३० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । सोमबारदेखि जनकपुरधाममा चलिरहेको महाधिवेशनको तेस्रो दिन बुधबार सहअध्यक्षसहितका पदका लागि निर्वाचन चलिरहेको छ ।
अध्यक्षमा भने १६ वर्षपछि नेतृत्वमा रहेका यादव नै निर्विरोध बने । अध्यक्षमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको केन्द्रीय प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
यादवका आलोचकहरु भने प्रतिस्पर्धीहरुलाई पार्टीबाट निकालेर निर्विरोध अध्यक्ष चुनिनुको कुनै अर्थ नभएको बताउँछन् । ‘खेलाडी पनि आफैं छान्ने, रेफ्री पनि आफैं तोक्ने गरेपछि उपेन्द्र यादवले खेल नजिते कसले जित्छ ?’ एक नेता भन्छन् ।
महाधिवेशन प्रक्रिया सुरु भएपछि मो. इस्तियाक राईले अध्यक्षमा चुनाव लड्ने घोषणा नै गरेका थिए भने अशोक राई पनि आकांक्षी थिए । तर प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै असन्तुष्ट बनेको नेताहरुले राईको नेतृत्वमा २३ वैशाखमा नयाँ दल दर्ता गरे ।
जसपा नेपालका नेताहरुका अनुसार मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत पनि अध्यक्षका आकांक्षी थिए । तर महाधिवेशनको मुखमा पार्टी फुटेपछि मन बदले । राउतले सहअध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएपछि उपेन्द्र यादवलाई सहज भएको नेताहरु बताउँछन् ।
जसपाका नेता रामअशिष यादव पार्टीलाई बलियो र सुदृढ बनाउन सबैले उपेन्द्र यादवप्रति सहानुभूति देखाएको बताउँछन् । ‘उपेन्द्र यादवजीले अध्यक्षमा उम्मेदवारी दिन सबैलाई खुला गर्नुएको थियो, तर उहाँप्रति सबैको सहानुभूति भएकाले उम्मेदवारी परेन’, उनले भने ।
सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री राउतसँगै नेताहरु रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका छन् । ५ उपाध्यक्ष पदका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको छ ।
दुई महासचिवका लागि बोमबहादुर दर्लामी मगर (आदिवासी), रामकुमार शर्मा, विजयकुमार, दीपक कार्की, मनिष सुमन र अशोककुमार यादव गरी ६ जनाको उम्मेदवारी परेको छ । सहमहासचिवमा खुलातर्फ ९ र महिलातर्फ तीन जना, सचिवमा ३४ र कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यमा पनि उल्लेख्य उम्मेदवारी परेकाले अध्यक्ष बाहेकका सबै पदमा मतदानको सम्भावना छ ।
उत्साहित नेता कार्यकर्ता
प्रवक्ता सुमनका अनुसार जसपा नेपालका देशभर १ लाख ४५ हजार सक्रिय सदस्य छन्, जसबाट करिव सय पर्यवेक्षकसहित १३४९ महाधिवेशन प्रतिनिधि छनोट भएका थिए ।
उदघाटन समारोहका साथै वन्दसत्र र निर्वाचनमा देखिएको सहभागिताले नेताहरु उत्साहित भएका छन् । महाधिवेशन प्रतिनिधिको उपस्थिति माइन्यूटमा पनि एक हजार भन्दा बढीको हस्ताक्षर देखिएको छ ।
महाधिवेशनमा सहभागी नेताकार्यकर्ताको सहभागिताले उपेन्द्र यादवको आत्मबल बढेको छ । जसपा नेपालका प्रवक्ता सुमन पनि उखरमाउलो गर्मीमा भएको महाधिवेशनमा उत्साहजनक सहभागिताले विभाजनले पार्टीमा असर नपरेको प्रष्ट भएको बताउँछन् ।
‘यति गर्मीमा उद्घाटन सत्रमै २० हजारभन्दा बढीको सहभागिता थियो, जुन हामीले अपेक्षा गरेभन्दा धेरै हो’ उनले अनलाइनखबरसँग भने, ‘अहिले पनि उत्साहजनक रुपमा महाधिवेशन चलिरहेको छ । यसले विभाजनले पार्टीमा कुनै असर नपरेको प्रष्ट हुन्छ ।’
साख: जोगाउन छैन सजिलो
उपेन्द्र यादव महाधिवेशनबाट पार्टी अध्यक्षमा जति सहजै चुनिए, पार्टीको साख: जोगाउन भने सहज छैन ।
२०६२/०६३ को मधेश जनविद्रोहसँगै यादवले आफ्नो नेतृत्वमा मधेशी जन अधिकार फोरम गठन गरेका थिए । पहिलो संविधानसभा निर्वाचन २०६४ मा ५२ सिटसहित मधेशको शक्तिका रुपमा उदाएको थियो । १६ वर्षसम्म यादव अध्यक्षमा टिकिरहेका छन्, तर पार्टीले थुप्रै पटक फुट व्यहोर्यो । संसदमा उपस्थिति पनि निरन्तर घटिरहेको छ ।
२०७० को दोस्रो संविधानसभामा १६ सिटमा खुम्चियो । २०७४ मा मधेशी मोर्चा बनाएर चुनाव लडेर त्यसलाई जोगायो ।
तर २०७९ मंसिरको आम चुनावमा आइपुग्दा यादव नेतृत्वको दल जसपा नेपालले जम्मा १२ सिट जित्यो । यादव प्रतिनिधिसभा सदस्य चुनिने समेत असफल भए । एमालेसँग गठबन्धन गरेर सप्तरी क्षेत्र नं. २ मा चुनाव लडेका उनले लज्जास्पद हार बेहोरे । जनमतका अध्यक्ष डा. सिके राउतले १८ हजारबढी मतान्तरले यादवलाई हराए ।
संसदमा जसपा नेपालको १२ सिट आयो । सत्ताको जोडघटाउमा त्यही १२ सांसद महत्वपूर्ण भएपछि यादवले संसद प्रवेश गर्ने बाटो खोल्न उपराष्ट्रपति पद लिए । आफ्नो विश्वासपात्र रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि उनी बारा २ मा चुनाव लड्न गए ।
१० वैशाख २०८० मा भएको उपचुनाव सत्ता गठबन्धको बलमा जितेर संसद प्रवेश गरेका उपेन्द्र यादव प्रचण्ड सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत बनेका थिए ।
अशोक राई समूहले पार्टी विभाजन गरेसँगै उपेन्द्र यादवले केन्द्रसँगै मधेश प्रदेश सरकार गुमायो । संघीयता लागू भएपछि मधेशमा ६ वर्ष जसपा नेपालले सरकारको नेतृत्व गरेको थियो । अहिले जसपा नेपालको सरकार ढालेर जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेको छ, जसमा प्रमुख सत्ता घटक नेकपा एमाले छ ।
‘जसपा नेपालको मुख्य आधार मधेश प्रदेश हो, त्यहाँ सीके राउत नेतृत्वको जनमत उदाइरहेको छ भने एमालेले पनि बलियो भएको छ’, जसपा नेपालका एक पूर्व नेता भन्छन्, ‘प्रतिस्पर्धीहरुले निषेध गरेर उहाँ अध्यक्षमा चुनिनुभयो, पार्टी जोगाउन चाहिँ सहज छैन ।’
प्रतिक्रिया 4