+
+

घरजग्गा कारोबार साढे ११ प्रतिशतले बढ्यो, राजस्व ३२ प्रतिशत वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १७:२२

२ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना घरजग्गा कारोबारमा गत वर्षको तुलनामा सुधार देखिएको छ ।

चालु आर्थिक वर्ष (आव) २०८१/८२ साउनमा घरजग्गा कारोबार र त्यसबाट प्राप्त हुने मालपोत कर (राजस्व) दुवैमा सुधार देखिएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा कुल ४३ हजार ८ सय ३५ लिखत पारित भएको छ ।

गत आव २०८०/८१ साउनमा ३९ हजार २ सय ६३ लिखत पारित भएकोमा चालु आव ११.६४ प्रतिशतले बढेको हो ।

गत आव अन्तिम महिना असारको तुलनामा भने साउनमा घरजग्गा कारोबार घटेको देखिन्छ । असारमा ४४ हजार ५ सय ६९ लिखत पारित भएको थियो ।

घरजग्गा लिखत पारितसँगै मालपोत कर (राजस्व) पनि बढेको छ । चालु आव साउनमा ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । जुन गत आव सोही अवधिको तुलनामा ३१.७७ प्रतिशतले धेरै हो ।

साउन २०८० मा घरजग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख बराबर राजस्व प्राप्त भएको थियो । गत वर्षको तुलनामा राजस्वमा उल्लेख्य सुधार देखिए पनि गत असारको तुलनामा भने घटेको छ । गत असारमा ५ अर्ब २ करोड ३६ लाख राजस्व संकलन भएको थियो ।

चालु आव मात्रै नभएर गत आवमा पनि आवको पहिलो महिनामा अघिल्लो महिनाको दाँजोमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व उल्लेख्य घटेको देखिन्छ ।

असार २०८० मा ४ अर्ब २७ करोड ८३ लाख राजस्व संकलन भएकोमा साउन २०८० मा २ अर्ब ९१ करोड ४ लाख मात्रै राजस्व संकलन भएको थियो ।

चालु आव साउनमा प्राप्त ३ अर्ब ८३ करोड ५१ लाख राजस्वमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रजिस्ट्रेसन दस्तुर छ ।

त्यस्तै १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार पूँजीगत लाभकर प्राप्त भएको छ । २६ करोड ६८ लाख ६९ हजार सेवाकर प्राप्त हुँदा ३६ करोड ७८ लाख २८ हजार राजस्व छुट दिइएको विभागको तथ्यांक छ ।

मधेशमा उच्च जग्गा कारोबार

चालु आव साउनमा प्राप्त ३ अर्ब ८३ करोड ५१ लाख राजस्वमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रजिस्ट्रेसन दस्तुर छ ।

त्यस्तै १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार पूँजीगत लाभकर प्राप्त भएको छ । २६ करोड ६८ लाख ६९ हजार सेवा कर प्राप्त हुँदा ३६ करोड ७८ लाख २८ हजार रुपैयाँ राजस्व छुट दिइएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

विगतका महिना साउनमा पनि मधेशमा नयाँ सहरका रूपमा विकास हुँदै गरेको क्षेत्र अगाडि देखिएका छन् । साउनमा सबैभन्दा धेरै लिखत पारित इनरुवा पालपोत सुनसरीबाट भएको छ ।

उक्त कार्यालयबाट १ हजार ९ सय ४ लिखत पारित भएको विभागको तथ्यांक छ । यस्तै भूमि सुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीबाट १ हजार ६ सय ८, बेलबारी मालपोत कार्यालय मोरङबाट १ हजार ५ सय २०, भद्रपुर मालपोत झापाबाट १ हजार ४ सय ६५ र जनकपुरधाम मालपोत कार्यालय धनुषाबाट १ हजार २ सय १५ लिखत पारित भएका छन् ।

मलंगवा मालपोत कार्यालय सर्लाहीबाट १ हजार १९ लिखत पारित भएको छ । धनगढी मालपोत कैलालीबाट ९ सय ७० र सिरहा मालपोत सिरहाबाट ९ सय ६२ लिखत पारित भएको हो ।

घरजग्गा व्यवसायीहरू पनि तुलनात्मक रूपमा मूल्य कम भएका र सहरका रूपमा विकास हुँदै गरेका ठाउँमा जग्गा कारोबार उच्च रहेको बताउँछन् ।

राजस्व संकलनमा काठमाडौं उपत्यकाका मालपोत अगाडि

राजस्व संकलनमा भने काठमाडौं उपत्यकाका मालपोत अग्रस्थानमा छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार लगनखेल मालपोत ललितपुरबाट साउनमा ३४ करोड २७ लाख ४२ हजार राजस्व संकलन भएको छ ।

यस्तै डिल्लीबजार मालपोत काठमाडौंबाट २९ करोड ३९ लाख ६७ हजार राजस्व संकलन भएको छ । भक्तपुर मालपोत भक्तपुरबाट २३ करोड ३७ लाख २२ हजार, चाबहिल मालपोत काठमाडौंबाट २२ करोड ४२ लाख ७७ हजार, कलंकी मालपोत काठमाडौंबाट २२ करोड २७ लाख ८ हजार राजस्व संकलन भएको छ ।

उपत्यकापछि सिमरा मालपोत बाराबाट १७ करोड ३२ लाख ५७ हजार, कास्की मालपोतबाट १४ करोड ६९ लाख ८६ हजार र मालपोत कार्यालय चितवनबाट ११ करोड ७२ लाख ६४ हजार राजस्व संकलन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?