+
+

उपचुनावले बढायो एमालेको आत्मविश्वास

सिट संख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल ल्याउने छैन । तर उपचुनावबाट जाने सन्देशले अध्यक्ष केपी शर्मा ओली र एमाले पंक्तिलाई उत्साहित बनाएको बुझ्न गाह्रो पर्दैन ।

सइन्द्र राई सइन्द्र राई
२०८१ वैशाख १७ गते २२:१८
चुनावी अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उम्मेदवार सुहाङ नेम्वाङ

१७ वैशाख, काठमाडौं । संघीय संसदको दोस्रो ठूलो शक्ति नेकपा एमालेले उपचुनावको नतिजा आफ्नो पक्षमा पारेको छ । बझाङ (क) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् भने इलाम–२ मा सुहाङ नेम्वाङ फराकिलो मतान्तर सहित जिततर्फ उन्मुख छन् ।

सोमबार रातिसम्मको मत प्रवृत्ति कायमै रहे एमालेका नेम्वाङ जित्ने निश्चित छ । ४५ हजार ९५३ मत गणना हुँदा १९ हजार ११४ मत सहित सुहाङले अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का निकै पछाडि (१२ हजार ६७५ मत) छन् ।

सुहाङको अग्रता जोगिए उपचुनाव भएका दुवै क्षेत्र एमालेको पोल्टामा जानेछ । अर्थात् प्रतिनिधिसभामा एमालेको सिट संख्या कायमै रहनेछ भने सुदूरपश्चिम प्रदेशसभामा एक सिट थप्न सफल भएको छ ।

२०७९ मंसिरको आमचुनावमा इलाम–२ बाट एमालेका सुवास नेम्वाङ र बझाङ (क) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । दुवैको निधन भएपछि सम्पन्न उपचुनावमा एमालेले इलामको आफ्नो सिट सुरक्षित गर्दै बझाङको नतिजा उल्ट्याएको छ ।

सिट संख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल ल्याउने छैन ।

तर उपचुनावबाट जाने सन्देशले अध्यक्ष केपी शर्मा ओली र एमाले पंक्तिलाई उत्साहित बनाएको बुझ्न गाह्रो पर्दैन ।

एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्की, जनादेश पार्टीको पक्षमा आउँदा उत्साहित हुनुलाई स्वभाविक मान्छन् । ‘उपचुनावले तत्कालको जनादेशलाई संकेत गर्छ र जनादेश एमालेसँग रहेको पुष्टि भएको छ’, उनी भन्छन् ।

हुन त इलाम र बझाङ दुवै क्षेत्रमा एमालेको बलियो राजनीतिक पृष्ठभूमि भएकाले जित स्वभाविक हो । तर जस्तो परिस्थिति र समीकरणमा जित निकाल्यो, त्यसले केही सन्देश पक्कै गएको छ ।

इलाम–२ एमालेले २०५६ देखि लगातार जितिरहेको क्षेत्र हो । संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङले यो क्षेत्रबाट कहिल्यै हारेनन् । २०७९ मंसिरको चुनावमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा कांग्रेसका डम्बर खड्काले सुवास नेम्वाङसँग प्रतिस्पर्धा गरेका थिए ।

एमाले विभाजित भएको, राजनीतिक परिस्थिति प्रतिकुल रहेको अनि पाँचदलीय गठबन्धन हुँदा पनि नेम्वाङ ११४ मतको झिनो अन्तरले (३० हजार २० मत पाएर) विजयी भएका थिए । तर सुवास नेम्वाङको निधन भएपछि गरिएको उपचुनावमा उनकै कान्छा छोरा सुहाङ फराकिलो अन्तरले जित्ने संभावना बढेको छ ।

भलै सुहाङलाई माओवादीको समर्थन छ । तर सँगै प्रतिकुलताहरु पनि धेरै थिए । विशेषगरी प्रदेशको नाम कोशी राख्ने गत वर्ष १७ फागुनको निर्णयपछि पहिचान पक्षधरहरु एमालेविरुद्ध खनिएका थिए ।

एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई, प्रदेश संसदीय दलका नेता हिक्मत कार्की र उपनेता राम रानामाथि पहिचान पक्षधरले पटकपटक आक्रमणकै प्रयास गरे । इलाम–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रानामाथि कुटपिटकै प्रयास भयो । प्रदेशको नाम कोशी राख्ने प्रस्तावका प्रस्तावक बसेकाले रानामाथि पहिचान पक्षधरको चर्को आक्रोश थियो ।

