+

बाढीपीडितको सहयोगार्थ काठमाडौं शिक्षालयले साइकल र्‍याली आयोजना गर्ने

२०८३ भदौ  २८ गते १६:२६ २०८३ भदौ २८ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संविधान दिवसका अवसरमा काठमाडौं शिक्षालय ललितपुरले महालक्ष्मी नगरपालिकासँग सहकार्यमा बाढीपीडित परिवारको सहयोगार्थ २५ किलोमिटर साइकल र्‍याली गर्ने भएको छ।
  • असोज ३ गते बिहान ७ बजेदेखि १० बजेसम्म इमाडोलबाट सुरु हुने र्‍यालीमा करिब २०० जना सहभागी हुने अपेक्षा गरिएको छ।
  • विद्यालयका अध्यक्ष प्रकाशराज पाण्डेले र्‍यालीको उद्देश्य प्रभावित परिवारका लागि सहयोग जुटाउनु र विद्यार्थी तथा युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु रहेको बताउनुभयो।

२८ भदौ, काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा बाढीपीडित परिवारको सहयोगार्थ २५ किलोमिटर साइकल र्‍याली आयोजना गर्ने भएको छ ।

असोज ३ गते शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने र्‍याली काठमाडौं शिक्षालय, महालक्ष्मी–४, इमाडोलबाट सुरु भई पुनः विद्यालयमै समापन हुनेछ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

विद्यालयका अध्यक्ष तथा पर्वतारोही प्रकाशराज पाण्डेका अनुसार हालै आएको बाढीबाट प्रभावित परिवारका लागि सहयोग जुटाउनु र विद्यार्थी तथा युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु र्‍यालीको मुख्य उद्देश्य हो ।

र्‍यालीमा काठमाडौं शिक्षालयका विद्यार्थी, अभिभावक, शिक्षक, नजिकका विद्यालयका विद्यार्थी तथा शिक्षकसँगै साइकलप्रेमीहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार करिब २०० जना सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा उमेरअनुसार दूरी निर्धारण गरिएको छ । १० वर्षमुनिका सहभागीले १० किलोमिटर, १५ वर्षसम्मका सहभागीले १५ किलोमिटर तथा खुला तथा व्यवसायिक समूहले पूर्ण २५ किलोमिटर दूरी तय गर्नेछन् । र्‍यालीको मार्गले महालक्ष्मी नगरपालिकाका १ देखि १० वटै वडा समेट्ने जनाइएको छ ।

आयोजकले स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य संस्था, विद्यालय तथा समुदायसँग अभियान सफल बनाउन आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गरेको छ ।

विद्यालयले ‘साइकल चलाऔँ, सहयोग जुटाऔँ, बाढीपीडित परिवारलाई साथ दिऔँ’ भन्ने सन्देशसहित यस कार्यक्रमलाई खेलकुद गतिविधिमात्र नभई मानवीय सहयोग अभियानका रूपमा अघि बढाएको जनाएको छ ।

काठमाडौं शिक्षालय साइकल र्‍याली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय