+
+

छाडा गीतमाथि अनुसन्धान र कारबाहीमा कानुनी तगारो

आधुनिकताका नाउँमा समाजमा यौन विकृतिको बीजारोपण गर्नु गलत हो। कलाकार भनेका त देशका गहना हुन्। देशका गहनाहरूले गहना जस्तै सुन्दर समाजको निर्माण गर्न सक्नुपर्छ।

दानबहादुर सुनार दानबहादुर सुनार
२०८१ भदौ ८ गते १९:४६

यसपालिको तीजलाई लक्षित गरी सार्वजनिक भएका विस्ताराले पोल्यो, दिउँला बरिलै, मादलु घन्काउँदै, चियर्स बियर्स, जवानीले पोल्यो र टिकटकमा भाइरल हल्लाएरै हो लगायतका गीतले सामाजिक सञ्जाल तातेको छ र सर्वत्र आलोचना पनि भएको छ। समाज र राष्ट्रका दरिलो खम्बाका रूपमा रहेका युवापुस्तामा त यी गीतहरूले झनै तरंग ल्याएको छ।

असल संस्कार र सकारात्मक चेतको विकास गर्नुको साटो असभ्य, छाडा र यौन विकृति निम्त्याउने खालका गीतहरू टोल–टोलमा घन्किंदा कलिला बालबालिका र युवापुस्ताको मनोविज्ञानमा कस्तो असर पर्ला ? यस प्रकारका उच्छृङ्खल गीतहरूले युवा जमातमा सकारात्मक ऊर्जा प्राप्त होला त ? हामीले कस्तो समाज र पारिवारिक संस्कारको निर्माण गर्न खोज्दैछौं ? यी सबै प्रश्नहरू गम्भीर छन्।

आम नागरिकको जीवनसँग जोडिएका सामाजिक र सांस्कृतिक गतिविधिप्रति हामी सबैले सदैव संवेदनशील हुन जरुरी छ। समाज र राष्ट्रको भविष्य कस्तो बनाउने भन्ने जिम्मेवारी र अभिभारा हाम्रै काँधमा छ। गीत–संगीत हाम्रो व्यक्तिगत र सामाजिक जीवनशैलीसँग प्रत्यक्ष जोडिएको विषय हो। विभिन्न उत्सव, चाडपर्व र विवाह समारोहमा गीत–संगीतको विशेष महत्व रहेको हुन्छ।

गीत–संगीत हरेक व्यक्तिको मनोरञ्जनसँग जोडिएको विषय पनि हो। तथापि यसलाई मनोरञ्जनमा मात्रै सीमित राखेर हेरिनुहुन्न। गीत–संगीतलाई समाज परिवर्तनको एक महत्वपूर्ण अस्त्रको रूपमा पनि हेरिनुपर्छ। गीतमा प्रयोग हुने श्रव्य–दृश्यहरूले कलिला बालबालिकाको मनोविज्ञानमा त झनै अमिट छाप पार्दछ भन्ने यथार्थतालाई विषयान्तर गर्न पनि हुन्न।

तीज पर्व नजिकिंदै जाँदा सार्वजनिक भइरहेका भड्किला र छाडा गीतहरूले हाम्रो समाजमा नकारात्मक असर पारिरहेको छ। यौनजन्य विकृति बढ्नुका साथै समाज असभ्य र अमर्यादित बन्दैछ। मुख्यतः यौन र छाडा गतिविधिलाई मलजल गर्ने गरी सार्वजनिक भइरहेका गीतहरूले हाम्रो अनुशासन तथा मौलिक मूल्यमान्यता र सांस्कृतिक धरोहरलाई नष्ट गर्नुका साथै असभ्य, छाडापन र आपराधिक प्रकृतिका यौन गतिविधिलाई बढाउने खतरा पनि उत्तिकै छ।

तीज गीत कस्तो हुनुपर्छ ?

तीज गीत भनेको तीज पर्वका अवसरमा महिलालाई केन्द्रमा राखेर गाइने गीत हो। लोक परम्परामा बाँचेका नारीहरूको सामाजिक इतिहासको दस्तावेज पनि हो। यसप्रकारका गीतहरूमा आम नारीहरूको वेदना, दुःख, घरपरिवारबाट भोगेका थिचोमिचो र त्यसबाट सिर्जित समस्याहरूलाई उजागर गरेको हुनुपर्छ। हिंसाबाट पीडित महिलाका व्यथा र व्यथाभित्रका भावनाहरू छर्लङ्ग पारिनुपर्छ।

त्यति मात्रै होइन यस प्रकारका हिंसा विरुद्ध सचेतना जगाउने खालका गीतहरू आउनुपर्छ। महिलामाथिको हिंसा कानुनी अपराध हो र आपराधिक गतिविधि गर्नेले दण्डित हुनुपर्छ भन्ने कानुनी सचेतना फैलाउन सक्नुपर्छ।

आधुनिकताका नाउँमा समाजमा यौन विकृतिको बीजारोपण गर्नु गलत हो। कलाकार भनेका त देशका गहना हुन्। देशका गहनाहरूले गहना जस्तै सुन्दर समाजको निर्माण गर्न सक्नुपर्छ। तीज पर्वमा दिदीबहिनी, दाजुभाइ, बुवाआमा लगायत परिवार एक भएर रमाइलो नाचगान गरिन्छ। तीज पर्व भनेको त महिला दिदीबहिनीले महिनौंदेखि व्यहोरेको तनाव, दुःख–कष्ट र पीडा भुलाउने महत्वपूर्ण पर्व पनि हो।

माइती र आफन्तजनबाट लामो समयदेखि टाढा रहँदाको छटपटी र मायाको अभावलाई परिपूरण गर्ने उत्सव पनि हो। आफ्नै छुट्टै ऐतिहासिक विरासत बोकेको तीज पर्वलाई छाडा र उच्छृङ्खल बनाइँदिंदा तीज पर्वको गरिमा घट्ने त छँदैछ त्योसँगै तीज पर्वको अस्तित्व समेत लोप हुने जोखिम रहन्छ।

समस्या कहाँनेर छ ?

सबैभन्दा ठूलो समस्या त हाम्रो चेतनामा छ। पछिल्ला दिनमा सार्वजनिक भइरहेका तीज गीतहरू देखेर हाम्रो चेतनामा धिक्कार्नुपर्ने विवशता छ। हामी आफ्नो पेशागत मर्यादा र अनुशासनमा बस्न सकिरहेका छैनौं। हामीलाई हाम्रो समाज र राष्ट्रको उन्नयन भन्दा पनि पैसा प्यारो छ। किशोर, किशोरी र युवा जमातको यौन उत्कण्ठा र उत्सुकताको व्यापार गर्न तम्तयार छौं। हामी युवा वर्गको भावनामाथि खेलबाड गर्दैछौं।

युट्युबमा दर्शक तानेर पैसा कमाउने लोभमा समाजलाई अँध्यारोतर्फ लैजाने अपराध गर्दैछौं। के हामीले हाम्रो समाजलाई छाडा बनाउन खोजेको हो ? युवा मनोविज्ञानमा नकारात्मक असर पार्ने खालका यौन विकृति निम्त्याउन खोजेको हो ? कुनै अमूक व्यक्ति तथा संस्थाले आफ्नो स्वार्थसिद्ध गर्नकै लागि समाजलाई छाडा र असभ्य बनाउनु कदापि न्यायसंगत हुन सक्दैन।

यस किसिमका विवादित गीतहरू आइरहँदा र सामाजिक सञ्जाल लगायतका समग्र क्षेत्रबाट यसको चर्को विरोध भइरहँदा पनि लोक गीतको संरक्षण र सम्वर्धन गर्न स्थापित भएका प्रतिष्ठानहरू मौन भएर बस्नु सान्दर्भिक हुँदैन। मुख्यतः राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लगायतका सरोकारवाला निकायले यस विषयमा गम्भीर र संवेदनशील भएर आवश्यक कदम चाल्न जरूरी छ।

वर्तमान कानुनी व्यवस्था कस्तो छ ?

हाल नेपालमा लोक तथा तीज गीतको नियमन गर्ने कुनै स्पष्ट कानुन छैन। नियमन गर्ने कानुन नै नभएको अवस्थामा अधिकारसम्पन्न निकाय हुने कुरा पनि भएन।

यतिसम्म कि सार्वजनिक भएका तीज गीतहरू दर्ता र अभिलेखन गर्ने आधिकारिक निकाय समेत नहुँदा प्रत्येक वर्ष कति वटा तीज गीतहरू सार्वजनिक हुन्छन् भन्ने आधिकारिक तथ्यांक नै छैन। विना अनुमति आफूखुशी मनलाग्दी रूपमा गीतको रचना गर्ने, गाउने र सार्वजनिक गर्ने गरिन्छ। जसका कारण कुनै रोकतोक र डर विना गीतहरू सार्वजनिक भइरहेका छन्।

यसै कारणले पनि छाडापन र उच्छृङ्खलता बढ्दै गइरहेको छ। चलचित्र क्षेत्र हेर्ने चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) विकास ऐन २०२६ र सोही ऐनका आधारमा गठित बोर्ड छ। तर लोक तथा तीज गीतको लागि यस प्रकारको कानुनी तथा संस्थागत व्यवस्था छैन।

केही प्रतिष्ठानहरू स्थापना भएका छन् तर उनीहरूले लोकगीतको संरक्षण, सम्वर्धन र कलाकारको हकअधिकारको क्षेत्रमा मात्रै काम गर्छन्। छाडा गीतमाथि अनुसन्धान र कारबाही गर्ने कानुनी अधिकार प्रतिष्ठानलाई छैन।

कानुनी र संस्थागत व्यवस्था गरौं

लोक तथा तीज गीतमा छाडा शब्द प्रयोग गर्ने प्रवृत्ति देखिएको तर नियमन या सेन्सर गर्ने निकाय छैन। अब यस क्षेत्रलाई पनि नियमन गर्ने छुट्टै कानुन र अधिकारसम्पन्न सरकारी निकाय आवश्यक छ। सबैभन्दा पहिला लोक तथा तीज गीतको दर्ता, सञ्चालन अनुमति र चेकजाँच लगायतको नियमन गर्नका लागि छुट्टै कानुन निर्माण गरौं।

कानुन निर्माण कार्य कुनै एक व्यक्ति तथा निकायले चाहेर मात्रै हुने कुरा होइन। यसका लागि सरकार नै क्रियाशील हुन जरूरी छ। कानुन बमोजिम स्थापित बोर्ड तथा सरकारी निकायबाट गीतको सेन्सर र नियमन गर्ने लगायत कानुनी तथा संस्थागत प्रबन्ध गरौं।

अहिले देखिएको विकृति रोक्नका लागि छाडा तीज गीतहरूमाथि अनुसन्धान गरी त्यस्ता गीतहरूलाई युट्युब च्यानल लगायत सामाजिक सञ्जालबाट हटाउने काम गरौं। यस प्रकारका गीत निर्माणमा सहभागी स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकलाई पनि सचेत गराऔं।

समाजमा नकारात्मक असर पर्ने किसिमका विकृतिजन्य छाडा गीतहरूलाई समयमै नियमन र नियन्त्रण गरिएन भने हाम्रो समाजमा विकराल समस्या आउनेछ। यसको प्रत्यक्ष प्रभाव युवा पुस्ता र कलिला बालबालिका माथि पर्ने भएकाले बेलैमा सचेत र गम्भीर हुन आवश्यक छ।

समाजले स्वीकार्न सक्ने र परिवारमा सँगै बसेर हेर्न–सुन्न सकिने तथा युवा वर्गमा सकारात्मक सन्देश र ऊर्जा प्रवाह हुने खालका गीतहरूलाई मात्रै अनुमति दिनुका साथै छाडा गीतमाथि अनुसन्धान र कारबाही गर्न सकिने कानुनी र संस्थागत व्यवस्था गरौं। तब मात्रै न्यायपूर्ण र सभ्य समाज निर्माण हुन सक्छ। हाम्रा कलाकारहरू साँच्चै राष्ट्रका गहना बन्न सके मात्रै सभ्य, मर्यादित र सुन्दर समाजको निर्माण गर्न सकिन्छ।

(लेखक नेपाल सरकारका कानुन अधिकृत हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?