
१० असोज, काठमाडौं। रुसको खुफिया संस्था फरेन इन्टेलिजेन्स सर्भिस (एसभीआर)का प्रमुख सर्गेइ नारिश्किनले आफ्नो क्षमतालाई गलत मूल्याङ्कन गरेका कारण अफगानिस्तानमा अमेरिका असफल भएको बताएका छन् ।
रसिया टुडे (आरटी) सँगको एक अन्तर्वार्ताका क्रममा नारिश्किनले आफ्नो क्षमताको गलत बुझाइ र विदेशी भूमिमा आफ्नो सामाजिक मोडेल स्थापना गर्न खोज्दा अफगानिस्तानमा अमेरिका बिफल भएको बताएका हुन्।
‘अमेरिकाको विध्वंसकारी नीतिको परिणाम स्वरुप अफगानिस्तानबाट हतारमा बहिर्गमन हुनु र कठपुतली सरकार भाग्नु परेको हो’, वर्ल्डस् अपार्ट कार्यक्रममा ओक्साना बोएकोसँग कुरा गर्दै नारिश्किनले भने, ‘किनभने उस (अमेरिका)ले आफ्नो सामाजिक विकासको मोडेल अफगानिस्तानमा थोपर्ने प्रयास गर्यो ।’
‘साथै अमेरिकी नेतृत्वलाई वस्तुगत अवस्था र संभावित घटनाक्रमबारे सबै जानकारी थियो भन्नेमा म विश्वस्त छु’, नारिश्किनले भने, ‘र उनीहरुले आफ्नो सामर्थ्यप्रति ध्यान दिएनन् ।’
अफगानिस्तानमा ब्यहोरेको हारसँग अमेरिका विश्वको एकल नेतृत्व गर्ने अवस्थामा नरहेको तर अमेरिकीहरु यो तथ्य स्वीकार्न नचाहेको भन्दै नारिश्किनले थपे- ‘उनीहरुले वास्तविकताको सामना गर्न चाहँदैनन र सो वास्तविकता भनेको अमेरिकाले आफैंमाथि थोपरेको विश्वको नेतृत्व गर्ने भूमिका अबदेखि निभाउन सक्दैन ।’
जसरी अफगानिस्तानमा घटनाक्रम विकसित भए त्यसको जिम्मा अमेरिकाको सीआईए, विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालयसहित समग्र खुफिया समुदायले लिनुपर्ने पनि नारिश्किनको भनाइ थियो ।
सेप्टेम्बर ११ को घटनापछि बदलास्वरुप त्यतिबेलाका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले इस्लामिक आतंकवादविरुद्ध विश्वव्यापी अभियान/युद्ध घोषणा गरेका थिए । बुसको उक्त घोषणाका बेला अमेरिकी फौजले परिस्थितिलाई नियन्त्रणमा लिने सबैले ठानेको समेत नारिश्किनले बताए ।
‘अमेरिकी तथा नेटो फौजको उपस्थितिलाई आतंकवादीविरुद्धको मजबुत कवच/पर्खालको रूपमा हेरिएको थियो र सो फौजले आतंकवादलाई युरेसियामा फैलिन दिनेछैन भनेर बुझिएको थियो’, उनले भने, ‘तर यस्तो बुझाइ सही थिएन/त्यस्तो देखिएन ।’
यसबाहेक, नारिश्किनले अन्य मुलुकका खुफिया एजेन्सीसँग एसभीआरले साझेदार गर्ने प्रतिबद्धता समेत दोहोर्याए । उनले भने- ‘जब विश्वव्यापी आतंकवादविरुद्ध लड्ने कुरा आउँछ तब हामीहरु सिआईएका हाम्रा साझेदारसँगको सहकार्यलाई हामीले इमान्दारिताका साथ महत्व दिन्छौं ।’
प्रतिक्रिया 4