राजनीति के होबाट सुरु गरौं। सन् १९९२ को अमेरिकी राष्ट्रपति निर्वाचनमा बिल क्लिन्टन क्याम्पका गुरु मानिएका कार्भिलले ‘राजनीति ! यो सब अर्थतन्त्र हो, पागल’ भन्ने शब्दावली प्रयोग गरेका थिए र यो धेरै नै प्रचलित पनि भएको थियो।
यसले आर्थिक विकास गर्नु नै राजनीति गर्नु हो भन्ने भाष्यलाई स्थापित गर्न मद्दत गर्यो। सन् २००६-०७ को विश्व आर्थिक मन्दी र त्यसको लामो प्रभाव, कोभिड-१९, जलवायु परिवर्तन जस्ता समस्याहरूले चलायमान अर्थतन्त्र प्रायः सबै देशको राजनीतिको अतुलनीय प्रमुख राजनीतिक मुद्दा बनेको छ।
नेपाल पनि त्यसको अपवाद बन्न सकेन। यहाँ अलि फरक छ भने नीति, योजना, कार्यान्वयन, अनुगमन र सोही चक्रमा आधारित भएर नीति र योजनाको पुनः तर्जुमा, कार्यान्वयन र अनुगमन चक्रको अभ्यासभन्दा पनि गफ, घोषणा, निर्देशन, परिपत्र र अस्पष्ट विरोधहरू हाबी छन्।
नीति योजनालाई कागजको घोडा मान्ने र सबै समस्याको समाधान नेता र उच्च-पदस्थ कर्मचारीहरूको दिमागबाट फ्याट्ट-फ्याट्ट आउने दैवीय क्षमता भएका महान् शासकहरूले भरिएको देशमा छौं हामी।
फेरि राजनीतिमा नै जाऊँ। जरुर अर्थतन्त्र राजनीतिलाई व्याख्या गर्ने अपरिहार्य शब्द हो। राजनीतिशास्त्र र परराष्ट्र सम्बन्धका आधुनिक सिद्धान्तको जननी मानिएको कौटिल्य कृतिको नाम राजनीतिशास्त्र नभएर अर्थशास्त्र राखिएको थियो। प्राचीन ग्रीसमा सार्वजनिक जीवन र व्यक्तिगत जीवनलाई छुट्याइएको थियो।
सार्वजनिक जीवन अन्तर्गत नागरिकहरूको गुजारा सम्बन्धी क्षेत्रमा गरिने कामलाई पोलिटिका वा राजनीति भन्ने गरिन्थ्यो। यसमा सहभागी हुने व्यक्तिहरूले आफैंले अवलम्बन गर्ने कानुन वा विधि तर्जुमा गरे जुन कालान्तरमा लोकतन्त्रको आधार बन्यो।
यसरी हेर्दा आधारभूत रूपमा राजनीति भनेको सार्वजनिक जीवनमा आबद्ध नागरिकहरूले आम नागरिकको हितको लागि छलफल र संवादबाट आवश्यक नीति र नियम निर्माण गर्ने, त्यसको कार्यान्वयनको व्यवस्था गर्दै जाने गतिविधि हो। स्वाभाविक रूपमा शक्तिको बाँडफाँड त्यसको केन्द्रमा हुने नै भयो।
राजनीतिलाई दार्शनिकहरूले विविध कोणबाट व्याख्या गरेका छन्। एरिस्टोटलले राजनीतिलाई व्याख्या गर्दा मानिसको चरित्रलाई ध्यान दिएका छन् र भनेका छन्– मानिस एक राजनीतिक जनावर हो। मानिस आफैंमा पूर्ण हुँदैन र सामाजिक सम्बन्धबाट मात्र पूर्णता पाउँछ। आम नागरिकहरूलाई खुशी बनाउनु नै राजनीतिको प्रधान विषय हुनुपर्दछ भन्ने उनको धारणा रहेको छ।
म्याक्स वेबरले राजनीतिलाई अति नै सरल तरिकाले परिभाषित गर्दै भनेका छन्- राजनीति भनेको शक्ति र नियन्त्रणको वितरण हो। डेभिड इस्टोनका लागि राजनीति भनेको मूल्य र प्राधिकारको वितरण हो। सारमा राजनीति भनेको शक्ति र प्राधिकारको वितरणको विधि हो। र, यसको सन्तुलनको राजनीतिलाई हामी असल राजनीति भन्न सक्छौं।
