+

अपराजित रहँदै महिला लिगमा छनोट भएको कोशीको कथा

२०८१ वैशाख  २५ गते १४:३९ २०८१ वैशाख २५ गते १४:३९
अपराजित रहँदै महिला लिगमा छनोट भएको कोशीको कथा

२५ वैशाख, काठमाडौं । भर्खरै महिला लिग छनोट सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालामा सकियो । ७ प्रदेशले प्रतिस्पर्धा गरेको प्रतियोगितामा कोशी प्रदेश अपराजित रहँदै लिग च्याम्पियनको रूपमा महिला लिगमा छनोट भयो ।

सबै टिमले कम्तीमा १ हार व्यहोरे । तर कोशीले लिगको ६ खेलमा ५ जित र १ बराबरीसहित प्रतियोगितामा उत्कृष्ट टिमको रूपमा स्थान बनायो ।

फुटबलमा सधैं चलायमान रहने कोशी प्रदेशको नतिजा यसअघि बागमती प्रदेशस्तरीय फुटबलमा पनि बलियो देखिएको थियो । उक्त प्रतियोगितामा कोशी च्याम्पियन बनेको थियो ।

कोशीको च्याम्पियन यात्रा महिला लिग छनोटमा पनि निरन्तर देखियो । कोशीका प्रशिक्षक श्याम मानन्धर भन्छन्, ‘पहाडी जिल्लाहरूमा समेत महिला फुटबल निकै चलायमान छ । यसमा झन् हाम्रो १० जना खेलाडीले एउटै टिमबाट खेल्छन् । त्यसैले हाम्रो टिम बलियो देखिएको हो,’ उनले भने ।

कोशी प्रदेशको टिममा रहेको १० जना खेलाडी मेची कन्काईका नियमित खेलाडी भएको प्रशिक्षक मानन्धरले बताए ।

लिगको यात्रा

महिला लिग छनोट खेल्नका लागि कोशी प्रदेश जम्मा १० दिनअघि मात्रै तयार भएको थियो । छोटो समयमै छनोटमा अंक तालिकाको शीर्ष स्थानमा रहँदै राष्ट्रिय महिला लिगको लागि छनोट भयो । ६ खेलमा १६ अंक जोेडेको कोशीको टिमले सन्तोषजनक खेल प्रदर्शन गरेको प्रशिक्षक मानन्धरले बताए ।

छनोटको चरण सकिए पनि अब भने खेलाडीलाई महिला लिगको लागि तयारी गर्न उत्तिकै चुनौती छ । यसो त महिला लिगको समय तोकिएको छैन । खेलको समय निश्चित नहुँदा खेलाडीको तयारीमा पनि अन्योल देखिएको छ ।

अब कोशी केही राम्रा खेलाडी थप्दै महिला लिगमा थप बलियो बन्दै आउने तयारीमा रहेको छ । ‘हामी यो पटक जसरी भए पनि क्वालिफाई हुन आएका थियौं । अब महिला लिगमा हामी छनोट नभएका प्रदेशका राम्रा ३/४ जना खेलाडी थप्दै थप बलियो टिम बनाउने तयारीमा रहेका छौं,’ कोशीका प्रशिक्षक श्याम महर्जनले बताए ।

तयारी अनुसार नै नतिजा निकालेको कोशीका लागि अब राष्ट्रिय महिला लिग सहज भने हुनेछैन । तीन विभागीय टिमसँगको प्रतिस्पर्धाका लागि कोशीले थप प्रयास गर्नुपर्नेछ ।

यस पटकको लिगमा छनोट हुन सहज हुनुको कारण उमेर समूहमा राष्ट्रिय टिमको प्रतिनिधित्व गर्ने खेलाडी भएका कारण प्रमुख हो । कोशीको टिममा सिम्रन राई , प्रतिक्षा राईजस्ता अब्बल खेलाडी छन् । जसले गर्दा टिम बलियो बन्यो ।

यस प्रतियोगिता खेल्नुअघि कोशीले बागमती प्रदेशले आयोजना गरेको प्रतियोगिता जितेको थियो । जुन प्रतियोगिता जितेवापत प्रदेश फुटबल संघले महिला खेलाडीहरूलाई प्रतिव्यक्ति ५० हजार दिने निर्णय गरेको थियो ।

हाल महिला लिग छनोट भएकोमा संघले खेल्न आउनु अघि नै केही पुरस्कार दिने भन्दै खेलाडीलाई हौस्याएको प्रशिक्षक महर्जनले बताए । ‘कोशी प्रदेश फुटबल संघले छनोट भयो भने पुरस्कार दिने भन्ने कुरा थियो । बागमती प्रदेशमा च्याम्पियन हुँदा खेलाडीलाई जनही ५० हजार दिने भनेर घोषणा पनि भएको थियो,’ उनले भने ।

रणनीतिक सुधारको आवश्यकता

लिग छनोटमा अपराजित रहेको कोशीले महिला लिगमा भने विभागीय टोलीविरुद्ध खेल्नुपर्नेछ । जसका लागि रणनीतिक कुरामा धेरै सुधार गर्नुपर्ने छ ।

बलिया विभागीय टिमहरूसँग राष्ट्रियस्तरका खेलाडीहरू छन् । यसले प्रदेशमा अब्बल देखिएको कोशीको महिला लिग यात्रामा चुनौती छ ।

प्रशिक्षक श्याम महर्जन रणनीतिक सुधार नगरी विभागीय टोलीविरुद्ध प्रतिस्पर्धा गर्न गाह्रो हुने बताउँछन् । ‘हामीले यो तरिकाले खेलेर हुँदैन । लिगमा विभागीय टिमहरूसँग खेल्ने भएकाले सबैभन्दा बढी रणनीतिक सुधारको पक्षमा ध्यान दिनुपर्छ ।’

कर्णाली प्रादेशिक रंगशाला कोशी महिला लिग छनोट
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय