
ऋषिमुनिहरूको पवित्र भूमि नेपालको विश्वमा विशिष्ट पहिचान छ। पुर्खाले महान् ऋषिमुनिहरूको संगत गरेको अथवा आफूहरू स्वयं ऋषिमुनिको सन्तान भएकोले होला, हामीसँग ज्ञानको अथाह भण्डार छ। हाम्रा तर्क र बहसहरू अत्यन्तै गहन हुने गर्छन्।
खोजकर्ताहरूले मारियाना ट्रेन्चको गहिराइ वा सगरमाथाको उचाइ पत्ता लगाए, तर हाम्रा तर्कहरूको गहिराइ वा उचाइको बारेमा छनक पाउन सकेका छैनन्। हाम्रा बहसहरूको लम्बाइ ब्रह्माण्डको एउटा टुप्पादेखि अर्को टुप्पाभन्दा पनि लामा छन्।
त्यसैले मानिसहरू ब्रह्माण्डको नापतौल गर्ने तरिका सिक्दैछन्, ताकि उनीहरूले हाम्रा बहसहरूको आयतनको बारेमा केही आकलन गर्न सकून्।
गल्ली-गल्लीदेखि सदन, सामाजिक संजाल र अन्य संचारमाध्यममा भएको मुर्रा बहस हाम्रो यही गहिरो वाद–प्रतिवाद परम्पराको प्रस्फुटन हो। प्रम प्रचण्डका अनुसार, उनीहरूको भ्रमण टोलीलाई भारतमा यूरोप-अमेरिकाका अतिविशिष्ट अतिथिहरूलाई जस्तै उच्च सम्मानका साथ भव्य स्वागत भएको थियो।
फर्किने बेलामा सम्झनाको कोसेली स्वरूप भारतले १५ थान पाडा दान गरेर बिदाइ गरेको थियो। चानचुने पाडा होइनन्– राँगा, सामान्य राँगा पनि होइन मुर्रा-मुर्रा!
‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई पाखण्ड’ भने झैं राँगाको महत्व पनि एकथरीलाई अति महत्वपूर्ण लाग्यो, अर्काथरीलाई व्यर्थ। सारा देश नै एकाएक मुर्रामय भयो। विषयको गम्भीरता आत्मसात् गर्न नसकेको भारतलाई यस्ता लाखौं पाडा-पाडी सदियौंसम्म जन्माउने, हुर्काउने पद्धति विकासको बारेमा बहस गर्न त्यति उपयुक्त लागेको थिएन जति हामीलाई १५ थानको लागि लाग्दैछ। समयको सदुपयोग गर्न कसैले हामीसँग सिकोस्!
भ्रमण टोली नेपाल फर्किन नपाउँदै हामीबीच मुर्रा बहसमा गर्मागर्मी भइसकेको थियो। यसैक्रममा, एउटा संचारगृहले आफ्नो प्रकाशनमा शीर्षक दियो- ‘भारतबाट किन ल्याइँदैछ मुर्रा राँगा, किसानलाई के हुन्छ फाइदा?’ अनि सामाजिक संजालमा पोष्ट्यायो- ‘मुर्रा जातका राँगा र स्थानीय भैंसीलाई क्रस गरेपछि त्यसबाट जन्मिने बच्चा पछि गएर दूध दिने भएपछि उक्त भैंसीको दूध उत्पादकत्व वृद्धि हुन्छ।’
अर्को प्रकाशन गृहले पनि आफूलाई यसबाट अछुतो राख्न सकेन। समाचारको शीर्षक दियो- ‘भारतबाट ल्याइएको मुर्रा राँगाबाट एक लाख भैंसीमा नश्ल सुधार गरिने।’ अनि पोस्ट्यायो– ‘भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट एक लाख भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार मार्फत भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ।’
अर्को संचारगृहले पनि आफ्नो हाजिरी जनायो- ‘किसानको अपमान गर्दै सञ्जालदेखि संसदसम्म जोक बन्यो उच्च नशलको मुर्रा राँगो।’ सम्पादकले ट्विट लेखे ‘नश्ल बिग्रिएकालाई मन परेन उच्च नश्लको राँगो।’
मुर्रा माहात्म्यको बारेमा नेपालभित्र प्रकाशन गरिने छापाका संचारमाध्यम, रेडियो, टेलिभिजन, सामाजिक संजाल यत्र-तत्र कोही अछुतो रहेन। ट्वीटर स्पेशमा पनि जानकारहरूले कैयौं दिनसम्म मुर्रा माहात्म्य प्रस्तुत गरिरहे।
पारि गाउँको भीरमा डोजर चलाउँदादेखि गद्दीहीन भइसकेका पूर्वराजाको सवारी हुँदासम्म, असारमास नारेका गोरु मेलैमा छाडेर हाजिरी गराउन तँछाड-मछाड गर्ने, हामीबीच मुर्रा माहात्म्यमा हाजिरी जनाउन नसक्ने हो भने, आफ्नो पहिचान गुम्ने डर पनि उत्तिकै थियो। त्यसैले आ-आफ्ना तर्कहरूसहित, यत्रतत्र सर्वत्र, हामीले मुर्रा बहसमा जबरजस्त हाजिरी जनायौं।
एक प्रख्यात इन्जिनियरिङ सेवा प्रदायकका प्रमुख कार्यकारीलाई पनि राँगा माहात्म्यमा आफू गयल हुन उपयुक्त लागेन। उनले फेसबुकमा भैंसीका तस्वीरहरू सहित स्टाटस लेखे-‘भैंसीको महत्व कति छ भन्ने कुरा हामी भैंसीकै दूध र घ्यू बेचेर स्कूलको फि र किताब कापीको खर्च जोहो गर्नेहरूलाई न थाहा छ।
बेलायती कुकुर पालेर बरण्डामा तरकारी खेती गर्दै फेसबुकमा पोस्ट्याउनेहरू र भैंसी नै बेचेर रोजगारीका नाममा विदेशिनेहरूलाई कसरी थाहा होस् अबको कृषि उद्योग कति महत्वपूर्ण छ र भैंसी नपालेर नेपालले कति रोजगारी र आम्दानी गुमायो ?’
उनको पोस्ट पढ्दा लाग्थ्यो, नेपालले आफ्नो आर्थिक शिथिलताको कडी एकाएक फेला पार्यो। त्यो रहस्य आखिर राँगाको टाङमुनि लुकेको रहेछ जस्तो! अनि, उनको स्टाटसमा होमा हो थप्नेहरू र उनको अभिव्यक्तिको आलोचना गर्नेहरूबीच होडबाजी त्यतै सुरु भयो।
एकजना पर्यावरण संरक्षण पेशाकर्मी विज्ञले पनि आफू सामेल नभई थामिएनन्। उनले स्टाटस लेखे- ‘विगतमा महँगो उच्च नश्लको बोका भित्र्याइएको थियो, याक (चौंरी) आयातको कार्यक्रम नै बन्थ्यो, तर हल्ला राँगोको मात्र किन?
कि सम्झौतामा यस राँगोले नेपाली नागरिकता प्राप्त गर्ने हो भन्ने र यस राँगोबाट उत्पादित पाडा-पाडी भारतलाई बुझाउनुपर्ने लेखिएछ ? भैंसीको दूधको चिया खाँदै वा भैंसीको म:म खाँदै चर्चा गर्नुको तुक छैन।’
यसरी तुक नदेख्दा नदेख्दै पनि उनी मुर्रा बहसमा भने सामेल भइसकेका थिए। उक्त पोस्टकै पछि अन्य पर्यावरणविद्हरू पनि मुर्रा बहसमा जोडिए।
अन्तर्राष्ट्रिय उद्यमीको रूपमा स्थापित भइसकेका कम्प्युटर विज्ञानका एकजना अगुवालाई भने यो कुरा अलि पचेन, उनले राँगोकै बारेमा समय बर्बाद नगरौं भन्ने आशयको ट्विटमा केही समय बर्बाद गरे। अनि तर्क र बहस उनकै ट्वीटका पछि पनि सुरु भयो।
एक राजनीतिज्ञले मुर्रा माहात्म्यमा आधारित एउटा निबन्ध प्रकाशन गरे। अभूतपूर्व शेयर भयो उक्त लेख, एकलाख भन्दा बढी पटक। अनि, संजालहरूमा सानोमा भैंसी चढेको तस्वीर सहित सगर्व पुन: पोस्ट्याए।
अर्का एक पेशाकर्मीले पनि भैंसी कूटनीतिमा आफ्नो कलम रोक्न सकेनन्। पत्रपत्रिकाका भित्ताहरूमा मुर्रा विचारहरूले स्थान बनाउने क्रम निरन्तर चलिरह्यो।
स्वारी, प्रदीप, लक्ष्मी, भीष्म, विनोद, हट चिली, मिलन, सरोज, अनिल, कल्पना, निर्मला, शर्मिला, गोकर्ण, विज्ञानबाबु, श्रीकृष्ण, महेश, पुन्टे, पुन्टेका आमा-बाबु, पुन्टेकी दिदी-बहिनी, पुन्टेका दाजुभाइ, पुन्टेका काका-काकी, छरछिमेकी कोही पनि गयल भएनन् मुर्रा बहसबाट। श्रमिक, शोषक, सामन्त, दलाल, राष्ट्रवादी, राष्ट्रघाती, शिक्षक, कर्मचारी, सदाचारी, भ्रष्टाचारी, गुलामी, स्वाभिमानी सबै जनाले आ-आफ्नो हाजिरी जनाउँदै गरे।
‘मुर्रासँग राष्ट्रियता साटे’, ‘चोक्टा खान गएका मान्छे झोलमा डुबेर फर्के’ जस्ता प्रतिक्रियाहरू सहित भ्रमण असफल भएको तर्क गर्नेहरू पनि कमजोर थिएनन्। उनीहरूको प्रतिक्रिया सुनेर संसदको रोष्ट्रमबाट प्रधानमन्त्रीले बिम्बात्मक प्रतिक्रिया दिए, ‘मलाई त राँगोमा चढाएर पनि हिंडाइयो !’
एकजना नेताले संसदमा प्रतिक्रिया जनाए- ‘हवाईजहाज चढेर गएको भ्रमण टोली, नयाँ विमानस्थलमा हवाईजहाजमै फर्केलान् भन्ठानेको राँगो चढेर … !’ उनले आफ्नो प्रतिक्रिया पूरा गर्न नपाउँदै प्रतिक्रिया आयो– ‘संसदीय मर्यादा विपरीत शब्दको प्रयोग भयो !’
सभामुखले प्रतिक्रिया दिन तम्सिंदै थिए, हलमा अर्को प्रतिक्रिया सुरु भयो- प्रधानमन्त्रीले प्रयोग गर्न हुने, हामीले प्रयोग गर्न किन नहुने? प्रतिक्रियामाथिका प्रतिक्रिया प्रकट हुँदै गयो, मुर्रा बहसले एकपछि अर्को थप उचाइ हासिल गर्दै गर्यो।
प्रमुख प्रतिपक्षी दलका नेताले रोष्ट्रममा पुगेपछि मुर्रा बहसमा सामेल हुँदै भने, ‘आखिर चढेर आए पनि डोर्याएर ल्याए पनि, ल्याएको त त्यही १५ थान राँगा न हो !’
