+
+

कोभिड-१९ ले उठाएको शैक्षिक पद्धतिको प्रश्न

नीलकमल चापागाईं, पिएचडी नीलकमल चापागाईं, पिएचडी
२०७८ मंसिर १४ गते १५:२०

नेपाल सरकारले लकडाउन घोषणा गरेलगत्तै भारत सरकारले पनि लकडाउन घोषणा गर्यो, हेर्दाहेर्दै विश्व ठप्प भएको भान भयो, रित्ता सडक, विस्तारै खुलेको आकाश सँगै एक प्रकारको छुट्टीको माहोल बन्यो – व्यस्त मान्छेहरुले फुर्सद पाउँदा ‘घरै बस’ भन्ने सरकारी आदेश तलब सहितको बिदा जस्तो भयो केही दिन।

तलब सुरक्षा नहुने अनि दैनिक ज्यालादारीमा बाँच्नुपर्नेहरुलाई भने काम गर्ने शहर नै बिरानो भयो र शहर छाडेर गाउँ फर्किनेहरुको लर्को समाचारको केन्द्र पनि बने केही दिन। विस्तारै भाइरसको बिगबिगी बढ्दै गएर टोलछिमेक नै भेट्न थालेपछि भने स्थिति अस्तव्यस्त भयो।

यी सबै वैश्यिक समस्या बीच हाम्रा बालबालिकाका आफ्नै समस्याहरु देखिन थाले। केही दिन छुट्टी भएर रमाइलो भएको जस्तो भए पनि स्कूल जान नपाउँदा साथीभाइसँगको हेलमेल छुट्दा छटपटी बढ्न थाल्यो, बाबुआमा र नानीबाबु सबैलाई स्थिति झर्को लाग्दो हुँदै गएको भान भयो। यी सबै बीच फेरि उही शिक्षाको प्रश्न उठ्न थाल्यो।

हो, विद्यालय बन्द हुँदा पठनपाठन बन्द त भयो, तर शिक्षा वा सिकाइको क्रम त रोकिनुपर्ने थिएन। घरमा बस्न पट्याई लाग्दो नै हुनुपर्ने त थिएन कि जस्तो लाग्छ। कारणवश औपचारिक शिक्षाको प्रक्रिया रोकिंदा पढेलेखेकै घरपरिवारमा ठूलो समस्या आउनुपर्ने त थिएन, तर यो पनि एक समस्या नै भयो।

शिक्षण संस्थाको महत्व आफ्नो ठाउँमा छ, तर कोभिडको कारणले हाम्रो सिकाइको पध्दति चाहिं कमजोर र सान्दर्भिक हुन नसकेको प्रष्टसँग उजागर भएको जस्तो लाग्यो, त्यसैको चर्चा यहाँ गर्न खोजेको छु।

भनिन्छ, घरपरिवार बाबुआमा नै केटाकेटीका पहिलो विद्यालय अनि शिक्षक हुन्, तर उमेर बढ्दै गएपछि यो क्रम स्कूलतिर सर्छ। तर बालबालिकाले बढी समय बिताउने त घरपरिवारमै हो। उसोभए हाम्रो शिक्षा पद्धतिले घरभित्रै र वरिपरिको वातावरण सँगै जोडेर शिक्षाको खाका बनाउन चाहिने जति जमर्को नगरेको हो कि ?

यदि हुन्थ्यो त, कोभिडको कारणले विद्यालय बन्द भए पनि सिकाइको क्रम त नरोकिनुपर्ने हो। हुन त यसका अरु पाटाहरु पनि छन्, तर यो लेखको तर्कको पनि केही स्थान छ नै होला भनेर शैक्षिक पद्धति वा सिकाइ पद्धतिमा घर भित्र र बाहिरका वातावरण र व्यवहारलाई कसरी अँगाल्ने भन्ने बारेमा केही चर्चा गर्न चाहन्छु।

गत वर्षको लकडाउनको समयमा मेरो आफ्नो काम त चलि नै रह्यो, तर घरैमा बसेर गरेको हुँदा घर वरिपरिको वातावरण नियाल्ने पनि अवसर पाइयो। यसो हुँदा मोबाइल फोन र विशेष गरी फोनको क्यामेराको सदुपयोग वरिपरिको जीवन र जगतका श्रव्य र दृश्य कैद गर्न राम्रैसँग प्रयोग गरियो।

