News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- अख्तियारले गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी लगायत उच्चपदस्थ अधिकारीहरुको अनुसन्धान भइरहेको जनाएको छ।
- अख्तियारले तिर्थराज भट्टराई र एजेन्टहरुबाट बरामद ग्याजेटहरुको परीक्षणपछि थप अनुसन्धान भइरहेको दाबी गरेको छ।
२५ मंसिर, काठमाडौं। एकाबिहानै घाम उदाउन पाएको हुँदैन, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख एवं सहसचिव तिर्थराज अर्यालले फेमिली होलिडेजका सञ्चालकलाई म्यासेज गर्छन्, ‘भाई, जस्ट(मात्रै) ९० प्लेट मो:मो ।’ केहीबेरमा उनले जवाफ फर्काउछन्, ‘मो:मो आइसकेको रहेछ।’
उनले घरी भाउजुलाई गिफ्ट भनी सामान माग्छन् त घरी एकाबिहानै मो:मो अर्डर गर्छन्। खानेकुरा र घरव्यवहारको कुरा चलिरहेजस्तो देखिएपनि अख्तियारको दाबीमा त्यो ‘घूस लेनदेनको सांकेतिक कोड’ हो। अख्तियार स्रोतका अनुसार, उनले बारम्बार ८०-९० प्लेट मो:मो मागेर आफूले एक्लै त्यतिधेरै मो:मो नखाएर र अन्यत्र पठाउनुपर्ने संकेत गरेका थिए ।
विभिन्न मुलुकहरुमा नेपाली कामदारहरुलाई भिजिट भिसामा पठाउँदा घूस लिने संयन्त्र नै खडा गरेको आरोपमा अख्तियारले सहसचिव भट्टराईलाई अनुसन्धानको दायरामा ल्याएको थियो।
त्यसक्रममा उनले ‘अध्यागमन कार्यालयमा विभिन्न समयमा खाजा खादाँको ९० प्लेट म:म: को कुरा भएको’ भनी जवाफ दिएका थिए । पछि त्यो घूसको कोड भएको खुल्यो ।
०००
६ महिनाभन्दा लामो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भिजिट भिसा प्रकरणमा घूस लिएको आरोपमा ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । गृहमन्त्री रमेश लेखक जोडिएको घटनामा अख्तियारले सहसचिव भट्टराई र उनी मातहतका कर्मचारी र एजेण्टलाई मात्रै मुद्दा चलाएको हो ।
अख्तियारले अनुसन्धानको दायरामा परेका गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी लगायतका उच्चपदस्थ अधिकारीहरुको छानबिन नटुंग्याएर सहसचिव तिर्थराज भट्टराई लगायतलाई मात्रै प्रतिवादी बनाएको छ ।
अख्तियारले विशेष अदालतमै पेश गरेको आरोपपत्रसहितको विवरणमा लेखक लगायत गृहका उच्च अधिकारीहरुमाथि अनुसन्धान चलिरहेको उल्लेख छ ।
उसको लिखित विवरणलाई विश्वास मान्ने हो भने गृहमन्त्री लेखक, निवर्तमान सचिव दुवाडी सहित गृहका कम्तिमा तीन सहसचिव लगायतहरुमाथि अनुसन्धान भइरहेको छ ।
त्यति हुँदाहुँदै पनि उसले उच्चपदस्थ राजनीतिज्ञ र अरु कर्मचारी मुछिएको अनुसन्धान भने टुंग्याएको छैन । फरक घटनाक्रम, व्यक्ति संलग्न भएको विषयमा छुट्टाछुट्टै आरोपपत्र ल्याउनु भन्ने २०७४ सालको मुद्दामा भएको आदेश भन्दै अख्तियारले अरुको हकमा छुट्टै अनुसन्धान भइरहेको जनाएको हो ।
अख्तियारले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएका सहसचिव भट्टराईसँग ७९ लाख ८० हजार, अध्यागमन अधिकृत यज्ञराज अर्यालमाथि ८ लाख, ग्रिनलाईन होलिडेज प्रा.लि.का अध्यक्ष बालकृष्ण खड्कामाथि ३० लाख २० हजार रुपैयाँ बिगो मागदाबी गरेको हो ।
