
१५ जेठ, बुटवल । बुटवलबाट पाल्पाको बसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।
कुल ५ अर्ब रुपैयाँ लागतको आयोजनामध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ भने माथिल्लो स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, क्यासिनो र ७०० जना क्षमताको सेमिनार हल लगायत संरचना निर्माण हुने क्रममा छन् ।
२०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको केबलकार एक वर्षभित्र सञ्चालनमा ल्याउने भनिए पनि कोराेना महामारीको असरका कारण निर्धारित समयभन्दा केही ढिला सञ्चालनमा आएको हो ।
सोमबार केबलकारको तल्लो स्टेशनमा पण्डितहरुबाट धार्मिक विधि अनुसार पूजाआराधना गरेपछि केबलकार सञ्चालन भएको हो ।
बुटवलको वडा नं ३ मा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकार २.६ किलोमिटर दूरीको छ । बटम स्टेशनबाट १० मिनेटमा टप स्टेशनमा पुग्न सकिन्छ ।
एउटा गोण्डालामा आठ जना यात्रा गर्न मिल्ने २५ वटा गोण्डाला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले बताए ।
केबलकारको टप स्टेशन बसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाइएको छ । कामाख्यादेवी मन्दिर र बसन्तपुरको चिसो हावापानीले विशेष गरी भारतीय पर्यटक र हिन्दु धर्मावलम्बीलाई आकर्षित गर्ने अध्यक्ष ढकालले बताए ।
टप स्टेशनमा पाँचतारे होटल र क्यासिनो बनेपछि दैनिक ५ हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष ढकालले बताए ।
तल्लो स्टेसन समुद्री सतहबाट २३० मिटर र माथिल्लो स्टेसन ९४० मिटरको उचाइमा रहेको छ ।
सातवटै प्रदेशमा केबलकार सञ्चालन गर्ने योजनामा रहेको आईएमई ग्रुपको यो तेस्रो केबलकार हो ।
यसअघि चन्द्रागिरि र मौलाकालिका केबलकार सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकार सञ्चालनले पाल्पाको बसन्तपुरमा नयाँ पर्यटकीय गन्तव्य थपिएको र पर्यटकको बसाइ लम्बाउन सहयोग पुग्ने निजी क्षेत्रको विश्वास छ ।
केबलकार सञ्चालनले प्रदेश राजधानी दाङ सर्दा खस्केको रुपन्देहीको व्यापार व्यवसायमा सुधार आउने अपेक्षा रहेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले केबलकार सञ्चालनले गाउँपालिकाको विकासमा ठूलो योगदान पुग्ने बताए । केबलकारले बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई प्रत्येक टिकट शुल्ककाे २ प्रतिशत सेवा शुल्क वापत छुट्याएको छ ।
प्रतिक्रिया 4