+

नेपालले दीपेन्द्रको चोटमा जोखिम नलिने

२०८१ जेठ  १३ गते १८:४६ २०८१ जेठ १३ गते १८:४६
नेपालले दीपेन्द्रको चोटमा जोखिम नलिने

१३ जेठ, डालास । नेपाली क्रिकेट टोलीका प्रमुख अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पछिल्ला तीन खेल खेलेका छैनन् ।

दुई साताअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तेस्रो टी–२० अभ्यास खेल खेल्नुअघि दीपेन्द्रको खुट्टा मर्केको थियो । अभ्यासको क्रममा खुट्टा मर्केपछि दीपेन्द्रले तेस्रो खेल गुमाएका थिए ।

त्यसपछि नेपाल अमेरिकामा आएर ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो । त्यसमा दीपेन्द्र खेलेका थिएनन् । तर, दीपेन्द्र मैदानमा आउँदै टोलीसँग अभ्यास भने गर्दै आएका छन् ।

नेपालले टी-२० विश्वकपलाई ध्यानमा राख्दै दीपेन्द्रको चोटमाथि जोखिम नलिने भएको छ । त्यसैले २७ मेमा क्यानडासँग हुने आईसीसीको वार्मअप खेलमा पनि दीपेन्द्रले नखेल्ने लगभग पक्कापक्की छ ।

‘वार्मअपको पहिलो खेलमा दीपेन्द्रलाई सोचेका छैनौं । दोस्रो खेल अवस्था हेरेपछि थाहा हुन्छ । अहिले दीपेन्द्रलाई हेर्दा सबै कुरा ठिक जस्तो लागेको छ । जोखिम लिदैनौं । किनभने हाम्रो मुख्य उदेश्य वार्मअप भन्दा पनि विश्वकप हो । त्यसै अनुसार तयारी गरेका छौं’, क्याप्टेन रोहित पौडेलले भने ।

दीपेन्द्र बाहेक नेपालले अन्य खेलाडी ह्युस्टन हरिकेन्ससँग प्लेइङ–११ मा खेल्ने खेलाडी नै खेलाएको थियो । ‘सबै कुरा स्पष्ट छ । वहाँहरुलाई त्यो दबाबमा बलिङ वा ब्याटिङ गराउने काम गरेका छौं । नेदरल्यान्ड्ससँग खेललाई योजना बनाएका छौं’, उनले भने ।

नेपालले ३० मेमा अमेरिकासँग आईसीसीको वार्मअप खेल खेल्नेछ । क्यानडा र अमेरिकासँग वार्मअप खेलपछि नेपालको सम्पूर्ण तयारी सकिनेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् । नेपालले डालासमा नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

टी–२० अभ्यास खेल दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय