 
																			२३ माघ, पोखरा । पर्यटनका हिसाबले महत्वपूर्ण मानिएको गण्डकी प्रदेशका होटल तथा रेस्टुरेन्टमा अहिले पनि दक्ष जनशक्तिको अभाव छ । केही अगाडिसम्म लामो समय काम गरेर अनुभवकै आधारमा दक्ष बनेका जनशक्ति पनि कोरोना महामारीसँगै पलायन भए ।
होटल व्यवसायीका अनुसार ती जनशक्तिमध्ये कतिपयले पेशा नै परिवर्तन गरिसकेका छन् । महामारीपछि विस्तारै तंग्रिन खोजेको होटल तथा रेस्टुरेन्ट व्यवसायमा अहिले दक्ष त परको कुरा, जनशक्ति पाउनै गाह्रो रहेको उनीहरु सुनाउँछन् ।
‘कोभिड महामारीको बेला हामीले चाहेर पनि दक्ष जनशक्तिहरु रोक्न सकेनौं । एक हिसाबले त्यो हाम्रो बाध्यता पनि थियो’, केही दिनअगाडि पोखरामा भएको एउटा कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भनेका थिए, ‘त्यसबेला हामीले दक्ष जनशक्ति गुमायौं । अहिले खोजेर पनि पाइरहेका छैनौं ।’
पश्चिमाञ्चल होटल संघका अनुसार अहिले गण्डकीका होटल तथा रेस्टुरेन्टमा १५ हजारभन्दा बढी जनशक्तिको आवश्यकता छ । तर, होटल तथा रेस्टुरेन्टले आफूहरुले खोजेको जस्तो जनशक्ति पाउनै सकेका छैनन् । ‘अहिले पनि हामी २ जनाबाट ५० जनालाई सर्भ गर्नुपर्ने अवस्थामा छौं’, सुवेदी भन्छन् ।
होटल तथा रेस्टुरेन्टका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न पढाइ नभएका भने होइनन् । सरकारीदेखि निजीतवरबाट चोकचोकमा क्लोनरी आर्ट, बारिस्टा, बेकरीलगायत पढाइ चलिरहेकै छन् ।
तर, न पढ्ने युवाले सहजै रोजगार पाएका छन् न त न त रोजगदार दाताले नै भनेजस्तो जनशक्ति पाएका छन् ।
अध्ययनबिनै प्राविधिक शिक्षाको नाममा चोकैपिच्छे संस्था खुल्दा त्यसले फाइदाभन्दा धेरै बेफाइदा हुने सरोकारवालाको चिन्ता छ । केही समयअघि आईल्याब नामक समूहले करिब ६ महिना लगाएर प्राविधिक शिक्षा र तालिमलाई श्रमबजारसँग जोड्न नमुना अभ्यास गरेको थियो ।
‘बजारमा कस्तोकस्तो जनशक्तिको माग छ, कुन प्रकारको माग छ भन्ने हामीले तालिमहरु सञ्चालन गर्नुभन्दा पहिले रिसर्च गर्नुपर्ने देखिन्छ’, उक्त समूहमा संलग्न दुर्गा रानामगर भन्छिन्, ‘अध्ययनबिना तालिममात्रै चलाएर त्यसले न तालिम लिनेलाई फाइदा हुन्छ न त रोजगारदातालाई नै ।’
अध्ययनबिनै प्राविधिक शिक्षा चलाउँदा आइपरेको समस्याको अर्को एउटा उदारहण कास्कीकै रुपा गाउँपालिकाले चलाएको सिभिल इन्जिनियरिङ पनि हो । गाउँपालिकाले २०७७ सालदेखि स्थानीय विश्वशान्ति माविसँग सहकार्य गरेर सिभिल इञ्जिनियरिङ पढाउन सुरु गरेको थियो ।
तर, ३ वर्ष नबित्दै अहिले उक्त स्कुलले विद्यार्थी नपाएर बन्द नै गर्नुपर्ने अवस्था पुगिसकेको छ । विश्वशान्तिमा भर्ना भएका ५ जना विद्यार्थी अलपत्र हुने अवस्थामा पुगिसकेपछि उनीहरु अहिले पोखरा महानगरले चलाइरहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा शरणमा आइपुगेका छन् ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा अहिले देशैभरि प्राविधिक शिक्षामा भर्ना हुनेको संख्यामा कमी आइरहेकाले रुपामा पनि विद्यार्थी घटेको तर्क गर्छन् । ‘स्कुलले कक्षा चलाइरहेको छ । अहिले त देशैभरिको अवस्था त्यस्तै भएर पनि विद्यार्थी पाउन गाह्रो छ’, उनी भन्छन् ।
रुपाको विश्वशान्ति माविमात्रै होइन, प्राविधिक शिक्षा पढाउने पोखरा महानगरकै सरस्वति मावि, शहीद स्मृति माविलगायत स्कुलको पनि त्यही अवस्था छ । सरस्वति माविमा पढिरहेका ४ जना पनि गण्डकी बहुप्राविधिक शिक्षालयमै आइपुगेका छन् ।
गण्डकी बहुप्राविधिक शिक्षालयले भविष्यमा केके कार्यक्रम चलाउँदा उत्तम हुने भन्ने विषयमा अध्ययन प्रतिवेदन तयार पारेको छ । तर, प्राविधिक शिक्षा चलाउँदै गर्दा श्रमबजारमा कस्तो र कुन प्रकारको जनशक्तिको अवस्था र मागबारे भने उक्त प्रतिवेदन मौन छ ।
गण्डकी प्रदेशले प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित ०७६ मा ऐन बनाएर सोही ऐनअनुसार ०७७ सालमा आफ्नै गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जीटीईभीटीइ) स्थापना गर्यो ।
प्रतिष्ठान स्थापना भएको ३ वर्षसम्म प्रतिफलमुखी भूमिका निभाउन नसकेको भन्दै एकातिर आलोचना भइरहेको छ भने अकोतिर जीटीईभीटीले पनि श्रमबजारको मागबारे अध्ययन गरेको छैन ।
प्रतिष्ठान प्रमुख डा. सोमनाथ सापकोटा बजारको जनशक्ति मागबारे अध्ययन गर्ने आगामी योजना रहेको सुनाए । ‘अहिले त हामी सुविधायुक्त संरचना बनाउनै लागिरहेका छौं । विस्तारै त्यसबारे पनि अध्ययन गर्ने सोचेका छौं’, उनले भने ।
प्राविधिक शिक्षालाई सरल रोजगार र आत्मनिर्भरतासँग जोडेर प्रचार गरिने तर, उनीहरुले सोचेबमोजिम नहुँदा प्राविधिक शिक्षाप्रति नै अरुचि बढ्दै गइरहेको सरोकारवाला बताउँछन् । ‘यदि बजारको रिसर्च भएर पढाइ सकिने बित्तिकै आफ्नो क्षमताअनुसार काम पाउने भए यो समस्या आउने थिएन’, आईल्याब सदस्य रानामगर भन्छिन्, ‘हाम्रो पढाइ संख्या पुर्याउन मात्रै भयो, श्रम बजारसँग जोड्न पाठ्यक्रम नै फेर्नुपर्छ’
प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)ले भने राज्यकै नीतिका कारण प्राविधिक शिक्षालाई श्रमबजारसँग जोड्न नसकिएको स्वीकारेको छ । उद्योगको मागका आधारमा भन्दा पनि वार्षिक रुपमा संख्या पुर्याउनमात्रै पढाइ भइरहेको सीटीईभीटी गण्डकी प्रमुख दामोदर देवकोटा बताउँछन् ।
‘हामीकहाँ उद्योगको डिमान्ड बेसमा जनशक्ति उत्पादन हुनुपथ्र्यो । तर, राज्यको नीति नै टार्गेटबेस भयो । त्यो टार्गेट पूरा गर्न लागिरहेका छौं’, देवकोटा भन्छन्, ‘अहिले हामीकहाँ ट्रेनिङको नाममा ट्रेनिङमात्रै भइरहेको छ । डिमान्डबेस होइन, सप्लाइबेस भयौं ।’
अहिलेको प्राविधिक शिक्षालाई उद्योग र श्रमबजारसँग जोड्न पाठ्यक्रम नै फेर्नुपर्ने देवकोटा बताउँछन् । ‘सप्लाइबेसमा भइरहेको हाम्रो पढाइलाई श्रमबजारसँग जोड्न पाठ्यक्रम नै परिमार्जन गर्नुपर्छ । नत्र सकिँदैन’, उनले भने ।
प्राविधिक शिक्षामा विद्यार्थीको रुचि नघटेको दाबी सीटीईभीटीको छ । पछिल्लो समय प्राविधिक शिक्षा दिने संस्थाहरु धेरै खुल्न थालेकाले विद्यार्थी बाँडिएको सीटीईभीटीको भनाइ छ ।
‘हामीसँग पहिले पनि ५२÷५३ हजार विद्यार्थी हुन्थे । अहिले पनि त्यति नै संख्यामा छन्’, सीटीईभीटी गण्डकी प्रमुख देवकोटा भन्छन्, ‘तर, बजारमा च्याउ उम्रिए जसरी प्राविधिक शिक्षाका संस्था खुल्दा विद्यार्थी थोरै देखिन गएको हो ।’
प्राविधिक शिक्षा पढाउने संस्थाको संख्यामा उल्लेख्य वृद्धि भए पनि गुणस्तरीयतामा भने कमी आएको देवकोटा बताउँछन् । ‘खास प्राविधिक शिक्षा छिटो, छरितो, समतामूलक अवधारणासहित ल्याइएको थियो । तर, पछिल्लो समय यसमा व्यापार भयो, गुणस्तर कायम भएन’, उनले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4