कैयौं दिनको बहसपश्चात्, आफ्नै समकक्षीहरूको अनवरत संलग्नतापश्चात् एक प्रभावशाली नेताले निचोडिने प्रयास गर्दै रवाफ देखाए- ‘सदनमा राँगा र भैंसीबारे गफ गरेर पाँच वर्ष बिताउने हो भने गोबर बाहेक केही प्राप्त हुन्न।’
मानौं भैंसी प्रजातिको उपयोग केवल गोबर उत्पादनमा हुन्छ। दूधजन्य उत्पादन, मासुजन्य उत्पादन, जोत्ने वा अन्य कुनै प्रयोजनको लागि भैंसी प्रजाति उपयोगविहीन छ। मानिसहरू भने गोबरको पनि आफ्नै महत्व हुने भन्दै मुर्रा माहात्म्य भन्दा एक खुड्किला माथि उठेर गोबर माहात्म्यकै लागि पनि तयार थिए।
मुर्रा बहस, जुनसुकै विषयहरूमा आ-आफ्ना धारणाहरू सहित गम्भीर रूपमा तर्क र बहस गर्ने हाम्रो मौलिक परम्पराको निरन्तरता मात्रै हो। मुर्रा त केवल बहाना हो, यस्ता बहसहरूमा हुलबद्ध भएर लाग्नु हाम्रो विशिष्टता हो।
त्यसैले हामीले सुकुम्बासी, नक्कली शरणार्थी, चुच्चे नक्सा, ग्रेटर नेपाल, नागरिकता, ३३ किलो सुन, ७० करोड, बालिका करणी, एनसेल, चौधरी समूहको भवन, निर्मला हत्याकाण्ड, गौर हत्याकाण्ड, नाकाबन्दी, कालोमोसो, हरेक विषयमा आ-आफ्ना गुटका धारणाहरू सहित हाजिरी जनायौं।
गुगल-ब्वाइ, तरकारीवाली, किताबवाचक विजय शाही, टाइप हान्ने सुब्बा, प्रचण्ड, बाबुराम भट्टराई, गगन थापा, रवि लामिछाने, बालेन्द्र शाह, सन्दीप लामिछाने, पल शाह, ज्ञानेन्द्र शाह, ज्ञानेन्द्र शाही, केपी ओली जस्ता अनेकौं पात्रहरूलाई, कुनैलाई नायक प्रमाणित गर्ने चेष्टा गर्दै वा कुनैलाई खलनायकको नाममा चित्रित गर्दै हामीले हाम्रो गुटको ‘हो मा हो’ मिलाउँदै बहसहरूमा आफ्नो उपस्थिति जनाइराख्यौं।
हामीलाई हाम्रा बहसहरू तथ्यपरक, तार्किक वा नतिजामुखी हुनुपर्ने आवश्यकता छैन। अर्को पक्षलाई तिखो प्रहार गर्न सक्नु र तथ्य मोडेर भए पनि खुईल्याउन सक्नु हाम्रो क्षमताको मानक हो। आफूले दैनिक रूपमा गर्नुपर्ने काम छाडेर चोकमा बसेर क्यारम खेल्न र कोखैमा बसेर अरुलाई सिकाउन जति तत्पर हुन्छौं, त्योभन्दा अझै धेरै जाँगर आ-आफ्ना पूर्वाग्रहसहित बहसहरूमा हाजिर हुन हुन्छौं।
हामीले माधवप्रसाद घिमिरेको ‘हामीले हिमाल उठायौं, एसियाको माझमा’ भन्ने पद्यांशमा पनि भाव होइन, तथ्य नै देख्छौं।
हामीलाई प्रश्न गर्न र प्रश्न गर्नेहरू पनि मन पर्दैन। केवल भाष्यका पक्ष वा विपक्षमा आ-आफ्ना मान्यताहरूलाई अन्धाधुन्ध पुष्टि गर्न मन पर्छ। कोभिडको बहानामा बन्द गरिएको खुद्रा व्यापारको संचालनकर्ताले देशको आर्थिक शिथिलताको जवाफ टेलिभिजन कार्यक्रममा बहस गरिरहेका विज्ञहरूकै भाष्यमा भेटेर दंग छ।
