ट्राफिक प्रहरीको काम के हो ? किन सडकमा ट्राफिक प्रहरी राखिन्छ ? जाम खुलाउन ? दुर्घटना रोक्न ? सडक अनुशासन पालना गराउन ?
किन चाहिन्छ ट्राफिक प्रहरी ?
अहिले आम मान्छेहरु के भन्न थालेका छन् भने ‘चालकको गल्ती समात्न र जरिवाना असुल्न ट्राफिक प्रहरी बढी तल्लीन हुन्छन् ।’ सडकमा देखिने परिदृश्यले यस्तो भनाइमा थप बल दिएको छ ।
बाटो ढुकेर ट्राफिकहरु कारबाहीमा उत्रिएका हुन्छन् ठाउँठाउँमा । त्यस्तै सडकमै सार्वजनिक यातायात रोकेर चालकसँग भनाभन गरिरहेका हुन्छन् । यसो गर्दा व्यस्त सडकमा यातायात अरु अस्तव्यस्त भएको मात्र देखिंदैन सार्वजनिक यातायातमा चढेका यात्रुहरु अलपत्र परेको पनि देखिन्छ । यसरी ट्राफिक प्रहरीहरु सडक व्यवस्थापन चुस्त र छरितो बनाउन भन्दा पनि जरिवाना असुल्नमै एकोहोरिएको जस्तो लाग्छ । ट्राफिक प्रहरीको कारण आम मान्छेले पीडाबोध गरिरहेका छन् ।
अघिल्लो वर्षको साउनदेखि पुस महिनासम्म ट्राफिक कारवाहीबाट मात्र ७९ करोड ७१ लाख भन्दा बढी राजस्व संकलन भएको रहेछ । यसरी सडकबाटै करोडौं राजस्व उठाउनुलाई आफ्नो सफलता मान्ने कि असफलता ? सम्भवत: यसलाई दुवै पाटोबाट विमर्श गरिएको छैन ।
किनभने धेरै भन्दा धेरै जरिवाना असुल हुनु भनेको सडक अनुशासन उल्लंघन भएको स्पष्ट संकेत हो । के त्यसो भए हामीकहाँ ट्राफिक प्रहरीको कार्य कुशलतामा कमजोर भए ? वा गाडीको अनुपातमा ट्राफिक प्रहरीको संख्या कम भयो ?
कति चाहिन्छ ट्राफिक प्रहरी ?
ट्राफिक प्रहरी कति चाहिन्छ त ? आजको युगमा यो प्रश्न नै त्यति उपयुक्त हुँदैन । किनभने सडकमा ट्राफिक प्रहरी राख्ने परिपाटी पुरानो हो ।
खासमा त सडकमा एक जना पनि ट्राफिक प्रहरी नभए हुन्छ । ट्राफिक प्रहरीको काम सबै प्रविधिले गर्न सकिन्छ । अहिले उन्नत मुलुकहरुमा ट्राफिक व्यवस्थापनको सबै काम प्रविधिबाट नै हुन्छ ।
अहिले उपत्यकामा मात्र १८ सय बढी ट्राफिक प्रहरी खटाइएको रहेछ । उनीहरुले दैनिक १० देखि १४ घण्टासम्म ड्युटी गर्नुपर्छ । केही समयअघि कोटेश्वरमा अप्रिय घटना घट्यो । त्यहाँ ड्युटीमा रहेका एक ट्राफिक प्रहरीलाई बसले ठक्कर दिंदा ज्यानै गयो ।
त्यतिका गाडी गुड्ने सडकको माझमा हरदम उभिनुपर्ने ट्राफिक प्रहरीहरु सुरक्षित छैनन् भन्ने यो एउटा उदाहरण हो । त्यसबाहेक धुलोधुवाँले पनि उनीहरुलाई रोगी बनाउँदै लगेको विभिन्न अध्ययनमा देखिन्छ ।
यही पृष्ठभूमिका गृहमन्त्रीले एउटा रोचक अभियान अगाडि सारेका छन् । मापसे वा सडक अनुशासन उल्लंघन गरी गाडी चलाउनेलाई स्वयंसेवकको रुपमा खटाउने । झट्ट सुन्दा राम्रै लागेपनि यो अवैज्ञानिक, अपरिपक्व र अव्यावहारिक कुरा हो । मापसे गर्ने वा सडक अनुशासन पालना नगर्नेलाई यसरी सडकमा उभ्याएर ‘सबक’ त सिकाउन सकिएला, तर यसले सडक सुरक्षाका लागि ठोस योगदान दिनेछैन ।
किनभने आज हामीले जुन ढंगले ट्राफिक व्यवस्थापन एवं सडक सुरक्षाको काम गरिरहेका छौं, त्यो आफैंमा थोत्रो भइसक्यो । यो पुरानो पद्धति हो । सडक-सडकमा ट्राफिक राख्ने, हरेक गाडी निगरानी गर्ने । सडकमै रोकेर कारवाही गर्ने । एकातिरको गाडी रोक्ने, अर्कोतिरको गाडीलाई जान इशारा गर्ने ।
हो, सडक अनुशासनका लागि यस किसिमको काम गर्नु जरुरी छ । तर यसमा मान्छे अर्थात् ट्राफिक प्रहरी उभ्याउनुपर्छ भन्ने छैन । प्रविधि र सूचनाको माध्यमबाट यी सबै काम सहज र छरितो रुपमा फत्ते गर्न सकिन्छ ।
सडकमा ट्राफिक प्रहरी नै चाहिंदैन
विकसित मुलुकको सडक प्रविधिमैत्री हुन्छ । चाहे दुबई जानुहोस्, चाहे जर्मनी जानुहोस्, अमेरिका जानुहोस्, त्यहाँ ट्राफिक प्रहरीहरु बाटो–बाटोमा उभिएका हुँदैनन् । तर हामी चाहिं के छलफल गरिरहेका छौं भने एक जना ट्राफिक प्रहरीको भागमा १५ सय गाडी पर्छ । कसरी ट्राफिक प्रहरीले भ्याउँछ ?
