+
+

वैश्विक समस्याको स्थानीय प्रभाव ?

अहिलेको अवस्थामा सम्भावनाका बावजुद पनि नेपाल भन्ने एउटा देश थियो जहाँ एक जना पनि नेपाली बस्दैनन् भन्ने स्थिति आउन सक्छ !

सन्तोष पौडेल सन्तोष पौडेल
२०८० साउन २२ गते ११:५४

जनसंख्या वृद्धिलाई हामी केवल समस्याको रूपमा बुझ्दै आएका छौं। हामीलाई विद्यालयस्तरमा यसैगरी पढाइयो पनि। हाम्रा पाठ्यक्रमले बढ्दो जनसंख्यालाई समस्त समस्याको जड सरह अर्थ्यायो पनि।

तर अबका दशक यसको विपरीत हुँदैछ। अब भने घट्दो जनसंख्या विश्वका अधिकांश विकसित देशहरूमा भने समस्या बन्दै गएको तथ्य छ। अर्थतन्त्रसँग जनसंख्याको प्रत्यक्ष सम्बन्ध हुन्छ। चाहे त्यो उत्पादक शक्ति अर्थात् मजदुरको रूपमा होस् वा बजारकै रूपमा किन नहोस्। सामान्यतः जनसंख्या भन्नु नै बजार हो। बजार घटेसँगै अर्थतन्त्र घट्छ। बढेसँगै बढ्छ।

दक्षिणएशियाका भारत, बङ्गलादेश, पाकिस्तान र अफ्रिकी मुलुकमा जनसंख्या बढ्ने देखिएता पनि विकसित देशमा नयाँ जन्मने मानिसको सङ्ख्या घट्दो छ भने सोही अवधिमा मृत्यु हुनेको सङ्ख्या बढी छ। बजार जोगाइराख्न र भएका उद्योग, व्यवसाय, सेवा क्षेत्र धान्न पनि उनीहरूको लागि बाहिरबाट मान्छे ल्याउनु अति आवश्यक देखिन्छ।

घट्दो जनसंख्याले अर्थतन्त्रलाई स्टाग्नेसन (स्थिरता) तर्फ लिएर जान्छ। रियल स्टेट कारोबारमा त सोझै गिरावट ल्याउँछ। अर्थात् क्रेताको सङ्ख्या कम हुँदै जान्छ। युरोपका अधिकांश रोमानिया, ग्रीस, हङ्गेरी जस्ता विकसित कहलिएका देशहरूमा जनसंख्या अहिले १०-१५ प्रतिशतसम्म ह्रास आएको तथ्याङ्क छ। जापान जस्ता देशले समेत यस्तो प्रकारको समस्या भोगिरहेका छन्।

सन् २०२३ मा क्यानाडामा प्रति हजार व्यक्तिमा जम्मा १० जना नयाँ बच्चा जन्मिने प्रक्षेपण गरिएको छ। सोही कारण क्यानाडाले सन् २०२४ सम्ममा १० लाख आप्रवासी भित्र्याउने निर्णय गरेको छ। अबका दिनमा यस्तै प्रकारको निर्णय अन्य देशले पनि गर्दै जानेमा कुनै शंका नै छैन।

विकसित देशमा जनसंख्या वृद्धि ऋणात्मक हुँदा हाम्रो जस्तो विकासोन्मुख, राजनीतिक अस्थिरताले गिजोलिएको देशलाई कस्तो असर गर्ला त ? आउनुहोस् त्यो बारेमा चर्चा गरौं।

वैश्विक इस्यूमा हामीले स्थानीय समाधान खोज्नुपर्नेछ तर यस्तो बेलामा हाम्रो स्थिति नाजुक छ। राज्यका अवयवहरू धरासायी छन्। पहिलो त नीतिगत तहमा नै भ्रष्टाचार छ। अर्को कुरा सही नीति निर्माण भयो भने पनि कार्यान्वयन गर्ने निकायहरू मक्किएका छन्

