२२ भदौ, काठमाडौं । नेपाल–चीन पारवहन सन्धि भएको सात वर्षपछि पहिलोपटक चिनियाँ बन्दरगाह हुँदै तेस्रो मुलुकबाट वस्तु आयात भएको छ । भियतनामबाट आयात गरेको एक कन्टेनर बेसार चीनको तियानजिङ बन्दरगाह हुँदै नेपाल भित्रिएको हो ।
तेस्रो मुलुकको कन्टेनरलाई बिहीबार बाणिज्य सचिव मधुकुमार मरासिनी र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले काठमाडौंमा स्वागत गरे । ‘भियतनामबाट चीनको बाटो हुँदा सामान आयात गर्दा कोलकाताबाट हुने आयातको तुलनामा २० दिन छिटो आइपुग्यो,’ इन्टरनेशनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, ‘भियतनामबाट कोलकाता हुँदा सामान आयात गर्दा नेपाल आइपुग्न ४५ दिन लाग्थ्यो, चीनबाट २५ दिनमै आइपुग्यो ।’
चीनको बाटो हुँदा सामान आयात गर्नु लागत र समयका हिसाबले फाइदाजनक देखिएको उनको भनाइ छ ।
२०७२ चैत ८ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा नेपाल–चीन पारवहन सन्धिमा हस्तक्षर गरेका थिए । त्यसपछि २०७५ चैतमा यो सन्धिलाई कार्यान्वयन गर्ने प्रोटोकलमा हस्तक्षर भएको थियो । सन्धिअनुसार नेपालले चीनका ६ वटा बन्दरगाहबाट माल वस्तु आयात गर्न सक्ने सम्झौता भएको थियो । जसअन्तरगत तियनजिन, सेन्जेन, लियुङ्ग्याङ र झ्याङझिङ सामुन्द्रिक बन्दरगाह तथा लान्जायु, ल्हासा र सिगात्से सुख्खा बन्दरगाहा प्रयोग गर्न पाउँछ ।
तर पारवहन सन्धि भएको आठ वर्षसम्म पनि तेस्रो मुलुकबाट चीनको बाटो हुँदै आयात हुन सकेको थिएन ।
भन्सार विभागले पहिलोपटक तेस्रो मुलुकमा उत्पादन (कन्ट्री अफ ओरिजिन) भएको वस्तु चीनतर्फको नाका भएर भन्सार जाँच पास भएको जनाएको छ । नेपाल चीन वाणिज्य सन्धि भएपछि पहिलो पटक तेसो मुलुकको वस्तु चीन हुँदै नेपाल आएको भन्सारका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।
भियतनामबाट ल्याइएको बेसार भन्सार जाँचपास गराएर पठाएको तातोपानी भन्सारका प्रमुख भन्सार प्रशासक दयानन्द केसीले बताए । भन्सार कार्यालयका अनुसार व्यवसायी त्रिभुवनरत्न तुलाधरले उक्त बेसार आयात गरेका हुन् ।
प्रतिक्रिया 4