वर्तमान नेपाली राजनीतिमा शक्ति छ। जरुर त्यसको वितरणमा जटिल समस्याहरू छन्। यद्यपि सरकार र सत्ता हाँकिरहेका नेता, उच्च पदस्थ कर्मचारी एवं दलका नेताहरूसँग कागजमा लेखिएको शक्ति छ। आवश्यक पर्दा परिपत्र वा सर्कुलर जारी गरेर पनि थप शक्ति सिर्जना गर्छन्।
तर राष्ट्र र राजनीति हाँक्ने प्राधिकार गुमाउँदै गएका छन्। यो नै आजको हाम्रो देशको सबैभन्दा ठूलो समस्या हो। शक्ति र प्राधिकार सन्तुलनको राजनीति नै हाम्रो परिकल्पनाको नयाँ राजनीति हो।
नेपालको राजनीतिक बहसमा शक्तिको बारेमा धरै छलफल, चिन्तन गरे पनि प्राधिकार वा अथोरिटीले अझै पनि खासै स्थान प्राप्त गर्न सकेको छैन। प्राय: अथोरिटीलाई अधिकार भनेर अनुवाद वा प्रयोग गरेको पनि देखिन्छ। तर अधिकारले मात्रै अंग्रेजी शब्द अथोरिटीको भावलाई पूर्णता दिन सक्दैन।
अधिकार माग गरेर वा लडेर लिने विषय हो भने प्राधिकार आफ्नै मन-मस्तिष्कबाट कुनै व्यक्ति वा संस्थाको विचार वा व्यवहारप्रति सिर्जना हुने विश्वास वा सम्मान हो। अवश्य पनि, यसले नागरिकहरूको व्यवहार र सम्बन्धमा प्रभाव पार्दछ।
झट्ट सुन्दा उस्तै सुनिए पनि शक्ति र प्राधिकारमा धेरै भिन्नता छ। सँगसँगै दुई शब्द एकअर्कासँग परिपूरक पनि छन्। जहाँ शक्ति छ त्यहाँ मात्र प्राधिकारको परिकल्पना गर्न सकिन्छ र शक्ति वा प्राधिकारको छलफल एउटा सभ्य समाजलाई आधार मानेर मात्र गर्न सकिन्छ।
शक्ति भन्नाले अरूको भावना वा विचारको पर्वाह नगरी आफूले सोचे अनुरूप व्यवहार गर्न लगाउन सक्ने क्षमता हो। तर यस्तो शक्तिले वैधता प्राप्त गर्न प्राधिकार आवश्यक पर्दछ। प्राधिकार चाहिं सरोकारवालाहरूको सहमतिमा सिर्जना हुन्छ।
शक्ति व्यक्तिमा मात्रै अन्तरनिहित हुन सक्छ तर प्राधिकार सामाजिक एवं राजनीतिक सम्बन्धमा सिर्जना हुन्छ। जहाँ आफूसँग शक्ति भएका व्यक्ति वा संस्थाले शक्तिको निर्मम प्रयोग नगर्दा पनि आफूले चाहेको नतिजा निकाल्न सक्ने प्रतिष्ठा राख्छन्।
यहाँ सरोकारवालाहरू स्वस्फूर्त रूपमा व्यवहार गर्छन्। जस्तै, हामी सडक बत्ती नभएको चोकहरूमा ट्राफिक प्रहरीको हातको इशारालाई हेर्दै सवारी चलाउने वा आवतजावत गर्ने गर्छौं। त्यसको लागि ट्राफिक प्रहरीले काँधमा बन्दुक बोक्नु वा हवाई फायर गर्नुपर्दैन।
यदि तपाईंलाई विगतको तुलनामा ट्राफिक प्रहरीलाई सडकमा टेर्न छोडेको जस्तो लाग्दछ भने ट्राफिक प्रहरीले शक्ति होइन प्राधिकार गुमाएको हो।
राजनीतिमा प्राधिकार हुनु भनेको नेतृत्वमा रहेका व्यक्तिहरूको विचारलाई नागरिक वा मातहतका कर्मचारी, वा सोही दलका कार्यकर्ताले स्वीकार एवं सम्मान गर्दै स्वस्फूर्त रूपमा अनुसरण गर्ने अवस्था हो। नेतृत्व सँगसँगै सरोकारवालाको आचरण वा क्षमता र उनीहरूको सम्बन्धले प्राधिकारको अवस्थालाई निर्धारण गर्दछ।
खल्लो लाग्ला एउटा सिधा उदाहरण हेरौं : यदि कुनै दलका बहुसंख्यक कार्यकर्ताहरू अराजक छन् भने सो दलमा जति नै असल, इमानदार, सक्षम नेताहरू रहे पनि उनीहरूको विचार सो दलमा कार्यान्वयन हुने सम्भावना कम हुन्छ। यो उदाहरण राजनीतिक दलमा मात्रै लागू हुने होइन। राज्यका हर तह र निकाय, सार्वजनिक एवं सामाजिक संस्थाहरूमा पनि उत्तिकै लागू हुन्छ।
