
२४ असोज, काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि पहिलोपटक अमेरिका र तालिबानबीच प्रत्यक्ष वार्ता भएको छ । गत अगष्टमा तालिबानले अफगानिस्तानमा कब्जा जमाएको थियो ।
त्यसको केही समयपछि तालिबानले आफ्नो सरकार घोषणा गरेको थियो । त्यसपछि पहिलोपटक कतारको राजधानी दोहामा तालिबान र अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका उपनिर्देशकको अध्यक्षमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले दोहामा तालिबानका अधिकारीहरुसँग वार्ता गरेको हो । वार्ताको क्रममा विदेशी नागरिकलाई सुरक्षित घर फर्काउने, तालिबानको सरकार समावेशी बनाउने र महिला अधिकारको सम्मान गर्ने लगायतका मुद्दामा चर्चा भएको थियो । यो वार्ता आइतबार पनि जारी रहनेछ ।
अमेरिकी अधिकारीहरुले यो वार्ता तालिबानलाई मान्यता दिने विषयमा नभएको बताएका छन् । तालिबानले भने तालिबानको सरकारलाई अस्थिर बनाउने प्रयास नगर्न आग्रह गरेको थियो । बैठकको क्रममा अमेरिकी अधिकारीले तालिबानसँग आतंकवादी समूहलाई रोक्ने, अमेरिकी नागरिकको उद्धार र मानवीय सहायताजस्ता विषयमा पनि चर्चा गरेका थिए । अमेरिकी अधिकारीले कोरोना भाइरसविरुद्धको खोप अभियानमा सहयोग गर्ने बताएका थिए ।
तालिबान सरकारका विदेशमन्त्री आमिर खान मुत्तकीले अमेरिकासँगको सम्बन्ध राम्रो रहने बताएका थिए । उनले तालिबानले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न चाहेको तर कुनै पनि मुलुकले आन्तरिक मामिलामा हस्तक्षेप गर्न भने नपाउने बताएका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4