
२० साउन, काठमाडौं । काठमाडौंको कोटेश्वरबाट मोटरसाइकलको यात्रामा करिब २ घण्टाको यात्रामा पुगिन्छ बेथानचोक गाउँपालिकाको केन्द्र, ढुंखर्क ।
पर्याप्त सम्भावना बोकेको यस पालिका धार्मिक सांस्कृतिक तथा पुरातात्विक दृष्टिले प्रचुर सम्भावनाको क्षेत्र देखिएको छ ।
गाउँपालिकाका लागि संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले गरेको सांस्कृतिक तथा पुरातात्विक अध्ययनको प्रतिवेदनमा यो क्षेत्रको प्रचुर सम्भावना र यसको व्यवस्थापनको बारेमा उल्लेख गरिएको छ ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष भगवान अधिकारीले पर्याप्त सम्भावनाको यो क्षेत्रमा पुरातात्विक स्थलहरुको संरक्षण गर्दै त्यसमा पर्यटक आकर्षित गर्ने बताए ।
विकासका लागि भौतिक संरचना मात्रै नभएर संस्कृति र परम्पराको संरक्षण समेत आवश्यक रहेको भन्दै पालिका विकासको बहुआयामिक पक्षलाई सँगै लैजाने पक्षमा रहेको उनको भनाइ थियो ।

राजनीतिक दृष्टिले यो क्षेत्र उत्तरमध्यकाल र शाहकालमा महत्वपूर्ण थियो भन्ने कुरा विभिन्न साहित्यिक स्रोतले देखाएको छ । राष्ट्रिय अभिलेखालयमा भेटिएको एक ताम्रपत्रमा मकवानपुरका राजा दिग्बन्धन सेनले तेमालका राजालाई त्यहाँको शासन गर्ने अनुमति दिएको उल्लेख छ । जसले गर्दा यो क्षेत्रसम्म पनि कुनै समय सेनहरूको शासन थियो भन्ने आधार देखिएको छ ।
यो क्षेत्र तेमालका राजाले पनि शासन गरेको भन्ने पनि सो ताम्रपत्रबाट पुष्टि हुन आएको छ । उता गोर्खाली सेनाले पलाञ्चोक जितेपछि खावा, काभ्रेकोट धुलिखेल जितेर सिधै बनेपा पनौती र महाभारत डाँडोतिर गोर्खाली सेनाले चासो दिएका थिए । यो उपत्यकामा नाकाबन्दी गर्ने योजना बमोजिम भएको देखिएको छ ।
त्यस्तै, यो भेग राजनीतिक महत्वको एक ऐतिहासिक भू-क्षेत्र थियो भन्ने आधार भेटिएको छ । यो क्षेत्रमा मध्यकालमा राजामहाराजाहरूको आवतजावतको इतिहासले यो राजनीतिक महत्वको एक क्षेत्र हो भन्ने प्रमाण पाइन्छ । यहाँ जयज्योति मल्लको राज्यकालपछि उनलाई सोही क्षेत्रमा धपाएको इतिहास, भूपतीन्द्र मल्लले सपनामा चाँगुनारायण बेथानचोकमा बसेको भनेर सपना देखेपछि उनी नारायणथान आएका थिए भन्ने इतिहास छ । यसले पनि यो क्षेत्र ऐतिहासिक महत्वको क्षेत्र थियो भन्ने देखिएको हो ।
यो क्षेत्र मध्यकालमा उत्तरदक्षिण व्यापारमार्गको रुपमा समेत रहेको भेटिएको छ । हालको बेथानचोक भेग परम्परागत व्यापारिक मार्गको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्ने साहित्यिक एवं पुरातात्विक प्रमाणले देखाएको छ । यो व्यापारिक मार्ग उत्तरमा तिब्बतदेखि दक्षिणमा भारत जोड्ने व्यापारिक मार्गको एक हिस्सा थियो भन्ने सम्भावना यस अध्ययनबाट भेटिएको छ ।

मध्यकालीन उत्तरदक्षिण व्यापारको केन्द्र बनेपा र काठमाडौं उपत्यका थियो । बनेपा र काठमाडौं उपत्यकाबाट तराईतर्फ जाने विभिन्न मार्गमध्ये केही मार्ग यो पालिका हुँदै जाने गरेको तथ्य विभिन्न स्रोतबाट देखिएको छ । बनेपाबाट दक्षिणतर्फबाट हुने व्यापार यही बेथानचोक हुँदै सिन्धुलीबाट तराई झरेर भारततर्फ हुन्थ्यो ।
उत्तरतर्फ जाने बाटो बनेपाबाट दोलखा हुँदै तिब्बततिर जान्थ्यो । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले काठमाडौंलाई चारैतिरबाट नाकाबन्दी गर्ने योजनाअनुरूप महाभारतको नारायणथान डाँडोलाई पनि रणनीतिक रुपमा महत्व दिएकोबाट पनि यो क्षेत्र सामरिक दृष्टिले महत्वपूर्ण थियो भन्ने भेटिन्छ ।
यसका बाहेक महाभारतकालीन स्थानका विभिन्न किंवदन्तीहरु, प्राग् मानवको बसोबासको स्थल, सेनकालीन गढीहरु, विभिन्न स्थानीय मौलिक संस्कृति आदिले बेथाचोक क्षेत्र पर्याप्त सम्भावनै सम्भावनाको क्षेको रुपमा रहेको पाइएको छ ।
प्रतिक्रिया 4