प्राधिकार हाम्रो परिकल्पनाको नयाँ राजनीतिको बहसको केन्द्रबिन्दु हुनुपर्दछ। त्यस्तो राजनीतिमा प्रधानमन्त्रीदेखि हर कार्यालयका प्रमुखहरूले आफूले कसैको असहयोग वा कसैसँगको सम्बन्धका कारण खोजेको नतिजा दिन सकिन भन्ने गुनासो गरेर झारा टार्ने अवस्थाको परिकल्पनासम्म पनि गर्न सकिंदैन। त्यसो बोल्नु भनेको नै नेतृत्वमा प्राधिकार नरहेको प्रमाणित हुनु हो भन्ने भाष्य राजनीतिमा स्थापित हुनुपर्दछ।
राजनीतिमा प्राधिकार स्थापित हुन नेता वा कर्मचारीको बोलीप्रति आम नागरिकले विश्वास गर्ने वातावरण बन्नुपर्दछ। त्यो विश्वास सिर्जना कसरी गर्न सकिन्छ, नयाँ राजनीतिको प्रधान प्रश्न बन्नुपर्दछ।
नेताले कर्मचारीलाई र कर्मचारीले राजनीतिक नेतृत्वलाई सार्वजनिक रूपमा नै दोषारोपण गरेर आफूलाई पानीमाथिको ओभानो बनाउने गलत संस्कारको अन्त्य त्यो नयाँ राजनीति र प्राधिकार स्थापनाको अकाट्य प्रस्थान बिन्दु हो।
दोषारोपणको राजनीति। देश भित्र हुने हरेक घटनामा विदेशीलाई देखाएर आफू चोखिने राजनीति। २-४ जना वरिष्ठ नेतालाई कोठाभित्र सहमति गरेर लोकतन्त्रमाथि नै उपहास गर्ने राजनीति।
राज्यको सेवा र सुविधाको अधिकतम प्रयोग गरेर सुकिलामुकिला कपडा लगाएर निर्वाचित जनप्रतिनिधिलाई खिसिट्युरी गर्ने राजनीति। आफ्नो सिद्धान्त, नीति र कार्यक्रम नै स्पष्ट नहुने राजनीति। सदनलाई बाइपास गर्ने राजनीति।
यीसँगै नेपाली जनतालाई विभाजित गर्दै, निराशा र नैराश्यता छर्ने र हाम्रो देशलाई विश्व मानचित्रमा सानो र कमजोर देश भनेर चिनाउन तल्लीन सबै प्रकारका पुराना र पाखण्डी राजनीतिलाई बिदाइ नगर्दासम्म नयाँ राजनीति स्थापित हुन सक्दैन।
राजनीतिक दल र त्यसको नेतृत्व राज्य सञ्चालनको सिद्धान्तमा आधारित नीतिमा अडिग रहेर आफ्नो नीति एवं कार्यक्रमको बारेमा जनसमर्थन जुटाउन आम नागरिकसँग संवाद गर्ने, जनतासँगको संवादबाट आफ्ना नीति एवं कार्यक्रमलाई परिष्कृत गर्ने पद्धतिलाई अनुसरण गर्ने क्षमता र तत्परता देखाउँदा मात्र नयाँ राजनीति सम्भव छ। जब दलहरू त्यस्तो राजनीतिमा अविचलित रहन्छन्, त्यहाँ कर्मचारीले निर्वाचित नेतृत्वलाई नटेर्ने भन्ने हुँदै हुँदैन।
राजनीतिक दल र नेतृत्वले प्रस्टसँग बुझ्नुपर्यो २१औं शताब्दीमा राजनीतिक प्राधिकार जनतासँगको निरन्तरको संवादबाट मात्र प्राप्त गर्न सकिन्छ। आम नेपाली जनतासँग रहेको सूचना, समाज, अर्थतन्त्र र राज्य सञ्चालनको बारेमा उनीहरूको धारणा एवं मागलाई नजरअन्दाज गर्ने दल र नेताको राजनीतिक भविष्यमा कालो बादल लागिसकेको छ।
तसर्थ, भावना र इमानदारी सहितको ‘संवाद’ नै हामीले परिकल्पना गरेको नयाँ राजनीति हो। यसले लोकतान्त्रिक राजनीतिको जीवनको रूपमा रहेको प्राधिकारलाई स्थापित गर्दछ र अहिलेको शक्ति केन्द्रित पुरानो युगको राजनीतिलाई सदासदाको लागि बिदाइ गर्दछ।
प्रतिक्रिया 4