 
																			२० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीमा रास्वपाका उपसभापतिसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत आरोपित रहेको भनी प्रश्न उठाएको छ ।
रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा आरोपित रहेको भनी संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले मंगलबार कांग्रेसका सांसदहरुले अन्य दुई नेता समेत आरोपित रहेको दाबी गर्दै विषय उठाएको हो ।
प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरु विरोधमा उठेको थियो । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले गृहमन्त्री लामिछानेलाई लागेको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग दोहोर्याए ।
साथै सांसद यादवले श्रममन्त्री अर्याल र रास्वपाकै अर्का नेता बुर्लाकोटीसमेत आरोपित रहेको दाबी गरे ।
डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले ४ करोड रुपैयाँ बढी रकम फिर्ता नपाएको विषय रहेको उनले बताए । त्यसबेला उक्त सहकारीको सञ्चालक समितिको सदस्यमा बुर्लाकोटी समेत रहेको उनले बताए । 
हाम्रो नयाँ कृषि सहकारी संस्थामा गोर्खा मिडियाका अध्यक्ष जिबी राईलाई समेत भित्र्याइएको भन्दै उनले भने, ‘त्यो भित्र्याइएको काम श्रम मन्त्री लगायतको हो भन्ने आरोप छ ।’ हाल हाम्रो नयाँ कृषि सहकारी संस्था समस्याग्रस्त घोषणा रहेको उल्लेख गर्दै उनले अगाडि भने, ‘यो घटनाले थप पुष्टि गरेको छ- सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ । त्यसकारण हामी भनिरहेका छौं निष्पक्ष छानबिन आवश्यक छ । संसदीय छानबिन समित बनाऔं ।’
मंगलबारकै प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर कांग्रेसकै सांसद कान्तिका सेजुवालले पनि सहकारीको रकम ठगीमा रास्वपाका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री बुर्लाकोटी समेत आरोपित रहेको भनी प्रश्न उठाइन् ।
सांसद सेजुवालका अनुसार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ११ गते हाम्रो नयाँ कृषि सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीलाई मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन कार्यालयमा पठाएको छ ।
‘…यसमा श्रममन्त्री सहकारी संस्थाको उपाध्यक्ष भएको जानकारी आएको छ । यसमा के भएको छ ? नेपाल सरकारले छिट्टै छानबिन गरोस्’ सांसद सेजुवालले भनिन् । जसले सुशासनको कुरा गरिरहेको छ उनी भ्रष्टाचारमा आरोपित भइराखेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरिन् ।

उनी प्रश्न गर्छिन्, ‘सहकारी ठगी पकरणमा अर्को काण्ड आयो । के भइरहेको छ देशमा जसले देश बनाउनु भन्छ त्यस व्यक्ति नै भ्रष्टाचारको आरोपी हुने ? देशका बिभिन्न ठाउँका जनतालाई ठग्ने अनि सुशासनका नारा लगाउने ?’
आफूहरुले सरकारी समस्याको सम्बन्धमा छानबिन संसदमा निरन्तर आवाज उठाइरहेको स्मरण गर्दै उनले सरकारले थप उपेक्षा गरे कठोर हुने चेतावनी दिए ।
‘हामी प्रत्येक दिन सहकारी ठगीको विषयमा कुरा उठारहेका छौं । तर, सरकारले हाम्रा बोलीलाई उपेक्षा गरिरहेको छ’ उनी थप्छिन्, ‘अहिलेसम्म संसदीय छानबिन समिति गठन गर्न तयार नहुनुमा हाम्रो आपत्ति छ । यसरी सरकारले हामीलाई अझै कठोर बनाउँदैछ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4