+

ट्रायथलन संघको साधारण सभा सम्पन्न, राष्ट्रिय खेलकुदमा समावेश गर्न पहल जारी

२०८३ भदौ  २७ गते २२:११ २०८३ भदौ २७ गते २२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ट्रायथलन संघको नवौँ वार्षिक साधारण सभाले दशौँ राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश नगरिएकोप्रति दुःख व्यक्त गर्दै लेट इन्ट्रीमार्फत समावेश गराउन पहल भइरहेको जनाएको छ।
  • अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जापानको आइची–नागोयामा हुने आगामी एसियाली खेलकुदमा नेपालबाट खेलाडी सहभागी नहुने र चाहना शाह तथा पुष्परत्न वज्राचार्य मात्र टेक्निकल अफिसर रहने जानकारी दिए।
  • विश्व ट्रायथलन संघका अध्यक्ष एन्टोनियो एरिमानीले भिडियो सन्देशमार्फत नेपालमा आएको बाढीपहिरोप्रति समवेदना व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

२७ भदौ, काठमाडौं । नेपाल ट्रायथलन संघको नवौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा मानार्थ अध्यक्ष गणेशमान पुन प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष विश्वशंकर पालिखे विशेष अतिथिका रूपमा सहभागी थिए ।

साधारण सभामा अध्यक्ष श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश नगरिएकोप्रति दुःख व्यक्त गर्दै सुर्खेतमा हुने प्रतियोगितामा ‘लेट इन्ट्री’ मार्फत खेललाई समावेश गराउन पहल भइरहेको जानकारी दिए ।

उनले यसअघिका सबै राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश हुँदै आएको उल्लेख गर्दै प्राविधिक कारण देखाएर यसपटक बाहिर राखिनु दुःखद भएको बताए । सरोकारवालासँग निरन्तर छलफल भइरहेको र ट्रायथलनलाई राष्ट्रिय खेलकुदमा समावेश गर्ने विषयमा सकारात्मक वातावरण रहेको उनको भनाइ थियो ।

अध्यक्ष श्रेष्ठले जापानको आइची–नागोयामा हुने आगामी एसियाली खेलकुदमा नेपालबाट खेलाडी सहभागी नहुने र टेक्निकल अफिसरका रूपमा चाहना शाह र पुष्परत्न वज्राचार्य मात्र रहने जानकारी पनि दिए ।

साधारण सभामा विश्व ट्रायथलन संघका अध्यक्ष एन्टोनियो एरिमानीले भिडियो सन्देशमार्फत नेपालमा हालै आएको बाढीपहिरोप्रति समवेदना व्यक्त गर्दै विश्व ट्रायथलन संघ नेपालको साथमा रहेको बताए । अध्यक्ष श्रेष्ठका अनुसार बाढीपीडितको सहयोगका लागि विश्व ट्रायथलन संघले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा महासचिव युवराज सुनारले वार्षिक कार्यक्रम तथा आगामी योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष निरज श्रेष्ठले आर्थिक वर्षको आय–व्यय विवरण पेश गरेका थिए ।

नेपाल ट्रायथलन संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय