+
+
यात्रा :

४०१ किलोमिटर छिचोल्न २५ घण्टा

‘हरेक माननीय (सांसद) ले महिनामा एकपटक जिल्ला जाँदा बसपार्कमा टिकट काटेर सार्वजनिक बस चढी गृहजिल्ला जानैपर्ने नियम बनोस् !’

अच्युत पुरी अच्युत पुरी
२०८० फागुन ६ गते १७:५७

६ फागुन, गुल्मी । शुक्रबार (४ फागुन) साँझ ४ बजे काठमाडौंबाट गुल्मी मालिका गाउँपालिका–८ सिमलटारी पुग्न रात्रिबस चढ्दै गर्दा विश्वकर्मा बाबा र सिद्धबाबालाई एक साथ सम्झिएँ । मनमनै भनेँ– ‘भगवान यात्रा सफल गराइदेऊ !

काठमाडौं नयाँ बसपार्कबाट गुल्मीको पश्चिम भेग सिमलटारीसम्मको सडकको दुरी ठ्याक्कै ४ सय १ किलोमिटर छ । काठमाडौंबाट पृथ्वी राजमार्ग, मुग्लिङ/नारायणगढ राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग र मदन भण्डारी राजमार्ग हुँदै रात्रिबस चल्ने गरी सेवा सुरु भएकै दशक नाघिसक्यो ।

सामान्यतया १४ देखि १६ घण्टाको रात्रिकालीन गुडाइपछि यो रुटको बस गन्तव्य पुग्छ । यात्रुले सोही अनुसार यात्रा योजना बनाउँछन् ।

शुक्रबार काठमाडौंबाट ना ६ ख १९८४ नम्बरको रात्रिबस पुगनपुग भरिभराउ यात्रुसहित काठमाडौंबाट हिँड्यो । काठमाडौंको जाम छिचोल्दै नयाँ बसपार्कबाट थानकोट पुग्न डेढदेखि दुई घण्टासम्म लाग्नुलाई यात्रुले खासै मतलब गर्दैनन् ।

किनकि, यो राज्य सिर्जित समस्या जनताले पचाइसकेका छन् । नागढुंगा चेकपोस्ट कटेपछि सुरु भयो सडक विस्तार । अझ रोचक, थानकोटबाट सुरु भएको सडक विस्तार ३ सय ७४ किलोमिटर यात्रापछि पुगिने गुल्मी सदरमुकाम तमघाससम्म जारी छ ।

सडकका बीच–बीचमा राम्रो सडक (नभत्किएको, न भत्काइएको, पिच नउप्किएको) भेटियो भने पनि सुनामी यातायातको हामी सवार बसले पक्कै सहज महसुस गर्‍यो होला । यात्रुले त पूरै यात्राभरि झुलनमै बसेसरह महसुस गरे ।

त्यो जोडी, जसले लियो टायर पन्चर भएको जस

सुनामी यातायातको बस करिब–करिब कच्चीजस्तै लाग्ने काठमाडौंको ‘लाइफलाइन’ पृथ्वी राजमार्गको यात्रामा थियो । धादिङको गल्छी पुगेपछि एक जोडीले बस रोके । बसमा पछाडिका केही सिट खाली थिए । गल्लीमा मुडा झिक्नु परेको थिएन । बसमा यात्रु व्यवस्थापन गरिरहेका कन्डक्टरले अझै दोब्बर यात्रु मिलाएर राख्न सक्न स्थान थियो ।

सोहीकारण काठमाडौंबाट सिमलटारीको ‘एक्स्प्रेस’ यात्रामा निस्किएको बसले पनि गल्छीबाट नारायणगढसम्म पुग्न हिँडेका एक जोडी (स्थानीय यात्रु) लाई सहर्ष स्वागत गर्‍यो । बसमा सिट पाएपछि लामो सास तान्दै युवती भन्छिन्, ‘दुइटा बस रोकेर चढ्यौं, दुइटै बिग्रियो, धन्न यसमा सिट पाइयो ।’

जब उनको शब्द सकियो, सुनामी यातायातको टायर पन्चर भयो । बसले सुइय हावा निकाल्यो र सडक किनारामा खडा भयो । भर्खरै युवतीको कुरा चाखपूर्वक सुनिरहेका यात्रुले झट्टै ती जोडीतर्फ हेरे । बसमा हाँसो गुञ्जियो । जोडीले स्वीकारे, ‘हामी चढेर हो टायर पन्चर भएको ।’
पन्चर टायर थन्क्याएर अर्को टायर फेरेपछि बस अगाडि बढ्यो । ‘अफसिजन’ भएकाले सडकमा त्यति धेरै यात्रु चाप थिएन । स्थानीय यात्रु टिप्दै–झार्दै बस अगाडि बढिरह्यो । काठमाडौंबाट गुडेपछि यात्रुलाई झर्न कतै नरोकेको बसका स्टाफलाई शौच जान गाडी रोक्न निकै आग्रह भएको थियो । चालकले खासै वास्ता गरेनन् ।

