काठमाडौं । संगीतकार आलोकश्रीले संगीतमा लागेर सबथोक पाए— नाम, दाम, प्रतिष्ठा, सफलता । एक हिसाबले भन्दा उनले सांगीतिक शिखरको स्पर्श गरे । रामकृष्ण ढकाल, यम बरालजस्ता गायकले आलोकश्रीले नै संगीत भरेका गीत गाएर आफ्नो उचाइ बनाए । उनको संगीत सिर्जना नेपाली गायक-गायिकामाझ मात्रै सीमित रहेन । भारतका चर्चित गायक-गायिका शान, साधना सरगम, कविता कृष्णमूर्तिदेखि जगजीत सिंहसम्मले उनको मधुर धुनमा आफ्नो स्वर भरे ।
अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा उनले वर्तमान नेपाली संगीत, यसको भविष्य, डिजिटल प्रविधिले ल्याएको सहजताका साथै दुरुपयोगदेखि आफ्ना आगामी योजना र समाज-राजनीतिका विषयमा समेत खुलेर कुराकानी गरे ।
त्यत्तिको सफलता पाइसकेको एक संगीतकर्मी अहिले चर्चाबाट टाढा रहँदा मनमा चाहिं के खेल्छ ? गफ स्टेसनमा सोधिएको यो प्रश्नमा आलोकश्री यो विश्वभरकै स्वाभाविक प्रक्रिया भएको बताउँछन् ।
‘क्लाइमेक्समा पुगेपछि झर्ने नै हो । यो प्रकृतिको नियम नै हो । हामीले हाम्रै वरिपरि देखिरहेका छौं, कुनैबेला एक झलक पाउन पनि तड्पिनुपर्ने कलाकारहरु अहिले गुमनाम हुनुहन्छ । संगीतको जादू छर्ने व्यक्तिहरु आफ्नै घर-व्यवहारतिर लाग्नुभएको छ’ शिखरमा पुगेपछि झर्नैपर्छ भन्ने कुरालाई प्रष्ट पार्दै उनी भन्छन्, ‘तर पनि चर्चाको भोक मानिसलाई लागिरहन्छ, यो मानवीय स्वभाव नै हो ।’
आलोकश्री किन हो किन अहिलेको डिजिटल प्रविधिप्रति उति साह्रो खुसी देखिएनन् । यसबाट टाढा रहने सवालमा होइन कि दुरुपयोग धेरै भयो भन्ने उनलाई लाग्छ । पहिले एल्बमको जमानामा घरघरमा क्यासेट र सीडी पुगेर गीत सुनेपछि श्रोताले दर्शाउने माया अहिले युट्युब प्लेटफर्मबाट मिल्नेभन्दा कैयौं गुना माथि लाग्छ उनलाई ।
‘अहिलेको प्रविधिले धेरै कुरा सहज बनाइदिएको छ । रेकर्डिङ अझै सजिलो छ । अहिले गायक-गायिका स्टुडियो सुरमा पुग्नु पर्दैन, स्वर मात्रै लिएर गए पुग्छ’ उनी भन्छन्, ‘धेरै कुरा अहिले प्रविधिले नै मिलाइदिन्छ । अर्थात् अहिले सुर मिलाउन सजिलो छ । अनि युट्युबलगायतका प्लेटफर्मबाट ठूलो मासमा एकैसाथ पुग्न पनि सजिलो छ ।’
तर पनि अहिले युट्युब प्लेटफर्मको सदुपयोगका साथै दुरुपयोग पनि भइरहेको उनलाई लाग्छ । ‘युट्युबमा जेन्युन भ्युज देख्न त अति राम्रा गीतको मात्रै होला । सुरुमै पाँच लाख भ्युज किन्नुपर्छ, त्यसपछि टिकटकरलाई कम्तीमा ५० हजार दिएर भिडियो बनाउन लगाउनुपर्छ । अनि मोडलहरुको खर्च, निर्माण खर्च, सबै गर्दा एउटा गीतमा १० लाख रुपैयाँ खर्च हुने दिन आयो,’ उनी भन्छन्, ‘अनि लगानी कसरी उठ्छ, फेक भ्युजले श्रोता-दर्शक झुक्किरहेका छन् ।’
तर यति हुँदाहुँदै पनि कपी राइटका कुरादेखि आफ्नै शब्द, संगीतमा आफैं स्वरमा निर्धक्क गीत ल्याउन पाइने सुविधा निकै राम्रा छन् । आलोकश्री भन्छन्, ‘मैले डिजिटल प्रविधिको विरोध गरेको होइन, अंगुर गुलियो हुन्छ, एक-दुईवटा अमिलो पनि होला । मैले अमिलोलाई मिल्काएर गुलियोलाई मात्रै प्रयोग गरौं भन्न खोजेको हो । अस्वस्थ प्रतिस्पर्धाले कहीं पुर्याउँदैन भन्ने हो ।’
आलोकश्री आफैंले चाहिं अहिलेको सांगीतिक बजारदेखि आत्तिएर नयाँ सिर्जना सार्वजनिक नगरेका हुन् ?
यसमा केही हदसम्म भने सहमत देखिए । उनले ५०-५२ गीतहरु तयार पारेर राखेका रहेछन् । ती गीतहरु उपयुक्त समयमा सार्वजनिक गर्ने उनले सुनाए ।
‘अहिलेको टेस्ट र हामीले दिने टेस्ट फरक परेको हुन सक्छ श्रोतालाई । उदितनारायण, दीपानारायण र आदित्यनारायणको स्वरमा झिलमिल सितारा डिजिटल एल्बम ल्याएँ । तर टिकटकको प्लेटफर्म र अरु पब्लिसिटीमा ढंग पुर्याइएन होला, सोचेजस्तो चर्चा पाएन,’ उनी भन्छन्, ‘त्यसैले अब अलि सोचविचार गरेर बजारमा ल्याउँछु ।’
अहिले कलाकार बन्न सजिलो, टिक्न गाह्रो
आलोकश्री पहिलेको तुलनामा अहिले कलाकार बन्नका लागि सहज बाटो देख्छन् । आफूमा प्रतिभा छ भने अरु कसैको ठूलो सहाराबिना पनि सामाजिक सञ्जाललगायत प्लेटफर्मको प्रयोग गरेर प्रस्तुत गर्न सकिन्छ । ‘कलाकार हुन सजिलो छ, मासमा सहजै पुग्न सकिन्छ, तर पनि पहिलेजस्तो चिन्ने अवस्था चाहिं रहिरहँदैन,’ उनी भन्छन्, ‘राम्रा गीत आइरहेका छन्, तर ६ महिनामै मान्छेले बिर्सिन्छन्, फेरि नयाँ गीतको खोजी गरिहाल्छन् । पहिलेजस्तो किन गीत कालजयी भएनन् भन्ने प्रश्न चाहिं टड्कारो छ ।’
यद्यपि कुनैबेला संगीतमा आफ्नो सिर्जनात्मक लगानी गरेकाहरुका लागि भने रोयल्टीलगायतका सुविधाले अहिले पनि राम्रो आम्दानी दिइरहेको उनी बताउँछन् । आलोकश्री आफैं पनि म्युजिक नेपालबाट मात्रै वार्षिक कम्तीमा १०-१२ लाख रोयल्टी बुझ्दारहेछन् ।
चर्चित गायक जन्माउने, चर्चित भारतीय कलाकारलाई गाउन लगाउने पनि संगीतकार
आलोकश्रीले संगीत गरेका थुप्रै गीत हिट छन् । रामकृष्ण ढकालको स्वरमा रहेको ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’ गीतले उनलाई नेपाली सांगीतिक आकाशमा उडान भरिदियो । हुन यसअघि उनको अर्को एक गीत रिलिज भएको थियो ।
त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । रामकृष्ण ढकालकै स्वरमा थोरैथोरै रिस अनि, हीरा काट्ने हीरैमा राखेर, हिउँचुलीमा हिउँ बग्यो, चरीले छाडेर गइगयो गीत लोकप्रिय भए । यसैगरी यम बराल पनि उनकै संगीतबाट चर्चाको शिखरमा पुगे, निष्ठुरीले छाडेर गइहाली, मन रहे पो मायाप्रीति, दिलमाया दिलमायालगायत गीतबाट । अरु थुप्रै गायक-गायिका उनकै संगीतबाट चर्चामा आए । आलोकश्रीले उदितनारायण झाको पहिलो आधुनिक गीति एल्बम ‘उपहार’ बजारमा ल्याए । यसको सफलताले उनलाई सांगीतिक चर्चाको शिखरमै पुर्याइदियो । कहिले तिम्रो पछ्यौरीमा अल्झें, म सपनाको कुरा गर्छु लगायत एल्बममा सबै गीत नै चर्चित बने । उनले जगजीत सिंहको स्वरमा नेपाली एल्बम ‘संयोग’ ल्याए । जसका ‘कुन माया सदर भो’सहित अधिकांश गीतलाई श्रोताले रुचाए ।
अर्थात् भनौं आलोकश्रीले नेपाली संगीतमा पाउनुपर्ने सफलता जति सबै पाए । के अझै पनि उनको यस्तो केही धोको छ ?
‘अबको पाँच वर्ष म मायाप्रीतिका गीत ल्याउने छैन । अब समाजका गीत, किसानका गीत, पछाडि पारिएका समुदायका गीत ल्याउने योजना छ,’ उनी आफ्नो आगामी योजना सुनाउँछन् । गफ स्टेसनमा उनले अर्को योजना पनि सुनाए, चर्चित भारतीय गायक अरिजित सिंहको स्वरमा एकल डिजिटल एल्बम ल्याउने । ‘सायद अबको एक वर्षभित्र अरिजित सिंहको एल्बम ल्याउनेछु । काम धेरै अघि बढिसकेको छ । नेपाली र हिन्दी दुवै भर्सनमा गीत हुनेछन्,’ उनले सुनाए ।
आलोकश्रीको व्यावसायिक पाटो पनि उत्तिकै सबल छ । धेरै पहिलेदेखि गोदावरीमा उनले स्कुल सञ्चालन गरिरहेका छन् भने काठमाडौं अनामनगरमा रेकर्डिङ स्टुडियो पनि चलिरहेको छ । अब भने उनी पर्यटन व्यवसायमा पनि लाग्दैछन् । उनी आफ्नो जन्मथलो गोरखाको पालुङटार नगरपालिकाको ठाँटीपोखरीमा एक रिसोर्ट सञ्चालनको संघारमा छन् । ‘रिसोर्टमा अर्गानिक कृषि फार्म पनि सँगै हुनेछ । सेप्टेम्बरदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउँदैछौं । व्यवसायको माध्यमबाट पर्यटनको क्षेत्रमा पनि केही योगदान गर्न सकिन्छ कि भन्ने सोच हो,’ उनी भन्छन् ।
संगीतकारलाई फ्यानले दर्शाउने माया
खासगरी गायक-गायिका र अभिनेता-अभिनेत्रीका ‘डाइहार्ट’ फ्यान देख्दै सुन्दै आएका हुन्छौं हामीले । संगीतकार चाहिं कस्ता फ्यान हुन्छन् ? यो प्रश्न आलोकश्रीलाई सोधियो ।
‘अघिपछि पनि एक किसिमको माया त दर्शाइरहनुभएकै हुन्छ । तर उपहार एल्बम बजारमा आएको थियो । म नेपाली ताराको अडिसनका लागि धरान पुगेको थिएँ । त्यहाँ म पुग्ने भएपछि धनकुटा हिलेबाट एक व्यक्ति परिवारसहित मलाई भेट्न आउनु भयो,’ उनी सुनाउँछन्, ‘धरानमा म आउँदैछु भन्ने सुनेर उहाँले आयोजकलाई उपहारका गीत सुनेपछि यति भावुक र मार्मिक बनायो, बरु गायक-गायिका परेन, तर यो धुन र लय बनाउनेलाई चाहिं भेटाइदिनु भन्नुभएको रहेछ । यो सुन्दा निकै भावुक बनेको थिएँ म । पछि मलाई भेटेर उहाँ एकदमै खुसी हुनुभयो ।’
भन्नुपर्ने कुरा
आलोकश्रीले देशको राजनीतिक परिस्थितिले निम्त्याएको सामाजिक अवस्थाबारे पनि केही कुरा गरे । नेपालीले बाहिरी मुलुकमा श्रम बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको भूमिका हुनुपर्ने उनको सुझाव छ ।
‘श्रमको मूल्य यो देशमा हामीले बुझ्नै सकेनौं । हरेकपटक एयरपोर्टमा जाँदा सानो बच्चा काखीमा च्यापिएर फर्किरहेकी श्रीमती र सानो झोदा बोकेर देश छाड्न लागेको श्रीमानको दृश्य सधैं देखिन्छ । यो देख्दा अति भावुक बनाउँछ,’ उनी भन्छन्, ‘अहिले देशका गाउँगाउँमा थोरबहुत विकास भएको छ तर पैसा नखुवाई कहीं केही काम भने अझै हुँदैन । यस्तो नेता जन्मियोस्, जो झुपडीमा बसेर देशको बागडोर सम्हालोस्, त्यो शासन जनताको होस् । हरेक नागरिकले भन्न पाउन्, यो मेरो अभिभावक हो ।’
संगीतकार आलोकश्रीसँगको विस्तृत अन्तर्वार्ता भिडियोमा हेर्न सकिन्छ ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4