+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एमालेका प्रतिनिधिलाई खान बस्नकै पीर

एमालेको महाधिवेशनका प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भएको छ । नेतृत्व चुन्न र चुनिन आएका प्रतिनिधहरूले गास बासको व्यवस्था आफैंले गर्नुपर्ने छ । तर काठमाडौंमा आफन्त नहुने प्रतिनिधि होटलमा बस्नुपर्ने बाध्यता छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ मंसिर २५ गते २०:३५

२५ मंसिर, काठमाडौं । एमाले महाधिवेशनको प्रतिनिधि बनेर आएका बाँकेका मानबहादुर रुचाल ठकुरी सुन्धाराको होटलमा बसिरहेका छन् । तीन दिनअघि काठमाडौं आएका उनले आफ्नै खर्चमा गाँसबासको व्यवस्था गरेका छन् ।

‘होटलमा बसेको छु । एक दिनको कोठा भाडा १ हजार छ । खाना सहितको गरेर दिनको २ हजार जति खर्च हुने रहेछ,’ बुधबार च्यासल पार्टी कार्यालयमा पुगेका उनले भने, ‘आफ्नो व्यवस्थापन आफैंले गरेको छु ।’

उनका अनुसार बाँकेबाट २६ जना प्रतिनिधि छन् । ‘कोही आइसके । कोही आउने क्रममा छन् । सबैले आफ्नो ढंगले व्यवस्थापन गर्ने हो,’ उनले भने ।

एमालेले महाधिवेशन प्रतिनिधिले खाने बस्ने व्यवस्थापन आफैंले गर्नुपर्ने निर्णय गरेको छ । त्यसैले प्रतिनिधिहरूले आफ्नो व्यवस्थापन आफैंले गरिरहेका हुन् । एमाले सचिव छविलाल विश्वकर्मा प्रतनिधिलाई आफन्त वा साथी भाइकोमा राख्ने तय भएको बताउँछन् ।

‘प्रतिनिधिको आवासको बन्दोबस्त आम रुपमा गरिएको छैन । काठमाडौंमा कोही न कोही आफन्त हुन्छ । छोराछोरी आफन्त हुनेले स्वयंले व्यवस्थापन गर्ने हो,’ सचिव विश्वकर्माले भने, ‘कसैको कोही पनि नुहने वा अफ्ठ्यारोमा परेकालाई साथीभाइकोमा राख्ने भनिएको छ ।’

सचिव विश्वकर्माका अनुसार अफ्ठ्यारोमा परेका प्रतिनिधिले जिल्ला अध्यक्ष वा प्रदेश अध्यक्षलाई भन्नु पर्ने हुन्छ । ‘प्रदेश र जिल्ला अध्यक्षलाई भनेपछि उहाँले सम्बन्धित जिल्ला सम्पर्क मञ्चलाई भन्नु हुनेछ । त्यसपछि असहज भएका प्रतिनिधिलाई राख्ने काम सम्पर्क मञ्चले गर्ने छ,’ उनले भने ।

प्रतनिधिहरू धमाधम जिल्लाबाट काठमाडौं आइरहेका छन् । र, आएकाहरू नेता भेट्न च्यासल पुगिरहेका छन् । त्यहाँ पुगेका प्रतिनिधिहरू कहाँ बस्ने के गर्ने भन्ने अन्योलमा देखिए ।

रौतहटबाट बुधबार काठमाडौं आएकी बिना साह आफन्तको घरमा बसिरहेका छिन् । तर, भोलि सबै प्रतिनिधिहरू काठमाडौं आइपुग्दै छन् । कहाँ कुन होटलमा बस्ने भनेर काठमाडौं आउन लागेका प्रतिनिधिसँग फोनमा कुरा गरिरहेकी थिइन् ।

‘म आफन्तकोमा बसेको छु । भोलि सबै प्रतिनिधि आइपुग्छन् । साथीहरूलाई कहाँ कुन होटलमा राख्ने भनेर छलफल गरिरहेको छु,’ उनले भनिन्, ‘साथीहरू आएपछि म पनि होटलमै बस्छु ।’

बाजुराबाट १६ जना प्रतिनिधि काठमाडौं आइपुगेका छन् । कोही आफन्तकोमा कोही होटलमा बसेका छन् । ‘जिल्लाबाट सबै प्रतिनिधि आइपुगेका छौँ । अहिलेसम्म आफैंले मिलाएर बसेका छौँ,’ बाजुरा जिल्ला कमिटी सचिव काशी विकले भने ।

बन्दसत्र सुरु भएपछि भने पार्टीले नै खानाको व्यवस्था गर्ने आशा प्रतिनिधिको छ । ‘बन्दसत्र सुरु भएपछि खानाको व्यवस्था आयोजकले गर्ला कि । तर नेता चुन्न र चुनिन आएका हौँ । कसैले बसाउला भात खुवाला भनेर आएको होइन,’ उनले भने, ‘प्रतनिधिहरू अलपत्र हुदैनन् भन्ने विश्वास छ ।’

प्रतिनिधि चयन चुनिएपछि प्रतिनिधि शुल्क २ हजार पार्टीको खातामा हालेका छन् । तर गास बासको व्यवस्था आफैंले गर्नुपर्ने बाध्यतामा प्रतनिधि छन् । डोटीबाट १० जना प्रतिनिधिको टोली काठमाडौं आइपुगेको छ । सबै होटलमा बसेका छन् । ‘महाधिवेशन सफल बनाउन व्यक्तिगत खर्चमा आएका हौँ,’ डोटी जिल्ला अध्यक्ष मञ्जु मलासीले भनिन् ।

तर एमाले सचिव विश्वकर्मा होटलमा नभइ साथीभाइकोमा बस्ने व्यवस्था मिलाइएको बताउँछन् । ‘होटलमा खर्च गरेर होइन । साथीभाइकोमा मिलाएर राख्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘तर, समस्या नभएकाले आफ्नो व्यवस्था आफैंले गर्ने हो ।’

सर्लाहीबाट २२ जना प्रतिनिधिको टोली आएको छ । यो टोल भने आफन्तकोमा बसेको छ । ‘हिजो बेलुका आइपुगेका हौँ । सबै जना आफन्तकोसमा बसेका छौँ,’ सर्लाहीका अध्यक्ष राजनारायण साहले भने ।

नेतृत्व चुन्न आएका प्रतनिधिहरू लामो समय काठमाडौ बस्न असज हुने भएकाले सहमतिबाट अगाडी बढ्न नेताहरूलाई सुझाउछन् ।

पार्टी मुख्यालय च्यासलमा आएका प्रतिनिधिहरूमध्ये एक हुन्, कल्पनाकुमारी थापा चन्द । कल्पना आफ्नो काखे बालक च्यापेर महाधिवेशनमा सहभागी हुन कर्णाली प्रदेशको दैलेखबाट आएकी छिन् । यो चिसो मौसममा उनी आफ्ना बच्चालाई काखमा च्यापेर बिहीबार च्यासल पुगेकी थिइन् ।

कल्पना महाधिवेशनलाई राजनीतिक जीवनको उत्सवको रूपमा लिन्छिन् । यो चिसो मौसममा पनि बच्चा च्यापेर काठमाडौं आउन आफूलाई उत्प्रेरित गरेको सुनाउँछिन् । तर उनी भन्छिन्, ‘पार्टीको महाधिवेशन राजनीतिक जीवनको उत्सव हो । त्यसैले बच्चाका कारण यो उत्सवलाई छोड्ने कुरा पनि आएन । र, आमाको जिम्मेवारीले बच्चा छोडेर आउने कुरा पनि भएन ।’

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा पार्टीका शीर्ष नेताहरूलाई सुझाव दिन्छिन् । ‘मुलुकको विषम परिस्थितिमा पार्टीको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ । समूहमा विभाजन भएर होइन, कम्युनिस्ट पार्टीलाई एक ठाउँमा राख्ने महाधिवेशन बनाउनुपर्छ,’ उनले भनिन् ।

यी त प्रतिनिधि पात्र मात्र हुन, महाधिवेशाबाट नेतृत्व चुन्न र चुनिन देशभरबाट करिब २३ सय प्रतिनिधि काठमाडौंमा आउने छन् । एमाले महाधिवेशन २७ मंसिरदेखि २९ गतेसम्म चल्नेछ । उद्घाटन भक्तपुरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?