२ जेठ, काठमाडौं । पुष्पलालले नेपालमा सुरु गरेको जनवादी क्रान्तिको चरण पूरा भएको निष्कर्ष प्रस्तुत गर्दै आएका नेता घनश्याम भूसालले समाजवादको उद्देश्य पुरा गर्न ‘प्रगतिशील संसदवाद र उत्पादनसँग जोडिएको भ्रष्टाचारमुक्त पार्टी’ को प्रस्ताव गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका महासचिव भूसालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा पेश गर्ने प्रतिवेदन मार्फत् ‘प्रगतिशील संसद् र उत्पादनसँग जोडिएको भ्रष्टाचारमुक्त पार्टी’को प्रस्ताव ल्याएका हुन् । २४ पृष्ठको संगठनात्मक प्रतिवेदनमा भूसालले नेपालका सवैजसो कम्युनिष्ट र माक्र्सवादीहरुले हिड्ने बाटो यही भएको दावी गरेका छन् ।
‘… अबको दिशा समाजवादी हो भन्ने निष्कर्षमा पुगेका छौं । यो निष्कर्ष नेपालका सबैजसो कम्युनिष्ट तथा माक्र्सवादीहरुको साझा विचार बनेको छ’, जनवादी क्रान्ति पूरा भएको सन्दर्भमा भूसालले लेखेका छन् ।
२००६ सालबाट सुरु नयाँ जनवादी सिद्धान्त, २०४७ पछि जनताको बहुदलीय जनवाद र २०५२ पछि भएको माओवादी विद्रोह हुँदै ५६ वर्ष लामो संघर्षले २०६३ सालमा जनवादी क्रान्तिको चरण पुरा भएको भूसालको निष्कर्ष छ ।
तर जनवादी क्रान्ति पश्चात् लिनुपर्ने समाजवादी कार्यक्रमप्रति अलमल र समस्या रहेको भूसालले प्रतिवेदनमा लेखेका छन् । त्यस्तो समस्याको कारण दलाल पूँजीवादी अर्थ–राजनीतिक प्रणाली र रुढिग्रस्त संसद भएको उनको तर्क छ ।
‘आर्थिक जीवन र राजनीतिक जीवनका चुनौतीको विश्लेषणबाट हामी क्रान्तिका मुख्य चुनौती देख्न सक्छौँ । दलाल पूँजीवादले आजको हाम्रो आर्थिक जीवनका सामान्य अवस्थाहरु निर्धारण गरेको छ भने संसदीय लोकतन्त्रले हाम्रो राजनीतिक जीवनका सामान्य अवस्थाहरुको निर्धारण गरेको छ’, प्रतिवेदनमा भनिएको छ ।
क्रान्तिकारी संसदवाद
अहिले चलिरहेको संसदीय अभ्यासलाई भूसालले औपचारिक र रुढिग्रस्त ससंद भनेका छन् । यो अभ्यासमा जित्नुपर्नेले भन्दा पनि जित्नेले टिकट पाउने र जित्ने व्यक्ति नै योग्य हुने मान्यता स्थापित भइरहेको उनको विश्लेषण छ ।
‘जसले बढी भोट ल्याउँछ, ऊ निर्वाचित हुन्छ, जो निर्वाचित हुन्छ, ऊ नै योग्य भन्ने यस व्यवस्थाको सैद्धान्तिक आधार हो । अर्थात जसले जित्छ त्यो नै योग्य हुन्छ । जनमत आकर्षित गर्ने प्रतिस्पर्धामा भोट नै सबैथोक हुन जान्छ’ भूसालले लेखेका छन्, ‘पपुलिज्म, अत्याधिक प्रचार, अत्याधिक खर्च, व्यक्ति र समूहरुलाई आश्वासनको वितरण संसदीय राजनीतिको अनिवार्य अंग बन्न जान्छ । अन्ततः संसदीय लोकतन्त्रमा पूँजीको प्रभाव निर्णायक बन्न जान्छ र राजनीति पुँजीपति वर्गको नियन्त्रणमा पुग्छ ।’
यसरी एकपटक निर्वाचित भइसकेपछि त्यस्ता जनप्रतिनिधिमा जनताको नियन्त्रण गुम्दै जाने लोकतन्त्रले क्रान्ति र समाजवादलाई बुर्जुवा राजनीतिको अंग बनाइदिने उनको निष्कर्ष छ । ‘एक पटक जनताबाट निर्वाचित भएपछि उसमाथि जनताको नियन्त्रण गुम्छ र सांसद जनताबाट स्वतन्त्र हुन्छ । उसले जे गर्छ त्यो सबै मतदाताको नामबाट गर्छ, तर उसले मतदाताको प्रतिनिधित्व गरेको वा नगरेको परीक्षण गर्ने कुनै संयन्त्रण वा प्रक्रिया हुँदैन’ प्रतिवेदनमा भनिएको छ, ‘यसरी लोकतन्त्र औपचारिक बन्न जान्छ । संसदीय राजनीति लोकतन्त्रले समाजवादी वा बुर्जुुवा पार्टीहरुको अनुहार उस्तै बनाइदिन्छ, क्रान्ति र समाजवादलाई बुर्जुवा राजनीतिको अंग बनाइ दिन्छ ।’
एकीकृत समाजवादी सहित कम्युनिष्टहरु अब संसदबाट अलग हुन नसक्ने निष्कर्ष सहित भूसालले प्रगतिशील संसदवादको प्रस्ताव गरेका छन् । ‘संसद बाहिर गरिने पार्टी गतिविधिको उद्देश्य पनि आवश्यक संवैधानिक तथा कानुनी सुधारका लागि संसदलाई प्रभावित पार्नु हो । त्यस अर्थमा हाम्रो बाटो संसदवादी नै हो’, भूसालले प्रतिवेदनमा लेखेका छन् ।
तर रुढिग्रस्त संसदवादको साटो क्रान्तिकारी संसदवादको प्रस्तावमा भूसालले दुई विकल्प उल्लेख गरेका छन्– योग्य व्यक्ति उम्मेदवार र आफूलाई निर्वाचित गर्ने जनताको निगरानी रहने वैधानिक व्यवस्था ।
उत्पादनसँग जोडिएको भ्रष्टाचारमुक्त पार्टी
समाजवादी उद्देश्यका निम्ति अर्को चुनौती दलाल पुँजीवाद भएको भूसालको निष्कर्ष छ । दलाल पुँजीवादकै कारण समाजका सम्पूर्ण अवयव बन्धक बनेको भूसालले निकै पहिलेबाट वकालत गर्दै आएका थिए ।
आफ्नो संगठनात्मक प्रतिवेदनमा दलाल पुँजीवादको असर, त्यसका लक्षण र निकासबारे सुझावसहित लामो व्याख्या गरेका छन् । प्रतिवेदनमा दलाल पुँजीवादको चंगुलमा फस्दा पार्टी र राजनीतिमा आइपरेका समस्याहरु उल्लेख गर्न अनि तिनको समाधानको विकल्पमा धेरै खर्च गरिएको छ ।
‘दलाल पूँजीवादले लोकतान्त्रिक वा क्रान्तिकारी पार्टी वा राज्यका निकायहरुमा आफ्नो प्रभाव स्थापित गर्छ र ती पार्टी वा राज्यका संयन्त्रहरुलाई आफू अनुकुल बनाउँदै लान्छ, क्रान्तिकारी पार्टीलाई दक्षिणपन्थी, भ्रष्ट र अराजक बनाइदिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘… यसरी दलाल पुँजीवादले राजनीतिक पार्टीहरुलाई र पार्टी मार्फत राज्यलाई बन्धक बनाउँछ ।’
दलाल पुँजीवादको बदलामा उत्पादन र रोजगार बढाउने राष्ट्रिय पुँजीको निर्माण गरिनुपर्ने निष्कर्ष सहितको प्रस्तावलाई महासचिव भूसालले ‘उत्पादनसँग जोडिएको, भ्रष्टाचारमुक्त पार्टी’ भनेका छन् । पार्टीमा जोडिएका नेता–कार्यकर्ताले गर्नुपर्ने काम, दायित्व र भूमिकालाई ९ बुँदामा उल्लेख गर्दै भूसालले राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवादी यात्रामा अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका छन् ।
यिनै दुई प्रस्तावनाको वरिपरी रहेर भूसालले पार्टी संगठन निर्माण र सञ्चालनको खाका प्रस्तुत गरेका छन् । पार्टी संगठनको सुदृढीकरणलाई समेत भूसालले वैचारिक–राजनीतिक स्पष्टतासँग जोडेका छन् ।
पार्टीले जनताको एजेण्डा बोकेर हिड्दा अहिले भइरहेको संगठन बढ्दै जाने र त्यसले मुलुकलाई समाजवादी यात्रा डोहोर्याउने भूसालको विश्वास छ । त्यसका निम्ति उनले नेपालमा कम्युनिष्ट पार्टीको ऐतिहासिक पक्षको व्याख्या गरेका छन् ।
एकीकृत समाजवादीले संगठन निर्माण, नेतृत्व विकास, राज्य सञ्चालन जस्ता विषयमा सैद्धान्तिक–राजनीतिक स्पष्टताका साथ अगाडि बढाउनुपर्ने भूसालको प्रस्ताव छ ।
प्रतिक्रिया 4