
२ भदौ, काठमाडौं । विवेकशील पार्टीले दल विभाजनलाई सजिलो बनाउने गरी ल्याइएको अध्यादेशले संसदीय व्यवस्थामा अस्थीरता निम्ताउने जनाएको छ ।
शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा अन्य दलको आन्तरिक गतिविधिमा खेल्ने दुषित मनसाय रहेको उसको ठहर छ ।
विवेकशील पार्टीका प्रवक्ता विजयबाबु शिवाकोटीले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘तसर्थ, उक्त अध्यादेश सरकारले तुरुन्तै फिर्ता लिएर कोभिड-१९ को प्रतिकार्य तथा अर्थतन्त्रको पुनरूत्थान गर्न सरकार सम्पूर्ण रुपले लागोस् भन्ने विवेकशील पार्टी जोडदार माग गर्दछ ।’
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पास गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने उल्लेख छ ।
‘अघिल्लो दिन संसदको सत्र अन्त्य गरी भोलिपल्ट अध्यादेश सिफारिस गर्नु हालसालै आएको सर्वोच्च अदालतको फैसलाको पनि प्रतिकूल हुने देखिन्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘देशको लोकतान्त्रिक प्रक्रिया र शासन प्रणालीमा नै दूरगामी असर पार्ने अध्यादेश ल्याइनु खेदजनक छ ।’
दल विभाजनलाई सजिलो बनाउने गरी जारी गरिएको अध्यादेशले राजनीतिक अस्थिरता निम्त्याउने विवेकशील पार्टीले जनाएको छ ।
प्रतिक्रिया 4