हामीले स्कुलदेखि नै जनसंख्या नियन्त्रणका बारेमा पढ्दै आयौं तर हामीले कहिल्यै अर्थतन्त्र र जनसंख्याको सम्बन्धका बारेमा पढ्यौं ? या हामीलाई पढाइएन ? यसले दीर्घकालमा अर्थतन्त्रमा के कस्तो प्रभाव पार्छ भन्ने कुरा व्यापक रूपमा पढाइनुपर्थ्यो तर त्यसो गरिएन। पछिल्लो तथ्याङ्क अनुसार नेपालको प्रजनन दर १.४८ प्रतिशत प्रति महिला रहेको छ जबकि सन्तुलन कायम राख्नको निम्ति २.१० प्रतिशत हुनु आवश्यक छ।

यसैमा विकसित मुलुकले आप्रवासी भित्र्याउने क्रम बढाइरहँदा नेपालको अर्थतन्त्र बुम हुने बेलामा सोही कारणले मन्दीतर्फ जान सक्ने अवस्था सिर्जना हुँदैछ। छिमेकी देश भारत र चीन सोही जनसाङ्ख्यकीय लाभका कारण विश्वको पहिलो र दोस्रो अर्थतन्त्र बन्ने क्रममा छन्।

रेमिटेन्स प्रवाह र सेवा क्षेत्रले धानेको अर्थतन्त्रलाई उत्पादनतर्फ डाइभरसिफाई (विविधीकरण) गर्न नसक्दा नयाँ पुस्ता तेस्रो मुलुकतर्फ पलायन हुँदैछ। पुरानो नेतृत्वलाई अझै पनि ठिकठाक चलिरहेको छ भन्ने छ वास्तविक इस्सू (मुद्दा) के हो भन्नेसम्म ख्याल छैन।

आज जसरी पहाडका गाउँ रित्तिंदै छन् त्यसरी भोलि शहर पनि रित्तिंदै जानेछ जसले गर्दा रियल स्टेटको मार्केट अझै खुम्चिंदै जाने स्थिति छ। अहिलेको आर्थिक संकुचन कोभिड, युक्रेन वार या डलर सञ्चितिसँग मात्रै सम्बन्धित छैन।

यहाँ हाम्रो नेतृत्वलाई जनसंख्या भनेको बजार हो, जनसंख्या घट्दा बजार घट्छ भन्नेसम्म ख्याल नभएको प्रतीत हुन्छ। राज्यको गलत शिक्षा नीतिका कारण नयाँ पुस्तामा आफ्नो संस्कृतिप्रति आत्मविश्वास छैन, जुन कुरा व्यक्तिसँगै समाजको विकासका निम्ति अपरिहार्य छ।

वैश्विक इस्यूमा हामीले स्थानीय समाधान खोज्नुपर्नेछ तर यस्तो बेलामा हाम्रो स्थिति नाजुक छ। राज्यका अवयवहरू धरासायी छन्। पहिलो त नीतिगत तहमा नै भ्रष्टाचार छ। अर्को कुरा सही नीति निर्माण भयो भने पनि कार्यान्वयन गर्ने निकायहरू मक्किएका छन्।

हाम्रो देशले के नीति बनाउँछ भन्दा पनि, बाहिरकोले बनाउने रणनीति तथा नीतिको लयमा हामी बगिरहेका छौं। यदि युरोप, अमेरिका जस्ता देशले भिसा सहज गर्दिने हो भने नयाँ पुस्ताका केटाकेटी, अपवाद बाहेक धेरै नागरिक देशमा बस्नेवाला छैनन्।

राज्यका डेलिभरी गर्ने निकाय समयानुकूल छैनन्, उदाहरणको लागि, तपाईं यातायात कार्यालय छिर्नुभयो भने आजको जस्तो सूचनाप्रविधिको जमानामा एउटा कोठाबाट अर्को कोठामा अर्कोबाट अर्को भनेर नै द्विविधामा पार्ने र बिचौलियाको पछि लाग्नुपर्ने स्थिति सिर्जना गरिदिने परिपाटी छ।

यस्तो अवस्था सरकारी निकायका अधिकांश क्षेत्रमा छ। यो सानो विषय जस्तो लाग्ला तर यसले नयाँ पुस्ताका केटाकेटीलाई सरकारी कार्यालयप्रति नकारात्मक भावना पैदा गर्छ र जो कोही सरकारी काम भनेपछि नाक खुम्चाउने परिस्थिति छ।

