News Summary
Generated by OK AI. Editorially reviewed.- अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजलाई ३–० ले हराउँदै एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिगको पहिलो उपाधि जित्यो।
- अन्नपूर्णले २५–१५, २५–२० र २५–१७ को नतिजासहित २० लाख रुपैयाँ पुरस्कार पायो, जुन नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक राशि हो।
- फाइनलको दोस्रो सेटमा रेफ्रीको निर्णयविरुद्ध कर्णालीका खेलाडी र अधिकारी कोर्ट बाहिरिएका थिए, पछि संघका पदाधिकारीले सम्झाएपछि टोली फर्किएको थियो।
२७ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदै एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको फाइनलमा अन्नपूर्णले कर्णालीलाई सोझो सेटमा ३–० ले पराजित गर्दै पहिलो च्याम्पियन बन्न सफल भयो । अन्नपूर्णले २५–१५, २५–२० र २५–१७ को जित निकाल्दै उपाधिसँगै २० लाख रुपैयाँ नगद पुरस्कार हात पार्यो । यो नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि हो ।
मंगोलियाली खेलाडी उरानबायर मंखबायर, इंख एर्डेन जारगालसोट र तुर्मान्डाख गान्खुयागको उत्कृष्ट प्रदर्शनसँगै कप्तान हिमाल सुनारको नेतृत्वमा अन्नपूर्णले खेलभर कर्णालीलाई दबाबमा राख्यो ।
फाइनलको दोस्रो सेटमा रेफ्रीको निर्णयलाई लिएर विवाद उत्पन्न भएको थियो । अन्नपूर्ण ५–२ ले अगाडि रहेका बेला फस्ट रेफ्री विजय केसीले अन्नपूर्णको पक्षमा अंक दिएपछि कर्णालीका कप्तान पहल गहतराजसहित खेलाडी असन्तुष्ट बने ।
त्यसपछि खेलाडी, प्रशिक्षक र टोलीका अधिकारीहरू कोर्ट छाडेर बाहिर बसेका थिए । केहीबेर खेल बहिष्कारको अवस्था सिर्जना भए पनि नेपाल भलिबल संघका उपाध्यक्ष भरतबहादुर शाह र लिगका इन्टिग्रिटी अफिसर श्रवण शाहले सम्झाएपछि कर्णाली पुनः कोर्टमा फर्किएको थियो ।
यस क्रममा कर्णालीका एक समर्थकले कोर्टतर्फ पानीको बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले उनलाई हलबाहिर निकालेका थिए ।
पहिलो हारपछि लगातार पाँच जित
अन्नपूर्णको उपाधि यात्रा पहिलो खेलबाट हेर्दा झन् विशेष बन्यो । टोलीले उद्घाटन खेलमै कर्णाली शिवराजसँग हार बेहोरेको थियो । त्यसपछि भने मंगोलियाको राष्ट्रिय टोलीका तीन खेलाडीको आगमनसँगै अन्नपूर्णले लगातार पाँच खेल जित्दै ट्रफी उचाल्यो ।
काठमाडौं रेड्सलाई सोझो सेटमा हराएर लय समातेको अन्नपूर्णले मधेश वारियर्सलाई ३–१, खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३–० तथा निर्णायक लिग खेलमा सगरमाथा स्म्यासर्सलाई ३–१ ले पराजित गर्दै सिधै फाइनल पुगेको थियो ।
उपाधि यात्रामा हिमाल सुनारी, सुरेन्द्र केसी, जितबहादुर शार्की, देव राना र जापानबाट आएका रवि केसीले पनि महत्त्वपूर्ण योगदान दिए ।
विश्वास अधिकारी, राजेन्द्र धामी र विवश आले मगरले पनि कोर्टमा अवसर पाए भने ट्यालेन्ट हन्टबाट टोलीमा परेका किरण भण्डारीले पहिलो संस्करणमै विदेशी तथा राष्ट्रिय स्तरका खेलाडीसँग ड्रेसिङ रुम साझेदारी गर्दै महत्वपूर्ण अनुभव बटुले।
प्रतिक्रिया 4