उहिले हामी हुर्किंदा हाम्रा बुवा–आमा के सोच्नु हुँदो हो कुन्नि? आजकल उहाँहरूको संघर्ष, सपना र समय बारे गहिरो कुराकानी गरिएनछ झैं लाग्छ। उहाँहरूका रहर के–के थिए, ती पूरा भए–भएनन् भनेर कहिल्यै कुरा गरेको सम्झना छैन। सतही रूपमा आफैं बुझेर वा अनुमान गरेर यो बुवा–आमाको रहर हो भनेर पूरा गरिटोपलिएको चाहिं छ। अहिले हाम्रा दुई जना छोरीहरू कलेज ग्र्याजुएट भएर काम गर्न थालेका छन्, कान्छी छोरी हाईस्कुलको लगभग अन्त्यतिर छिन्। बच्चाहरू हुर्केपछि आफू अलि बढी स्वतन्त्र भए जस्तो, आफ्ना केही पुराना र नयाँ रहरहरू पूरा गर्न पाउने अवसरहरू आएको हो कि जस्तो लाग्दो रहेछ। अझ कलेजको फि इत्यादिबाट फुर्सद पाउँदा तलब बढेको जस्तो भान पनि हुँदोरहेछ। रोहिणी र म यो नयाँ अवस्थाको केही मात्रामा भए पनि उपयोग गर्ने योजनामा छौं, र केही हदसम्म गर्दै पनि छौं। यही अवस्थाको एक कडी हो यसपालिको हाम्रो ब्राजिल यात्रा।
दक्षिण अमेरिकी महाद्वीपमा अवस्थित ब्राजिल बारे धेरै पढे–सुनेको थिएँ, राजनीतिक, सामाजिक सद्भाव, संस्कृति, अमेजन रेनफरेस्ट, फाबेला, मेरा मन पर्ने लेखक पाओलो कोहेलोको जन्मस्थान, पेले र फुटबल इत्यादि। यिनै खुल्दुली र कौतूहलले गर्दा यहाँ पुग्ने रहर निकै अघिदेखि थियो। २०२३ को कामको गति सुस्त भएको र २०२४ को कामले गति लिइनसकेको डिसेम्बरको अपेक्षाकृत फुर्सदिलो समयको उपयोग गर्दै रोहिणी र म ब्राजिलका दुई शहर रियो डि जेनेरियो र साओपाओलो यात्रामा निस्कियौं। डिसेम्बर त्यहाँको गर्मीको मौसम पनि हो, उत्तरी गोलार्धमा जाडो हुँदा दक्षिणी गोलार्धमा गर्मी हुन्छ।
मनमा अनेक उत्कण्ठा बोकेर विमानस्थल जान उबर मगायौं, संयोग भनौं म्याक्सिमीन उबर ड्राइभर एकदिन अगाडि मात्रै ब्राजिलको साओपाओलोबाट डालास आएका रहेछन्, उनी डेल्टा एयरलाइनमा काम गर्दा रहेछन्, डालासमा अफ ड्युटी भएको बेला साइड कामको रूपमा उबर चलाउँदा रहेछन्, अति सहयोगी मान्छे रहेछन् ब्राजिल यात्राको लागि धेरै उपयोगी टिप्स दिए। मुख्यतया रियोको साना अपराध र सुरक्षा बारे उनले दिएको जानकारी हामीलाई धेरै उपयोगी भयो, नत्र हामी गुगल सर्च गरेर ब्राजिलका अपराध बारे पढ्दा पढ्दा र आफन्तहरूले ब्राजिलको असुरक्षा बारे दिएको नसिहतले आजित भएका थियौं। गुगलभरि ब्राजिल सुरक्षित छैन, नजानुहोस् भन्ने आशयका चेतावनी मात्र पढेका थियौं। तैपनि आफ्नो ब्राजिल पुग्ने लालसाले जित्यो र हामी हिंड्यौं। एयरपोर्ट नहिंडुन्जेलसम्म बच्चाहरू ‘आर यु श्योर यु वान्ट टु डु दिस?’ भनिरहे। उबर चढिसकेपछि उनीहरूले नजिकै आएर मलिन अनुहार बनाएर ‘बि केयरफुल मम ड्याड प्लिज’ भन्दा चैं मन झनै कटक्क भयो।
यो भ्रमणमा सबैभन्दा पहिला हामी डालास विमानस्थलबाट ब्राजिलको साओपाओलो विमानस्थलमा बिहानको ६ बजे झऱ्यौं र त्यहाँ नरोकिई आन्तरिक उडानबाट त्यही दिउँसो रियो डि जेनेरियो पुग्यौं। इ सं १५०२ मा पोर्चुगिज पहिलो पटक आउँदा जनवरी महिनामा रियो बन्दरगाहमा आइपुगेकोले शहरको नाम रियो डि जेनेरियो (जनवरीको नदी) नाम रहन गएको रहेछ। ब्राजिलको दक्षिण पूर्वी तटमा रहेको समुद्री तटको यो शहर अति रमणीय छ। कोपा कबाना, बाहा द तिजुका जस्ता संसार प्रसिद्ध समुद्री तटहरू छन्। समुद्रबाटै सिनित्त परेर ठडिएका अग्ला, तिखा र नांगा डाँडाहरू, बिच–बिचमा शहरको भीडभाड, समुद्री तट सँगैका चौडा सडकहरू अति रम्य छन्। खानीजन्य, पेट्रोल, टेलिफोन र सञ्चार इत्यादिका ठूल्ठूला कर्पोरेशनहरूको मुख्यालय छन्।
रियो साम्बा र कार्निभल जस्ता संस्कृतिको राजधानी हो, यहाँका १२ वटा साम्बा स्कुलले कार्निभलमा प्रतिस्पर्धा गर्दा रहेछन्, कार्निभल र साम्बा रियोको संस्कृतिको मुटु रहेछ। रियो दक्षिणी गोलार्धको सबैभन्दा बढी भ्रमण गरिने शहर पनि हो।
रियो पुगेर घुमघाम र टुर गाइडहरूबाट के थाहा पायौं भने ब्राजिल भौगोलिक रूपले निकै विविधता भएको देश रहेछ। अमेजन लगायतका घनाजंगल, लामो समुद्री तट, फैलिएका हरिया घाँसे मैदान (जसलाई पम्पास भनिंदो रहेछ), नांगा पर्वतहरू, अमेजन लगायतका नदीनाला, फराकिला सिमसार, पठार र सल्लाघारीहरू रहेछन् ब्राजिलमा।
कुनै पनि ठाउँ पुग्नुअघि त्यो ठाउँ बारे केही पढिन्छ, जसले त्यो ठाउँतिर झन् तान्छ। मानव विकास, इतिहास, राजनीति र त्यसले समाजमा पारेको प्रभाव मेरो रुचिको विषय हो, त्यसैले ब्राजिलबारे केही खोजतलास गरियो। ब्राजिलमा मुख्यतया तीनवटा मानव समूह रहेछन्। आदिवासी अमेरिइन्डियन, युरेपियन आप्रवासीहरू जो मुख्यतया पोर्चुगिज छन्, र अफ्रिकन। ब्राजिलको आर्थिक उन्नतिमा भने यी लगायत उन्नाइसौं शताब्दीमा युरोप, मध्यपूर्व र जापान आदि ठाउँबाट आएका आप्रवासीहरूको पनि हात रहेछ।
रियोका म्युजियमहरूबाट हामीले थाहा पायौं कि फोसिल रेकर्ड अनुसार ब्राजिलमा ३२ हजार वर्ष अगाडि मान्छे बस्न थालेको देखिए पनि ब्राजिलमा सोह्रौं शताब्दीमा पोर्चुगिज र स्पेनिसहरू छिरेपछि मात्र सुरु भएको रहेछ ब्राजिलको लिखित इतिहास। नजिकैका दक्षिण अमेरिकी देशहरू पेरू, चिली इक्वेडर आदिमा पौराणिक माया र इंका जस्ता सभ्यताहरूको उपस्थिति शिलालेख भग्नावशेष आदि भए पनि ब्राजिलमा ती सभ्यताहरूको कुनै छाप रहेनछ। त्यतिबेला ब्राजिलमा लगभग एक अरब आदिवासीको बसोबास रहेछ, त्यो जनसंख्या घटेर अहिले सोह्र लाखको हाराहारी भएको रहेछ, त्यो पनि धेरैजसो ब्राजिलको विकट र दुर्गम ठाउँहरूमा बस्दो रहेछ।
पोर्चुगिजहरू आउँदा उनीहरूसँगै आएका रोगहरू रूघाखोकी, बिफर, दादुरा आदिले लाखौं आदिवासीहरूको ज्यान गएको रहेछ। पोर्चुगिजहरू ब्राजिल आएपछि त्यहाँका आदिवासीहरूलाई उनीहरूको जमिन इत्यादिबाट बेदखल गर्ने अभियान चलेको रहेछ। त्यसपछि कतिलाई दास बनाइयो, त्यही संघर्षमा हजारौंको संख्यामा मरे, मारिए। १९६७ मा एक सरकारी अधिकारीले आदिवासी जनसंख्या बारे ७ हजार पेज लामो रिपोर्ट निकालेका रहेछन् जसमा आदिवासीहरूमाथि भएका दमन, हत्या, आतंक, जग्गा र सम्पत्ति लुट, यातना आदिको उल्लेख गरिएको थियो। त्यो रिपोर्ट प्रकाशन पछि संसारभरि ब्राजिलका आदिवासीहरूबारे हल्लीखल्ली भएर मात्रै ब्राजिलमा सरकारीस्तरमा आदिवासी विभाग स्थापना गरिएको रहेछ। आजसम्म आइपुग्दा ब्राजिलका आदिवासीहरूको हातबाट जग्गा र सरसम्पत्ति सबै फुत्किइसकेको रहेछ, उनीहरूको कथा मार्मिक रहेछ।
लगभग तीन शताब्दी लामो पोर्चुगिजहरूको राज्यपछि सन् १८२२ मा ब्राजिल स्वतन्त्र भएपछि पनि ब्राजिलमा पोर्चुगिज वंशकै राजाहरूले राज गरेका रहेछन्, सन् १८८८ मा भने पोर्चुगिज वंशका अन्तिम राजा ब्राजिलबाट भगाइएछन्।
रियोको सुरक्षा स्थिति बारे यति धेरै छलफल भयो यो यात्रामा कि यात्राको तयारीको एक्साइटमेन्ट र आनन्द कम भयो, गुगल सर्च गर्दा सबैभन्दा पहिला साना-अपराध बारे जानकारी आउँछ। पर्यटक लुटिएका, पिटिएका, रगताम्य पारिएका किस्साहरू छ्यापछ्याप्ती भेटिन्छन्। परिवार र आफन्तहरू चिन्तित उस्तै। मलाई एउटा के कुरामा अचम्म लाग्यो भने हरेक आफन्त र मित्र मैले जोसँग हामी ब्राजिल जाँदैछौं भनें सबैले ओहो ध्यान राख्नुहोला भन्नुभयो, सबैलाई जानकारी रहेछ कि सुरक्षा खतरा छ ब्राजिलमा। सुरक्षाको हिसाबले रियो सबैभन्दा असुरक्षित रहेछ, पकेटमारी, फोन, गरगहना आदि लुछेर भाग्ने छिटपुट साना घटना रियोमा हुँदा रहेछन्। तर हामीलाई त्यहाँ त्यस्तो कुनै अप्रिय घटनाको सामना गर्न भने परेन।
किन यति असुरक्षित त? भन्नेबारे कौतूहल हुनु स्वाभाविक नै भयो। ब्राजिलियनहरूको गरिबी र फाबेलाहरूको उपस्थितिको कारण भन्ने सतही व्याख्या पाइयो। यो व्याख्याले मेरो चित्त पटक्कै बुझेन, यस्तो स्रोतसम्पन्न मुलुकमा किन यस्तो चरम गरिबी? भन्ने प्रश्नले मलाई पिरोलिरह्यो। अमेरिकाले ब्राजिल र नेपाल दुवैलाई ट्राभल एड्भाइजरीमा एउटै क्याटागोरीमा राखेको छ— “जानु तर ध्यान राख्नु”।
रियो वरपर उष्णताले गर्दा वनस्पति एकदमै सप्रँदो रहेछ। एकजना वन विशेषज्ञले यहाँका रूखले पातबाट पनि पानी सोस्छन् भने, मैले यो कतै सुनेको थिइनँ, खै होला भन्ठानें। बाक्लो वनमा स्वतस्फूर्त रूपले आफूले चिनेका कटुस, चिलाउने, साल, सल्लो छन् कि भनेर खोजिंदोरहेछ। रूखकटहर बाहेक चिनेका रूख त भेटिएनन् तर उन्युँ, बन्सो, निगुरो, वन पिंडालु, बाँस, वन केरा र लहराहरू चैं नेपालकै जस्ता हुँदा रहेछन्। लटरम्म फलेका रूखकटहरका रूखहरू हुँदा रहेछन् जंगलभरि। रूखकटहर ब्राजिलको प्राकृतिक फल हैन रहेछ, पुर्तगाली राजपरिवारले भारतबाट ल्याएका रहेछन्, तर यहाँको हावापानीले गर्दा भारतमा भन्दा ठूल्ठूला अजंगका फल फल्दा रहेछन्। बाँदरले यो फल खुब रुचाउने हुनाले बाँदर र रूखकटहरका रूखको संख्या उल्लेख्य बढेको रहेछ। ब्राजिलको प्राकृतिक वनस्पति बचाउनको निम्ति सरकारी प्रयासमा विस्तारै रूखकटहर मासिंदैरहेछ, अबको १५ देखि २० वर्षमा ब्राजिलमा रूखकटहर नराख्ने सरकारी योजना रहेछ। यतिबेला रूखकटहर पाक्ने समय रहेछ, रियोका होटलहरूले ब्रेकफास्टमा फलफूलहरू सँगै रूखकटहर पनि सर्भ गर्दा रहेछन्। यहाँको रूखकटहरको फल नेपालमा पाइने भन्दा ठूलो, पोटिलो र मिठो पनि हुँदोरहेछ, हामीले धीत मरुन्जेल खायौं।

हामी पहाडी बाटोमा रेल चढेर रियोको विश्व प्रसिद्ध बिग जिससको मूर्तिमा पुग्दा कुहिरो लागेको र सिमसिम पानी परिरहेको थियो, रोहिणीले ‘जिसस हामीसँग रिसाएर पानी पारेका हुन् कि क्या हो’ भनेर हाँसो समेत गरिन्। हाँसो मात्र, हामी यस्ता कुरामा विश्वास भने गर्दैनौं। पहाडको टुप्पोमा १९३१ मा बनेको यो मूर्ति भएको ठाउँबाट समुद्र, जंगल र शहरको मनोरम दृश्य देखिनुपर्ने हो, जुन हामी पुग्दा कुहिरोले ढाकियो, रियोको हावापानीले गर्दा यहाँ यस्तो भइरहँदो रहेछ। समुद्रको तापक्रम बढी र माथि पहाडको कम हुने र उष्णताले गर्दा माथि धेरैजसो कुहिरो लाग्ने रहेछ। हामी रेलबाट झरेर ठाडो उकालो बाटोमा बनेका २२० खुड्किला चढेर पहाडको टाकुरामा बनेको जिससको मूर्ति भएको ठाउँ पुग्यौं, माथि चढ्ने लिफ्ट भए पनि हामीले हिंडेरै जाने-आउने विकल्प रोज्यौं। मूर्ति नजिक पुगेर सम्झनाको लागि केही तस्वीरहरू खिच्यौं, धेरैजसो मान्छेहरू रेनकोट लगाइरहेका थिए। हामीले भने लगाएनौं, त्यस्तो भिज्ने खाले पानी परेको थिएन।
अर्को दिन रियोमै रहेको प्रसिद्ध माराकाना (चराको नाम रहेछ) स्टेडियम गयौं, यो स्टेडियममा १९५० को फूटबलको वर्ल्डकपको पहिलो खेल, २०१४ को वर्ल्डकपका फाइनल खेलहरू र त्यस बीचमा धेरै प्रसिद्ध खेलहरू खेलिएको थियो। यो स्टेडियम प्रसिद्ध खेलाडी पेलेले सयौं फुटबल खेल खेलेको ठाउँ पनि हो। किन हो कुन्नि आफूलाई विश्व फुटबलमा पहिल्यैदेखि ब्राजिल मन पऱ्यो, ब्राजिलकै समर्थन गर्दा मन खुशी हुन्छ, यो शहर र यो स्टेडियम पुग्दा तीर्थस्थल पुगे झैं लाग्यो। पेले दिवंगत ए पछि उनको सम्मान स्वरुप स्टेडियम सँगैको बाटोको नाम किंग पेले राखिएको रहेछ।
रियो शहरमै रहेको मायान आर्किटेक्चरमा आधारित पिरामिड शैलीमा बनेको, रंगीन काँचहरूले भव्य रूपमा सजाइएको मेट्रो क्याथिड्रलले इजिप्टका हजार वर्ष पुराना भव्य मस्जिदहरूको सम्झना गरायो। यो क्याथिड्रलको भने सोह्रौं शताब्दीमा बनेको चर्चलाई विस्थापित गरी इ.सं १९७९ मा निर्माण भएको रहेछ।
केवलकार चढेर रियोकै शहरी किनारामा रहेको सुगरलेफ माउन्टेन पुग्दा पानी त परेन तर हल्का कुहिरो लागेको थियो। यहाँबाट तीनतिर समुद्र र एकतिर रियो शहरको दृश्य भव्यतम देखिंदोरहेछ।
रियो बसाइको एक दिन बस, ट्रेन र डुंगामा घुमेर थाकेपछि साँझ हामी ब्राजिलियन खाना पाइने रेस्टुराँ खोजेर गयौं। रियोका जति रेस्टुरेन्टहरूमा गयौं खाना अति मिठो, नेपाली स्वादलाई मिल्ने, पिरो खानेलाई अलि कम पिरो चैं लाग्छ होला। त्यो साँझ त्यहाँ लोकल साम्बा गायकहरूले गाउने कार्यक्रम रहेछ, वेटरले हामीलाई पनि लोकल ठानेर भित्र लगेर बीचको टेबलमा राखिदिए। हामीले यहाँका रेस्टुराँहरूमा यस्तो लाइभ म्युजिक सधैं हुन्छ होला भन्ठान्यौं, पछि थोरथोरै अंग्रेजी बुझ्ने वेटरले भने कि त्यो विशेष दिन रहेछ। पछि हामीले पोर्चुगिज भाषा बुझ्दैनौं भन्दा त्यहाँका नाच्ने गाउने कलाकार र दर्शकहरू मरीमरी हाँसे। थकाइ लागेकोले डिनर खाएर फर्किहाल्नुपर्छ भनेर गएका हामी त्यहाँ चार घण्टा गीत र नाचमा रमाएर फर्कियौं।
