+

आर्मी र गण्डकी राष्ट्रिय महिला हक्कीको फाइनलमा

२०८१ वैशाख  १७ गते २१:२४ २०८१ वैशाख १७ गते २१:२४
आर्मी र गण्डकी राष्ट्रिय महिला हक्कीको फाइनलमा

१७ बैशाख, धुलिखेल । विभागीय टोली आर्मी क्लब र गण्डकी प्रदेश  छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार फाइनलमा  प्रवेश गरेका छन् ।

धुलिखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले मधेस प्रदेशलाई ६–० गोलले हरायो । आर्मीलाई जित दिलाउन सरस्वती तामाङले ह्याट्रिक गरिन् । त्यस्तै डम्मरा भट्टले दुई गोल गर्दा सिमा खड्काले एक गोल गरिन ।

डम्मराले खेलको पाँचौ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाइन । खेलको १०औं मिनेटमा डम्मराले नै ब्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अग्रता दोब्बर बनायो । आर्मीका लागि २२औं मिनेटमा सिमाले गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाइन । खेलको २३औं मिनेटमा सरस्वतीले आर्मीका लागि चौथो गोल गरिन् । ३९ औं मिनेटमा सरस्वतीले ब्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ५–० गोलको अग्रता बनायो । खेलको ५७औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीले ६–० गोलको जित निकाल्यो ।

आर्मीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी निर्मला पाण्डे प्लेअर अफ द म्याच चुनिइन् ।

दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २–० गोल अन्तरले हराउँदै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी स्टोकमा गएको हो । जसमा गण्डकीले बाजी मार्न सफल भयो ।

गण्डकीका लागि ज्योति काफ्ले र मेलिना गौचनले गोल गर्दा सीता माया बल र शिल्पा डंगौराले गोल गर्न सकेनन् । यता सुदूरपश्चिमका चारै जना खेलाडीले गोल गर्न सकेनन् । सुदूरपश्चिमका सन्जु चौधरी, पुर्णिमा नेगि, आशिका एसके र जमुना भट्टराईले गोल गर्न सकेनन् ।

त्यसअघि खेलमा खेलको १५औं मिनेटमा सीता मायाले गोल गर्दै  गण्डकीलाई अग्रता दिलाएकी थिइन् । खेकको २४औं मिनेटमा सुदूरपश्चिमका लागि नमिता एसकेले बराबरी गोल फर्काइन । गण्डकीका लागि खेलको २७औं मिनेटमा गिता पुन मगरले गोल गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाइन । ३१औं मिनेटमा गण्डकीकि सीता मायाले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाइन । त्यसपछि सुदूरपश्चिमले लगातार दुई गोल गर्न सफल भयो ।४१औं मिनेटमा पुर्णिमा उराउले गोल गर्दै टिमलाई ३–२ गोलको अबस्थामा ल्याइन ५०औं मिनेटमा पुर्णिमाले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरीमा ल्यएकी थिइन् ।

खेकको प्लेअर अफ दि म्याच सुदूरपश्चिमकि आसिका चुनिन । गण्डकीले अब उपाधिका लागि आर्मी क्लबसँग खेल्नेछ ।

अब आर्मी र गण्डकीबीच मंगलबार फाइनल खेल हुनेछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । त्यसअघि मंगलबार बिहान ८ बजे तेस्रो स्थानका लागि सुदूरपश्चिम र मधेस प्रदेश खेल्नेछन् ।प्रतियोगिताको विजेताले १ लाख पाउँदा दोस्रोले ७५  हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्ने छ ।

सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय