
१ पुस, जनकपुरधाम। प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै आएको ‘बेटी पढाऔं, बेटी बचाऔं अभियान’ सामाजिक विकास मन्त्रालयमा सारिएको छ ।
यो अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्नका निम्ति खरीद गरिएको साइकलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।
अख्तियारले छापा मारेको केही दिनमै मन्त्रिपरिषद बैठकले यो कार्यक्रम सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । अभियान सञ्चालन गर्ने जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले यस सम्बन्धी कार्यविधि तयार पारेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो कार्यविधि पारित गरेको प्रदेश २ सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्र साहले बताए ।
बिहीबारको बैठकले राजविराजमा केही दिनअघि कार्यालय स्थापना भएको कृषि विश्वविद्यालयलाई ३१ करोड रुपैयाँ अनुदान दिने सैद्धान्तिक सहमति दिएको छ ।
यो रकमभित्र योजना बनाउन सैद्धान्तिक सहमति दिइएको मन्त्री साहले बताए । ‘हामीले भवन निर्माणसहितका काम अघि बढाउन यो बर्ष ३१ करोड रकम कृषि विश्वविद्यालयलाई दिने सैद्धान्तिक सहमति गरेका छौं’ साहले भने ।
बैठकले जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय पनि गरेको मन्त्री साहले जानकारी दिए ।
प्रतिक्रिया 4