बस हुइँकिरह्यो । मुग्लिङ कटेपछि जंगलमा लगेर चालकले बस रोके । सहयोगीले भने, ‘झर्नुस् है, पिसाप सिसाप गर्न !’ बाहिर घना जंगल र सडकमात्र थियो । पुरुष छेउकुना लागे । महिला झरेनन् । किनकि, बसले सार्वजनिक शौचालयमा रोक्ने कष्ट उठाउन चाहेन ।

४ सय १ किलोमिटर लामो यात्रामा निस्किएको बसलाई यात्रुका लागि ५ मिनेट रोक्दा पनि किन कष्ट भइरहेको थियो, थाहा छैन । महिला यात्रु बाध्यतावस चुपचाप बसे ।

रातको झन्डै साढे १० बजे बस नारायणगढको नारायणी नदीमाथिको पुल तर्दै नवलपुर प्रवेश गर्‍यो । गैंडाकोटमा खाना खान बस रोकियो । सादा खानाको २ सय ५० रुपैयाँ तोकिएको होटलमा युवा उमेरका कामदारको व्यवहार राम्रो थियो । कमसल गुणस्तरको चामलमा पाकेको भए पनि तात्तातो भएकाले भातमा खासै गुनासो गर्ने ठाउँ थिएन । बस गुड्यो ।

त्यो बदनाम सडक कहिले बन्छ ?

नारायणी पुल तरेसँगै सुरु भयो नारायणगढ–बुटवल सडक खण्ड । आधा दशकदेखि यात्रुलाई धुलो र कष्ट खुवाइरहेको यो सडकको काम छिटो सक्न सरकारले अनेकौं उपाय लगायो ।

भौतिकमन्त्रीको अनुगमनदेखि रवि लामिछानेको दबाब यात्रासम्म सडकले भोग्यो । तर, सडकको खासै प्रगति छैन ।

बस उफ्रिँदै, उफ्रिँदै अगाडि बढिरह्यो । भर्खरै खाना खाएका यात्रु निदाए । गफगाफ खासै सुनिएन । बस मध्यबिन्दु हुँदै अगाडि जाँदा हल्का चापमा गुडिरहेको थियो । सडकमा जाम भने भइसकेको थिएन । पहाडमा गुड्ने बस रात्रि होस् वा दिवा, एसी जडान गरिएको खासै भेटिँदैन ।

सुनामी यातायातले पनि बसका सिसा खोल्न नमिल्ने बनाएछ । बसका सहयोगी भन्दै थिए, ‘यात्रुले झ्याल खोल्छन्, धुलो आउँछ भनेर हो ।’

बस गुम्म थियो, जसलाई गाडी लाग्ने समस्या हुन्छ, यस्तो बसमा चढ्दा अझ छिटो बान्ता हुन सक्छ ।

दाउन्ने डाँडामा ५ घण्टा जाम, गैरजिम्मेवार राज्य

मध्यबिन्दुबाटै हल्का चापमा गुडेको बस जब दाउन्ने उकालो सुरु भयो, त्यसपछि बामे सरे जसरी गुडिरहेको थियो । रातको करिब १ बजेबाट जाम सुरु भयो । केही मिनेट गुडेपछि आधा घण्टासम्म ठप्प हुने समस्या दोहोरिएको थियो ।

सडकको दुईतर्फी आवागमन नै ठप्प थियो । हामीले सोच्यौं, ‘काम जारी छ, सडकले रोकेको होला ।’ पछि थाहा भयो, सडकमा काम भएको थिएन । नेपालमा, त्यो पनि राति, के को काम हुनु ! बर्दघाटभन्दा माथि गाडी बिग्रिएको रहेछ । बस भित्रबाटै एक यात्रुले १०० नम्बरमा फोन लगाए । प्रहरीले भन्यो, ‘दुइटा गाडी बिग्रिएर सडक नै रोकिएको हो । एकतर्फी खुला छ ।’

मध्यरात भए पनि अतिव्यस्त यस सडकमा एम्बुलेन्स पनि अड्किएर बसिरहे । बस भित्रैबाट यात्रुले राज्यलाई सरापिरहे । यति ठूलो राजमार्गमा बिग्रिएको एउटा गाडी पन्छाउने मेसिन छैन, जनशक्ति छैन । करिब ५ घण्टा दाउन्ने डाँडामा गाडी जाममा फसे । बिहानको साढे ५ बजेतिरबाट सुनामी यातायातको बसले जाम छिचोल्न सफल भयो र बर्दघाटतर्फ हुइँकियो ।

सामान्यतया यो समय बस गुल्मीको रिडीमा आइसक्ने गथ्र्यो । पछिल्लो समय पाल्पाको सिद्धबाबामा बन्दै गरेको सुरुङ मार्गका कारण रातको १० बजेपछि सडक बन्द भई बिहान ४ बजेबाट खुल्ने गरेको छ । अहिले बसहरूले सोही समयमा आइपुग्ने गरी चलाउने गर्छन् । दाउन्नेमा जाममा फसेकै समयमा एक वृद्ध उमेरका बुबाले भने, ‘यस्तै भएर हो, अहिलेका केटाकेटी नेपाल नबस्ने !’

प्रहरीले डिक्की खोल्दा यात्रुको डाइलग, रातभरि कहाँ थियौ ?

बस सिद्धबाबा कट्दा घाम लागिसकेको थियो । नियमित चेकिङमा रहेको प्रहरीले बस रोकेर डिक्की चेक गर्न लाग्यो । त्यसै बेला एक यात्रुले भने, ‘रातभरि ५ घण्टा बस जाममा फस्दा तिमीहरूलाई वास्ता भएन, अब यात्रुका लुगाफाटो भएका डिक्की चेक गर्दै बस । रातभरि कहाँ थियौ ?’

प्रहरीले बाटोभरि बसको प्राविधिक जाँच गरेन । लामो दुरीमा चालक फेरे वा नफरेको चेक गरेन । बसमा यात्रु कुन अवस्थामा राखिएको छ, चेक गरेन । केवल कागजपत्र हेर्यो, छाड्यो । बस अगाडि बढ्यो ।

सामान्यतया १० बजे अगाडि नै सिमलटारी पुर्‍याएर सबैलाई खाना खान घर–घर जान सक्ने गरी ल्याउने बसले आज खाना खाने समय करिब १० बजे रिडी ल्याइपुर्‍यायो । त्यसपछि आधा घण्टा खाना खान रोकियो ।

जब दोस्रो टायर पड्कियो, अर्का यात्रुले लिए जस

रिडीमा खाना खाएर उकालो लागेको गाडी बलेटक्सार आइपुग्यो । त्यहाँ एक यात्रुले गाडी रोके र चढे । उनी चढेका मात्र के थिए, निकै ठूलो आवाजसहित विस्फोट भयो । बस अनियन्त्रित हुँदै नाच्दै थियो । चालकले सम्हाले । बसभरि धुलो भरियो ।

ती यात्रुको मोबाइल धुलोमा झर्‍यो । टक्टकाउँदै आए र भने, ‘कस्तो मैले गाडीमा टेक्नासाथ टायर पड्कियो !’

 उनले पनि अघिल्लो जोडीले जस्तै गाडी बिग्रिएको जस आफूले लिए । बसमा एउटामात्र अतिरिक्त टायर हुन्छ । एउटा टायर अघिल्लो दिन बेलुका नै गल्छीमा पन्चर भएको थियो । अर्को टायर बलेटक्सारमा पड्कियो । अब बससँग विकल्प थिएन । सहयोगीले टायर बनाउने ठाउँ खाजे र बनाउन थाले । करिब १ घण्टाको प्रयासपछि गाडी गुड्यो ।

काठमाडौंबाट बस चढेको ठ्याक्कै २५ घण्टा अर्थात् साँझको ५ बजे बस सिमलटारी बसपार्कमा पुग्यो । कठिनपूर्ण यात्रा गरेका कसैले पनि गाडी धनी वा चालकलाई दोष दिने ठाउँ देखेनन्, दिएनन्, सबैले धन्यवाद भन्दै झरे ।

मैले पनि यो यात्राभरि सार्वजनिक शौचालय भएको स्थानमा बस नरोकी खुला स्थानमा शौच गराउनु बाहेक अन्य दोष चालकको देखिन । सकेसम्म संयमित भएर सवारी चलाएका उनलाई सडक र परिस्थितिले पटक–पटक धोका दियो ।

चालकले अन्तिममा भने, ‘के गर्नु सर, सद्दे टायर पनि यो बाटोमा पड्किन्छ, कन्डिसनमा भएको गाडी यही बाटोका कारण बिग्रिन्छ !’

रातभरिको अनिद्रा र थकानले शिथिल उनी सकुशल यात्रा गराउन सकेकोमा हरेक दिन यसैगरी सन्तुष्टि लिन्छन् ।

सार्वजनिक बसको यो सकसपूर्ण यात्रा अनुभव एक पटकको मात्र होइन । पटक–पटक यस्तै अनुभव हरेकजसो यात्रुले भोगिरहेका छन् । जुन कुनै कैदीलाई दिएको यातनाभन्दा कम छैन ।
त्यही भएर मेरो चाहना छ– ‘हरेक माननीय (सांसद) ले महिनामा एकपटक जिल्ला जाँदा बसपार्कमा टिकट काटेर सार्वजनिक बस चढी गृहजिल्ला जानैपर्ने नियम बनोस् !’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?