेर स्वास्थ्य सेवा गर्छन् । लेखकले साप्ताहिक रूपमा सिफारिस गर्ने सामग्रीहरू द हिमालयन गेज मा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?