प्रश्न गर्नु समेत हाम्रो परम्परा विपरित छ, कर्म गर्नु त परै जाओस्। त्यसैले हामीलाई कहिले राजाहरूले वा नेताहरूले हाम्रो आवश्यकता पूरा गरिदेलान् जस्तो लाग्यो, कहिले छिमेकीहरूले वा अन्य दाताले। सडक, बिजुली, पिउनेपानी इत्यादि संरचनाहरू चमत्कारले तयार हुनेमा नै विश्वास गरिरह्यौं।
हाम्रा बैंक खाताहरूमा एकाएक रकम जम्मा हुने, भकारीहरू एकाएक भरिने रमणीय कल्पनामा हाम्रो विश्वास अटुट रहिरह्यो। हामीले आ-आफ्ना विवेकपूर्ण सत्कर्मले होइन, वैकुण्ठधारीको कृपाले अथवा कुनै चिठ्ठा पारेर भविष्य सुरक्षित हुने रमणीय कल्पनामा रमाइरह्यौं।
हामीले कर्म गर्नेहरूलाई तल्लो दर्जामा र दुई कौडीमा पनि नबिक्ने गफ हान्नेलाई उपल्लो दर्जामा राख्ने परम्पराको थालनी मात्र गरेनौं, त्यसलाई भित्रैदेखि अँगाल्यौं र त्यसलाई निरन्तरता दिनु उपयुक्त ठान्यौं।
हाम्रा कर्ममा भन्दा बढी जन्मँदादेखि नै भावीले लेखिदिएको भाग्यमा विश्वास गरिरह्यौं। आखिर सम्पूर्ण जीवन विधाताले कोरिदिएको भाग्यमा निर्भर हुने भएपछि आफ्ना कर्महरूको अर्थ पनि रहेन !
२०४६ सालमा लोकतन्त्रको बहालीपछि नेता नं ४२० देखि नेता नं ७८६ सम्म हामीले नै जन्मायौं। ठग, फटाहादेखि अपराधीसम्म। उनीहरूले गफ दिंदै गरे, हामीले पनि गफकै भरमा उनीहरूलाई नै विश्वास गरिरह्यौं।
कसैलाई पहिचानको आधारमा सबैको आ-आफ्नो राज्य प्राप्त गर्ने आश्वासनमा, कसैलाई पानीजहाज र घरघरमा ग्यासका पाइप पुर्याइदिने आश्वासनमा। अरुका कुरा काटेकै भरमा पत्रकार नं १०१ बाट राजनीतिमा डेरा सरेका, वैधानिक नेपाली नागरिकता नभएका व्यक्तिलाई गफकै भरमा देशको गृहमन्त्री पनि हामीले नै बनायौं।
हामीलाई ‘हेर्नेको कथा’ भन्दा ‘सक्किगोनी’ वा ‘मेरी बास्सै’ मन पर्छ। हामीलाई हाम्रा वास्तविक कथा-व्यथा भन्दा देशका रेडियो र टेलिभिजनहरूले धानिदिएका उडन्ते ठट्यौलीहरू मनपर्छ। जसले जेसुकै भन्दै गरोस्, हामीले कर्मठ युवाहरूलाई परदेशमा स्थान दिएकै छौं।
स्वदेशमा भने आ-आफ्ना गुटको हितको लागि कुनै न कुनै ‘मुर्रा माहात्म्य’लाई नै निरन्तरता दिनु उपयुक्त छ। हाम्रो घर, टोलछिमेक, गाउँबस्ती र शहर अनि समस्त देश विकासको लागि भने अलौकिक शक्तिमाथिको भरोसा कायम छ।
जय मुर्रा माहात्म्य!
प्रतिक्रिया 4