काठमाडौं । हरेक वर्ष मे ५ का दिन कार्ल मार्क्स दिवस मनाइन्छ । खासगरी मार्क्सवादी दर्शनप्रति विश्वास राख्नेहरुले यो दिनलाई विशेष रुपमा स्मरण गर्दछन् । यस वर्षको मे ५ मा कार्ल मार्क्सको २ सय १ औं जन्मदिन मनाइएको छ ।
कार्ल मार्क्सलाई विश्व इतिहासमा १८ औँ शताब्दीका सर्वोत्कृष्ट दार्शनिक मानिन्छ । जसले विश्वको १९ औँ शताब्दीको इतिहास पढेको छ उसलाई सायद थाहा हुनुपर्छ कि कार्ल मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत समस्याहरुले भरिएको छ ।
समाजमा एउटा बलियो सोसल इन्जिनियरिङ उनको विचारबाट नै प्रेरित भएको मानिन्छ । साम्राज्यवाद, स्वतन्त्रता तथा सामूहिक हत्याहरुसँग समेत उनको सिद्धान्त जोडिएपश्चात् चाहिँ उनलाई विभाजनकारी अनुहारको रुपमा समेत हेरिएको थियो ।
तर कार्ल मार्क्सको एउटा फरक स्वरुप पनि छ, त्यो हो एकजना भावनात्मक मानिसको रुपमा । विश्वको उत्कृष्टतामा उनका विचारहरुको महत्वपूर्ण योगदान रहेको छ ।
१. बच्चालाई काम होइन स्कूल पठाउनुपर्छ : धेरै मानिसहरुले यो वाक्यलाई अहिले सजिलो भाषणको रुपमा लिन सक्दछन् । तर सन् १८४८ मै कार्ल मार्क्सले जब कम्युनिष्ट घोषणापत्र लेखिरहेका थिए, उनले त्यसबेला नै बालश्रमको बारेमा चर्चा गरेका थिए । आइएलओका अनुसार अहिले पनि विश्वमा हरेक १० जनामा एकजना बच्चा बाल श्रमिकको रुपमा रहेका छन् । द ग्रेट इकोनमिस्ट पुस्तककी लेखिका लिन्डा यूह भन्छिन्– मार्क्सले सन् १८४८ मा जारी गरेको कम्युनिष्ट घोषणापत्रमा बालबालिकालाई निजी स्कुलहरुमा निःशुल्क शिक्षा दिनु उनका १० बुँदामध्ये एक थियो । कारखानामा बालश्रम रोक्नुपर्ने कुरा पनि उनले घोषणापत्रमा उल्लेख गरेका थिए ।
२. हाम्रो जिन्दगीको मालिक हामी आफैं हो : के तपाईं अहिले दिनको २४ सै घण्टा र हप्ताको सातैदिन काम गर्नुहुन्छ ? कामको समयमा खाजा खाने ब्रेक लिनुहुन्छ ? एउटा निश्चित उमेरपछि तपाईंलाई अवकास लिन र पेन्सन पाउने हक पनि हुन्छ । वास्तवमा यसका लागि पनि हामीले उनै मार्क्सलाई धन्यवाद दिनुपर्ने हुन्छ । लण्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापक माइक सेवेज भन्छन्– पहिले पहिले मानिसलाई धेरै लामो समयसम्म काममा लगाइन्थ्यो । तपाईंको समय आफ्नो हुँदैनथ्यो र तपाईंले आफ्नै जिन्दगीका लागि समेत सोंच्न पाउनु हुन्नथ्यो ।
कार्ल मार्क्सले कसरी एक पुँजीवादी समाजमा मानिसहरुलाई जिउनका लागि श्रम बेच्नु उसको बाध्यता बनाइएको छ भन्ने कुरा लेखेका थिए । मार्क्सका अनुसार अधिकांश श्रमिकहरुलाई आफ्नो परिश्रमको अनुपातमा पैसा दिइँदैनथ्यो र श्रमशोषण गरिन्थ्यो । हाम्रो जीवनमा हाम्रो आफ्नै अधिकार होस् र जीवन सबैभन्दा उत्कृष्ट होस् भन्ने मार्क्सको चाहना थियो । साथै मानिसहरु स्वतन्त्र होउन् र उनीहरु भित्र सिर्जनात्मक क्षमताको विकास होस् भन्ने मार्क्स चाहन्थे । सेवेज भन्छन्– वास्तवमा मार्क्सले भनेका छन् कि हामीले यस्तो जीवन जिउनु पर्दछ जसको मूल्यांकन कामबाट नहोस् । एउटा यस्तो जीवन जसको मालिक हामी आफै हुन्छौँ, जहाँ हामी आफैले यो कुरा तय गर्न सक्छौँ कि हामी कसरी बाँच्ने ?
