
१७ वैशाख, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको राष्ट्रिय आविष्कार केन्द्र छाडेर महावीर पुन माइतीघरको सडकमा ओर्लिएका छन् ।
म्याग्दीका दुर्गम गाउँमा तारविहीन प्रविधिबाट इन्टरनेट पुर्याएर सन् २००७ मा ‘रोमन म्यागासेसे’ अवार्ड पाएका महावीर यतिखेर नयाँ पुस्ताका लागि भनेर सडकमा ओर्लिएको बताउँछन् । उनले आफ्नो आन्दोलनलाई नाम दिएका छन्— ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम ।’
शुक्रबारदेखि माइतीघरको सडकमा धर्ना कसेर बसेका महावीर भन्छन्, ‘अनुसन्धान र नवप्रवर्तनले नै देश उँभो लाग्छ । यी काममा नयाँ पिंढीलाई लगाउने वातावरण बनाउनुपर्यो भनेर आन्दोलनमा बसेको हुँ ।’
वैशाखे झरीबीच त्रिपालको ओत लागेर माइतीघरको सडकमा बसिरहेका महावीरले सरकारसँग ४ बुँदे मााग राखेका छन् । उनको माग पत्रमा लेखिएको छ, ‘१. संघ र प्रदेश सरकारले आफ्नो बजेटको १ प्रतिशत अनुसन्धान र नवप्रवर्तन कोष बनाएर राख्नुपर्ने; २. अनुसन्धान, नवप्रवर्तन, आविष्कार प्रवर्द्धन तथा सञ्चालन एवं खरिद ऐन बनाउनुपर्ने; ३. नवप्रवर्तनलाई सरकारले नीति, नियम र कानुन बनाएर व्यावसायिक बनाउन सहजीकरण गर्नुपर्ने र ४. विश्वविद्यालयमा व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग बनाउनुपर्ने ।’
सादगी जीवनशैली अपनाउने महावीर आफूलाई अनौपचारिक मान्छे भन्न रुचाउँछन् । लामो समयदेखि अनौपचारिक रूपमै अनुसन्धान र आविष्कारमा सक्रिय महावीरले अब भने औपचारिक रूपमै अनुसन्धान तथा आविष्कारको काम हुनुपर्ने ठानेका छन् ।
माइतीघर ओर्लिनु अगाडि महावीरले सरोकारवाला सबै सरकारी निकायमा आफ्ना माग पुर्याएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई भेटेर आफ्ना माग सुनाए ।
तर कसैले पनि आफ्नो मागलाई गम्भीरतापूर्वक नसुनेको लागेपछि उनी कीर्तिपुरको आविष्कार केन्द्रबाट माइतीघर आइपुगे ।
झरीले भिजेको सडकमा पलेंटी कसेर बसेका महावीर मुलुकको विकासका लागि आफूले आविष्कार, नवप्रवर्तन र अनुसन्धानमा लगानी गर्न सरकारलाई आह्वान गरेको बताउँछन् । भन्छन्, ‘अध्ययन, अनुसन्धान, आविष्कारमा लगानी भएन भने देशको विकास हुँदैन ।’
उनको बुझाइमा युवाहरूलाई अनुसन्धान, आविष्कारमा लगाउन सरकारले आर्थिक, नीतिगत र कानुनी सहयोग गर्नुपर्छ । उच्च शिक्षा र वैदेशिक रोजगारीका नाममा पलायन भइरहेका युवाहरूलाई देशमै रोक्न सरकारले अनुसन्धान, आविष्कारमा लगानी गरेर उनीहरूलाई देशमै रोक्नुपर्छ । ‘संसारका जति पनि विकसित देश छन्, तिनले आफ्नो देशका युवाका लागि भनेर अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा लगानी गरेका छन्’ महावीर दृढ सुनिन्छन्, ‘यो क्षेत्रमा सरकारले लगानी नगर्दासम्म देशको विकास सम्भव छैन ।’
आविष्कार, अनुसन्धान र नवप्रवर्तनका लागि महावीरले सुरु गरेको धर्नामा सामाजिक अभियन्ता, पेशाकर्मीदेखि राजनीतिकर्मी समेत समर्थन जनाउन पुगिरहेका छन् । आफ्नो समर्थनका बीच महावीर भनिरहन्छन्, ‘२००७ सालदेखि २०७४ सालसम्म नेपालमा जति पनि सरकार बने तिनले अनुसन्धान, आविष्कारलाई प्राथमिकतामा राखेनन् । त्यसैले हामी पछाडि पर्यौं । अब यो विषयलाई प्राथमिकतामा राख्नुपर्यो भनेर जनस्तरबाटै सरकारलाई दबाव दिऊँ ।’
कानुन नभएको भन्दै नेपालमै उत्पादित यात्री मोटरसाइकल दर्ता हुनसकेको छैन । राइड शेयरिङ कम्पनीहरू पठाओ, टुटलले झमेला व्यहोरिरहेका छन् । नीति र नियमको हवाला दिंदै आविष्कार, अनुसन्धान र नवप्रवर्तनलाई हतोत्साही गर्दा प्रतिभावान शक्ति पलायन हुने तर्क गर्छन् महावीर । भन्छन्, ‘प्रतिभावान शक्ति पलायन भएपछि देशको कसरी विकास हुन्छ ?’
आविष्कार र अनुसन्धानको भरमा नीति–नियम बनाएका देशका प्रशस्तै उदाहरण छन् महावीरसँग । ‘सन् १८९५ मा इटालीका मार्कोनीले रेडियोको आविष्कार गर्दा रेडियोबारे कानुन नै बनेको थिएन । १८८६ मा जर्मनका कार्ल बेन्जले कार बनाएर गुडाउँदा कुनै कानुन बनेको थिएन’ महावीर प्रश्न गर्छन्, ‘कानुन छैन भन्दै त्यतिखेर आविष्कारलाई रोकेको भए आज संसार यहाँ हुन्थ्यो ?’
अनुसन्धान र आविष्कारका लागि सरकारले के गर्नुपर्छ भन्ने योजना पनि महावीरसँग छ ।
बुबाआमाले छोराछोरी हुर्काए जसरी आविष्कार, अनुसन्धान र नवप्रवर्तनमा लाग्ने प्रतिभालाई हुर्काउनुपर्ने उनको धारणा छ । ‘तपाईंहरूका छोराछोरी छन् होला, उनीहरूलाई भोक लाग्यो भने खुवाउनुहुन्छ । स्कुल पढाउनुहुन्छ, पढ्ने सहज वातावरण बनाइदिनुहुन्छ’ उनले भने, ‘अनुसन्धान आविष्कार गर्न पनि त्यसरी नै सहज वातावरण उपलब्ध गराउने हो । त्यसपछि त उनीहरूले काम गरिहाल्छन् !’
अनुसन्धान, आविष्कार र नवप्रवर्तन गर्न सरकारले कानुन, नीति, नियम र आर्थिक सहयोग गरेर वातावरण बनाइदिन सक्छ । आविष्कार र नवप्रवर्तनको क्षेत्रमा जीवन समर्पण गरेका पुनले २०७३ सालमा राष्ट्रिय आविष्कार केन्द्र सुरु गर्दा आर्थिक अभाव भएपछि आफूले पाएका पदक नै लिलामीमा राखेका थिए ।
रोमन म्यागासेसे पदक, दुईवटा राष्ट्रदीप पदक, इन्टरनेट हल अफ फेम पदक, होनर ग्य्राजुएट र डा. हर्क गुरुङ पर्वतीय पदक लिलामीमा राखे पनि अहिलेसम्म बिक्री भएका छैनन् ।
तर महावीरले सुरु गरेको आविष्कार केन्द्रले ३९ वटा परियोजनामा काम गरिसकेको छ । महावीरका अनुसार त्यतिखेर त आविष्कार केन्द्र खोल्नुपर्ने थियो । अहिले युवा प्रतिभालाई आविष्कार, अनुसन्धान र नवप्रवर्तनमा लगाउन प्रोत्साहित गर्नुछ ।
यसका लागि प्रदेश र संघ सरकारले बजेटको १ प्रतिशत छुट्याउनुपर्ने उनको माग छ । उत्पादित आविष्कारले बजारमा सहज प्रतिस्पर्धा गर्न सकुन् भनेरै कानुनको माग गरेका हुन् उनले । ‘अनुसन्धानमा कति आर्थिक स्रोत लाग्छ भन्ने यकिन हुँदैन’ महावीर भन्छन्, ‘सफल अनुसन्धानलाई थप निखारेर प्रोडक्ट वा सर्भिस निर्माणमा सघाउने, ट्रेड मार्क संरक्षण गर्न सघाउने, लगानीकर्ता भेटाइदिने र अनुसन्धानलाई व्यापारीकरण गरिदिन सरकारी सहयोग चाहिन्छ ।’
यस बाहेक हरेक विश्वविद्यालयमा विभाग बनाएर विद्यार्थीलाई अनुसन्धान र आविष्कारमा सक्रिय बनाउनुपर्ने पनि उनको माग छ ।
१५ वैशाखदेखि माइतीघरको सडकमा धर्ना कसिरहेका महावीरले आज आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास बैरागीसँग भेट गरे । ‘सरकारले पूरा गर्न सक्ने माग राखेको छु, सरकारले पूरै गर्न नसक्ने माग राख्ने म त्यस्तो बुद्धु छैन’ पुनले सरकारी टोलीसँगको कुराकानी सुनाए ।
आफूले राखेका मागमा तल–माथि नहुने भन्दै सरकारसँग अडान लिएको बताउँदै महावीरले भने, ‘सरकारसँग लिखित सम्झौता नहुँदासम्म हामी माइतीघर छाड्दैनौं ।’
प्रतिक्रिया 4