त्यसैगरी फेमिली होलिडेजका सञ्चालक दिपक भण्डारीमाथि १० लाख ६० हजार, ग्रीनलाईनका सञ्चालक राम खड्कासँग ३० लाख २० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । कविता पौडेल र खेम सुवेदीमाथि ७९ लाख ८० हजार बिगो मागदाबी छ । कविता पौडेल सहसचिव तिर्थराज भट्टराईकी गाँउकी बहिनी हुन् भने सुवेदी जग्गा कारोबारी रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
प्रमुख मालपोत अधिकृत तिर्थराज भट्टराई सहित कविता पौडेल र खेम सुवेदीमाथि अपराध गरेर सम्पत्ति कमाएको आरोपमा एक करोड ३ लाख रुपैयाँ बिगो मागदाबी सहित सम्पत्ति शुद्धिकरणको मुद्दा समेत दायर भएको छ ।
अख्तियार भन्छ- ‘लेखकमाथि अनुसन्धान भइरहेको छ’
अख्तियारले विशेष अदालतमा पठाएको विवरण अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको साथबाट डायरी बरामद भएको थियो भने नेपाल टेलिकमबाट उनको कल डिटेल रेकर्ड(सीडीआर) विश्लेषण भएको थियो ।
त्यसक्रममा विश्लेषण गर्दा तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्बन्ध भएको देखिएको थियो । अख्तियारले ती दुई सरकारी अधिकारी बाहेक गृहमन्त्री, गृहसचिव, अध्यागमन विभागका महानिर्देशक, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुखमाथि अनुसन्धान भइरहेको जनाएको हो ।
अख्तियारले प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई धरपकड गरी उनका ग्याजेटहरु बरामद गरेका बेला गोविन्द रिजाल अध्यागमन प्रमुख थिए भने रामचन्द्र तिवारी शान्तिसुरक्षा हेर्ने महाशाखा प्रमुख थिए । अख्तियारले उनीहरुमाथि ‘गैरकानूनी रकम लेनदेन भएको हुनसक्ने देखिएको’ भनेको छ ।
उनीहरु बाहेक अध्यागमन हेर्ने गृहमन्त्रालयको महाशाखा प्रमुख, गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवका सचिवालय र अन्य कर्मचारीहरुमाथि पनि अनुसन्धान भइरहेको अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा उल्लेख छ ।
त्यतिबेला अध्यागमन हेर्ने शान्तिसुरक्षा महाशाखा प्रमुखमा रामचन्द्र तिवारी थिए भने छवि रिजाल प्रशासन महाशाखा प्रमुख थिए । गृहको प्रशासन शाखा प्रमुख सुरेश जोशी, गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी, स्वकीय सचिव जनक भट्ट थिए ।
अख्तियारले विशेष अदालतमा विवरण पठाएर भनेको छ, ‘(माथि उल्लेखित) छुट्टाछुट्टै विषय, वारदात, समय तथा संलग्न प्रतिवादीहरु भएको सम्वन्धमा छुट्टै अनुसन्धान भई रहेको बेहोरा जानकारीको लागि अनुरोध छ ।’
के भट्टराई एक्लैले ‘९० प्लेट मोःमोः’ खाए ?
अख्तियारले विश्लेषण गरेको कुराकानी र संवाद हेर्दा भिजिट भिसा प्रकरणको अनुसन्धान तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईको तहमा सीमित भएको छ । उनले रकम उठाउन बजारमा खडा गरेका एजेन्टसँग सांकेतिक रुपमा कुरा गरेको भेटिएको छ ।
एजेन्ट र भट्टराईबीच कुराकानीको क्रममा एजेन्टका व्यक्तिले ‘कसलाई दिने हो पैसा ?’ भनेर सोधेका थिए । जवाफमा ती एजेन्टले ‘डीजी साबलाई दिने हो, अहिले त्यहाँ आइसकेपछि रेष्टुरेन्टमा झोलामा हाली राख्ने । अनि पार्सल दिएको जस्तो गर’ भनेको अडियो म्यासेज नै भेटिएको छ ।
एक एजेण्टले रेष्टुरेन्ट पनि चलाएका थिए, जुन ठाँउ घुसको रकम आदानप्रदान गर्ने थलो भएको अख्तियारको विवरणमा उल्लेख छ ।
बाहिर एजेन्टहरुबाट रकम उठाउने तिर्थराजले कर्मचारीहरुलाई भने ‘आफूलाई खबर नगरी झुक्याएर मान्छे नपठाउन’ खबरदारी गरेका थिए । अख्तियारलाई संकेत गर्दै उनले रातो घर सक्रिय बनेकाले होसियारीमा रहन म्यासेज गरेका थिए ।
तिर्थराजले एउटै स्कूलमा पढेकी साथीको मोबाइल चलाउँथे । उनकी छोरीको विहेमा नगद सहयोग गरेका थिए, अनि उनकै नाममा जग्गा किनिदिएको समेत खुलेको छ ।
एक दिन तिर्थराजले अर्कै एजेण्टलाई ‘भाई जस्ट ९० प्लेट मो:मो रहेछ है’ म्यासेज गरेर सोधेका थिए । तिर्थराजले अर्कोपटकको म्यासेजमा ‘कसैले पठाइदिएको सामान रहेछ, खोलेर हेर्दा ९० मोः मोः मात्रै रहेछ’ भनी जवाफ लेखेका थिए ।
त्यसमाथि अख्तियारमा केरकार चल्यो । उनले बयानमा ‘सबै कर्मचारी मिलेर ९० प्लेट मोःमो मगाएर खाएको र त्यही कुरो गरेको दाबी गरे । जब कि, मो:मोको गफ भएको समय खोतल्दा बिहान ९ बजे आसपासको घटना थियो । एक एजेन्टले ‘घूसलाई मोः मो भनी संकेत गरिएको’ भनी स्पष्ट विवरण खुलाए ।
‘भाउजूलाई भ्यालेन्टाइन गिफ्ट किनिदेऊँ’
पोखराको एक ट्राभलका मार्केटिङ अफिसर दिपक थापाका अनुसार अध्यागमनका कर्मचारीहरुले ‘भिजिट भिसामा पठाउन पैसा लाग्छ र माथि नाम टिपाउनुपर्छ’ भनी बताएका थिए ।
उनीहरुले त्यसका लागि गन्तव्य मुलुक, कामदारको अवस्था र महिला वा पुरुष हेरेर ४५ देखि ५० हजार रुपैयाँ लाग्ने बताएका थिए, महिला भए झण्डै दोब्बरको हाराहारीमा घूस खुवाउनुपर्ने अख्तियारको दाबी छ ।
तिर्थराजले घरायसी र सामान्य प्रकृतिका खर्चहरु समेत एजेण्टहरुलाई भराएको भेटिएको छ । १४ फेब्रुअरी, २०२५ मा भ्यालेन्टाइनका दिनमा उनले एक एजेण्टलाई ‘भाउजूलाई केही किनेर लगिदिनु’ भन्दै म्यासेज पठाए । उनले आफ्नी पत्नीलाई संकेत गर्दै ती एजेण्टलाई म्यासेज गरेका रहेछन् ।
अभियोगपत्रमा उल्लेखित विवरण अनुसार, एक फरक युवतीसँग तीर्थराजले अन्तरंग गफ गरेको भेटिन्छ, जो व्यक्ति मुद्दामा भने प्रतिवादी बनेकी छैनन् । उनले ती युवतीलाई ‘कहिँ नभएर मैले मन भारी भएर फोन गर्दा तिमीलाई दिग्दार भयो होइन, नाटक गर्ने ?’ भनी म्यासेजमा सोधेका थिए ।
जवाफमा ती युवती जंगिइन् । उनले भनिन्, ‘आजदेखि मलाई तिम्रो पैसा चाहिँदैन, खाता देउ पैसा फिर्ता गरिदिन्छु ।’ ती युवतीको खातामा तिर्थराजले रकम पठाउने र अरु सामान किनिदिएको भेटिएको छ ।
तीर्थराजले कतिपय घुसको डिल र कारोबारमा गोपनीयता अपनाउँदैनथे । खुलमखुला कुराकानी गर्ने र विवरण पठाउने उनका कयौं ग्याजेटमाथि अनुसन्धान भइरहेको अख्तियारको दाबी छ । यतिसम्म कि उनले आफ्नो निजी मोबाइलबाट सरकारी मोबाइलमा ह्वाटस् एपबाट घूसको विवरण नै पठाएको समेत फेला परेको भन्दै अख्तियारले विशेष अदालतमा विवरण पेश गरेको छ ।
उनले कृष्ण खड्काको रेष्टुरेन्टमा गई छोराछोरीलाई खाना प्याक लिएर गएको र बारम्बार अध्यागमनको महानिर्देशकसँग खाना खान गएको बताएका छन् ।
अख्तियारका अनुसार भिजिट भिसामा जाने कतिपयका बारेमा अध्यागमन विभागका तत्कालीन महानिर्देशक गोविन्द प्रसाद रिजालको पनि नाम जोडिएको छ । उनको नाम लिई बालकृष्ण खड्काले कयौं व्यक्तिहरुको नाम टिपाएका थिए ।
कयौं व्यक्तिहरुले खाएको ‘मो:मो’ छानबिनमा
ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्का र उनकी श्रीमती एउटै कम्पनीमा काम गर्छन् । उनीहरुले आपसी रुपमा सहसचिव तिर्थराज भट्टराईले दिने घूस र अरु हिसाबकिताबका बारेमा पनि कुराकानी गरेको भेटिएको छ ।
उनीहरुले एकदिन ‘३८० मनकुमार श्रेष्ठलाई दिनुछ’ भनी संवाद गरेको भेटियो । त्यसको केही दिनमा उक्त कम्पनीको लेखाको लेजनमा ‘मनकुमार श्रेष्ठ’का नाममा ३ लाख ८० हजार खर्च लेखेको भेटियो, सोध्दा उनीहरुले नाम बताउन खोजेनन्, पछि ती मनकुमार श्रेष्ठ तिनै तिर्थराज भट्टराई भएको खुल्यो ।
अख्तियारको दाबीमा, एजेण्टको भूमिकामा रहेका बालकृष्ण खड्का र दिपक भण्डारीबाट नामावली पाउने, उनीहरुलाई अध्यागमनबाट पार गराएपछि तिर्थराजले पुरुषलाई २० हजारका दरले र महिलालाई ४० हजारका दरले हिसाब राख्ने गरेको भेटिएको छ ।
अख्तियारले कयौं विवरण अनुसन्धानको क्रममा रहेको दाबी गरेको छ । तिर्थराजका सहकर्मी रहेका अरु कर्मचारीहरुको संलग्नता र भूमिकामाथि केही संकेत गरेको अख्तियारले आरोपपत्रमा गृहमन्त्री लेखक, उनका स्वकीय र नीजि सचिवहरु अनि गृहसचिव गोकर्णमणि दुवाडीका बारेमा आरोपपत्रमा कुनै संकेतहरु खुलाएको छैन ।
उनीहरुमाथि अनुसन्धान भइरहेपछि किन र कति कारणले अनुसन्धान भएको भन्ने आरोपपत्रमा खुलाएको छैन । आरोपपत्रमा पेश भएका संवाद र अरु विवरणहरु समेत गृहमन्त्री लेखक र सचिव दुवाडी लगायत गृहका कर्मचारीहरुलाई घूस दिइएको भन्ने आशंकालाई बल पुग्ने खालका छैनन् ।
तर अनलाइनखबरको सम्पर्कमा आएको अख्तियारको स्रोत मोःमो को संकेतबाट अनुसन्धान माथिल्लो तहमा पुग्ने दाबी गर्छन् । ‘त्यहाँ तिर्थराज सरले मात्रै मोःमो खाएको विवरण छ, हरेक पटक ९० प्लेट मगाउने उनले एक्लै मोःमो खाए होलान् ?’ अख्तियारसम्वद्ध स्रोतले भन्यो, ‘मोःमोको संकेत र मनकुमार श्रेष्ठमाथि केन्द्रित हुने हो भने अनुसन्धान माथिसम्म पुग्नसक्छ ।’
अख्तियारले यसअघि पनि विशेष अदालतमा पेश गरेका कयौं ठूला भ्रष्टाचारका फाइल र मुद्दामा अर्को चरणमा पनि अनुसन्धान चलिरहेको भनी विवरण पठाएपनि अहिलेसम्म अर्को चरणको मुद्दा पेश गरेको छैन ।
वाइडबडी प्रकरण, सुनिल–विकलको घूसको सञ्जाल, पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालले घुस लिएको अनुसन्धान त्यसका उदाहरण हुन् । तर यसपटक भने अनुसन्धानको दायरामा परेका व्यक्तिहरुको पद नै उल्लेख गरेर अख्तियारले उनीहरुमाथि अनुसन्धान भइरहेको दाबी गरेको हो, जुन यसअघि अभ्यास हुँदैनथ्यो ।
अख्तियारले केही छानिएका प्रमाण र विवरण विशेष अदालतमा बुझाएपछि तिर्थराजको कार्यकालमा विदेश पठाएका कयौंमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
अनुसन्धानकै क्रममा तिर्थराज भट्टराई अनि एजेन्टहरु बालकृष्ण खड्का र दिपक भण्डारीको घरकोठाबाट अख्तियारले ग्याजेटहरु बरामद गरेको थियो ।
ती उपकरण परीक्षणका क्रममा रहेको भन्दै अख्तियारले उनीहरुको सम्पर्क र सम्बन्धमा रहेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको दाबी गरेको छ ।
अख्तियारले विशेष अदालतमा पठाएको अभियोगपत्रमा भनेको छ, ‘प्रतिवादीहरूको सम्बन्ध र सम्पर्क व्यक्ति र निकायहरूसँग समेत देखिन गई लेखिएका विषयहरूमा थप छुट्टै अनुसन्धान हुनुपर्ने देखिएको ।’
प्रतिक्रिया 4