३. आफ्नो मनपर्ने तथा क्षमता अनुसारको काम गर्ने अधिकार : तपाईंले जब आफूलाई मनपर्ने काम गर्न पाउनुहुन्छ तब त्यसले खुसी प्रदान गर्दछ । जुन हामीले जीवनमा चाहन्छौँ वा तय गर्दछौँ त्यसमा रचनात्मक मौका मिलेर हामी त्यसको प्रदर्शन गर्न सक्यौं भने यो हाम्रो लागि निकै उत्तम हुन्छ । तर जब हामीले आफूलाई मन नपर्ने काम पनि गर्नुपर्छ तब हामी निरास हुन्छौँ । यी वाक्यहरु कुनै उत्प्रेरणा प्रदान गर्ने गुरुहरुका होइनन् बल्कि १९ औँ शताब्दीका महान दार्शनिक मार्क्सका हुन् । सन् १८४४ मा लेखेको पुस्तकमा उनले कामप्रतिको सन्तुष्टिलाई मानिसको सफलतासँग जोडेर देखाएका छन् । यस्तो तुलना वा व्याख्या गर्ने उनी नै पहिलो व्यक्ति थिए । हामी आफ्नो अधिकांश समय काम गर्नमै खर्चिने भएको हुनाले कामबाट खुसी मिल्नु आवश्यक रहेको उनको तर्क थियो ।
४. भेदभावको विरोध : यदि समाजमा कुनै व्यक्ति गलत छ र यदि कसैमाथि अन्याय, भेदभाव तथा गलत व्यवहार भैरहेको छ भने त्यसको विरोध गर्नुपर्दछ । त्यसका लागि संगठित पनि हुनुपर्दछ र संघर्ष पनि गर्नुपर्दछ । कार्ल मार्क्सको यही सिद्धान्तमा आधारित जनताको संगठित विरोधकै कारण विभिन्न देशहरुका सामाजिक अवस्थामा परिवर्तन आउनुका साथै रंगभेद, समलैंगिकता र जातीय भेदभाव विरुद्धका कानून बने ।
लण्डनमा आयोजना हुने मार्क्सवादी महोत्सवका आयोजक मध्येका एक लुईस निलसन भन्छन्– समाज परिवर्तनका लागि क्रान्तिको आवश्यकता हुन्छ । हामीहरु समाजलाई उत्कृष्ट बनाउनका लागि विरोध प्रदर्शन गर्दछौँ । यसप्रकार आम मानिसहरुले ८ घण्टा मात्र काम गर्नुपर्ने अधिकार प्राप्त गरेका छन् ।
कार्ल मार्क्सको चर्चा एक दार्शनिकको रुपमा गरिन्छ । तर निलसन भने यसमा असहमत छन् । उनी भन्छन्– उनले जे लेखेका छन् र गरेका छन् त्यो एक दर्शन जस्तै छ । तर जब तपाईं उनको जीवन तथा कामहरुलाई गहन रुपमा हेर्नुहुन्छ तब तपाईंले उनलाई एक आन्दोलनकारीका रुपमा पाउनुहुन्छ । उनले अन्तर्राष्ट्रिय श्रमिक संगठनको स्थापना गरेका थिए । उनी गरीब मानिसहरुसँगै हडतालमा संलग्न पनि भएका थिए ।
नेल्सनका अनुसार विश्वमा महिलाहरुले पहिलोपटक मतदानको अधिकार कुनै संसदबाट पाएका होइनन् । यसका लागि महिलाहरुले संगठित भएर प्रदर्शन गरेका थिए । मजदुरहरुको आन्दोलनका कारण उनीहरुलाई हप्तामा शनिबार र आइतबार विदाको व्यवस्था भएको कुरामा पनि कार्ल मार्क्सलाई नै श्रेय जाने नेलसन बताउँछन् ।
५. सरकार, व्यापारिक घराना र मिडियाको गठजोडमा नजर राख्नुपर्छ– यदि सरकार र ठूलो व्यापारिक घरानाबीच साँठगाँठ भयो भने के हुन्छ ? यदि गुगलले प्रयोगकर्ताका सबै डाटाहरु कुनै देशलाई सुम्पियो भने के होला ? मार्क्सले १९ औँ शताब्दीमै यस विषयमा विमर्श गरेका थिए । यद्यपि त्यसबेला सोसल मिडियाको अस्तित्व थिएन तर उनी यस्तो पहिलो व्यक्ति थिए जसले आधुनिक समयमा व्याप्त रहेको यस्तो साँठगाँठका बारेमा व्याख्या गरे ।
ब्युनर्स आयर्स विश्वविद्यालयका प्राध्यापक भेलेरिया वेघ भाइस भन्छन्– उनले त्यसबेला सरकार, बैंक, व्यवसाय तथा उपनिवेशीकरणका प्रमुख एजेन्टहरुको बीचको साँठगाँठको अध्ययन गरे । उनी त्यसका लागि १५ शताब्दीसम्मको अवस्थाको विश्लेषण गरेका थिए ।
कार्ल मार्क्सको निष्कर्ष थियो कि यदि कुनै प्रथा व्यापारका लागि फाइदाजनक भए वा उपनिवेशीकरणका लागि सहयोगी बने भने सरकारले त्यसको समर्थन गर्दथ्यो । गुलामी प्रथा त्यसको उदाहरण थियो । वेघ भाइसका अनुसार कार्ल मार्क्सले मिडियाको शक्ति महसुस गरिसकेका थिए त्यसबखत नै । मानिसहरुको सोँचमा परिवर्तन ल्याउनका लागि मिडिया निकै प्रभावकारी माध्यम थियो । हामी बल्ल अहिलेको सोसल मिडियाको जमानामा फेक न्यूजका बारेमा चर्चा गर्न थालेका छौँ । तर कार्ल मार्क्सले भने त्यसबेला नै यो अवस्था देखेका थिए ।
वेघ भाइस भन्छन्– मार्क्सले त्यसबेला प्रकाशित आलेखहरुको अध्ययन गर्दथे । उनी यस्तो निष्कर्षमा पुगे कि मिडियाहरुले गरीब मानिसहरुले गरेका अपराधहरुलाई मात्र धेरै स्थान दिन्थे । जबकि नेताहरुको अपराधका खबर भने दबाइन्थ्यो ।
– बीबीसी
प्रतिक्रिया 4