+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares
काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालको दाबी :

‘उच्चपदस्थ पदाधिकारीहरूको समन्वयमा घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ’

सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजालले भवनको पर्खाल तोडफोड तथा आगजनी गरी अनियन्त्रित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू लगाउने र अरु बल प्रयोग गर्नुपरेको जिकिर गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते २०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनमा उच्च पदस्थ पदाधिकारीहरूसँग समन्वयमा बल प्रयोगको निर्देशन दिएको बताएका छन्।
  • रिजालले संसद भवन वरपरको आगजनी र तोडफोडपछि कर्फ्यू लगाएर स्थिति नियन्त्रण गर्न प्रयास गरेको र रबरको गोली चलाउन आदेश दिएको दावी गरेका छन्।
  • उनले संसद भवनभित्र खटिएका विशेष सुरक्षा दस्तालाई गोली प्रहारको जिम्मेवार ठहर्याएका छन् र आफूलाई कारवाही गर्न नहुने उल्लेख गरेका छन्।

२५ मंसिर, काठमाडौं। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले ‘उच्च पदस्थ पदाधिकारीहरू’को समन्वयमा भदौ २३ गते जेनजी आन्दोलनमा आफूहरुले बल प्रयोगको निर्देशन दिएको बताएका छन् ।

सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजालले भवनको पर्खाल तोडफोड तथा आगजनी गरी अनियन्त्रित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू लगाउने र अरु बल प्रयोग गर्नुपरेको जिकिर गरेका हुन् ।

सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा उनले भनेका छन्, ‘पर्खाल तोडफोड तथा आगजनी गरेपछि स्थिति नियन्त्रण गर्न उच्च पदस्थ पदाधिकारीहरूसँग समेत समन्वय गरी जिल्ला सुरक्षा समितिको सिफारिसमा संसदभवन आसपासमा कफ्र्यूको आदेश जारी गरिएको थियो ।’ उनले ती उच्चपदस्थ पदाधिकारी को हुन् भन्ने जवाफमा खुलाएका छैनन् ।

कर्फ्यूपछि प्रदर्शनकारीहरु तितरबितर हुने अपेक्षा भएकोमा स्थिती झनै उत्तेजित बनेको भन्दै उनले जवाफमा भनेका छन्, ‘एकातिर संसद भवन तोडफोड र आगजनीबाट जोगाउन र अर्कोतिर प्रदर्शनका युवाहरुको जीउ ज्यानको सुरक्षा गर्नु दुवै जिम्मेवारी थियो ।’

तत्कालीन सीडीओ रिजालले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रयास गरिरहेका सुरक्षाकर्मीहरुले सिलसिलेवार रुपमा सामान्य बल प्रयोग गरेको, तरपनि स्थिती अनियन्त्रित भएर तनाबपूर्ण भएको जिकिर गरेका हुन् ।

आफूले न्यूनतम बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशित गरिरहेको भन्दै अन्तिम विकल्पको रुपमा मात्रै घुँडाभन्दा तल रबरको गोली चलाउन आदेश दिएको दावी गरेका छन् । तर त्यो दिन अनलाइनखबरसँगको प्रतिक्रियामा भने उनले आफूले गोली नै चलाउन आदेश दिएको बताएका थिए ।

कर्फ्यू लगाउन उच्चपदस्थ पदाधिकारीहरुसँग समन्वय गरेको दावी गर्ने उनले त्यसपछि बल प्रयोगको मात्रा बढाउदा कुन तहको समन्वय थियो भन्ने खुलाएका छैनन् । तर घुडामुनी गोली हान्न भने आदेश दिएको स्विकारेका छन् । र, गोली प्रहार गर्ने घटनामा पनि संसद भवनभित्र खटिएका विशेष सुरक्षा दस्तालाई जिम्मेवार ठह¥याएका छन् ।

उनले जवाफमा भनेका छन्, ‘कफ्र्यूको आदेश जारी भए पश्चात् पनि भौतिक सम्पत्ति भन्दा प्रदर्शनमा सहभागी भएका युवाहरूको जीवन महत्वपूर्ण रहेको तथ्यलाई आत्मसात गरी मैले गोली चलाउने (फाइभ फायर गर्ने) आदेश दिएको छैन ।’

आक्रोशित समूहले संसद भवनको चारैतिर तोडफोड र आगजनी गर्न थालेको र त्यहाँ रहेका सुरक्षाकर्मीमाथि हंसात्मक रुपमा जाइलागेको उनको जिकिर छ । संसद भवन परिसरभित्र राष्ट्रिय बाणिज्य बैंक, कानून आयोग, लगानी बोर्डको कार्यलय र झण्डै चालीस हजार लिटर क्षमताको डिजल रिजर्भ रहेको भन्दै उनले त्यसक्रममा ‘बल प्रयोग भएको’ दावी गरेका हुन्।

उनले जवाफमा भनेका छन्, ‘(संसद भवनभित्रको) सुरक्षालाई समेत दृष्टिगत गर्दै भवनको सुरक्षार्थ खटिएका विशेष सुरक्षा दस्ताका सुरक्षाकर्मीहरु र एकीकृत विशेष सुरक्षा योजना बमोजिम खटिएका सुरक्षाकर्मीहरुले तत्काल सिर्जित परिस्थितिको सामना गर्न बल प्रयोग भएको देखिन्छ।’

त्यो दिन संसद भवन वरपर १९ जनाको ज्यान जानेगरी भएको घटनाले आफू पदीय र व्यक्तिगत हिसाबले दुःखित र मर्माहत भएको भन्दै उनले ‘कानून र विवेकको ख्याल गरी काम गरेकाले’ आफूलाई कारवाही गर्न नहुने जिकिर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?