
काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २१ औं संस्करणका जुरी सदस्यको घोषणा भएको छ । तीन सदस्यीय जुरी प्यानलमा मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), बेलायती डकुमेन्ट्रीमेकर तथा फोटोग्राफर डिना मुफ्ती र दृश्य सम्पादक रेजिना बर्त्स्की (स्वीट्जरल्याण्ड) छन् ।
फेस्टिभलले ओपनिङ फिल्मको पनि घोषणा गरेको छ, जसमा इटाली र नेपालको संयुक्त प्रोजेक्ट ‘टाइगर्स नेस्ट’ छ । ब्रान्डो क्विलिची निर्देशित ९४ मिनेटको फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको छ ।
यो फिल्म एसिया प्रिमियर हुन लागेको हो । नेपालमा छायांकन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई सिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ ।
निर्देशक ब्रान्डोले डिस्कभरी र नेसनल जोग्राफिक च्यानलका लागि १०० भन्दा बढी विशेष सिरिज निर्माण गरेको किम्फको विज्ञप्तिमा उल्लेख छ ।
यस वर्षको किम्फ २९ मेदेखि २ जून (जेठ १६ देखि २० जेठ)सम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा आयोजना हुँदैछ । काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुने संस्कणको मूल नारा ‘इकोज अफ चेन्ज’ अर्थात् ’परिवर्तनको प्रतिध्वनि’ तय छ ।
यसपटक २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुने जनाइएको छ । किम्फको अन्तर्राष्ट्रिय प्रतियोगितामा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन् । नेपाल पानोरामा शीर्षकअन्तर्गत नेपालको कथा उजागर गर्ने कथा प्रस्तुत हुने जनाइएको छ ।
विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्चक फिल्महरु प्रस्तुत हुनेछन्, जसले समकालीन नेपालको कथा उजागर गर्नेछ ।
आयोजक संस्था किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूका अनुसार महोत्सवले फिल्म र कार्यक्रमको लाइनअपमार्फत दर्शकलाई मनोरञ्जनसँगै नेपाली समाजलाई असर पार्ने विषयकामा आलोचनात्मक संवादमा संलग्न गराउने छ ।
किम्फ २०२४ को एउटा मुख्य आकर्षणको रुपमा ‘बाइ दोज हु व्हेयर देअर १९२१, १९२२, १९२२, १९२४’ शीर्षकमा फिल्मसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ फोटो तथा कथानकको प्रदर्शनी हुनेछ ।
नेपाल–कोरिया मित्रताको ५० औँ वर्षगाँठको उपलक्ष्यमा भाषा र संस्कृतिमा भिन्नताका बाबजुद दुई देशबीचको समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्मको विशेष प्रदर्शन हुनेछ ।
निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनोट गर्नेछ ।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १५ सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिने जनाइएको छ ।
नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक फिल्मले एक-एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
महोत्सवमा ‘माउन्टेन्स म्याटर : अ कल फ्रम द हिमालयज’ शीर्षकको छलफल र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफल आयोजना हुनेछ ।
किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेसनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ)को सदस्य हो । आईएएमएफमा २० देशका २८ संस्था सदस्य छन् । महोत्सवको टिकट र सिजनल पास खल्ती एपबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया 4