१७ वैशाख, काठमाडौं । एक साताअघिसम्म इलाम २ का गाउँसहर जताततै रास्वपाका घन्टीबाहक सवारीको भीडभाड थियो ।
पहिचानवादी स्वतन्त्र मुढाचिह्नबाहकहरु भने माङ्सेबुङ, फाकफोकथुम र माई नगरतिर झल्याझुलुक देखिन्थे । फेसबुकमा पनि घण्टीको आक्रामक प्रचारसामू मुढा निरीह देखिन्थ्यो ।
इलाम २ को प्रतिनिधिसभा उपचुनावको मतगणनामा भने यसको ठिक्क उल्टो देखियो । एमालेका सुहाङ नेम्वाङले ५ हजार मतान्तरसहित कांग्रेसका प्रतिद्वन्द्वीलाई पछि पार्दैगर्दा निकट मतसहित तेस्रो स्थानमा पहिचानवादी ‘मुढा’ छ । कांग्रेसका डम्बर खड्कालाई स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले बलियो चुनौती पेश गरिरहेका छन् ।
सोमबार मध्यरात यो समाचार तयार पार्दासम्म नेम्बाङको १९ हजार बढी मतलाई कांग्रेसका खड्काले १२ हजार भन्दा बढी मतसहित पछ्याउँदैछन् । थेगिमले यतिञ्जेलसम्म ९ हजार ५ सय ५० सय पाइसकेका छन् । थुप्रै मत गन्न बाँकी रहेको हुँदा उनले १० हजार मत सहजै नघाउने देखिन्छ ।
(अपडेट- नेकपा एमालेका सुहाङ २७ हजार ७७२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् । – मङ्गलबार बिहान ७ बजे गरिएको अध्यावधिक)
‘पहिलेदेखि आधार, संगठन, स्रोत भएका पार्टीहरुसँग म एक्लो स्वतन्त्र उम्मेदवारले लडेको हो’, थेगिमले भने, ‘१५ दिनको तयारीमा यो भन्दा कति नै गर्न सकिन्थ्यो र !’
एक महिनाजति तयारी समय पाएको भने आफूले अब्बल नतिजा निकाल्ने विश्वास पनि उनले देखाए ।
‘एक्लो व्यक्ति’ भन्दाभन्दै पनि थेगिमको उदयको पृष्ठभूमि भने याद गर्नुपर्ने खालको छ । एमालेमा समर्थन राख्दै आएका थेगिम फाकफोकथुममा जन्मे, हुर्के । पढे, पढाए । लारुम्बास्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देननिकट भएर काम गरे ।
प्रदेशसभाको दुई तिहाई बहुमतबाट कोशी नामांकन हुँदैगर्दा पूर्वमा पहिचान आन्दोलनको ज्वरो ह्वात्तै बढेको थियो । थेगिम लगायत अगुवाले त्यसलाई महिनौंसम्म लगातार नेतृत्व दिए । थेगिमलाई स्वतन्त्र उम्मेदवार बनाउने क्रममा लिम्बु, राई लगायत जातीय सामुदायिक संस्थाहरुले समेत नैतिक समर्थन दिएका थिए ।
०७९ मंसिरको आमचुनावभन्दा पाँच महिनाअघि खुलेको रास्वपाले देशभरिबाट छोटो तयारीमै २० सिट ल्याएको थियो । वैशाखको उपचुनावमा जितहार जे भए पनि उल्लेखनीय मत ल्याउन सक्दा कोशीमा उसको प्रवेश चर्चायोग्य हुन सक्ने थियो ।
त्यसरी लहर सिर्जना गर्दै उदाएको रास्वपा यो रिपोर्ट तयार गर्दासम्म ३ हजारभन्दा केही बढी मतमै खुम्चिइरहेको छ । स्वतन्त्र पहिचानवादी थेगिम भने सम्भावित पराजयका बीच पनि शानदार मतमा सवार छन् ।
‘हाम्रो उम्मेदवारको व्यक्तित्व नै मूख्य कारक भइदियो, त्यसमाथि एमाले र कांग्रेस नै बलियो रहेको ठाउँमा चुनाव लड्दा हामी दबाबमा रहनु स्वभाविक थियो’, रास्वपाका एक केन्द्रीय नेताले भने, ‘पछिल्ला दिनमा हाम्रो नेतृत्वलाई बारम्बार विवादमा तान्न खोजिएकाले पनि सभापति र नेताहरुले इलामलाई प्राथमिकतासाथ सम्बोधन गर्न खोज्नुभयो । हाललाई हामी रक्षात्मक बन्न पुगेको स्वीकार गर्नुपर्छ ।’
