
७ असार, काठमाडौं । चुनावपछि रास्वपा समेतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले अर्को महिनामै आफ्नो क्याबिनेटबाट त्यो दलका मन्त्री बिदा गरेथे । प्रतिनिधिसभामा ३२ सिट जितेको पार्टीका अध्यक्ष प्रचण्डले २१ सिटे रास्वपाको केन्द्रीय कार्यालय पुगेर बिहीबार घन्टी बजाए ।
राजनीति यति तरंगित छ कि, कुनै पनि बेला जोकोहीको ‘घन्टी’ बज्न सक्छ । आम आक्रोश बढ्दै जाँदा मतदाता पनि सोहीपरी चलायमान बन्न पुगेका छन् । सरकारमा बस्दाबस्दै प्रचण्डलाई समाजवादी मोर्चा बनाउनुपर्ने बाध्यता त्यसै परेको होइन । धेरैका आँखा ०८४ को चुनावतिर छन् ।
जस्तो कि, एकताका प्रचण्डका सारथि रहेका बाबुराम भट्टराईले त रास्वपा वार्षिकोत्सव समारोहमा ठोकुवा नै गरिदिए– ‘०८४ को चुनावमा नयाँ दलले सरकार बनाउँछ ।’ बाबुरामले नयाँ दल भने, ‘नयाँ शक्ति’ भनेनन् । सबै नयाँ दलको नियति ‘नयाँ शक्ति’ जस्तै हुँदैन । एमाले अध्यक्ष केपी ओली लगायत शक्तिशाली शीर्षहरु सबै रास्वपा मुख्यालय पुग्नुले एक वर्षभित्रै यसले बढाएको राजनीतिक घनत्व महसुस गर्न सकिन्छ ।
रवि लामिछानेको नेतृत्वमा पोहोर असार ७ मा खुलेको रास्वपाले एक वर्षको उल्लास मनाउँदै गर्दा नेपालका स्थापित शक्ति, व्यक्ति घन्टीघर पुगे । नयाँ कार्यालयमा राखिएको घन्टीको रालोमा टिङटिङ बजाए । उनीहरुले मंसिरको आम चुनावदेखि वैशाखको उपचुनावसम्म रास्वपाले देखाएको शक्ति सम्झना गरे ।
पुराना दलहरुले पार्टी जन्मेको दिनलाई तामझाम गर्ने तरिका छोडिरहेका बेला रास्वपाले यो पहिलो वार्षिकोत्सवलाई विशेष बनाउन सम्पूर्ण शक्ति खर्चिएको थियो । बुधबार पूजाआजा गरेर नयाँ कार्यालयको शुभारम्भ गरेको रास्वपाले त्यसको एकदिन पछि त्यहीँ चियापान गर्यो ।
२०७९ सालको असार २ मा सञ्चारकर्म छोडेका सभापति रवि लामिछानेलाई आफूले नेतृत्व गर्दैगरेको दल संसदमै चौथो बन्ला भन्ने सायदै परेको थियो । परोस् पनि कसरी ! जुन बेला रास्वपा खुल्दै थियो, मानिसहरुलाई यसको नाम पनि थाहा थिएन । यो त्यसबेला ‘रविको पार्टी’ थियो । यो ‘घन्टी पार्टी’ थियो ।
रविको उत्साह सार्वजनिक थियो । रविका दुःख भने उनैलाई थाहा थियो । समाजमा चिनिएका पात्र खोजेर दल गठन गर्न उनलाई धौ धौ थियो । यो राजनीति हो कि लहडबाजी भनेर प्रश्न गर्नेहरुको संख्या कम थिएन । तै तै, काठमाडौं, धरान आदिमा पोहोर वैशाखको स्थानीय चुनावले स्वतन्त्र मेयरहरु जिताएको मतरुझानले राजनीति बदलिँदैछ भन्ने भरोसा दिएकै थियो ।
रविको आत्मविश्वास भने प्रवासमा बसेका नेपालीहरुको आडमा टिकेको थियो । भुँइ मान्छेहरुसँग जोडिएको भन्दै मतदाताहरुले उनीप्रति क्रेज देखाए । प्रत्यक्षमा सात क्षेत्र जितेको रास्वपाले समानुपातिकमा १३ सिट प्राप्त गर्यो । समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ प्राप्त गरेर २० सिट सहित चौथो दल बन्यो ।
निर्वाचन लगत्तै गठन भएको सरकारमा शक्तिशाली मन्त्रालय प्राप्त गर्यो । सभापति रविले उपप्रधानसहित गृहमन्त्रालय सम्हाले भने शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि र डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बने ।
रविको नागरिकता विवादका कारण सरकारमा रास्वपा लामो टिकेन । प्रचलित कानुनको पालनामा तल परे पनि आम सहानुभूति पाउनेमा रवि माथि नै देखिए । त्यसैले केही गर्न खोज्दा खोज्दै षड्यन्त्रवश निकालिएको भाव सम्प्रेषण गर्दै उपचुनावमा जाने हुँदा रास्वपालाई फाइदै भयो ।
