३ असोज, चितवन । राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको मुग्लिन नागढुंगा सडकखण्ड विस्तारको काम जारी छ । तर, सडक विस्तारको गति भने निकै सुस्त छ ।
ठूला चाडपर्व नजिकिँदै गएकाले यो सडक भएर धेरै मानिसहरु काठमाडौंबाट आउजाउ गर्नेछन् । तर, सडक विस्तारको गति अपेक्षाकृत नहुँदा यात्रुले सास्ती भोग्नुपर्ने देखिएको छ । नागढुंगादेखि मुग्लिनसम्मको ९५ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरेर सडक विस्तारको काम गत बर्षदेखि नै थालिएको हो । तर, अपेक्षाकृत भौतिक प्रगति भने हुन सकेको छैन ।
आयोजनाले निर्माण सामग्रीको अभाव र रुख कटान मुख्य समस्याका रुपमा देखापरेको बताएको छ । नागढुंगा मलेखु सडक आयोजनाका प्रमुख ईश्वरबहादुर रिजालले रुख कटानका लागि दुई बर्षदेखि प्रयास गर्दा पनि ठोस प्रगति हुन नसकेको गुनासो गरे ।
सडकको क्षेत्राधिकारभित्रका रुख काट्न वन विभागमा धेरैपटक गए पनि कहिले के कहिले के नाममा दुःख दिने गरिएको गुनासो पोखे ।
‘यो सरकारको प्राथमिकता १ मा परेको आयोजना हो भनेर सबै डकुमेन्टहरुमा लेखेकै छ, तर लेखेर हुँदै पत्र बनाएर ल्याउनु भन्छन्, कहिले सामुदायिक वनहरुको नवीकरण भएको रहेनछ, तपाईंहरुले रकम हालेर नवीकरण गरेर सहमति ल्याउनुस् भन्छन्’, आयोजना प्रमुख रिजालले भने, ‘सरकारले प्राथमिकतामा राखेर एउटा निकायले गर्न लागेको कामलाई अर्को निकायले सहजीकरण गर्ने की नगर्ने भन्ने प्रश्न महत्वपूर्ण हो ।’
रिजालका अनुसार नागढुंगा सुरूङ मार्गदेखि नौबिसेसम्मको १२ किलोमिटर सडकलाई पहिलो खण्ड बनाएर विस्तारको काम भइरहेको छ । सो खण्डको भौतिक प्रगति ३० प्रतिशत रहेको उनले जानकारी दिए । यो खण्डमा नौबिसे र खत्रीपौवा गरी दुईवटा पुलको काम भइरहेको छ ।
टेवा पर्खाल, क्रस ड्रेन र नालीको काम भइरहेको छ । टेवा पर्खाल (रिटेनिङ वाल) को ८० प्रतिशत काम सकिएको छ । अब कालोपत्रेको तयारी गर्नुपर्ने कामहरु गर्ने आयोजना प्रमुख रिजालले बताए । २०७९ जेठमा १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा २४ महिनाभित्र निर्माण सक्ने गरी विस्तारको जिम्मा सगुन कन्स्ट्रक्सन प्रालिले पाएको थियो ।
आयोजनाका प्रमुख रिजालका यो खण्डमा विद्युतका पोलहरु सार्ने कामहरु सुरु भएको बताए । उनका अनुसार छोटो खण्ड भएकाले यसमा धेरै समस्या छैन । नौबिसेदेखि मलेखुसम्मको दोस्रो खण्डको भौतिक प्रगति जम्मा १२ प्रतिशत छ । ४३ किलोमिटर लामो यो सडकखण्ड ५ अर्ब ३३ करोड १९ लाखको लागतमा विस्तार गर्न शर्मा लामा जेडआईसीजीले लिएको छ । ३ बर्षभित्र निर्माण सक्ने गरी २०७९ जेठमा ठेक्का सम्झौता गरिएको हो ।
सडक विस्तारको गतिलाई बढाउन असोज ४ गतेदेखि २० गतेसम्म रातिको ११ बजेदेखि विहानको ३ बजेसम्म ४ घण्टा सडक बन्द गरेर भित्ता काट्ने काम गर्ने तयारी छ । आयोजना प्रमुख रिजालका अनुसार नौविसेबाट १७ किलोमिटर मलेखुतर्फ खयरघारी र ३३ किलोमिटर पोखरेमा सडक विस्तारका लागि अग्ला डाँडाहरु काट्नका लागि सडक रातिमा रोक्न लागिएको हो ।
रातको समयमा धेरै सवारी पनि चल्दैनन्, काम गर्दा कुनै दुर्घटना नहोस् भनेर सडक नै रोकेर काम गर्न लागिएको हो, अन्यत्र खासै समस्या छैन, यहाँ माथिबाटै काट्नुपर्नेछ, आयोजना प्रमुख रिजालले भने, तोकिएको समयभित्र मुख्य जोखिम क्षेत्र काटेर सक्ने योजना छ ।
यो खण्डमा ठेकेदार कम्पनीले भित्ता काट्ने, टेवा पर्खालहरु लगाउने जस्ता कामहरु गरिरहेको छ । यो खण्डमा पर्ने १३ वटा पुलहरु मध्ये ७ वटा पुलको काम सुरु भइसकेका छन् भने बाँकीको काम अगाडि बढ्दैछ ।
निर्माण सामग्रीको अभावमा विस्तारको काम प्रभावित हुने अवस्था देखिएको छ । सडक आयोजनाले धादिङको थाक्रे गाउँपालिकाको आग्रा खोलाबाट निर्माण सामग्री निकाल्दै आएकोमा गाउँपालिकाले रोकिदिएपछि काममा समस्या आएको छ ।
ईआइए गराएर आवश्यक परिमाणका लागि गाउँपालिकाले सहजीकरण गर्नुपर्ने नीतिगत व्यवस्था नै रहेको भन्दै आयोजना प्रमुख रिजालले गाउँपालिका लगायतका जनप्रतिनिधिसँग कुराकानी भइरहेको बताए ।
बर्खा कम भएपछि सामाग्रीहरुको अभाव हुँदा त्यसको मार प्रत्यक्ष रुपमा विस्तारमा देखिने अवस्था आउन सक्ने हुँदा त्यसमा सबै जना जिम्मेवार हुनुपर्ने उनको धारणा छ । यो खण्डमा रुख कटानको प्रमुख समस्या छ ।
यस्तै मलेखुदेखि मुग्लिनसम्मको सडक विस्तारको काम भर्खरै सुरु भएको छ । ४० किलोमिटर लामो यो खण्डको निर्माणको जिम्मा शर्मा जेडआईसीजीले पाएको छ । भौतिक प्रगति २.५ प्रतिशत रहेको आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।
गत पुस १५ गतेबाट फिल्डमा काम सुरु गरेको यो कम्पनीले भ्याटसहित ४ अर्ब ८० करोडको लागतमा सडक विस्तारको काम ३ बर्ष भित्र सक्ने गरी ठेक्का सम्झौता भएको छ । यो खण्डमा ६ वटा नयाँ पुलहरु बनाउनुपर्ने छ । तीमध्ये २ बटाको काम सुरु भएको छ ।
यो खण्डको १९/२० किलोमिटर धादिङ खण्डमा र बाँकी चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने भएकोले दुबै जिल्ला र स्थानीय पालिकाहरुसँग समन्वय गर्नुपर्ने अवस्था रहेको प्रमुख कार्कीले बताए । रुख कटानको समस्या यहाँ पनि ज्यूँका त्यूँ छ । यो खण्डमा पर्ने ७७ वटा भत्काउनुपर्ने घर टहरामध्ये ७० प्रतिशत घरको पहिलो किस्ता मुअब्जा बाँड्ने काम पनि सकिएको छ । धादिङतर्फ ५६ र चितवनतर्फ २१ घर टहरा पर्छन् ।
९५ किलोमिटर लामो मुग्लिन नागढुंगा सडकखण्डमा १२० भन्दा बढी घर टहरा भत्काउनुपर्ने छ । तिनको मुअब्जाको रकम ठेक्का भित्र समेटिएको छैन, तर खानेपानी, विद्युत र वनको भने ठेक्का रकम भित्र नै समेटिएको छ । घर टहराका लागि १२ करोड रुपैयाँ मुअब्जामा खर्च हुनेमा गत आर्थिक बर्षमा जम्मा ३ करोड रुपैयाँ मात्र छुट्याइएको थियो ।
यो खण्डमा सुरुमा २५ सय जति रुख काट्नुपर्छ भनिए पनि पुनः सर्भे गर्दा २२ सय रुखहरु काट्नुपर्ने देखिएको छ । यो खण्डमा पर्ने विद्युतका पोल सार्न विद्युत प्राधिकरण र आयोजनाले १२ करोड ११ लाख खर्च गर्नेछन् ।
नागढुंगादेखि मुग्लिनसम्मको सडक ठूलो बजार क्षेत्रमा ६ लेन, सानो बजार क्षेत्रमा ४ लेन र अन्य ठाँउमा ३ लेन बन्नेछ भने, र कठिन भूगोल र पहिरोको उच्च जोखिम भएका ठाउँमा डेडिकेडेट २ लेन बन्नेछ । नौविसेदेखि नागढुंगासम्म मालबाहक गाडीका लागि क्लाइम्बिङ लेन अलग्गै बन्नेछ । जहाँबाट मात्रै मालबाहक सवारी साधन गुड्न पाउनेछन् ।
यो खण्डमा बन्ने २१ वटा नयाँ पुलहरु सबै चार लेनका हुनेछन् । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा विस्तार गर्न लागिएको सडक बनेपछि राजधानी आवतजावतमा सहज हुने विश्वास गरिएको छ । अहिले राजधानी जाने मुग्लिन नारायणगढ सडक विस्तार भइसकेको छ भने पोखरा मुग्लिन सडकखण्ड विस्तारको क्रममा छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4