बालबालिकालाई फोन धेरै चलाए भनेर गाली गर्नुको साटो फोन प्रयोग गरेर गर्न सकिने क्रियाकलापहरुमा उत्साहित गर्न सकिन्छ। विज्ञानको पढाइ किताबबाट गरे पनि अभ्यास चाहिं दैनिक व्यवहारमा आधारित भएर गर्ने हो भने पढेको कुरा बुझ्न पनि सजिलो हुने, बालबालिकाहरुको समय पनि रचनात्मक हुन सक्छ।

गणितको सिकाइ कोरा किताबी समस्या समाधानमा आधारित हुनु भन्दा दैनिक घरेलु प्रयोजनसँग जोडेर बाबुआमाको दैनिक हिसाबकिताबमा आधारित हुने हो भने सिकाइ पनि भयो, उनीहरु व्यस्त पनि भए, अझ थप पारस्परिक सम्बन्ध पनि रचनात्मक नै भयो।

करेसाबारी छ भने त झनै बढी अनुसन्धान र प्रयोग गर्न पाइयो, किसानका छोराछोरीलाई त झनै बढी सिकाइका अवसर हुने भए। सधैं गहिरो कुरा मात्र चाहिन्छ भन्ने छैन, बालसुलभ खेलकुदमा पनि सिक्ने अवसर प्रशस्तै हुन्छन्, अभिभावकले अलिकति समय दिएर उनीहरुसँग खेल्ने वा उनीहरुले खेलेका कुरामा आधारित भएर विभिन्न कुरा सिक्ने सिकाउने प्रयास गर्ने हो भने साह्रै उत्तम सिकाइका अवसर र पाठहरू निस्कन्छन्।

अवलोकन गर्ने, प्रश्न गर्ने, ज्ञानलाई आफ्नो सन्दर्भमा जोड्ने, प्रयोग गर्ने, परीक्षण र परिमार्जन गर्ने किसिमका सिकाइका संस्कारहरु सानैदेखि जरुरी हुन्छ। यसो हुँदा महामारी वा लकडाउन जस्ता कठिन समय नै भए पनि सिक्ने/सिकाउने क्रम त्यति साह्रो अप्ठेरोमा पर्दैन।

हो, सबै अभिभावकले बृहत् रुपमा सोच्न र समय दिन नभ्याउलान्, तर यदि स्कूलले सिकाइ त्यसै अनुसार गर्ने हो भने किताबी होमवर्क दिनु भन्दा व्यावहारिक होमवर्क दिए अनावश्यक ट्युसनको आवश्यकता पनि पर्ने थिएन होला। अझ सक्ने हो भने त स्कूलका पाठ्यक्रम निर्माताहरुले औपचारिक शिक्षाको खाकाको साथसाथै अनौपचारिक खेल खेलाइ र घरेलु सिकाइका अतिरिक्त क्रियाकलापमा जोड दिंदा सबैको भलो हुन्थ्यो जस्तो लाग्छ।

सोच्ने हो भने घरमा बिहानदेखि राति नसुतेसम्म धेरै प्रयोग, हिसाबकिताब, सामाजिक व्यवहारहरु अनि समस्या समाधानका कामहरु भैरहेका हुन्छन्, तिनलाई हेर्ने र बुझ्ने तिर्सना हाम्रा विद्यार्थीमा जगाउन सक्ने हो भने शिक्षा दिगो र अर्थपूर्ण हुन्छ।

एकपल्ट प्रयास गरेर हेर्नुस् त, यो सम्भव छ। यसो भन्नलाई मसँग यस सम्बन्धी औपचारिक ज्ञान भन्दा पनि मेरो आफ्नै पारिवारिक परीक्षणले साथ दिएको छ, त्यसैले यो अरु परिवारमा पनि लागू गर्न सकिन्छ होला भन्ने मेरो विश्वास हो।