घरीघरी मलाई रोहिणी र म चराहरूको नाचगानमा बाँदर मिसिएर रमाए जस्तै लाग्यो, उनीहरू रमाएको देखेर हामी रमायौं, हामी रमाएको देखेर उनीहरू झन् रमाए। ब्राजिलियनहरू गजबै फ्रेन्ड्ली र रमाइला हुन्छन्। उनीहरूले हामीलाई परिवार जस्तै व्यवहार गरे। संसारमा देश, संस्कृति र भैगोलिकताका सीमाहरू भत्किंदै छन्। कहिले होला संसारमा सबको साझा भाषा हुने, सबैको सुखदु:ख सबैले बुझ्ने? त्यसको भोलिपल्ट हामी रियो नजिकैको टिजुका राष्ट्रिय निकुन्ज, बोटानिकल गार्डेन र फाबेला वरपर घुम्न गयौं, फाबेला भित्र भने गएनौं।
रियोको, ब्राजिलको र शायद सम्पूर्ण मानवताकै एउटा विसंगति हो फाबेला। फाबेला भनेको खासमा एउटा ठूल्ठूलो पात भएको वनस्पति हो जसलाई छाताको रूपमा प्रयोग गरेर झरीमा केहीबेर ओत लाग्न सकिन्छ। तर ब्राजिलमा फाबेला भनेको अनियन्त्रित रूपमा बनेका गरिबहरू बस्ने बस्ती भनेर चिनिन्छ। टुरगाइडहरूको र सरकारी आँकडा अनुसार पनि रियो वरपर मात्र ७०० को हाराहारीमा फाबेलाहरू रहेछन्, ठूला फाबेलामा चार लाखसम्म मान्छे बस्छन् भने साना फाबेलाहरूमा केही हजारको संख्यामा मान्छेहरू बस्छन्। फाबेला निर्माण गर्दा निर्माणका आधुनिक मापदण्ड प्रयोग गरिन्न, बत्ती–पानीको व्यवस्थित योजना हुँदैन। आधुनिक निर्माणको दृष्टिकोणबाट हेर्दा फाबेला भद्दा देखिने गाउँ र बस्तीहरू रहेछन्। फाबेलाको कथा दर्दनाक र मार्मिक रहेछ। फाबेलामा बस्ने केही मान्छेहरू उज्यालो र सभ्य दुनियाँमा आएर रेस्टुरेन्ट, निर्माण, सरसफाइ, ट्याक्सी ड्राइभर आदि कामहरू गर्छन्, तर त्यो कमाइले शहरको जीवनयापन गर्न सक्दैनन् र स्थायी वासस्थानको निम्ति फाबेलाको शरणमा जान्छन्। फाबेलामा बस्ने धेरैजसो मान्छेहरूको रोजगारी छैन, न कुनै सरकारी वा अन्य आम्दानी छ। त्यहाँभित्र स्कुल, अस्पताल छैनन्, अपराधी र दुर्व्यसनी पनि त्यहीं बस्छन्, हातहतियार र ड्रग डिलरका ग्यांगहरूले फाबेला नियन्त्रण गर्छन्, सरकारको उपस्थिति अति न्यून छ वा विल्कुल छैन। यसरी देशले नै बिर्सिएको रहेछ फाबेलाका बासिन्दाहरूलाई। सरकारी तथ्यांकले भन्छ कि लगभग १२ करोड मान्छे फाबेलाहरूमा बस्छन्, वास्तविकतामा त्योभन्दा धेरै हुन सक्छन्। ब्राजिलको कुल जनसंख्या दुई अरब बीस करोडको हाराहारीमा छ।
सरकारी स्तरबाट फाबेलामा बस्नेहरूको लागि प्रभावकारी कार्यक्रमहरू ल्याएको देखिन्न, बरू फाबेला वरिपरि ठूल्ठूला हाइराइज भवनहरू र सडक छेउ ठूला बिलबोर्डहरू निर्माण गरेर फाबेलाहरूलाई लुकाउने छेक्ने प्रयास भएको देखिन्छ, ताकि बाहिरको सभ्य संसारले यो गरिबी र स्रोत वितरणको भद्दापन नदेखोस्। यो राजनैतिक नेतृत्वको असफलताको कथा सभ्य संसारबाट लुकाउने हास्यास्पद प्रयास जस्तो लाग्यो हामीलाई। फाबेलामा बस्ने मान्छे घट्नुको साटो समयक्रममा बढिरहेका रहेछन्, यो अवस्थाले ब्राजिलका सर्वसाधारणहरू निकै चिन्तित रहेछन्।

यसको प्रभाव समाजमा पर्ने नै भयो, गरिबको संख्या बढ्दै जाँदा र गरिबी उन्मूलनको कुनै प्रभावकारी योजना नहुँदा गरिबहरू एक्लिंदै गएका रहेछन्, उनीहरूमा चरम निराशा रहेछ, फलस्वरूप झिना अपराधहरू, सडकमा लुटिने, घर चोरिने घटनाहरू अति सामान्य रहेछन्। फाबेलामा बस्ने गरिबहरूलाई आपराधीकरण र राक्षसीकरण गरिएको पाएँ, उनीहरूको कारण धनीहरूको जीवन कष्टकर भएको छ भन्ने भाष्य निर्माण गरिएको रहेछ। सामाजिक संरचना नै यही मानसिकताको वरिपरि बनेको रहेछ, शहर र वरपर मान्छेहरू एक परिवारीय घर असुरक्षित भएकोले हाइराइज भवनहरूमा सर्दै रहेछन्। हाइराइज भवन टाढाबाट हेर्दा राम्रा देखिन्छन्, भित्र पनि सुविधाजनक नै हुन्छन् तर नजिकबाट भयानक, राक्षसी, डरलाग्दा र चिसा हुन्छन्। ब्राजिलका शहरहरू हाइराइजका जंगल जस्तै देखिन्छन्, नयाँ प्रकारको अमेजन जंगलले आकार लिन थाले जस्तो लाग्यो हामीलाई।
ब्राजिल अपेक्षाकृत विकसित देश हो। ब्राजिलमा अन्यत्र जस्तो भूकम्प, तूफान आदि प्राकृतिक प्रकोप हुँदैनन्, यो प्राकृतिक स्रोतको धनी देश हो, यदि यही अनुसारको राजनैतिक इच्छाशक्ति भइदिएको भए ब्राजिल विश्वको एक नम्बर देश हुन सक्थ्यो भन्दा रहेछन् ब्राजिलियनहरू। उनीहरू देशको राजनीति, प्रणाली र राजनीतिज्ञप्रति निकै असन्तुष्ट रहेछन्।
हुन पनि हो, ब्राजिल अर्थतन्त्रको हिसाबले विश्वको नवौं ठूलो गार्हस्थ्य उत्पादन भएको, कृषिजन्य निर्यात गर्ने चौथो ठूलो, जलस्रोतको विश्वकै सबैभन्दा धनी, अमेजन जंगल, कृषि, पशुपालनमा अग्रणी देश हो। पूर्वाधार हेर्ने हो भने चौडा बाटाघाटा, अत्याधुनिक आर्किटेक्चरका कलात्मक गगनचुम्बी भवनहरूको महासागर, कला, साहित्य, संस्कृति, व्यापार सबै लोभलाग्दा छन्, विकसित देशहरूभन्दा कुनै पनि आँकडामा कम देखिन्न ब्राजिल, तर केले रोकेको हो ब्राजिललाई फाबेलामा बस्ने गरिबहरूको व्यवस्थापन गर्न?
ब्राजिलका शिक्षित युवाहरू पनि संसारका अन्य देशका युवाहरू जस्तै सामाजिक समतावाद, वातावरण प्रेम मन पराउँदा रहेछन्। यी युवाहरू धेरैजसो तिनै धनाढ्य, कुलीन र राजनीतिज्ञहरूका सन्तति रहेछन्। त्यसैले ब्राजिलियन बुद्धिजीवीहरू यिनीहरूलाई आइफोन समाजवादी भन्दा रहेछन्। यो अवस्था बुझेर कता कता मेरो मन धमिलो भयो, किनकि युरोप, अमेरिका र साउथ एशियाका यस्ता शिक्षित युवाहरूलाई म संसारको समतामूलक भविष्यका वाहकको रूपमा आशावादी नजरले हेरिरहेको थिएँ। के यिनीहरू पनि यही आइफोन समाजवादी समूहका भएर जाने छन्? हुनत अरब स्प्रिंग देखेर हौसिएको म लिबिया लगायतका देशहरूको हालको स्थिति देखेर पहिल्यै दिक्दार भने भएको हुँ।
संसारको राजनीतिको अर्को पाटो के हो भने संसारको कुन देशमा रामराज्य छ? हरेक देशका कुनै न कुनै समस्या छन्, नेपाल, अमेरिका, ब्राजिल सबैका आ–आफ्नै समस्या छन् र महत्वपूर्ण कुरा के भने, जो नेता वा पार्टी सरकारमा आए पनि, जे गरे पनि नयाँ नयाँ समस्या आई नै रहने छन्।
र, सबैभन्दा महत्वपूर्ण कुरा, रियोमा हामी कोपा कबाना भन्ने ठाउँमा बस्यौं, त्यो ठाउँ मेरो मन पर्ने लेखक पाओलो कोहेलोको जन्मस्थान हो। उनी हुर्केको शहरमा उनी रमाएको समुद्री तटहरूमा बसेर उनले लेखेको किताब पढ्ने पुरानो रहर पूरा गरियो। मलाई कुन्नि किन हो प्राग गएर काफ्का, कोपेनहेगन गएर किर्कगार्ड, एथेन्स गएर प्लेटो र एरिस्टोटल पढ्ने रहर हुन्छ। जे होस् कोपा कबानाको समुद्री तट जहाँ पाओलो कोहेलो पौडी खेल्थे त्यहीं बसेर अल्केमिस्ट पढ्दा दिव्य अनुभव भयो। अहिले भने पाओलो कोहेलो धेरैजसो युरोप र अमेरिका बस्छन्।

हामीले भेटेको यो रियो वा ब्राजिलले अर्को मौसम, अर्को दिन वा हाम्रो अर्कै मनस्थितिमा कसरी स्वागत गर्दो हो कुन्नि? यसपाला रियोमा रमाइलो भयो, भविष्यमा अमेजन रेन फरेस्ट एक पटक पुगिन्छ होला, ब्राजिल वा अरू कुनै देशबाट हुन सक्ला। यस्तै कुरा खेलाउँदै रियोलाई गुडबाई भनियो।
रियोबाट हामी साओपाओलो गयौं, यो पिनेरोस र चियते दुई मुख्य र अरू स–साना नदीहरूको किनारामा बसेको शहर रहेछ। साओपाओलो रियो भन्दा धेरै अर्थमा फरक रहेछ, यहाँ शहरी सीमाभित्र फाबेला छैनन्, यहाँ फाबेलालाई कम्युनिटी पनि भन्दा रहेछन्। साओपाओलो साउथ अमेरिकाकै फाइनान्स क्यापिटलको रूपमा चिनिंदो रहेछ। यो शहर चम्किलो र निकै समृद्ध रहेछ, तर यहाँ पनि शहरको केन्द्रमा केही ठाउँहरू रहेछन् जहाँ हामी सुरक्षाको कारणले जान सकेनौं। टुर गाइडले पनि हामीलाई नजान सल्लाह दिए।
धनी र गरिबीको ग्याप ठूलो भएपछि गरीबलाई भन्दा धनीलाई ठूलो समस्या हुँदोरहेछ, आफ्नो श्रीसम्पत्ति जोगाउन वरिपरि ठूल्ठूला पर्खाल लगाउनु पर्दो रहेछ। ठूल्ठूला घर, घर भन्दा अग्ला र भयंकर देखिने गेट र ताला चाबी देखेर घरी अचम्म र घरी उदेक लाग्यो हामीलाई।
साओपाओलो पोर्चुगिजहरू र १८८८ मा दास प्रथा उन्मूलन भएपछि कामदारको आवश्यकता पूर्ति गर्न आएका इटालियन, जापानिज, लेबनिज, जर्मन आदि आप्रवासीहरूको बाहुल्य भएको शहर रहेछ त्यतिबेलै यहींबाट ब्राजिलको आर्थिक गतिविधि शुरू भएको रहेछ। मुख्यत: युरोपियनहरू ब्राजिल आएपछि यहाँ कफी रिभोलुशन भएर संसारभर कफी निर्यातको शुरूआत भएको रहेछ। यही यथार्थलाई प्रतिविम्बित गर्न होला ब्राजिललाई ‘रिपब्लिक अफ कफी’ पनि भन्दा रहेछन्। यही रिभोलुशनको काँधमा चढेर छोटो समयमा ब्राजिलले आर्थिक रूपमा ठूलो छलाङ माऱेको रहेछ। त्यसपछि अन्य ठाउँबाट पनि मान्छे साओपाओलो सर्न थालेका रहेछन्।
पुरानो साओपाओलो वरिपरि गरिब र आप्रवासीहरू जम्मा हुन थालेपछि धनी, व्यापारी र कुलीनहरू पब्लिस्ता एभिन्यु भनिने प्रसिद्ध मार्ग सृजना गरेर त्यसकै वरपर सरेका रहेछन् जुन आजको प्रसिद्ध मार्ग र पर्यटकीय ठाउँ पनि हो, यहाँ ठूल्ठूला सपिंग सेन्टर, वरिपरि महँगा घरहरू, प्रसिद्ध म्युजियमहरू र राम्रा र महँगा रेस्टुरेन्टहरू छन्। यो साओपालोको आकर्षक र ग्ल्यामरस ठाउँ हो, आजकल यहाँ ठूल्ठूला राजनैतिक ऱ्यालीहरू पनि आयोजना गरिन्छन्, हालका ब्राजिलियन राष्ट्रपति लुला डी सिल्भाले बोल्सानारोलाई चुनावमा हराएपछि आफ्नो विजय सभा यही सडकमा गरेका थिए जसमा लाखौं जनताले भाग लिएका थिए। इतिहास र वर्तमानको संयोग यो ठाउँमा हामीहरूले दिनभरि घुमघाम गऱ्यौं, ऐतिहासिक महत्वका भवनहरू अवलोकन गऱ्यौं, आदिवासीहरूको म्युजियममा गयौं। यही म्युजियमको एकभागमा आदिवासीहरूले नै सञ्चालन गरेको उनीहरूकै संस्कार अनुरुपको खाना पाइने रेस्टुरेन्टमा खाना खायौं, ब्राजिलियन खाना त्यसै पनि मिठो हुन्छ, यहाँको खाना झनै दिव्य लाग्यो हामीलाई।
कला र आर्किटेक्टको शहर रहेछ साओपाओलो। नेइमार साओपाओलोका प्रसिद्ध आर्किटेक्ट रहेछन्, यो शहरमा उनका लोभलाग्दा चित्ताकर्षक आर्किटेक्चर देख्न पाइँदो रहेछ। मुख्य कुरा यो प्याटर्न यो आर्किटेक्टको हो भनेर पहिचान गरिंदोरहेछ।
अमेजन रेन फरेस्टको कुरा नगरी ब्राजिलको कथा पूरा हुँदैन। संसारको फोक्सो भनिने यो जंगल ७० लाख वर्ग किमीमा फैलिएको छ, सबैभन्दा धेरै ६० प्रतिशत ब्राजिल, १३ प्रतिशत पेरु लगायतका १३ वटा दक्षिणी अमेरिकी देशहरूमा फैलिएको रहेछ। हामी यसपालि यो जंगलको यात्रा गर्ने योजनामा थिएनौं र गरेनौं, एकपटक यो जंगल पुग्ने रहर भने छ, हेरौं हाम्रो रहर पूरा हुन्छ कि हुँदैन? अमेजन जंगलबारे संसारैभरिको चासो छ, यो जंगल मासियो भनें संसारमा ठूलो विपत्ति आउँछ। तर ब्राजिलको पनि त अरू देशहरूको जस्तो आफ्नै ग्राउण्ड रियालिटी छ, नेपालको जस्तै यहाँको पनि मुख्य आर्थिक स्रोत कृषि भएकोले बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्न खेतीयोग्य जमिन चाहिन्छ र जमिनको लागि जंगल फाँड्नु पर्छ। त्यै भएर संसारभरिका मान्छेले जंगल नकाट भनेर भाषण गर्दा उनीहरूलाई आफ्नो देशको सार्वभौमिकता माथि आक्रमण भए जस्तो लाग्दो रहेछ। यही भावनामा राजनीति गर्दै बोल्सानारो जस्ता अतिवादी ब्राजिलका राष्ट्रपति समेत भए।
ब्राजिलको समयको चेत नेपाली समय जस्तै रहेछ, ढिलो। उनीहरू पनि बीएसटी भनेर हाँसो गर्दा रहेछन् हामीले एनएसटी (नेपाल स्ट्यान्डर्ड टाइम) भने जस्तै। टुर टाइम इत्यादिमा आधा घण्टा ढिलो हुनुलाई सामान्य मानिंदोरहेछ।
ब्राजिलबाट प्रस्थान गरिरहँदा भने मेरो मन फाबेला बारे सोचेर विचलित भइरहेको थियो। कठोर परिस्थितिलाई सैद्धान्तीकरण गर्न त हुन्न तर कता–कता गरिबीलाई आपराधीकरण गरिएको हो कि? गरिबलाई राष्ट्रिय नीति, अर्थ व्यवस्था र स्रोतको पहुँचबाट वञ्चित गरिएको हो कि? गरिब बस्ने ठाउँ सुरक्षित छैनन् खतरनाक छन् भन्ने भाष्य स्थापित गरिएको हो कि झैं लाग्यो। संसारभरि यसको संकेत मात्र छ, सीधै गरिब जति अपराधी हुन्छन् भनेर भनिंदैन, तर यहाँ यो तथ्य सत्यताको रूपमा स्थापित रहेछ झैं लाग्यो।
मलाई लाग्छ कि मान्छे नैसर्गिक रूपमा फिरन्ते नै हो। त्यो अग्लो डाँडापारि अलि राम्रो शिकार पाइन्छ कि? कन्दमूल पाइन्छ कि? भन्ने कौतूहलले कुदाउँदा कुदाउँदै ऊ अफ्रिका महादेशबाट पृथ्वीभर पुग्यो। नैसर्गिक रूपले उन्मुक्त उसले प्रकृतिलाई बँधुवा बनाएर गाई, बाख्रा घरमै ल्याएर पाल्यो, गहुँ र तरुल आफ्नै छाप्रो वरपर लगायो। त्यसैलाई जोगाउन नानाथरी नियम कानुन, सभ्यता सृजना गरेर आफूलाई बाँध्यो र ठान्यो कि ऊ समृद्ध भयो। कालान्तरमा ऊ तिनै कुराहरूको बन्दी भयो, यो कस्तो अचम्मको चक्र छ जसलाई उसले बन्दी बनाएँ ठानेको थियो अन्त्यमा ऊ त्यसैको बन्दी भयो, घर, परिवार, धन-मान, देश-संविधान। यसरी जकडिएको छ आजको मान्छे कि एक ठाउँबाट अर्को ठाउँ जान, अर्को मान्छे भेट्न पनि उसले कसैको अनुमति लिनुपर्छ, स्वेच्छाले हलचल पनि गर्न सक्दैन, कस्तो कृत्रिम बनायो उसले नैसर्गिक जीवनलाई!
यस्तै कुरा मनमा खेलाउँदै ब्राजिलबाट हिंडियो। फेरि यहाँ पुगियो भने अमेजनको लागि पुगिने छ, रियोको पनि थोरै प्यास र लोभ छ मनमा, हेरौं हाम्रा निम्ति समयले के के गर्भमा राखेको छ?
प्रतिक्रिया 4