सूचनाप्रविधि र विश्वव्यापीकरणको प्रभाव 

नयाँ पुस्ता सूचनाप्रविधिको विषयमा धेरै अगाडि छ उनीहरूले खोजेको विषय र अपडेटेड कोर्सहरू हामीसँग छैनन्। सामाजिक सञ्जाल र इन्टरनेटको उपलब्धताले खोज र सिकाइको दायरा फराकिलो बनाएको छ। नयाँ पुस्ताका केटाकेटीको माग धान्न सक्ने क्षेत्रहरू हाम्रो देशमा विकास हुनसकेका छैनन्।

अहिलेको परिवर्तनको गति रकेटको स्पिडमा छ, यस्तोमा हाम्रो गति नगन्य छ। विगतमा १० हजार वर्षमा भएको परिवर्तन पछिल्लो हजार वर्षमा र त्यो हजार वर्षको परिवर्तन पछिल्लो १०० वर्षमा हुँदै १० वर्षमा र हाल सूचनाप्रविधिमा भएको विकास आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले एकै वर्षमा चामत्कारिक परिवर्तन ल्याउँदैछ।

प्लस टुपछिको पढाइ सर्टिफिकेट मार्कसिट भन्दा पनि सीप, त्यसको प्रयोग अनुसन्धानमा आधारित हुनु आवश्यक छ। पढाइ सकिएपछि कामको सिलसिलामा चाहिने सीप र दक्षता हो न कि सर्टिफिकेट। हाम्रो शिक्षा प्रणालीले सर्टिफिकेट पछाडि दौडाएको छ जुन एक हदसम्म सही भए पनि समयानुकूल छैन।

आजको जस्तो विश्वव्यापीकरणको जमानामा व्यक्तिलाई देशभित्र सीमित गर्छु भन्नु युक्तिसंगत हुँदैन तर देश रित्तिने अवस्था सिर्जना हुनु र नेपाली या विदेशी जो–कोहीलाई पनि नेपालमा यो कुरा राम्रो छ त्यसको लागि नेपाल गन्तव्य हुनसक्छ भनेर प्राथमिकतामा नपर्नुलाई राम्रो मान्न सकिंदैन।

छिमेकी बङ्गलादेश गार्मेन्टमा विश्वकै अग्रणी भएको छ, ताइवानलाई देश नमाने पनि चिप्स र सूचनाप्रविधिको कारण वैश्विक महत्त्व छ। दुवै मरूभूमिबाट पर्यटकीय गन्तव्य तथा शैक्षिक हबको रूपमा विकसित हुँदैछन्।

अब समाधान के त ?

देशका महत्त्वपूर्ण इसुहरूको हल केवल राज्यले मात्रै दिन सक्छ जसको लागि भिजन दूरदृष्टि भएको नेतृत्व चाहिन्छ, जसलाई ठिकठाक चलिरहेको भन्ने छ, उसले समस्या नै बुझ्दैन। ३०औं वर्षसम्म पेशेवर राजनीति गर्नेले पहिला आफ्नो पद, प्रतिष्ठा र पैसा खोज्छ न कि राज्यका समस्या र त्यसको समाधान। यहाँ व्यवस्था परिवर्तनलाई राजनीतिक मुद्दा बनाएकाहरूले नै सोही व्यवस्थालाई दुर्गन्धित पारिरहेका छन् ।

व्यवस्थाको सफलता भन्ने कुरा त्यसले निर्माण गर्ने नयाँ र सक्षम नेतृत्वसँग जोडिएको हुन्छ। केही नयाँ दलहरू संसदमा आए पनि आजका सवालहरू के हुन् ? ग्लोबल ट्रेन्ड के छ ? हाम्रो स्थिति कस्तो छ, आजका समस्या के हुन् भन्नेबारे पर्याप्त गृहकार्य नभएको तथा सोही अनुसार संसदमा प्रस्तुत हुन नसकेको जस्तो देखिन्छ।

अबका दशकभित्र पनि हामी सुध्रिएनौं, नेतृत्वले सकारात्मक कदम चालेन, सो अनुसारको नेतृत्व निर्माण भएन भने थुप्रै सम्भावनाका बावजुद पनि नेपाल भन्ने एउटा देश थियो जहाँ एक जना पनि नेपाली बस्दैनन् भन्ने स्थिति आउन सक्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?