+
+
सन्दर्भ : बीपी जन्मोत्सव :

कविता : सान्दाइका नाउँमा !

डा. नवराज लम्साल डा. नवराज लम्साल
२०८१ भदौ २४ गते ७:४४

कुनै कुरामा द्विविधा भयो भने
एक मुठी माटो उठाऊ भन्थ्यौः
मैले बाटो पनि पाइनँ
र बाटो सोध्ने माटो पनि पाइनँ
सान्दाइ !

तिमीले चुमेको त्यो माटो बाँकी छैन
अम्लीय छ, खेती छैन
सिमेन्ट मिसिएको छ, महक छैन
सडकको झाडूमा मिसिएर धूलो भएको छ, प्रेम छैन
हिउँदे डोजरमा साटिएर पैसा भएको छ माटो
धन्दा धन्दा गनाउँछ
बर्खामा बाढीले बगाएर
हलो जोत्ने तिम्रो किसान बेघर भएको छ
किसानको मुठीमा पनि छैन
माटोसँग पनि बाँकी छैन माटो
ढुङ्गामा आँशु पोखिएको छ, सान्दाइ
मैले बाटो पाइनँ
बाटो सोध्ने माटो पाइनँ !

तिमीले रोपेको वटवृक्ष
माटोमा होइन
माटो जलेको खरानीमा उभिएको छ
त्यही वृक्ष दागी कोटमा सेल्फी खिचेर
नागरिक बेचिरहेछ
परधर्मी पठाएर पशुपतिको हेरचाहमा
राखी बाँधेर धर्म बचाइरहेछ
तिमीसँगै दीक्षित भएको पुस्ता
आ-आफ्नो घरमा चुकुल लगाएर
स्वयं बन्दी भएका छन्, आँखा छोपेर
स्वनिर्वासनमा छन् सन्दाइ
कहिले किसुनजी भएर
कहिले गणेशमान भएर !

गाईहरू थारै छन्
दूध दुहुने गौवा फुट्यो
बारी बारीमा घर छन्
खेतखेतमा बजार
बिरामी छ लोकतन्त्र
मृत्युमुखमा छ समाजवाद
औषधिमूलो हुन्न अचेल
अचेल चेकअप हुन्छ सान्दाइ
शपिङ मलभन्दा महँगो छ अस्पतालको बहिरङ्ग विभाग !

सिकेको सरल राजनीति होइन
चंगुलको चक्रमा
व्यवसायको विरासत फैलिएको छ
किन्नु र किनिन सक्नु
बेच्नु र बेचिन सक्नु
भाँच्नु र भाँचिन सक्नुको मेरुदण्ड लिएर
तिम्रो विचारको घर उभिएको छ सान्दाइ
अचेल पढ्नुमा दम छैन
पढेकाहरू आफैं दास हुन पुग्छन् दलालको दैलोमा !

सबैभन्दा ठूलो
बिजनेस भएको छ स्कुल !
र स्कुल–स्कुलको भित्तामा
ठूलो होइन असल बन्नू भन्ने तिम्रो वाणी मेटेर
त्यहीं लेखिरहेछन् सान्दाइ
विद्यार्थीसँग उठाउने पैसाको महँगो अङ्क अभिलेख !

तिमीले बनाएको तिम्रै राजनीतिक घरमा
एकएक थान नेताका तस्बिर झुन्डिएको छ
भित्तामा तिम्रो तस्बिर टाँसेर
छातीमा विदेशी बोकी हिंडेका छन् तिम्राहरू
सातमा समाप्त भयो भन्ठानेको भूत
तिम्रो रूखको हाँगाहाँगामा, पातपातमा
राजनीतिक रत्यौली नाचिरहेछ !
भूतले त
रत्यौली नाचेको पनि नसुहाउँदो रहेछ सान्दाइ !

म द्विविधामा छु
शिरको बादल फटाऊँ कसरी ?
युवाका बाँधिएका गोडा फुकाऊँ कसरी ?
निर्वासनमा गएकाहरूलाई फिर्ता बोलाऊँ कसरी ?
हलो जोत्दै गरेको किसानलाई तिमीसँग जोडूँ कसरी ?
जसको कहिल्यै आफ्नो भएन देश
उसलाई यो देश तिम्रो पनि हो भनूँ कसरी ?
आफ्नै पार्टीको झण्डा र घोषणापत्र छाप्दा कमिसन खानेहरूबाट
म सदाचार सिकूँ कसरी ?
तिनले जिम्मा लिएको हर्कतबाट
यो देश बन्छ भनूँ कसरी ?
सपनाका सारा फूलहरू कुल्चेर
ढुङ्गे अपराधीको पाउमा चढूँ कसरी ?

सान्दाइ
मैले बाटो पाइनँ
बाटो सोध्ने माटो पाइनँ
यो देश अर्कैले गिजोल्यो
यो देश हाम्रो पनि भएन
र हामी देशका पनि भएनौं ।

भन सान्दाइ !
यतिखेर लाखौं तन्नेरीको कर्तव्य के हुन्छ ?

लेखकको बारेमा
डा. नवराज लम्साल

साहित्यमा मदन पुरस्कार विजेता साहित्यकार लम्साल पूर्व सञ्चारकर्मी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?