कोशी नाम राख्ने प्रदेशसभाका सबै प्रदेशलाई निषेध गर्ने निर्णय भएपनि पहिचान पक्षधरहरुले एमाले बाहेकका दलप्रति तुलनात्मक नरम व्यवहार देखाएका थिए ।

तर एमालेलाई प्रदेशमा निषेध नै गर्ने योजना अन्तर्गत मध्यपहाडी संकल्पमा निस्किएको एमाले टोलीलाई ओखलढुंगाको टोक्सेलबाट अगाडि बढ्न नदिने प्रयास समेत गरिएको थियो ।

कोशी नाम राख्ने निर्णयविरुद्ध भएको आन्दोलनमा गत वर्ष ५ चैतमा एक जनाको ज्यान नै गएको थियो । नाम संशोधन नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिइरहेको पहिचान पक्षधरहरुले यो उपचुनावमा साझा उम्मेदवारका रुपमा डकेन्द्र थेगिमलाई उम्मेदवार बनाएका थिए । सरकारमै रहेका जसपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा सहित सबै जातीय तथा सामाजिक संस्थाहरुको समर्थन थेगिमले पाएका थिए ।

उनीहरुको उद्देश्य यो उपचुनावबाट जितेर आफ्नो एजेण्डालाई राष्ट्रिय बहसमा लैजानु थियो । त्यसका लागि बलियो जनमत भएको एमालेलाई हराउनुपर्ने थियो । अझ धरानका मेयर हर्क साम्पाङले थेगिमको उम्मेदवारीलाई प्रतिष्ठा बनाएका थिए ।

तर मुढा चिन्ह पाएका थेगिमले एमाले रोक्न सकेनन् । पूर्वमुख्यमन्त्री कार्की उपचुनावको सन्देशलाई पहिचान पक्षधरले आत्मसाथ गरेर जानुपर्ने बताउँछन् । ‘यो नतिजालाई कोशी नामको जनअनुमोदन पनि हो भन्ने बुझ्नुपर्छ’, उनी भन्छन् ।

पहिचान पक्षधर बाहेक एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि चुनौती थियो । गत वर्ष १० वैशाखको उपचुनावमा तनहुँ–१ मा कांग्रेसलाई हराएर उत्साहित बनेको रास्वपाले यसपटक इलामबाट एमाले हराउन चाहन्थ्यो । त्यसका लागि माओवादी पृष्ठभूमिका मिलन लिम्बुलाई उम्मेदवार बनाएर रास्वपाका सभापति रवि लामिछाने सहित सम्पूर्ण पार्टी पंक्ति परिचालित भएको थियो । तर रास्वपाले लज्जास्पद नतिजा ल्यायो ।

एमाले सचिव योगेश भट्टराई, उपचुनावले पपुलिज्म अस्थिर रहने सन्देश गएको बताउँछन् । ‘मुलुक हाँक्न राष्ट्रिय शक्ति चाहिन्छ । पपुलिज्म अस्थिर हुन्छ, यसको हाँगा त हुन्छ तर जरा हुँदैन भन्ने प्रष्ट भयो’ उनी भन्छन् ।

रास्वपाले भने यो उपचुनावलाई आगामी आमचुनाव–२०८४ सँग जोडेर प्रचार गरेको थियो । आगामी चुनावमा एकल बहुमत ल्याउन आधार उपचुनावको नतिजाबाट रास्वपाले तयार पार्न खोजेको थियो । त्यसैले रास्वपाले उपचुनावमा सम्पूर्ण शक्ति खर्च गरेको थियो ।

तर मिसन–०८४ कै लक्ष्य लिएको एमालेले रास्वपा रोकेर उत्साहित बातावरण बनाउन सफल भयो । ‘पूर्वको इलामदेखि पश्चिमको बझाङसम्मले दिएको सन्देश मिसन–०८४ सँग सम्बन्धित छ’ स्थायी कमिटी सदस्य कार्की भन्छन्, ‘कतिपयले पुराना दलहरुको सान्दर्भिकता माथि भ्रम छरेका थिए, तर एमाले र कांग्रेस नै हो मुल शक्ति भएको जनादेश आयो ।’

अर्का एक नेता भने इलाममा कांग्रेसभन्दा पनि रास्वपा र पहिचान पक्षधरको चुनौती एमालेका निम्ति अर्थपूर्ण थियो । ‘कांग्रेससँग हार्दा एमालेलाई केही फरक पर्दैन थियो । तर पहिचान पक्षधर र रास्वपाको जितले कोशी सहित देशभर एमाले रक्षात्मक बन्न सक्थ्यो’ ती नेता भन्छन् ।

यद्यपि जितसँगै संभावित खतरा टरेको छ । सँगै, एमालेले आगामी राजनीतिक कोर्सका निम्ति लिएको उद्देश्य समेत उपचुनावबाट पूरा भएको छ ।

आगामी आमचुनाव–०८४ मा एकल बहुमत घोषणासहित गतिविधि गरिरहेको एमाले नेताहरुले एक्लै राष्ट्रिय शक्ति बन्ने बताइरहेका छन् । गत वर्षको उपचुनावमा हारे बेहोर्दा पनि अन्य दलसँग गठबन्धन नगरेको एमालेले यसपटक पनि एकल उम्मेदवारी घोषणा गरेको थियो ।

गत २१ फागुनमा सत्ता समीकरण फेरिए पनि एमालेले सत्ता साझेदार दलहरुसँग छलफल नगरी दुवै क्षेत्रको उम्मेदवार टुंग्याएको थियो । गत ११ चैतमा इलाममा सुहाङ र बझाङमा दमनबहादुर भण्डारी उम्मेदवार बनाउने निर्णय लिदा सत्ता साझेदार दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा अप्ठयारोमा परेका थिए ।

आफूसँग सल्लाह नगरी उम्मेदवार घोषणा गरेको भन्दै एकीकृत समाजवादीले दुवै क्षेत्रमा अलग्गै उम्मेदवारी दियो । बझाङमा अलग्गै उम्मेदवार बनाएपनि इलाममा भने माओवादी केन्द्रले एमालेलाई नै समर्थन गर्यो । जसपाले त पहिचान पक्षधर उम्मेदवार थेगिमलाई सहयोग गरेको थियो ।

अर्थात् माओवादी केन्द्रले इलाममा सुहाङलाई समर्थन गर्नु बाहेक सत्ता साझेदारहरु यो उपचुनावमा एकठाउँ रहन सकेन । यस्तो परिस्थितिको चाहना र वकालत एमालेले नै गर्दै आएको थियो ।

तर सत्ता साझेदारहरुबीच नै प्रतिस्पर्धा हुँदा पनि कांग्रेसलाई हराउनसक्ने सन्देश बझाङबाट दिन एमाले सफल भयो । यो क्षेत्रमा माओवादीका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ८३१ र एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार ५१४ मत ल्याउँदा पनि कांग्रेसले जित्न सकेन । कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत पाउँदा ११ हजार ६१३ मत ल्याएर एमालेका दमन भण्डारी निर्वाचित भए ।

जबकी सुदूरपश्चिम सरकार गठनमा प्रदेशसभाको गणितकै कारण माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु सत्ता साझेदारको एउटै उम्मेदवार बनाउनुपर्ने पक्षमा थिए । तर एक्लै निर्णय गरे अगाडि बढेको एमालेले कांग्रेसको जित उल्ट्याउन सफल भयो ।

एमाले सचिव भट्टराई, उपचुनावको नतिजा एमालेको पक्षमा आउनुमा चार कारण रहेको बताउँछन् । ‘राष्ट्रिय राजनीतिमा हामीले लिएको अडान, उम्मेदवार चयनमा अपनाइएको सुझबुझपन, संगठनात्मक शक्ति र पार्टीभित्रको एकताबद्ध प्रयासले सफलता मिल्यो’ भट्टराई भन्छन् ।

तर मिसन–०८४ सफल बनाउन पार्टीभित्रको कमजोरीलाई सच्याउन अझै बाँकी रहेको उनी बताउँछन् । ‘यो उपचुनावमा सफल भयौ भनेर हौसिन हुँदैन । किनकि हामीसँग अझै कमजोरी छन्, त्यसलाई सच्याएर अगाडि बढ्नु हाम्रो दायित्व हो’, सचिव भट्टराई भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?