+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

१२ पछि के गर्छ्यौ त नानी ?

के नै काम रह्यो र हजुर, दागबत्ती दिन छोरो भए पनि लास जलाउन मुडो किन्न नसक्ने छोरो भएर !

आर्या कोइराला आर्या कोइराला
२०८१ जेठ २१ गते ११:१७

कहिले कसो आफन्तहरूसँग भेट हुन पुग्दा, सबैको पहिलो प्रश्न नै हुन्छ-“१२ पछि के गर्ने त, नानी ?” तब मेरो चलिराख्ने ओठ निशब्द हुन्छ, रुद्रघण्टीबाट कुनै पनि शब्द बाहिर आउन सक्दैन।

बाध्यतावश भन्छु- “सोच्दैछु, अङ्‌कल।” त्यसपछि त झनै, “अब त ढिला होला नि नानु, १२ को रिजल्ट त छिट्टै आइहाल्छ !” भन्दा मेरो मन चसक्क पोलेको मस्तिष्कले समेत महसुस गर्छ।

भन्न त मन हुन्छ- “थाहा छ नि अङ्कल, मलाई पनि म ढिला भइसकें, तर के गर्नु बुझेर पनि अबुझ बन्न मैले आफूले आफैंलाई बाध्य बनाएको कुरा !” तर अपसोच त्यो भन्न मलाई मेरो स्वाभिमानले बाटोमै विश्राम लिन विवश गराइदिन्छ।

म पनि कहिलेकाहीं आफैं प्रश्न गर्न पुग्छु मेरा मित्रहरूलाई- “तिमी १२ पछि के गर्ने त ?” तब अधिकतम प्रतिशत विदेशलाई नै ह्याकुलाले छोप्ने सोच बताउँछन् भने एकदमै न्यूनतम साथीहरू मजस्तै फिटफिटी पर्दै गरेका अवस्थामा देखा पर्छन्। न आफ्नो स्वर्गभन्दा प्यारो मातृभूमि र देवतासरहका मातापिता छाडी त्यो अन्जान शहर जान रहर हुन्छ न त यहीं दुनो सोझ्याउनेले चलाएको देशमा बसी अलपत्र पर्ने अवधारणा नै हुन्छ।

तथ्याङ्क आफैं बोल्छ कि दैनिक रूपमा लगभग २००० नेपाली युवा आफ्नो नयाँ जीवनको यात्रा श्रीगणेश गर्दै मुटु ढक्क फुलाउँदै आँखाभरि आँसु बोकी विदेश लाग्ने मानिसको घुइँचो हुने कुरा। यता बुढेसकालका मजबुत लौरो भनी सोचेको बाबुआमालाई अन्तिम समयमा दागबत्ती दिन आउन समेत ती सन्तानलाई कठिन हुन पुगेका कुरा ।

देखिन्छन् समाजमा ती उदाहरणहरू जो आफ्नै ठाउँ, आफ्नै गाउँ भनी नेपालमा केही गर्ने सोच राखी टोलका चोक-चोकमा त्यही क्यारम खेल्नमा व्यस्त युवाहरू। भन्नलाई त सबै भन्छन् युवा जति सबै खाडीमा छन् त कसले बनाउने देश तर कोही पनि देख्दैन ती नेपालमा बेरोजगारको भारी बोकी बसेका युवाहरूको अँध्यारो भविष्य।

कुन सन्तानलाई मन छैन होला र यही बुबाआमाको काखमा लडीबुडी गर्न, आमाको हातको स्नेह मिसिएको खाना खान, बुबासँगै घरखर्च धानी सबैसँग हाँसीखुसी चाडपर्व मनाउन तर विडम्बना के गर्नु यो देशमा हामी जस्ता युवा अटाउने ठाउँ नै छैन

एउटा सानो सरकारी कामका लागि बस्नुपरेको त्यो ३ घण्टे लाइनले लखतरान परेका युवाको जोसलाई बगाएको कसैलाई मतलब छैन, मतलब छ त केवल पासपोर्ट बनाउनका लागि हिंडेका युवाको संख्या। कानमा तेल हालेर बसेका ती देशका मै हुँ भन्ने चालकहरुको आँखा कहिले खुल्ने कसैलाई पत्तो छैन। बाहिर आफ्नो रुचिको विषय पढेर आई यहीं आफ्नो ठाउँमा केही गरौं भनी काम खोज्दा खोज्दै बितेका ती नेपालीको अमूल्य समय फिर्ता ल्याउने सामर्थ्य कोही खुट्टा तान्नेको छ ? यदि छैन भने किन खुट्टा तान्छौ ती हातमुख जोर्न केही गरौं भनी अघि सरेका हाम्रा दिदीबहिनी दाजुभाइलाई ?

कुन आमाको मन होला र १८ वर्षसम्म काखमा खेलाएको सन्तानलाई त्यो अन्जान ल्हासामा सुन लिन पठाउन ? कुन बुबाको मनमा आउँछ होला आफ्ना प्राणभन्दा प्यारा लालाबालालाई रात दिन नभनी कमाएका ती हरिया बु‌ट्टे नोटका बिटा खर्च गरी आफूभन्दा टाढा पठाउने कुरा ?

त्यही सपनाले भरिएको सन्तान आकाशमा उडेर आउनु‌को प्रतीक्षामा पाकेका ती आँखाले सेतो बाकसमा अचेत भई आउँदाको वियोग सहन कुनै परिवारको रहर होइन नि हजुर, त्यो त केवल बाध्यता हो, बाध्यता !

बुढा भएका बुबाआमा, दुःख-सुख सँगै काट्‌ने वाचा गरी लिएर आएकी पत्नी एवं आफ्ना ती भर्खर बोली फक्रेका लालाबालासँगै बसी हातमुख जोर्न सोच गरी बस्दा कुन दिन ऋणले किचेर मार्छ पत्तो हुँदैन, कुन वर्षाले चुहिने छाना नै उडाउँछ, कसैको बस्ने बास समेत हुँदैन।

कुन सन्तानलाई मन छैन होला र यही बुबाआमाको काखमा लडीबुडी गर्न, आमाको हातको स्नेह मिसिएको खाना खान, बुबासँगै घरखर्च धानी सबैसँग हाँसीखुसी चाडपर्व मनाउन तर विडम्बना के गर्नु यो देशमा हामी जस्ता युवा अटाउने ठाउँ नै छैन। बल्लतल्ल भएका ठाउँ पनि हामीलाई भन्दा पहुँच पुग्ने ठूलाबडाका निम्ति नै तेर्सिन्छ।

यो देश त अब हाम्रोभन्दा पनि आफूले आफूलाई सर्वेसर्वा ठानी घुम्ने कुर्सीमा पहरेदारका साथ बस्नेको मात्रै भएको छ। न त हाम्रा कोही सुन्ने नै छन्, न हाम्रानिम्ति कोही बोल्ने। छन् त केवल होच्याउने, दबाउने र सक्काउने। खोइ ! कहाँ गई मुद्दा हाल्नु र मलाई मेरै जन्मभूमिलाई कर्मभूमि बनाउनबाट वञ्चित गर्नेका निम्ति ? न त देशमा न्याय पाइन्छ, न अधिकार नै पाइन्छ ।

अस्ति भर्खर पढ्न भनी परदेश लागेका पल्ला घरका रामे दाइले अहिले घरमा पैसा पठाएर यहाँ तीनतले घर ठडिएको कुरा त छर्लङ‌गै छ। आफ्ना बुबाआमाका बुढेसकालका लौरी बनी यहीं बसेका एक दाजुले भने बुबाको स्याहार त पक्कै गर्दैछन् तर त्यसका साथै महिनैपिच्छे साहुको घर पनि धाउँदैछन्।

अब कुन दिन ती साहुले पनि अत्ति भयो भनी खाली हात झपारेर पठाउने छन् तब बुढेसकालको लौरो साथै भएता पनि रित्तो खल्तीकै कारण बुबालाई गुमाउन उहाँ बाध्य हुनुपर्ने तितो यथार्थ त हामी सबैले देख्दै आएकै छौं। तब के नै काम रह्यो र हजुर, दागबत्ती दिन छोरो भए पनि लास जलाउन मुडो किन्न नसक्ने छोरो भएर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?