+
+

प्रसूतिमा शल्यक्रिया : आमासँगै बच्चाको स्वास्थ्यमा पर्नसक्छ असर

जटिल गर्भावस्थामा गर्भमा रहेको शिशु र महिलाको जीवन रक्षा गर्न शल्यक्रिया गर्नुपर्ने भएपनि अनावश्यक र योजनाबद्ध रुपमा शल्यक्रियामार्फत जन्माएका बालबालिकाहरुलाई श्वासप्रश्वासको संक्रमण, दम, मधुमेह टाइप १ र मोटोपनाको जोखिम २३/३५ गुणाले हुने सम्भावना देखिएको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० कात्तिक २९ गते १८:३२

२९ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो समय शल्यक्रिया (सिजेरियन सेक्सन)मार्फत प्रसूति गराउने क्रम बढ्दो छ ।

विश्व स्वास्थ्य संगठनले आमा र बच्चाको स्वास्थ्य अवस्थालाई हेरेर बढीमा १५ प्रतिशतसम्म प्रसूतिमा शल्यक्रियाको आवश्यकता पर्नसक्छ भनेको छ । तर नेपालमा सरकारी स्वास्थ्य संस्थाहरुमा कुल प्रसूतिमध्ये ५० प्रतिशत शल्यक्रिया हुने गरेको पाइन्छ । कतिपय निजी अस्पतालमा त यो ९० प्रतिशतसम्म हुने गरेको पाइन्छ ।

प्रसूतिमा शल्यक्रिया किन अस्वाभाविक रूपमा बढेको छ ? शल्यक्रियाबाट प्रसूति हुँदा आमा तथा बच्चामा के–कस्ता जोखिम रहन्छन् भनेर यौन तथा प्रजनन स्वास्थ्य जनस्वास्थ्य विशेषज्ञ डा. लक्ष्मी तामाङसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपालमा शल्यक्रियामार्फत हुने प्रसूतिको पछिल्लो अवस्था कस्तो पाउनुभएको छ ?

सरकारी तथ्यांकअनुसार सरकारी अस्पतालमा आउने गर्भवतीहरुमध्ये २०–५० प्रतिशत  शल्यक्रिया हुने गरेको छ । हरेक ५ वषर्कमा हुने नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले औसतमा ५१ प्रतिशत निजी अस्पतालमा हुने देखाएको छ । सर्वेक्षणले पहिलोपटक बच्चा जन्माउने महिला (२१ प्रतिशत), शहरीया (२२ प्रतिशत), सम्पन्न परिवार (३८ प्रतिशत) र बढी शिक्षित (४८ प्रतिशत) महिलाहरुले तुलनात्मक रुपमा बढी शल्यक्रिया गरेर बच्चा पाउने गरेको देखाएको छ ।

किन यति धेरै महिलाहरुले शल्यक्रियाबाट बच्चा जन्माउने निर्णय लिए होलान् ?

प्राकृतिक रूपमा जन्मिएका बच्चामा प्राकृतिक रूपमा समस्यासँग जुध्ने क्षमता बढी हुने नर्वेको अनुसन्धानात्मक रिपोर्टले देखाएको छ । महिलाको योनीद्वार एकदमै सानो हुन्छ । त्यति सानो प्वालबाट कम्तिमा २ देखि साढे ३ केजीको बच्चा जन्मिन्छ ।

यसरी जन्मिने क्रममा बच्चाको टाउको (खप्पर) मा रहेका हड्डीहरू एकआपसमा खप्टिएर प्राकृतिक रूपमा न्युरोट्रान्समिटर निस्कासित हुन्छ र कालान्तरमा उनीहरुसँग बाहिरी तनाव र समस्यासँग जुझ्ने क्षमता वृद्धि हुन्छ ।

यस्तै पाठेघरमा बच्चा पानी (एम्नियोटिक फ्लुइड) मा बसेको हुन्छ । त्यसरी पानीमा बस्दा मुख तथा आँखा चलाइरहेको हुन्छ, तर सालनालमार्फत श्वास फेर्ने भएकाले पानी खाए पनि सर्किंदैन । किनकी बच्चाको फोक्सोले काम गरेको हुँदैन । तर यौनीमार्गबाट बच्चा जन्मिने क्रममा करङका हडीहरु एकअर्कामा खप्टिन्छन् । त्यसक्रममा बच्चाको फोक्सो पनि च्यापिन्छ र फोक्सोमा रहेको पानी मुखबाट पिचिक्क निस्केको हुन्छ । महिलाको यौनीमार्गबाट बच्चा निस्किएपछि उसले नाक र मुखबाट श्वास लिन्छ, फोक्सो पानीविहीन हुन्छ ।

महिलाहरुले सजिलो उपायका रूपमा शल्यक्रिया रोजेको देखिन्छ । शल्यक्रिया गर्दा कति प्रतिशत जोखिम हुन्छ ? भोलिका दिनमा बच्चा तथा आमामा के–कस्ता जोखिम हुन्छन् जस्ता कुरा अस्पतालले सायदै जानकारी गराउँछन् ।

पहिलोपटक बच्चा जन्माउँदा साधारणतया महिलालाई १० देखि १४ घण्टासम्म प्रसवव्यथा लाग्छ । दोस्रोपटक ५ वर्षभित्रमा बच्चा जन्माउने महिलालाई ६ देखि ८ घण्टा प्रसवव्यथा लाग्छ । प्रसवव्यथा लाग्ने क्रममा बच्चा पाठेघरबाट योनीमार्गतर्फ सर्दै गरेको हुन्छ । योनीमार्गमा बच्चा दुई–तीन घण्टासम्म रहन्छ । यो अवधिमा यौनीमार्गमा भएको नर्मल भेजाइनल फ्लोराहरू बच्चाको मुख, आँखा, नाक, कानबाट पस्ने भएका कारण उसले प्रतिरक्षात्मक क्षमता प्राप्त गर्ने विभिन्न अध्ययनले देखाएको छ । प्राकृतिक रुपमा जन्मिने यस्तो प्रक्रियाले बच्चाहरु तुलनात्मक रुपमा स्वस्थ हुन्छन् ।

तर कतिपय महिलाहरुले सात–आठ घण्टासम्म व्यथा किन खप्ने, अप्रेसन गरे त झन्झट नै हुँदैन भन्ने किसिमले क्षणिक फाइदा हेरेको पाइन्छ । दीर्घकालीन रूपमा अनावश्यक रुपमा शल्यक्रिया गर्दा आफू र आफ्नो बच्चामा केकस्तो नकारात्मक प्रभाव पर्छ भन्नेतर्फ उनीहरूको सोच र बुझाइ पुगेको हुँदैन ।

तर प्रायः शहरीया, शिक्षित र सम्पन्न परिवारका महिलाले प्राकृतिक प्रक्रियाबाट बच्चा जन्माउन नचाहने गरेको पाइएको छ । सात–आठ घण्टासम्म व्यथा किन खप्ने, अप्रेसन गरे त झन्झट नै हुँदैन भन्ने धारणा पाइन्छ, जुन गलत हो ।

अस्पतालमा सेवा लिन जाँदा जुन किसिमको सूचना पाउनुपर्ने हो, त्यो पूर्णरूपमा नपाउँदा पनि महिलाहरुले सजिलो उपायका रूपमा शल्यक्रिया रोजेको देखिन्छ । शल्यक्रिया गर्दा कति प्रतिशत जोखिम हुन्छ ? भोलिका दिनमा बच्चा तथा आमामा के–कस्ता जोखिम हुन्छन् जस्ता कुरा अस्पतालले सायदै जानकारी गराउँछन् ।

शल्यक्रिया गर्दा आमा तथा बच्चामा के–कस्ता जोखिम रहन्छन् ?

हाम्रो शरीरमा सानो चोट लाग्दा त पीडा हुन्छ, दीर्घकालसम्म दाग बस्ने गर्छ भने शल्यक्रिया गरेर प्रसूति गराउँदा त आमालाई भन्दा बच्चालाई दीर्घकालीन रूपमा जोखिम रहन्छ । महिलाले पहिलोपटक शल्यक्रिया गरेर प्रसूति गराएको छ दोस्रोपटक गर्भवती हुँदा सालनाल चिरिएको ठाउँमा टाँसिनसक्ने जोखिम हुन्छ ।

३ वर्षभन्दा कम जन्मान्तरमै गर्भवती भएको छ र गर्भावस्थाको पूरा समयावधि (३७ देखि ४० हप्तासम्म) सम्म गर्भ रहेमा पाठेघर फुट्न पनि सकछ । किनकी शल्यक्रिया गरी टाँका लगाएको ठाउँमा घाउ पूर्णरूपमा निको भएपनि त्यस भागको मांसपेशीमा प्राकृतिक रुपमा तन्किनसक्ने क्षमता कम हुन्छ । पहिलो पटक प्रसूति हुँदा शल्यक्रियामार्फत गरिएको छ भने दोस्रोपटक पनि शल्यक्रिया नै गर्नुपर्ने सम्भावना बढी हुन्छ ।

जटिल गर्भावस्थामा गर्भमा रहेको शिशु र महिलाको जीवन रक्षा गर्न शल्यक्रिया गर्नुपर्ने भएपनि अनावश्यक र योजनाबद्ध रुपमा शल्यक्रियामार्फत जन्माएका बालबालिकाहरुलाई श्वासप्रश्वासको संक्रमण, दम, मधुमेह टाइप १ र मोटोपनाको जोखिम २३/३५ गुणाले हुने सम्भावना देखिएको छ ।

नर्वेको इन्स्टिच्युट अफ पब्लिक हेल्थको मेडिकल बर्थ रजिस्ट्रीमा जन्मदर्ता भएका १७ लाख बालबालिकाबारे अध्ययन गरिएको थियो । १७ हजार ५०० प्राकृतिक रूपमा जन्मिएका र त्यति नै संख्यामा शल्यक्रियामार्फत जन्मिएर गरी १८ वर्ष पूरा भइसकेका ३५ हजारमा उक्त अनुसन्धान गरिएको थियो । यसले शल्यक्रियामार्फत जन्मिएका बालबालिकामध्ये ५० प्रतिशतमा चढ्दो उमेरमै दम रोगको जोखिम हुने गरेको पाइएको छ ।

अस्पतालहरूले पनि अनावश्यक रूपमा शल्यक्रिया गर्न प्रेरित गर्ने गरेको आरोप पनि सुनिन्छ, त्यस्तो हो ?

अस्पतालहरूले मुख्य रूपमा आमाको गर्भमा रहेको बच्चाले दिसा खाएकाले शल्यक्रिया गर्नुपर्छ भनेको पाइन्छ । तर यसमा पनि अस्पतालको भूमिका देखिन्छ ।

महिला आमा बन्ने क्रममा ज्यान गुमाउनु नपरोस् भनेर स्वास्थ्यसंस्थामा सुरक्षित रुपमा निःशुल्क सुत्केरी गराउने कार्यक्रम ल्याएको छ । तर पाटन र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जस्ता ठूला अस्पतालहरुले यो सेवा लिनुपर्ने हो, तर उनीहरूले लिएका छैनन् । किनभने प्रसूतिवार्डलाई आयको मुख्य स्रोतका रूपमा लिने गरेका छन् ।

किनकी प्रसवव्यथा लगाउन योनीमार्गमा औषधि घुसाइदिने र स्लाइन पानीमा औषधि लगाइदिने गर्छन् । त्यसरी अप्राकृतिक रुपमा प्रसव व्यथा लगाउँदा पाठेघर चाँडो–चाँडो खुम्चिन्छ र गर्भमा रहेको बच्चाले प्रयाप्त मात्रामा अक्सिजन पाउँदैन । त्यसमाथि प्रसव व्यथा लागेका महिलाहरु उत्तानो परेर सुतेकी हुन्छिन् । यसरी सुत्दा महिलाको मेरुदण्ड र गर्भको बच्चाको बीचको भागमा हुने रगतको नली थिचिन्छ र बच्चाले पर्याप्त मात्रामा अक्सिजन पाउँदैन । बच्चा निसासिएर छटपटिन्छ र पाठेघरभित्र दिसा गर्छ ।

कृतिम प्रसव व्यथा लागाउन अस्पतालहरुमा अनावश्यक रूपमा मेजोप्रोस्टल र अक्सिन्टोसिन औषधि दिने गरिन्छ । अक्सिन्टोसिन हर्मोन हाम्रो शरीरमा प्राकृतिक रुपमा निष्कासन हुन्छ, तर त्यसका लागि शान्त वातावरण चाहिन्छ । धेरै होहल्ला गर्यो भने प्राकृतिक रूपमा अक्सिन्टोसिन हर्मोन निस्कँदैन ।

अनावश्यक रूपमा स्लाइनपानी चढाउनु, यौनीमार्गबाट कृत्रिम व्यथा लाग्ने औषधि चलाउनु जस्ता कार्यलाई विश्व स्वास्थ्य संगठनले प्रसूति हिंसा भनेको छ । विश्वका कतिपय देशले प्रसूति हिंसासम्बन्धी ऐन नै पारित गरेका छन् । हाम्रो सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन, २०७५ ले सम्मानजनक प्रसूति सेवा प्रदान गर्नुपर्छ भनेको छ । र, महिलाहरुलाई अनावश्यक रुपमा दुर्व्यवहार, हिंसा र भेदभाव गरेमा कानुनी रुपमा दण्ड सजाय हुने भनेको छ ।

तर कति प्रतिशत सेवाग्राही महिलाहरुलाई ऐनको यो प्रावधानबारे जानकारी होला ? जबसम्म स्वयं सेवाग्राही महिलाहरु सूसुचित र सचेत हुँदैनन्, आफ्नो हक अधिकारको अभ्यास र उपयोग गर्न सक्षम हुँदेनन्, तबसम्म उनीहरु प्रसूति लगायत अन्य हिंसाको शिकार भइरहने जोखिम रहिरहन्छ ।

कतिपय बेला मापदण्ड विपरीतका प्रक्रिया अपनाएर पनि शल्यप्रकृया गरेको आरोप लाग्छ, हो ?

कुनै पनि शल्यक्रिया सुरक्षित होइन, जोखिमपूर्ण नै मानिन्छ । किनकी शल्यक्रिया गर्दा रक्तनलीहरु पनि काटिएका हुन्छन् । पाठेघर चिर्ने क्रममा पनि रगतका नली समेत चिरिने, काटिने हुन्छन् ।

यस्तो बेला पाठेघरमा भएको पानी (एम्नियोटिक फ्लुइड) रक्तनलीमा पसेर मुत्यु भएका धेरै घटना छन् । त्यसो अवस्थालाई एम्नियोटिक फ्लुइड इम्बोलिज्म भनिन्छ, जुन खतरनाक आपतकालीन अवस्था हो । यो बेला अचानक कार्डियोरेस्पिरेटरी (मुटु–श्वासप्रश्वास) बन्द र इन्ट्राभास्कुलर कोगुलेसन भई महिलाको ज्यान जान्छ ।

विकसित मुलुकमा महिलाको अधिकार, त्यसमाथि बच्चा पाउने विषय महिलाको विशेष अधिकारका रुमा सुनिश्चित गरिएका कारण यस्ता खोज हुने गर्छन् ।

हाम्रो जस्तो देशमा प्रसूतिका लागि शल्यक्रिया गर्दागर्दै महिलाको मृत्यु भयो भने कारणको खोजतलास हुन्न । जतिसक्यो यस्ता घटनालाई ढाकछोप गर्न पूरै संयन्त्र लाग्छ ।

सरकारले विगत एक/डेढ दशकदेखि आमा सुरक्षा कार्यक्रममार्फत निःशुल्क प्रसूति सेवा प्रदान गर्दै आइरहेको छ । महिला आमा बन्ने क्रममा ज्यान गुमाउनु नपरोस् भनेर स्वास्थ्यसंस्थामा सुरक्षित रुपमा निःशुल्क सुत्केरी गराउने कार्यक्रम ल्याएको छ । तर पाटन र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जस्ता ठूला अस्पतालहरुले यो सेवा लिनुपर्ने हो, तर उनीहरूले लिएका छैनन् । किनभने प्रसूतिवार्डलाई आयको मुख्य स्रोतका रूपमा लिने गरेका छन् ।

पाटन र शिक्षण अस्पताल दुबैमा करिब ४५ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चा जन्माउने गरेको पाइएको छ । यसले निःशुल्क सेवाबाट महिलाहरु बञ्चित मात्र भएका छैनन्, अनावश्यक शल्यक्रिया गर्नु परेको छ, जुन प्रसूति हिंसाको एक संकेत हो ।

कस्तो अवस्थामा शल्यक्रिया अत्यावश्यक हुन्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवतीसँग सम्बन्धित कारणले गर्दा ५ प्रतिशतसम्म शल्यक्रिया गर्नुपर्ने हुन्छ । कुनै महिलाको कुपोषण लगायत अन्य कारणले पिठ्युँको नितम्बको बनोट नै साँघुरो हुन्छ र बच्चा पाठेघरबाट तल आउन सक्दैन । कतिपय गर्भवती महिलालाई रक्तचाप उच्च हुन्छ । यस्ता समस्याका कारण गर्भवतीमध्ये ५ प्रतिशतको शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

कतिपय बेला बच्चाका कारण पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । कुनै बच्चा आमाको गर्भभित्र छड्के वा तेर्सो बसेको हुन्छ । बच्चा अगाडि निस्कनुपर्नेमा कहिलेकाहीँ नाल तथा साल अगाडि निस्किन्छ । यस्तो बेला पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसरी हेर्दा समग्रमा गर्भवतीमध्ये १५ प्रतिशतसम्म शल्यक्रिया हुनसक्छ भनेर विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?