यसो भनिरहँदा मलाई हाम्रो शिक्षा पद्धतिको अर्को महत्वपूर्ण पाटो बिझाइरहेछ। मानौं, एउटा बच्चाले मैले माथि उल्लेख गरे झैं वातावरण पाएर खेल्दै, रमाउँदै र सिक्दै हुर्किंदैछ। मानौं उसलाई तँछाडमछाड गर्दै स्कूल जानुपर्ने आवश्यकता नै परेन रे, कम से कम अभिभावकले सावधानीपूर्वक सोच्दा स्कूल नगए पनि शिक्षाको आवश्यकता पूरा हुने स्थिति भयो रे।

अब कुनै तहमा औपचारिक शिक्षामा प्रवेश गरौं न त भन्दा हाम्रा शैक्षिक संस्थाहरुले कुनै जाँचबुझ गरेर उपयुक्त तहमा भर्ना लिन सक्छन् ? कि औपचारिक शिक्षाकै प्रमाणपत्र चाहिन्छ ? शायद यस्ता प्रश्नले पनि घरेलु सिकाइका पद्धति ओझेलमा परेका होलान् किनकि आखिर त उही किताबी तरिकाले नै शिक्षाको प्रमाणीकरण हुने भो।

तर त्यो प्रमाणीकरणको समस्या चाहिं विश्वविद्यालय पुग्दा टड्कारो हुन्छ, राम्रै प्रमाणपत्रधारीहरु पनि व्यवहारमा त कतिपय पक्षमा अनभिज्ञ वा अक्षम देखिन्छन्, यो चाहिं मेरो पेशागत अनुभवको आधारमा उठाउँदै छु। भने पछि त जबसम्म यो पछिल्लो पाटो राम्रोसँग सोचिंदैन, मेरो अघिल्लो तर्कको कुनै स्थान छैन। जबसम्म त्यो तर्कको स्थान छैन, तबसम्म त फेरि घरै बस्नुपर्ने स्थिति आयो भने हाम्रा बालबालिकाहरु बेगारी नै हुने भए।

त्यस्तो हुँदा अब म यो लेखको अन्तिम पाटोमा पुग्छु, जुन उच्च शिक्षामा जोडिएको छ। एक वर्ष जस्तो शैक्षिक संस्था बन्द हुँदा हाम्रा उच्च शिक्षाका विद्यार्थीले आफ्ना सामाजिक र वातावरणीय पक्षमा अध्ययन अनुसन्धान गर्नुपर्ने धेरै प्रश्न उठेका थिए, तर एकाध बाहेक धेरैले त यो समय रचनात्मक बनाउन सकेनन् भन्ने बुझियो।

उदाहरणको लागि- सूक्ष्म जीव विज्ञानका विभिन्न संकायका लागि त आफ्नो अनुसन्धानकै विषय भयो यो, तर प्रयोगशालाको पहुँच नहुँदा ती विद्यार्थीले आफ्नो विधाको आधारभूत ज्ञान जनसाधारणले बुझ्ने भाषामा लेख्न वा भन्न सक्दा यो समय आफैंमा एउटा अवसर हुन्थ्यो, र कतिपय गलत सूचनाका समस्यालाई पनि हल गर्ने मौका हुन्थ्यो।

गणित र तथ्यांकका विद्यार्थीलाई त संक्रमण दरको हिसाबकिताब आफैंमा एउटा रोचक विषय भएकै होला, अर्थशास्त्रका विद्यार्थीलाई कोभिडको प्रभाव राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहमा मात्रै आफ्नै गाउँठाउँमा कसरी परेको रैछ, कि हाम्रो ग्रामीण अर्थतन्त्रमा कुनै यस्तो कडी पनि छ कि जसले गर्दा सरकारले राहतको कार्यक्रम नल्याए पनि समुदायस्तरमै बेग्लै आर्थिक संरचना पो छ कि भन्ने खोजीनिती हुन सक्थ्यो कि ।

अथवा यातायात र पारवहन ठप्प भएको बेला स्थानीय अर्थतन्त्र बुझ्ने दुर्लभ अवसर पो थियो कि, सामाजिक शास्त्रका अध्येताहरुले त झन् हाम्रा समाजका धेरै पाटा कोभिडले उजागर गरिदिंदा आफ्नै समाजको बेथिति वा राम्रोथिति केलाउने मौका पाए होलान् । यस्तै यस्तै।

राष्ट्रिय आविष्कार केन्द्रले नौलो आविष्कार नै नभए पनि प्रविधिको प्रयोग गरेर स्थानीय आवश्यकता त पूरा गरेकै हो, कति विधाका विद्यार्थीले यसमा हातेमालो गरेको सराहनीय छ। समस्याको भुमरीमै आविष्कार र अनुसन्धानको भण्डार देख्न हाम्रा विद्यार्थी धेरै चाहिं चुकेको जस्तो लाग्यो। तर यसमा उनीहरुको दोष भन्दा पनि उनीहरुलाई शिक्षित गराउने हामी प्राध्यापकहरुको कमजोरी हो जस्तो लाग्छ।

यसमा अलिकति त उनीहरुको अल्छीपन होला, तर बढी त उनीहरुको शैक्षिक यात्रामा यस्ता खोजीनिती, अवलोकन र चिन्तनमनन भन्ने कुरा नै आएनन् कि भन्ने लाग्छ मलाई त। त्यसो भए यो त मेरो आआफ्नै दायित्वभित्र पो पर्ने कुरा भयो भन्ने लाग्यो मलाई, एउटा अभिभावकको नाताले मात्र होइन, एउटा प्राध्यापन पेशामा लागेको व्यक्ति भएको नाताले।

हुनत म नेपाल बाहिर प्राध्यापन गर्छु, अनि त्यो परिवेशमा चाहिं म नेपालमै बसेको भएतापनि मैले मेरा विद्यार्थीलाई मार्ग निर्देशन गरिनै रहेको छु, उनीहरुले पनि घर वरिपरिकै प्रसङ्गबाट मेरा विषयको अध्ययन जारी राखेका छन्, त्यसैले पनि मलाई यो लेख्न आत्मविश्वास दियो।

टुंग्याउने क्रममा अलिकति भविष्यको कुरा र अलिकति हाम्रो शिक्षा पद्धति कता मोड्ने भन्ने कुरा गर्न मन लाग्यो। माथिका तर्कको आधारमा म नेपालमा विद्यमान शिक्षा पद्धतिमा प्रारम्भिकदेखि उच्च शिक्षासम्म नै हाम्रो आफ्नो सन्दर्भमा टेकेर तर विश्वको अरु कुनामा पनि प्रयोग हुनसक्ने हिसाबको शिक्षाका सामग्री र पद्धति विकास गर्नुपर्ने आवश्यकता र अवसर देख्छु ।

तर विश्वस्तरकै भए पनि स्थानीय परिवेशमा गैरजिम्मेवार शिक्षा चाहिं परिमार्जन हुनैपर्छ। हाल शिक्षा क्षेत्रमा भैरहेका बहस, नवीनतम प्रयोगका झिल्काहरु र पछिल्लो शिक्षा नीतिको प्रसङ्गमा भविष्य राम्रो होला भन्ने आशा गर्ने ठाउँ छ जस्तो लाग्छ।

अबको समयमा हाम्रा विश्वविद्यालयमा पढ्ने विद्यार्थी विधागत ज्ञानमा मात्रै सीमित नरहेर सामाजिक, राजनीतिक, दर्शनशास्त्र, अर्थशास्त्र, प्रविधि, विकास, साझेदारी, संचार, ऐतिहासिक र सांस्कृतिक परिवेश सबै क्षेत्रमा सुसूचित हुँदै आफ्नो दक्षता अभिवृद्धि गरुन्, तर यसको लागि जग चाहिं घरपरिवार र प्रारम्भिक शिक्षाबाटै गाड्नुपर्ने हुन्छ।

अवलोकन गर्ने, प्रश्न गर्ने, ज्ञानलाई आफ्नो सन्दर्भमा जोड्ने, प्रयोग गर्ने, परीक्षण र परिमार्जन गर्ने किसिमका सिकाइका संस्कारहरु सानैदेखि जरुरी हुन्छ। यसो हुँदा महामारी वा लकडाउन जस्ता कठिन समय नै भए पनि सिक्ने/सिकाउने क्रम त्यति साह्रो अप्ठेरोमा पर्दैन होला।

(भारतको अहमदावाद विश्वविद्यालयको हेरिटेज म्यानेजमेन्ट विभागका निर्देशक चापागाई नेपाल विश्वविद्यालय निर्माण अभियानसँग जोडिएका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?