
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी आज छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् ।
मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।
यसपटक चौधरी सहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् । रेशम चौधरी डिल्लीबजारबाट छुटेलगत्तै पुल्चोक हरिहर भवनस्थित मन्त्री क्वाटरमा पत्नी तथा मन्त्री रञ्जिता श्रेष्ठसँगै पुगेका थिए । जेलबाट रिहाइ भएर मन्त्री क्वाटरमा पुगेका रेशम चौधरीसँग अनलाइनखबरकर्मी सहदेव चौधरीले गरेको संवाद :
गणतन्त्र दिवसको दिन सरकारबाट सजाय माफ पाउँदा कस्तो लागिरहेको छ ?
यो माफी अकस्मात् र सुनियोजित पनि होइन । यो रिहाइलाई मैले स्वाभाविक रूपमा लिएको छु । तर निकै ढिलो भयो यो रिहाइ । टीकापुर घटना एउटा विशुद्ध राजनैतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनैतिक दलहरूले चिन्न निकै ढिलो गरे । टीकापुर घटना दुर्भाग्यपूर्ण हो । यो टीकापुरवासीले चाहेको घटना होइन ।
पाँच वर्षसम्मको जेल जीवन कस्तो रह्यो ?
जब मैले अदालतमा आत्मसमर्पण गरें, सुरुमा मलाई धेरै यातना दिइयो जेलमा । त्यसले म निकै बिरामी परें । बिरामी अवस्थामा पनि मलाई डिल्लीबजार कारागारबाट वीर अस्पताल लगियो । त्यहाँ लैजाँदा पनि खुट्टामा २१ किलोको नेल ठोकियो । त्यसरी मैले तीन वर्ष कष्टपूर्ण जेल जीवन व्यतीत गर्नुपर्यो ।
त्यसपछिको जेल जीवन केही सहज भयो । मैले त्यसपछिका दिनहरूमा किताब, डायरी लेख्न थालें । यही क्रमले टीकापुरको चिरफार, बधुवा कमैया लगायत पुस्तकहरू जेलमै बसेर लेखें । समग्रमा जेलमा भेट्न आउने साथीभाइ, शुभचिन्तक र कार्यकर्ताको भेटले थप हौसला दियो ।
तपाईंलाई माफी दिने सरकार र राष्ट्रप्रमुखबारे के धारणा छ ?
टीकापुर घटनाबारे ढिलै भए पनि सरकार र राष्ट्रप्रमुखले बुझिदिनुभयो । तर यो बुझाइ पनि निकै ढिलो भयो । हामीले त टीकापुर घटनामा माफी होइन न्याय मागेको हो । पटक-पटक मैले र मेरो पार्टीले हामी टीकापुर घटनाका आरोपी होइनौं भनेर भनिरह्यौं । तर त्यतिबेला देशका राजनीतिक दल र तिनका नेताहरूले यसलाई सुन्दै सुनेनन् । उनीहरूले हामीले मागेको अधिकारमाथि फसाउन खोजे । हामीले सडकदेखि सरकारमा आवाज उठायौं तर मेरो माग त सुनुवाइ भएन । माफी दिन भने सरकार र राष्ट्र तयार भयो । यसमा खुसी नै छु ।
कतिपयले रेशमलाई माफी दिनुहुँदैनथ्यो, यसो गर्दा अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण हुन्छ भन्नेहरू पनि छन् नि !
टीकापुर घटना कुनै बन्दकोठामा घटेको होइन । न कुनै गुफामा घटाइएको घटना हो न त कुनै गुफामा कसैलाई बीभत्स तरिकाले मारिएको घटना हो । त्यहाँ हजारौं मानिसले नाङ्गो आँखाले हेरेका छन् । त्यो घटनाका भिडियो छताछुल्ल छन् । त्यो घटनाको भिडियोले पनि पुष्टि गर्छ कि आन्दोलनकर्मीको हातमा भाला, बञ्चरो र तरबार थिएन ।
आन्दोलनकर्मी ३ किलोमिटर पर थिए । घटना घट्यो टीकापुरभन्दा १ किलोमिटर पर । यस कारणले राज्यले यसलाई गुमराहमा राख्नुहुन्न । त्यो बेला टीकापुर घटनाबारे जसरी प्रचारबाजी भयो त्यसले पनि धेरैलाई गलत भाष्य निर्माण भयो र गरियो । हो हामी आफ्नो अधिकार माग्नको लागि आन्दोलनमा उत्रिएका हौं राजनीतिक रूपमा । तर गोली हान्ने र अपराध गर्ने मनसायले पक्कै होइनौं ।
यसबारेमा म के भन्न चाहन्छु भने उहाँहरूले सोचेको जस्तो टीकापुर घटना भएको होइन । उहाँहरूले हामीमाथि जुन आरोप लगाउनुभएको छ, हामी त्यो आरोपित होइनौं । नपत्याए तपाईं टीकापुर आन्दोलनको फुटेज हेर्नुस्, भिडियो हेर्नुस् । गोली चलेको भिडियोहरू सबै छताछुल्ल छन् ।
लाल आयोगको प्रतिवेदनबारे के भन्नुहुन्छ ?
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु राज्यको दोष हो । सम्माननीय अदालतको आदेशलाई मानेर हामी जेल बस्यौं, हामीले यो देशको कानुनको धारा र उपधारालाई पालना गर्यौं । सरकारले आफैं लाल आयोग गठन गरेको हो । माननीय गिरिशचन्द्र लाल संयोजकत्वको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्दछ ।
टीकापुर घटनामा दूधे बालक र उच्च ओहोदाको प्रहरीहरू मारिएका छन् । उनीहरूको न्याय के हुन्छ ? अब तपाइँको पार्टीले कसरी न्याय दिलाउँछ ?
पक्कै पनि सहादत प्राप्त प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ । त्यो अढाइवर्षे बालक टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ । र उहाँहरूको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो ।
उहाँहरूले सोचेको जस्तो यो घटना हो, होइन ? उहाँहरूले अन्तिम सत्य थाहा पाउनुपर्छ । आफ्नो श्रीमान् कसरी मारिए ? आफ्नो दाइ कसरी मारिए ? आफ्नो भाइ कसरी मारिए ? आफ्ना बच्चाले कसरी सहादत प्राप्त गरे ?
भलै थारू समाजमाथि एउटा बादल मडारिएको होला । तर अन्तिम सत्य परिवारले थाहा पाउनुपर्छ । म पनि उहाँहरूलाई सघाउन चाहन्छु । नागरिक उन्मुक्ति पार्टी उहाँहरूलाई सघाउन चाहन्छ ।
तपाईं त रिहा हुनुभयो तर तपाइँसँगै जेलमा बसेकाहरू अब कहिले छुट्छन् ?
कैलालीको जेलमा रहेका राजबन्दीहरू अब चाँडै रिहा हुनुहुन्छ । त्यसको पहल नागरिक उन्मुक्ति पार्टीले गर्छ । टीकापुर घटनामा जेल परेका साथीहरूलाई असोज ३ गते छुटाउँछौं । यसबारेमा मैले सरकार समक्ष दशी प्रमाणका आधारमा पेश गर्नुपर्छ । मसँग भएका ३०० सय फोटोहरु छ जसमा मेरो घर, रिसोर्ट, लत्ताकपडा जलाएको लगायतका सबै प्रमाणहरु म चाँडै पेश गर्नेछु ।
अब भविष्यको योजना के बनाउनुभएको छ ? राजनीतिमा सक्रिय हुने वा अन्य केही छ ? पार्टीको अध्यक्ष अब को बन्छ ?
नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता नै रहन्छिन् । किनकि पार्टीमा उनले रात-दिन नभनी काम गरेकी छिन् । पार्टीलाई हुर्काएकी छिन् । त्यसकारण मेरो अध्यक्ष हुने चाहना छैन ।
म भर्खरै रिहा भएको छु । अब मलाई साथीहरूले के जिम्मेवारी दिनुहुन्छ ? साथीहरूले गर्ने निर्णयमा भर पर्छ । कैलाली जिल्लालाई नमूनाको रूपमा विकसित गराउने मेरो सपना छ । त्यो पूरा गर्ने बाटोमा म अग्रसर हुन्छु ।
प्रतिक्रिया 4