आज हामीले कसरी सडकलाई प्रविधिमैत्री बनाउने भनेर छलफल गर्नेबेला अनावश्यक छलफलमा अल्झिएका छौं । ट्राफिक प्रहरीको संख्या बढाउँदा व्यवस्थापन राम्रो हुन्छ भन्ने सोंच आफैंमा भुत्ते हो ।
बरु प्रविधिबाट कसरी समग्र सडकलाई व्यवस्थापन गर्ने भन्ने कुरामा हामी केन्द्रित हुनुपर्छ । जस्तो आवश्यक ठाउँहरुमा यातायातलाई व्यवस्थापन गर्न ट्राफिक लाइट राखौं । यातायात निगरानीका लागि सीसीटीभी क्यामेरा राखौं । गाडी पहिचानका लागि सेन्सर राखौं । र, यी सबै संयन्त्र व्यवस्थापनका लागि एउटा कन्ट्रोल रुम राखौं । त्यही कन्ट्रोल रुममा बसेर ट्राफिक प्रहरीले सडकमा के कसो भइरहेको छ ? सबैकुरा व्यवस्थापन गर्न सकिन्छ ।
बाटोबाटोमा गाडी रोक्ने, चिट काट्ने, कारबाही गर्ने पद्धति भुत्ते भइसकेको छ । सडक अनुशासन पालना गराउन प्रविधिको प्रयोग गर्न सकिन्छ । त्यस्तै सडकमा स्पष्ट सूचना र संकेतहरु हुन जरुरी छ । जस्तो, अगाडि बाटोमा के छ ? कता मोडिन्छ ? बाटोको अवस्था के छ ? कहाँ कति गतिमा गाडी कुदाउने ? कहाँ रोक्ने ? कहाँ सावधानी अपनाउने ? यी कुरा सडकमा स्पष्टसँग सूचित गर्नुपर्छ । त्यही सूचनालाई आधार मानेर चालकले गाडीलाई सही ढंगले कुदाउन सक्छ ।
जस्तो- उन्नत मुलुकहरुको कुरा गरौं । त्यहाँ आवश्यकताअनुसार ठाउँठाउँमा सूचना हुन्छ । गाडी कहाँ जानुपर्ने, कुन लेनबाट जानुपर्ने, कति गतिमा जानुपर्ने यावत् कुरा स्पष्ट लेखिएको हुन्छ । यसरी सूचना हेरेर गाडी कुदाउँदा चालकले सकेसम्म गल्ती गर्दैनन् ।
यदि गल्ती गरिहालेमा वा सडक अनुशासन उल्लंघन गरेमा उनको गाडी दोबाटोमा रोकेर मोलमोलाई गरिंदैन । बरु, उनी पुग्नुअघि नै घरमा चिठी पुग्छ, कारवाहीको । खासगरी सडक अनुशासन उल्लंघन गर्नेलाई जरिवाना तिर्न भनिएको हुन्छ । यदि सही समयमा जरिवाना तिरिएन भने त्यो जरिवाना थपिंदै जान्छ ।
यही कारण उन्नत मुलुकतिर सकेसम्म चालकले सडक अनुशासन उल्लंघन गर्दैनन् । उल्लंघन गरेपनि तोकिएको जरिवाना तिर्छन् । नतिरे उम्किने अरु बाटो नै हुँदैन । यहाँ जस्तो, छल्ने, झुक्याउने ठाउँ नै हुँदैन ।
न सडकमा बसेर ट्राफिकले हरेक गाडी निगरानी गर्नुपर्छ, न सडक-सडकमा चालकसँग वादविवाद गर्नुपर्छ, न यात्रुलाई आधा बाटोमा ओरालेर गाडीलाई बग्गीखाना पठाउनुपर्छ । ढंग भयो भने यी सबै काम प्रविधिले गर्छ, त्यो पनि सहज र छरितो शैलीमा ।
हामीकहाँ ट्राफिक व्यवस्थापनको यस्तै संयन्त्र बनाउन कति पनि कठिन छैन । खासगरी सहरी क्षेत्रमा । तर खै किन हो हामी राम्रो कुरालाई त्यति छिट्टै अनुसरण गर्दैनौं ।
यदि प्रविधिमैत्री सडक बनाएर ट्राफिक व्यवस्थापन गर्ने हो भने गृहमन्त्रीले चिन्ता गरेजस्तो न, सडकमा ट्राफिकले दुःख गर्नुपर्छ । न गल्ती गर्ने चालकले स्वयंसेवक नै बन्नुपर्छ ।
फोटो, भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4