इलाममै रहेका रास्वपाका अर्का नेताले भने चुनाव पराजयका बीच प्रशस्तै राजनीति सिकिएको तर्क गरे । आफूहरुले सोचेभन्दा बढ्ता ‘मुढा’ तर्फ भोट जानुमा उम्मेदवारको व्यक्तित्वले नै काम गरेको पनि बताए । आफूहरुले पाउन सक्ने मत पनि मुढातर्फ गएको उनको तर्क थियो ।
इलामको स्थानीय राजनीतिलाई नजिकबाट अध्ययन गर्दै आएका विश्लेषक तथा महेन्द्ररत्न क्याम्पसका सहप्राध्यापक दीपेन्द्र दुलालले मुढा चिह्न बाहक थेगिमले आम रुपमा अपेक्षा गरिएजस्तै मत पाएको बताए ।
थेगिमको वौद्धिक र शालीन व्यक्तित्व, अनि पहिचान आन्दोलनका क्रममा बनेको छविले समेत काम गरेको भन्दै दुलालले भने, ‘मूलधारका पार्टीहरुसँग असन्तुष्ट मतदातालाई कसले अपिल गर्न सक्छ भन्ने थियो, घण्टीको उम्मेदवारको विवादास्पद बोलीव्यवहार र कमजोर व्यक्तित्वका कारण मुढालाई त्यसको समेत लाभ हुन गयो ।’
पहिचान आन्दोलनलाई प्राज्ञिक बहसदेखि साहित्य, कलाको क्षेत्रबाट समेत अघि बढाउने काम पूर्वमा चलिरहेकाले थेगिम अझै सशक्त देखिन पुगेको दुलालले बताए ।
थेगिमले पहिचानको मुद्दा केवल जातीय नभई बहुआयामिक रहेकाले समर्थन पाउनुपर्ने तर्क गर्दै रहे । अनलाइनखबरको टिमले उनलाई देउमाईको जितपुरमा भेट्दा गायकगायिका छोराछोरीहरु एकदेव र सुनीता थेगिम समेत सँगै थिए ।
भद्र प्रचारशैलीमा एउटा गाडी लिएर कुदिरहेका डकेन्द्र थेगिमले पाएको मतले भने इलाममा एमाले र कांग्रेसको दबदबाबीच तेस्रो सम्भावित शक्तिको जबर्जस्त प्रवेशलाई संकेत गर्छ ।
उपप्राध्यापक दीपक लुङेलीका विचारमा सांस्कृतिक अभिघातलाई राजनैतिक रुपमा प्रस्तुत गर्ने सवालमा डकेन्द्र पहिचान पक्षधरहरुको सामुहिक बिम्ब बन्न पुगे। ‘कोशी प्रदेश सँगको उनीहरुको बिमति सबैलाई एक ठाउँमा ल्याउने कारण बन्न पुग्यो,’ उनले भने
थेगिमको प्रचारका लागि देशविदेशबाट कतिपय व्यक्तिसमेत आइपुगेका थिए । उनीहरुले यसपल्ट पहिचानको राजनीतिलाई कोशीमा स्थापित गराउने हो भने थेगिमले जित्नुपर्ने बहस समेत गरे ।
अमेरिकाबाट थेगिमको प्रचारकै आइपुगेका प्राध्यापक महेन्द्र लावतीले लहर भए पनि संगठनको अभावमा जित निकाल्न नसकिएको तर्क गरे । ‘संगठन भए जितिन्छ, आत्तिनुपर्दैन’, उनले मुढाको मतबारे संकेत गर्दै भने, ‘अहिले खसिरहेको मत सोचेजस्तो नभए पनि उत्साहप्रद चाहिँ हो ।’
लावतीलगायतले पार्टी स्थापनातर्फ प्राथमिकता दिए पनि थेगिम आफैं भने अलमलमै छन् । पहिचानको राजनीति फैलाउनका लागि सांगठानिक आधार चाहिन्छ भन्ने मान्दामान्दै समेत पार्टी नै बनाउने कि नबनाउने भन्नेमा चाहिँ उनी मानसिक दुविधामा परेका हुन् ।
परिस्थितिले त्यो बाटोतर्फ धकेल्न सक्ने भने संकेत गरे ।
‘चुनावमा अरुले खर्चपानी पेलेको देख्दा त त्यसलाई चेक दिनु पनि राजनीतिक शक्ति निर्माण गर्नैपर्ने रहेछ जस्तो लाग्यो’, थेगिमले भने, ‘तर यी दलहरुको भित्र अनेक–अनेक हविगत देख्दा त पार्टी पनि के बनाइबस्नु हौ ?’
थेगिमले चुनावी जितहार जे भए पनि पहिचान पक्षधरको आन्दोलन भने यो चुनावको अनुभवसमेतका आधारमा थप बलियो हुँदैजाने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4