News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश क्रिकेट बोर्डले सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ ।
- क्यानको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बीसीबीले फ्युचर टुर्स प्रोग्रामभित्र समय मिलाएर शृङ्खला गर्ने प्रयास भइरहेको बताएको छ ।
- बीसीबीका क्रिकेट सञ्चालन प्रमुख शाहरियार नाफिसले प्रगति भएपछि औपचारिक घोषणा गरिने र नेपालसँग अहिलेसम्म द्विपक्षीय शृङ्खला नभएको बताए ।
२७ भदौ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शृङ्खलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको भन्दै बीसीबीले दुवै बोर्डबीच औपचारिक छलफल भइरहेको पुष्टि गरेको हो ।
बीसीबीका क्रिकेट सञ्चालन प्रमुख शाहरियार नाफिसले शनिबार पत्रकारसँग कुरा गर्दै नेपालले केही समयअघि नै द्विपक्षीय शृङ्खला खेल्न औपचारिक प्रस्ताव पठाएको बताए ।
‘क्यानले बंगलादेशसँग द्विपक्षीय शृङ्खला खेल्ने इच्छा व्यक्त गर्दै प्रस्ताव पठाएको थियो । हामीले त्यसलाई निकै सकारात्मक रूपमा लिएका छौँ’ नाफिसले भने ।
उनका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को फ्युचर टुर्स प्रोग्राम (एफटीपी) व्यस्त रहे पनि वर्तमान चक्रभित्र उपयुक्त समय मिलाएर शृङ्खला आयोजना गर्ने प्रयास भइरहेको छ ।
‘वर्तमान चक्र २०२७ सम्मको हो । हाम्रो उद्देश्य यही चक्रभित्र नेपालसँग शृङ्खला खेल्ने हो । समय मिल्यो भने यो शृङ्खला अवश्य हुन सक्छ’ उनले भने ।
नेपाल र बंगलादेशबीच हालसम्म कुनै पनि द्विपक्षीय अन्तर्राष्ट्रिय शृङ्खला भएको छैन । यसअघि ढाकामा नेपालका राजदूत घनश्याम भण्डारीले बंगलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकसँग भेट गर्दै टी–२० शृङ्खला आयोजना गर्न आग्रह गरेका थिए ।
नाफिसले शृङ्खलाबारे थप प्रगति भएपछि औपचारिक घोषणा गरिने बताए । उनले हाल बंगलादेशले एसियाली खेलकुद र अफगानिस्तानविरुद्धको आगामी शृङ्खलाको तयारी पनि समानान्तर रूपमा अघि बढाइरहेको जानकारी दिए ।
-क्रिकबजबाट
प्रतिक्रिया 4