सभापतिको फराकिलो अन्तरको जितको साथै कांग्रेस त्यागेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले रास्वपामा संसदमा एक अंक थपे । पहिला कार्यकर्ता खोज्न धौधौ थियो, अब मान्छेहरु आफैं पार्टीसँग सम्पर्कमा आउन थाले । असारमा कठिन भए पनि मंसिरमा पुग्दा रास्वपालाई सहज हुन थालिसकेको थियो । वैशाखपछि त झन् हलुका भयो यसका नेताहरुलाई । ६ महिनाअघिका गुमनाम अनुहारहरु सेलेब्रेटी स्ट्याटसमा रमाउन थाले ।
यिनै सफलताहरुको जगमा रास्वपाले बिहीबार आफ्नो पहिलो वर्षगाँठ मनायो । यो उत्साह आउँदा दिनमा थप बढ्ने रास्वपा नेता शिशिर खनाल दाबी गर्छन् । ‘अरु अरु वर्ष पनि यसै गरी वार्षिकोत्सव मनाउँछौ । अर्को वर्ष अझै उत्साह थपिन्छ’, खनालले भने ।
घन्टीघरका परिदृश्य
दिउँसो १ बजेदेखि सुरु गरिएको चियापान अघि नै नेता कार्यकर्ताको कार्यालय प्राङ्गण र वरपर भीड लागिसकेको थियो । त्यसअघि पूर्वबैंकर अनिलकेशरी शाहलाई केन्द्रीय कार्यालयमा डाकेर पार्टी प्रवेश गराएको थियो । पार्टीको शक्तिशाली विभागको रुपमा परिचित प्रशिक्षण विभागको जिम्मेवारी उनले पाएका छन् ।
आगन्तुकलाई व्यवस्थापन गर्नका लागि र्यापिड एक्सन टीम (आरएटी) लाई खटायो । आरएटीका ५० जना स्वयंसेवक आगन्तुकको व्यवस्थापनका लागि खटिएका थिए । पार्टीको निर्देशन अनुसार कार्य गर्ने यो द्रुत टिम केही दिन अघि मात्रै गठन गरिएको छ । आरएटीका प्रमुख साजन शर्माका अनुसार पार्टीको यो विभागको देशभर सञ्जाल हुनेछ । विशेषतः युवाहरुलाई संगठित गर्न र परोपकारी कार्यमा खटिने अवधारणासहित आरएटी गठन गरिएको हो ।
विहान १ बजेदेखि सुरु भई पाँच बजेसम्मको लागि तोकिएको चियापानमा अवधि भर प्राङ्गणमा लाइन लागिरेहको थियो । चियापानका अतिरिक्त थप खानाका परिकारहरु रास्वपाले आगन्तुकलाई स्वागत गरेको थियो । खानाका परिकारमा विशेषतः नेपाली परिकारलाई प्राथमिकता दिएको रास्वपाका नेताहरुले बताए । योमरी, जुजु धौ, भटमास, मिक्स अचार, पोलेको मकै जस्ता परिकार राखिएको थियो ।
पार्टीका कार्यालयको प्राङ्गणमा मकै पोल्नका लागि नै तिन जना निरन्तर खटिएका थिए । आगन्तुकलाई तिर्खा मेटाउन महीको व्यवस्था समेत गरिएको थियो । प्लास्टिक प्रयोग नगर्ने उद्धेश्यले कागजको टपरी, दुना तथा चम्चा प्रयोग गरिएको थियो ।
रास्वपाका नेता तथा कार्यकर्ता विजयीभावको मुद्रामा देखिन्थे । उनीहरुको खुसीमा साथ थप्ने कार्य अन्य दलका नेताहरुको उल्लेख्य सहभागिताले गर्यो । पार्टीका दर्जनौ नेता, कुटनीतिक नियोगका प्रमुख, उद्योग व्यवसायी संघ संस्थाका पदाधिकारी, कलाकार लगायतले निमन्त्रणा स्वीकारेर रास्वपालाई उर्जा थपे ।
शीर्ष तहका दलका नेताहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबरा पहिलो रहे भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्तिम रहे । ओली चियापानको अन्तिम प्रहरमा कार्यालय प्रवेश गरेका थिए । शीर्ष तहका नेताहरुलाई स्वागत गर्न अध्यक्ष रवि लामिछाने गेटसम्म आइपुग्थे । अन्यको हकमा उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकाल लगायतले स्वागत गरेर सभापति रवि भएको कक्षमा उनीहरुले पुर्याउँथे ।
कार्यालयको ढोकासँगै राखिएको घण्टी बजाउन सबै जसो शीर्ष नेताहरुलाई सभापति रवि आग्रह गर्थे । प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, सभामुख देवराज घिमिरेसहित अधिकांश नेताले घण्टी बजाए । रविको आग्रहमा सभामुख घिमिरेले सोधे, ‘चर्को स्वरमा बजाउनुपर्छ ?’ प्रतिउत्तरमा रविले सानो स्वरमा भएपनि हुने आग्रह गरे ।
सभामुखले एकपटक टिङटिङ पारे । अन्य दलका नेताहरुले घण्टी बजाउँदा नेता कार्यकर्ता खुसीको उमंग आकासिन्थ्यो । घण्टीसँगै रहेको एलसीडी टिभीमा केही समय डकुमेन्ट्री समेत बजाइयो । जहाँ, पार्टी निर्माणको सबै श्रेय सभापति रविलाई दिएर भिडियोमा प्रस्तुत गरिएको छ । नेता मनिष झाको स्वरांकनमा रहेको भिडिओ डकुमेन्ट्रीमा उपनिर्वाचनले पुराना दलको जग हल्लाइदिएको उल्लेख गरिएको छ ।
रास्वपाको चियापानमा सहभागी हुने अन्य नेताहरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले सचिव योगेश भट्टराई र गोकर्ण विष्ट थिए ।
रास्वपाको चियापानमा सहभागी हुन मन्त्रीहरु गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, स्वास्थ्यमन्त्री मोहन बस्नेत लगायत पुगे ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, प्रमुख सचेतक रमेश लेखक नेता रामहरि खतिवडा, एमाले नेता ठाकुर गैरे, स्वतन्त्र सांसद अमरेश कुमार सिंह लगायत रास्वपालाई शुभकामना दिन पुगे ।
महामन्त्री मुकुल ढकालका अनुसार चियापानका लागि एक हजार जना भन्दा बढीलाई निमन्त्रणा गरिएको थियो । चियापानमा निजामति कर्मचारीलाई भने बोलाइएन । निजामती कर्मचारीलाई राजनीतिबाट टाढा राख्नुपर्ने मान्यताले निमन्त्रणा नगरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
नयाँ दल रास्वपाको निमन्त्रणामा कलाकारहरु समेत उल्लेख्य पुगेका थिए । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य सहित दिपकराज गिरी, दिपाश्री निरौला, किरण केसी लगायतले रास्वपालाई शुभकामना दिए ।
पत्रकारहरुसँग कुराकानीका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अबको समय नयाँ दलको भएको उद्घोष गरे । ‘०८४ मा चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ, को हुन्छ म भन्दिनँ’ उनले भने । कांग्रेस, एमाले, माओवादीको नेतृत्वमा सरकार नहुने उनको दाबी थियो । ती दलप्रति आक्रोशित सुनिएका भट्टराईले भने, ‘उनीहरु आउँदैनन् । उनीहरु बाहेकको सरकार बन्छ ।’
रास्वपालाई शुभकामना दिएको छोटो प्रतिक्रिया दिएका प्रधानमन्त्री प्रचण्डले अन्य राजनीतिक विषयमा बोल्न चाहेनन् । कांग्रेस र एमालेको सरकार बनाउने भित्री खेल रहेको आशंकाबारे सोधिएको प्रश्नमा प्रचण्डले कुनै जवाफ दिएनन् । चियापानबाट फर्कने क्रममा रहेका राप्रपाका अध्यक्ष लिङ्देनले कांग्रेस–एमालेको समीकरण हुनपनि सक्ने प्रतिक्रिया दिए । ‘यो नेपाल हो । यहाँ जे पनि हुन्छ । कांग्रेस एमालेको मिलेर सरकार बन्न पनि सक्ला’, लिङदेनले भने ।
पार्टी दर्ता भएर राजनीतिमा होमिएको एकवर्ष भएकाले रास्वपालाई शंकाको लाभ छ । चियापानमा सहभागी हुन आएका स्थानीय एक कार्यालयको तड्कभड्क प्रति भने प्रश्न उठाए । ‘कसैसँग एक पैसा पनि चन्दा नलिने रविले भनेका छन् । यस्तो भवनमा कार्यालय राखेपछि यसलाई चलाउन पैसा पनि चाहिएला’, चियापानमा सहभागी एक स्थानीयले भने ।
अन्य दल परित्याग गरेका र रास्वपातिर आकर्षित कार्यकर्ता पनि देखिए । काठमाडौंको ३ नम्बर क्षेत्रमा कांग्रेसका सक्रिय रहेर तीन दिन अघि पार्टी परित्याग गरेका कुमारराज सुवेदी रास्वपाको चियापानमा देखिए । ३५ वर्षसम्मको कांग्रेसको आवद्धता त्यागेको उनले सुनाए ।
सुवेदी गत निर्वाचनमा काठमाडौं–३ बाट प्रदेश सभामा कांग्रेस उम्मेदवारको आकांक्षी थिए । त्यसबेला उनले टिकट पाएनन् । चियापानमा भेटिएका कतिपय कार्यकर्ता शंकाको लाभ सहित रास्वपामा प्रवेश गरेको सुनाए । ‘पार्टीको हाई हाई छ । यही हाई हाई र काम गर्ने हुटहुटी सधैं रहन्छ कि रहँदैन?’ नेतृत्वप्रति एक कार्यकर्ताले आशंका राखे ।
तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर ।
प्रतिक्रिया 4